‘मेयरसाब, फेरि यौन व्यवसायमा नफर्काउनुहोस्’
‘छोराको मुटु सुन्निने समस्या छ। दिनदिनै औषधि खुवाउनुपर्छ। ठेला खोसेपछि केही कमाइ छैन। छोराका लागि औषधि किन्न सकिनँ भने कसरी बाँच्नु?’
काठमाडौं महानगरपालिकाले सडक छेउछाउ र सडकपेटी खाली गर्ने अभियान सञ्चालन गरेसँगै फूटपाथ व्यवसायमा रोक लगाएको छ। ठेला, नाङ्लो, क्रेटमा फलफूल, बदाम, चिया, चुरोट लगायतका समान बिक्री गर्न दिएको छैन। त्यस्ता सरसामान जफत पनि गर्दै आएको छ।
यसले साना व्यवसायीलाई त असर परेको छ नै त्योभन्दा पनि मर्कामा परेका छन्, वैकल्पिक व्यवसाय गरिरहेका महिलाहरू। माइती नेपालले हिंसापीडित, बेचबिखनमा परेका तथा यौन व्यवसाय गरिरहेका ३७५ जना महिलालाई सहयोग गरेर वैकिल्पक व्यवसायमा लगाएको थियो। उनीहरू ससानो व्यापार व्यवसाय गरेर दैनिकी चलाइरहेका थिए।
महानगरको कदमले बिचल्लीमा परेको उनीहरू बताउँछन्। उनीहरू फेरि यौन व्यवसायमै फर्किनुपर्ने हो कि भन्ने चिन्तामा छन्। “छोराको मुटु सुन्निने समस्या छ। दिनदिनै औषधि खुवाउनुपर्छ। ठेला खोसेपछि केही कमाइ छैन। छोराका लागि औषधि किन्न सकिनँ भने कसरी बाँच्नु?,” बिचल्लीमा परेकी ३५ वर्षीया करिना निराश हुँदै भन्छिन्, “मेयरसाब, फेरि यौन व्यवसायमा नफर्काउनुहोस्।”
काठमाडौं महानगरको अभियानले बिचल्लीमा परेका महिलाका कथा उस्ताउस्तै छन्। हिंसापीडित तथा यौन व्यवसाय छोडेर सामान्य दैनिकी बाँचिरहेका उनीहरूलाई थप सकस भएको छ। उनीहरूमध्ये चार जनाको पीडा:
‘ठेला लगेपछि भोकै बस्नु पर्यो’
कलंकीमा फलफूल बेचेर जीविका चलाउँदै आएकी ३५ वर्षीया करिनाको काठमाडौं महानगरपालिकाले ठेला खोसेर लग्यो। हारगुहार त गरिन्, तर महानगरका सुरक्षाकर्मीले सुनेनन्। केही बेर ठेला ताने पनि नगर प्रहरीले खोसेरै लग्यो। “गुजारा चलाउने साधन लगेपछि भोकै बस्नुपर्ने भयो,” उनले भनिन्।
त्यसपछि उनले अर्को ठेला खोजिन्। जानेको काम उही थियो, फेरि फलफूल बेच्न थालिन्। “केही दिन त छक्याएकी थिएँ, दोस्रो ठेला पनि लग्यो,” उनले भनिन्, “अब के गर्ने, कसरी बिरामी छोराको औषधि किन्ने थाहा छैन।”
दुई सन्तानकी आमा करिनालाई परिवारको दैनिक गुजारा गर्न, बिरामी छोराको औषधि किन्न र कोठाभाडा तिर्ने चिन्ताले सताएको छ। अब कसरी गुजारा चलाउने भन्ने सोच्दा पनि अत्यास लाग्ने उनी बताउँछिन्। किनकि, उनी लामो समय यौन व्यवसायमा लाग्दाको पीडा बिर्सिंदै थिइन्।
करिनाले बाल्यकालमै अभिभावक गुमाइन्। बेसहारा बनेकी उनी काठमाडौंमा होटेलमा काम गर्न थालिन्। “आमाबुबा भारतमा काम गर्नुहुन्थ्यो, उतै मृत्यु भयो,” उनले ती दिन सम्झिँदै भनिन्, “फुपूले बालाजुको होटेलमा भाडा माझ्ने काममा लगाइदिनुभयो, त्यसपछि उहाँलाई आजसम्म भेटेको छैन।”
बालाजुको होटेलमा काम गर्दा उनी १० वर्षकी मात्र थिइन्। तीन वर्ष त उनले भाडा माझ्ने काम गरिन्। त्यसपछि भने आफूलाई यौन व्यवसायमा लगाइएको उनी सुनाउँछिन्। “१३ वर्षको भएपछि त होटलवालाले यौन पेशामा लाग्न बाध्य पारे,” उनी भन्छिन्, “ग्राहकसँग नसुते साहुनीले कुटपिट गर्थिन्, भोकभोकै राख्थिन्। डरडरैले दिनमा तीन-चार जनासँग सुत्नुपर्थ्यो।”
यो क्रम १० वर्ष चल्यो। त्यही क्रममा होटलमा आएका एक जना ग्राहकसँग मन मिल्यो। ओखलढुंगाका तिनै ग्राहकसँग उनले भागिन् र बिहे गरिन्। “शुरूमा त राम्रो थियो, पछि भने यौन व्यवसायमा लागेकी भन्दै लोग्नले कुट्न थाल्यो,” उनी भन्छिन्।
दुई सन्तान जन्मिसकेका थिए। यौन व्यवसायमा लागेको विषय र श्रीमान्को यातनाले उनलाई गाउँमा बस्नै नसक्ने बनायो। त्यसपछि उनी दुई सन्तान बोकेर काठमाडौं आइन्। “काठमाडौंमा कहाँ बास बस्ने ठेगान थिएन,” उनी भन्छिन्, “भाग्यले माइती नेपालकी कर्मचारी मैया खड्कासँग भेट भयो र फेरि यौन व्यवसायमा लाग्नु परेन।”
उनलाई आमाबुबा र गाउँबारे थाहा छैन। जन्मदर्ता, नागरिकताको प्रमाणपत्र केही छैन। बिहे त भयो, तर श्रीमान्ले बिहे दर्ता गरेनन्, नागरिकता बनाइदिएनन्। “बालेनले फलफूल बेचेर खान दिएनन्,” उनी भन्छिन्, “विदेश जान खोजेकी थिएँ, नागरिकता नभएर राहदानी नबन्दो रहेछ। कतै केही काम खोज्न जाँदा पनि नागरिकता नै माग्ने रहेछन्।”
शुरूआतमा माइती नेपालले ठेला दिएको थियो। त्यसमा फलफूल बेचेर दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म कमाइ हुने गरेको उनी बताउँछिन्। “हाँसीखुशी परिवारको गर्जो टरेकै थियो,” उनी भन्छिन्।
त्यो ठेला महानगर प्रहरीले खोसेर लग्यो। त्यसपछि उनले १२ हजारमा अलि पुरानो ठेला किनिन्। “त्यो ठेला पनि बालेनले लगे,” करिना भन्छिन्, “अब ठेला किन्ने पैसा पनि छैन, काम पनि छैन।”
उनका दुई छोराछोरी छन्, पाँच र आठ वर्षका। “छोराको मुटु सुन्निने समस्या छ। दिनदिनै औषधि खुवाउनुपर्छ। ठेला खोसेपछि केही कमाइ छैन। छोराका लागि औषधि किन्न सकिनँ भने कसरी बाँच्नु?” उनी निराश हुँदै भन्छिन्, “मेयरसाब, फेरि यौन व्यवसायमा नफर्काउनुहोस्।”
‘धेरै आँसु बगाएर आत्मनिर्भर बनेकी थिएँ, अब पुरानै काममा फर्किन मन छैन’
काठमाडौंमा कोठाभाडा लिएर बस्ने विनीता ५० वर्षकी भइन्। कोरोनाभाइरसको महामारीसँग उनका लागि भने नयाँ यात्राको ढोका खुल्यो। यौन व्यवसायमा संलग्न उनी महामारीका कारण बिचल्लीमा परिन्। “सडकमा पुगेकी थिएँ, माइती नेपालको सम्पर्कमा आएर नयाँ जुनी पाएँ,” उनी भन्छिन्।
व्यवसाय गर्न सहयोग पाएपछि उनले नाङ्लोमा बदाम, पानी बेच्न थालिन्। त्यसले दैनिकी चलाउन सजिलो भयो। बाध्यताले गरिरहेको यौन व्यवसायबाट पनि मुक्ति मिल्यो। “श्रीमान् रक्सी खाएर कुटपिट गर्थे, काम गर्दैनथे,” उनी विगत कोट्याउँछिन्, “आयआर्जन केही थिएन। जता गए पनि कामकाज पाइनँ। तीन छोराछोरी भोकै राख्नुभन्दा त शरीरै बेच्छु भन्ने सोचें।”
नाङ्लोको व्यापारले त्यो पीडा भुलाउँदै दैनिकी सहज बनाएको थियो। दिनमा एक हजारसम्म कमाइ हुने गरेको उनी बताउँछिन्। “महानगरपालिकाको प्रहरीले हटाउन थालेपछि अप्ठ्यारो भएको छ,” उनी भन्छिन्, “गस्तीमा आएको प्रहरीले नाङ्लोमा राखेको बदाम, पानी सबै खोसेर लग्यो।”
एक पटक खोस्दा उनले अर्को नाङ्लो किनिन्। त्यो पनि खोस्यो, फेरि किनिन्। “तीन पटक खोसेपछि त पैसा पनि सकियो, सरसामान पनि गयो,” उनी भन्छिन्, “अहिले त छोराछोरी खुवाउन, कोठाभाडा तिर्न समस्या भएको छ।”
पाँच दशक पार गरेकी विनिता शारीरिक रूपमा पनि कमजोर भएको बताउँछिन्। बिरामी पनि भएकाले दैनिक मजदूरी गर्न नसक्ने गरेको उनले सुनाइन्। “नाङ्लोमा बदाम, पानी त बेचेका थियौं, ठूलो बिराम गरेका थिएनौं,” उनी प्रश्न गर्छिन्, “देशै लुटेर खाएका त छैनौं नि! मेयरसाबले किन लखेट्न लगाएको होला, काम गरेर खान पनि नपाउनु?”
बिहान-बेलुका हातमुख जोर्न समस्या भए पनि उनी लुक्दै, छिप्दै पानी बेच्ने गरेको बताउँछिन्। तर, महानगर प्रहरीले लखेट्ने गरेकाले कमाइ हुँदैन। दैनिक एक हजार कमाइ गर्ने उनी अहिले दुई सय रुपैयाँ पनि मुश्किलले पुग्ने गरेको बताउँछिन्। “लुकीछिपी गरेर कति दिन पानी बेच्नु, त्यो पनि महानगरले गर्न दिंदैन,” उनी निराश हुँदै भन्छिन्, “धेरै आँसु बगाएर आत्मनिर्भर बनेकी थिएँ, अब पुरानै काममा फर्किन मन छैन।”
‘श्रीमान् छोराछोरी जन्माउनका लागि मात्र भयो, कमाएर दिंदैनन्’
३० वर्षीया सम्राज्ञीको अवस्था पनि उस्तै छ। चारदेखि १२ वर्षसम्मका तीन सन्तानकी आमा सम्राज्ञीले दुई महीनादेखि क्रेटमा फलफूल, चुरोट, रिचार्ज बेच्न पाएकी छैनन्। थर्मस चिया बिक्री गर्ने काम पनि रोकिएको छ। “बालेनका मान्छेले तीन पटक फलफूल, १० वटा थर्मस, २० हजार जतिको चुरोट र रिचार्ज खोसेर लगिसके,” उनी भन्छिन्।
यसअघि उनी पनि यौन व्यवसायमै थिइन्। सिन्धुपाल्चोककी उनको १५ वर्षको उमेरमा बिहे भयो। सानैमा बिहे भएपछि पढाइ छुट्यो। केही वर्षमा छोराछोरी जन्मिए। घरमा लाउनखान नपुग्ने भएपछि काठमाडौं आइन। “गाउँमा बस्ने थलो बाहेक घरमा अरू केही छैन। काठमाडौंमा रोजगार पाइन्छ भनेर आएँ,” उनी पुराना दिन सम्झिँदै भन्छिन्, “श्रीमान् छोराछोरी जन्माउनका लागि मात्र भयो, कमाएर दिंदैन। केही काम नपाएपछि यौन व्यवसाय गर्न बाध्य भएँ।”
कोरोना महामारीसँगै उनका लागि पनि नयाँ बाटो खुल्यो। यौन व्यवसाय बन्द भएपछि सडकमा आउन बाध्य भइन्। त्यही क्रममा उनलाई माइती नेपालले सघायो र ससानो व्यापार व्यवसाय गर्न थालिन्। “दैनिक राम्रै कमाइ हुन्थ्यो, परिवार पाल्न पुग्ने गरेको थियो,” उनी भन्छिन्, “अब पुरानो पेशामा फर्किनु पर्दैन भन्ने विश्वास लागेको थियो।”
तर, काठमाडौं महानगरपालिकाले सडक छेउछाउ र सडकपेटीमा व्यापार व्यवसाय गर्न रोक लगाएपछि उनको विश्वास डगमगाएको छ। ससाना तीन छोराछोरी कसरी पाल्ने भन्ने चिन्ता बढेको छ। “व्यापार गर्न नपाएपछि खानलाउनै समस्या भएको छ,” उनी प्रश्न गर्छिन्, “फलफूल, चिया, चुरोट बेच्न थालेपछि सजिलो होला भन्ने सोचेकी थिएँ, के आइलाग्यो?”
उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)सँग आक्रोशित छिन्। नगर फोहोर तथा कुरूप पार्ने काम गरे जस्तो उनलाई लाग्दैन। चियाका गिलास पनि उठाउने गरेको उनी बताउँछिन्। “लुकिछिपी थोरबहुत सामान बेच्दा पनि प्रहरी भेष बदलेर आउँछ, सरसामान लगेर जान्छ,” उनी भन्छिन्, “हामीले त्यस्तो के गरेका छौं र! मेयरको मुटु त ढुङ्गाकै रहेछ।”
‘लौरोलाई भोट हालेकी थिएँ, लौरो लिएरै खेदे’
५० वर्षीया सीता त देख्दै बिरामी जस्तै लाग्छिन्। कमजोर र दुब्लो शरीर, गढेका आँखा, कलेटी परेका ओठ। अझ उनी बोल्न सक्दिनन्। काठमाडौं महानगरको कदमले उनको पनि बिचल्ली भएको छ। उनले साङ्केतिक भाषामा भनिन्, “लौरोलाई भोट हालेकी थिएँ, लौरो लिएरै खेदे।”
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा लौरोमा मतदान गरेको उनको भनाइ थियो। स्थानीय निर्वाचनमा महानगरको मेयर साहले लौरो चुनाव चिह्न लिएका थिए। आफूले भोट दिएको मान्छेले नै बिचल्ली पारेको उनको गुनासो थियो।
काठमाडौंको टेकुमा जन्मे-हुर्केकी उनको धादिङमा बिहे भएको थियो। विवाहपछिका केही दिन राम्रोसँगै बिते पनि पछि भने घरपरिवारले दुःख दिन थाल्यो। श्रीमान्ले पनि कुटपिट गर्न थाले, होच्याउने गर्न थाले। “सहन नसक्ने भएपछि धादिङ छोडेर काठमाडौं आएँ। आमाबुबाको मृत्यु भइसक्यो, भाइबुहारीले वास्ता गर्दैनन्,” उनले दुःखेसो गरिन्।
काठमाडौंमा कहाँ जानु? उनी रत्नपार्क, बागबजारतिरै दिन काट्न थालिन्। र, यौन व्यवसायमा लाग्न पुगिन्। “त्यही काममा १५ वर्ष बिते, एउटा छोरी जन्मिई,” उनले साङ्केतिक भाषामै बताइन्।
यौन व्यवसायमा संलग्न महिला अप्ठ्यारोमा परेको खबर सुनेपछि सोधखोज गर्ने वेला माइती नेपाल संस्थापक अनुराधा कोइरालाले उनलाई भेटेकी थिइन्। यौन व्यवसाय गर्न हुँदैन भनेर कोइरालाले सम्झाइबुझाइ गरेको उनी बताउँछिन्।
त्यसपछि माइती नेपालकै सहयोगमा वैकल्पिक व्यवसायमा लागिन्। कोरोनाको वेला रत्नपार्कमा मास्क बेचिन्। त्यसपछि बिस्तारै मास्क, पानी लगायत अन्य सरसामान बेच्न थालिन्। “एक दिनमा नौ सय रुपैयाँ कमाउँथें,” उनले इशारामै भनिन्, “अब के गर्ने थाहा छैन। पहिलेको काम गर्न मन छैन।”
(चारै जनाको नाम परिवर्तन गरिएको छ।)
अनुराधा कोइरालाको अन्तर्वार्ता :