‘ठेला हटाउँदा यौन पेशा छोडेका नानीहरूको बिचल्ली छ, मेयर बालेनले भेट्नै मान्नुभएन’
‘काठमाडौंमा पाँच रुपैयाँका लागि ६४ वर्षीया वृद्धाले यौनसम्पर्क राखेको भेटें। त्यसपछि नानीहरूलाई यौन व्यवसायबाट छुटाएर ससानो व्यापार व्यवसायमा लगाएकी थिएँ, मेयर बालेनको कदमले बिचल्ली पारेको छ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शहर सफा र सुन्दर राख्ने, गाडी गुडाउन सजिलो बनाउने, फूटपाथ व्यवस्थित गर्ने भन्दै सडक किनार र फूटपाथ व्यवसायमा रोक लगाएका छन्। मेयर बालेनको यो कार्यको एउटा वर्गले प्रशंसा पनि गरिरहेको छ।
तर, यसले यौन व्यवसाय छोडेर वैकल्पिक पेशामा लागेका तथा हिंसापीडित महिलालाई भने बिचल्लीमा पारेको छ। उनीहरूलाई वैकल्पिक व्यवसायमा लगाउने माइती नेपालकी संस्थापक अनुराधा कोइराला मेयर बालेनको कदमले थप समस्या निम्त्याएको बताउँछिन्। “ससानो व्यापार व्यवसाय गरेर जीविकोर्पाजन गरिरहेका नानीहरू फेरि यौन व्यवसायतिर लाग्ने जोखिम बढेको छ,” कोइराला भन्छिन्, “मेरो तीन वर्षको मिहिनेत खेर जान्छ कि भन्ने डर लागेको छ।”
मेयर बालेनको कदमले वैकल्पिक व्यवसायमा लागेका महिलालाई पारेको असर लगायतका विषयमा कोइरालासँग हिमालखबरका लागि सम्झना विकले गरेको कुराकानी:
कोरोनाभाइरसको महामारीपछि घरेलु हिंसापीडित, बेचबिखनमा परेका तथा यौन व्यवसायमा संलग्न महिलालाई आत्मनिर्भर बनाउन ससानो व्यापार व्यवसाय गर्न देशभर सघाउँदै आउनुभएको छ। कसरी यतातिर लाग्नुभयो? काठमाडौंमा कतिलाई सघाउनुभयो?
म मानव बेचविखन विरुद्ध काम गर्ने मान्छे। सडकपेटीसँग सम्बन्धित क्षेत्रमा काम गरेको तीन वर्ष मात्र भयो। यसअघि विशेष गरी यौन व्यवसायमा लागेका नानीहरूका लागि काम गरेकै थिइनँ। कोरोना कहर चलिरहेको वेला द काठमान्डू पोस्टमा यौन व्यवसाय गर्ने नानीहरूले खान नपाएको समाचार पढें। त्यसपछि ती नानीहरूका लागि केही गर्नुपर्छ भन्ने लाग्यो।
उनीहरूलाई यौन व्यवसायबाट छुटाएर सडकपेटी, खाली ठाउँमा चटपटे, पानीपुरी, फलफूल, बदाम, पानी, चिया, चुरोट, मकै बेच्ने लगायतका अनौपचारिक क्षेत्रका काममा लगाएकी थिएँ। हामीले ३७५ जनालाई सहयोग गरेका थियौं। हामीले सहयोग गर्दा उनीहरूले यौन व्यवसाय छोडेका पनि थिए।
अहिले काठमाडौं महानगरपालिकाले सडक छेउछाउ तथा सडकपेटीमा व्यापार व्यवसाय गर्न दिएको छैन। यसलाई कसरी हेरिरहनुभएको छ?
काठमाडौं महानगरले सार्वजनिक स्थल र सडकपेटी खाली गराउने अभियानले त ती नानीहरू फेरि पुरानै पेशामा फर्किन बाध्य हुन्छन् कि भनेर चिन्ता लाग्छ। मेरो तीन वर्षको अथक प्रयास सित्तैमा जाने भयो।
मेयर बालेन्द्र साह आएदेखि सडकमा व्यापार गर्न पाइँदैन। ती नानीहरूको व्यापार नै भएको छैन। कतै साँझ ७ बजेपछि व्यापार गर्न भनिएको छ। साँझ ७ बजेपछि चटपटे खान को आउँछ? को किनमेल गर्न आउँछ? नेपालीको बानी राति ८ बजे भात खाएर सुत्ने हुन्छ। साँझ ७ बजेपछि चटपटे, मःम खान, तरकारी, लुगाफाटो त किन्न जाँदैनन्। सबै उठाइदिएको छ। कसैलाई पनि बेच्न दिएको छैन। यो तरीका राम्रो भएन।
मेयर साहले बिचल्लीमा पारेको भनेर फूटपाथ व्यवसायीले गुनासो गरिरहेका छन्। उनीहरूको बिचल्ली नै भएको हो र?
फूटपाथ व्यवसायीको भन्दा पनि मेरै नानीहरूबारे कुरा गर्न चाहन्छु। मेयर साहको ‘एक्शन’ के हो? मेयरले बुझेर गर्नुभएको हो कि नबुझेर हो, यो उहाँलाई नै थाहा होला।
माइती नेपाल र आमा भएको हैसियतले मेरा बच्चाहरूलाई ‘कमाई खाऊ’ भनेर अनौपचारिक व्यवसायमा लगाएकी थिएँ। अहिले अनौपचारिक व्यवसायीमाथि जस्तो व्यवहार भएको छ, यो मलाई सही लागेको छैन। एक पटक हामीसँग सरसल्लाह गरेर निर्णय लिएको भए कस्तो राम्रो हुन्थ्यो।
महानगरले त नियम, कानून अनुसार काम गरिरहेका छौं भनिरहेको छ नि?
मेयर साह आफ्नो ‘भिजन’ लिएर आउनुभएको होला। मेयरले किन फूटपाथमा व्यापार गरेका छन् भन्नेबारे सोच्नुपर्यो नि! मेयरका सहायक नगर प्रहरीले ‘गाउँको यत्रो जग्गा छोडेर, यहाँ आएर व्यापार गर्ने हो’ भन्ने गरेका छन्। नानीहरू आएर मलाई सुनाउँछन् नि!
गाउँमा सरकारले खानेपानी, बिजुली, बाटोघाटो, शिक्षा, स्वास्थ्य लगायत अलिकति भए पनि गरीबीबाट उकास्न केही गरिदिएको भए यी नानीहरूलाई के रहर छ र शहरमा आएर बस्न! त्यो पनि गरिदिएको छैन। गाउँमा रोजगारी छैन। व्यापार व्यवसाय चल्दैन। काम पाइँदैन। आय आर्जनको स्रोत छैन। अनि शहरतिर नआएर के गरून्?
मेयरले गरिरहेको काम कानूनी रूपमा त ठीक होला, तर मानवीय पक्ष पनि त आउँछ। उनीहरू रहरले सडकमा बसिरहेका त होइनन्, त्यो पक्ष पनि त हेरिनुपर्छ।
यी सबै विषयमा मेयर साहलाई जानकारी नभएको पनि हुन सक्छ। मेयरलाई भेटेर कुराकानी गर्नुभएन?
यही विषयमा छलफल गर्न खोजेकी थिएँ। मेयरसँग भेटेर मेरा नानीहरूबारे कुराकानी गर्छु भन्ने थियो। समय दिनुहोस् भनेर साथीहरूलाई महानगरपालिका पठाएकी थिएँ। सकिन्छ भने माइती नेपाल हेर्न आउनुुुस् भनेको थिएँ।
मेयर बालेन्द्र साहले ‘यो त महिलाको कुरा भयो, मेयरसँग नभई उपमेयरसँग कुरा गर्नु’ भन्नुभएछ। मलाई दुखेको कुरा र भेट्न चाहेको त मेयरसँग हो नि! उहाँले माइती नेपाललाई ‘फलानोसँग कुरा गर’ भनेर भन्ने होइन। महानगरको मेयर भएर ‘के रहेछ त समस्या’ भनेर सबैका समस्या पनि त सुन्दिनुपर्यो नि। काठमाडौंका मेयरले भेट्न खोज्नुभएन, समस्या सुन्न चाहनुभएन।
विकल्प विना नै यसरी हटाउँदा कस्तो असर पर्छ?
मेरा नानीहरू पुनः यौन व्यवसायमा फर्किन्छन् कि भन्ने चिन्ता लागेको छ। कहिलेकाहीं त सोच्दासोच्दै निदाउनै सक्दिनँ।
यौन व्यवसायमा संलग्न महिलालाई माइती नेपालले वैकिल्पक रोजगारको व्यवस्था गरेको थियो। महानगरको यो कार्यले फेरि त्यही पेशामा फर्किने जोखिम छ कि छैन?
म सबै नानीहरूसँग कुरा गरिरहेकी हुन्छु। उनीहरूकै हितमा काम गर्ने आमा हुँ। म त बेचबिखन विरुद्ध मात्रै काम गर्ने हो नि। यो कोरोनाभाइरसको महामारीले गर्दा यो क्षेत्रमा पनि लागेकी हुँ। अहिले पनि राति सधैं सडकमा गाडी लिएर सबैलाई भेट्न जान्छु। कस्तो अवस्था छ, कोही अलपत्र छन् कि, के छ अवस्था भनेर हेरविचार गर्दै आएकी छु। मेरो स्वास्थ्यले साथ दिंदासम्म सडकमा निस्कन्छु।
हिजो राति पनि सडकमा निस्किएकी थिएँ। बाटोमा बोरा ओछ्याएर सुतिराखेका हुन्छन्। अलपत्र परेका छन्। उनीहरूको अवस्था दयनीय छ।
कोरोनापछि उनीहरूको अवस्था कहालीलाग्दो छ। यौन पेशामा संलग्न नानीहरू अप्ठ्यारोमा परेको थाहा पाएपछि राति सडकमा हेर्न जाने गरेकी छु। कोरोनाको समयमा राति सडकमा बुझ्दै जाँदा एक जना ६४ वर्षीय वृद्धाले चुरोट खानका लागि पाँच रुपैयाँमा यौनसम्पर्क गरेको भेटें। एउटा महिला पाँच रुपैयाँका लागि बिक्री हुने हो! त्यो सुनेर म त पागल जस्तै भएँ। झुन्डिएर मरूँ कि हाम फालूँ जस्तो भयो। घर फर्केर ढोका बन्द गरेर बेस्सरी रोएँ, राति सुत्नै सकिनँ।
त्यो देख्दा त आफैंसँग रिस उठ्यो। यत्रो वर्ष महिलाका लागि भनेर काम गरें। त्यो देख्दा म ‘सीएनएन हिरो’ भएको के अर्थ भन्ने लाग्यो।
ती वृद्धालाई माइती नेपालमै ल्यायौं। अहिले यतै बस्नुहुन्छ। राम्रोसँग हेरचाह गरिरहेका छौं।
पाँच रुपैयाँमा मान्छेले शरीर बेचेको छ। यो देश र महानगरले किन बुझ्दैन। कहाँ छ राज्य? मानिस सडकसम्म किन पुग्छ? आफ्नो गाउँघर छोडेर शहर किन पस्छ? यो कसैले सोच्दैन। सडक खाली गर्ने, गाडी गुडाउन सजिलो बनाउने, सुन्दर बनाउने नाममा यस्तो अन्याय त गर्नुभएन नि!
यसले ती महिलालाई पुनः वेश्यावृत्तिको दलदलमा जान बाध्य बनाउँछ। यही कुरा सुनाउन मेयरलाई भेट्न खोजेकी थिएँ। मेयरले त ‘यो महिलाको कुरा हो, उपमेयरलाई भेट्नुहोस्’ भने जवाफ दिनुभयो। मेयरले मेरो कुरा कहाँ सुनुहुन्थ्यो र!
महानगर त खाली गराउँदै हिंडेको छ, सडक किनार तथा सडकपेटीमा व्यापार व्यवसाय गर्न दिएको छैन। अब यसको समाधान के हो त?
त्यही भएर मैले मेयरलाई भेट्न खोजेकी थिएँ। केही समाधान निस्कन्छ कि भन्ने आशा थियो। तर, मेयरले भेट्नै मान्नुभएन।
माइती नेपालको कोषको पैसा र मेरा साथीभाइसँग सहयोग मागेर बिचल्लीमा परेका नानीहरूलाई सहयोग गर्दै छु। तर, हामीले मात्रै गरेर त पुग्दैन। उनीहरूलाई नै आत्मनिर्भर बनाउने बाटो खोज्नुपर्छ। यसमा ध्यान दिनुपर्ने सरकारी निकायले नै बेवास्ता गरिरहेको देख्दा दिक्क लाग्छ।
यस विषयमा मेयर बालेन साहलाई हिमालखबर मार्फत केही भन्न चाहनुहुन्छ?
मेयरले भेट्न ‘समय छैन’ भन्दै पन्छिनुभयो। यो बूढीको कुरा के सुन्नु भन्ने लाग्यो होला। त्यसैले केही बोलिनँ।