कानूनविपरीत शेयर किनबेच गर्ने जलविद्युत् लगानीकर्ता गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गरिने
धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कानून विपरीत शेयर किनबेच गरेकोमा कारबाही गर्ने भएको छ।
धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले न्यौपाने र प्रधानलाई कारबाही गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उनीहरूलाई बढीमा १५ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ। स्पष्टीकरणको जवाफ पाएपछि थप कारबाही अघि बढ्ने बोर्डका एक अधिकारीले बताए।
न्यौपाने र प्रधानले कानून विपरीत आफूसम्बद्ध कम्पनीको शेयर किनबेच गरेको विभागले गरेको अनुसन्धानले देखाएको थियो। दुवैका विषयमा तयार गरिएको छुट्टाछुट्टै प्रतिवेदनले उनीहरू दोषी देखिएकाले कारबाही गर्न सिफारिश गरेको थियो। जसअनुसार, बोर्ड सञ्चालक समितिले कारबाहीको प्रक्रिया शुरू गरेको हो। न्यौपाने र प्रधान सञ्चालक समितिमा भएको समयमा एकाघरका परिवारका सदस्यको नाममा भएको शेयर बिक्री गरेका थिए।
बोर्डको कारबाहीपछि दुवै जना १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक बन्न पाउनेछैनन् र नगद जरिवाना समेत हुनेछ।
धितोपत्र बोर्डले गठन गरेको छानबिन समितिले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष न्यौपाने र उनका परिवारका सदस्यले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कानून विपरीत दोस्रो बजारबाट खरीद-बिक्री गरेको फेला पारेको थियो। हिमालखबरले २०७९ साउन ३ मा न्यौपानेलाई लामो समयदेखि उन्मुक्ति दिइएको विषयमा समाचार प्रकाशित गरेको थियो।
त्यतिवेलै हिमालखबरलाई प्राप्त छानबिन समितिको गोप्य प्रतिवेदनमा न्यौपाने शेयरको भित्री कारोबारमा समेत संलग्न हुन सक्ने आशङ्का जनाउँदै थप अनुसन्धानको सिफारिश गरिएको थियो। तर, बोर्डले एक वर्षदेखि छानबिन समितिको प्रतिवेदन नै लुकाएर न्यौपानेमाथिको कारबाहीलाई थाती राख्दै आएको थियो।
अध्यक्ष न्यौपानेले पदमा रहँदारहँदै दोस्रो बजारमा शेयर-बिक्री गरेका थिए। न्यौपानेले २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको शेयर खरीद-बिक्री गरेका थिए। जसमा कम्पनीको २८ हजार ९५३ कित्ता शेयर खरीद गरी ३९ हजार २२३ कित्ता शेयर बिक्री गरिएको थियो।
न्यौपाने अध्यक्ष रहेको रिडी हाइड्रोपावर कम्पनीको शेयर किनबेच सम्बन्धमा अध्ययन गर्न २०७८ कात्तिक २९ मा बोर्डका कायममुकायम उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो। समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)बाट प्राप्त विवरण र कागजातको विश्लेषणपछि न्यौपाने तथा उनका परिवारिक सदस्यले उक्त कम्पनीको शेयर दोस्रो बजारमा कानून विपरीत किनबेच गरेको पत्ता लगाउँदै उनीहरूमाथि अधिकतम कारबाहीको सिफारिश सहितको प्रतिवेदन २०७८ पुस ६ गते बोर्डमा बुझाएको थियो।
त्यसै गरी, नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष प्रधानले कम्पनीको अध्यक्ष भएकै वेला श्रीमती र छोराछोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता शेयर बिक्री गरेका थिए। प्रधानले २०७८ भदौ १३ गते कम्पनीबाट राजीनामा दिए पनि उनले २०७८ साउन दोस्रो साता परिवारका सदस्यको नाममा रहेको शेयर बिक्री गरेका थिए।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख लगायतका पदाधिकारीले पदमा रहँदा वा पदबाट हटेको एक वर्षसम्म आफ्नो वा आफ्नो परिवारका सदस्यले उक्त कम्पनीको शेयर खरीद-बिक्री गर्न नपाइने व्यवस्था गरेको छ।
उनीहरूले कम्पनीको शेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) समेत गरेको आरोपमा थप अनुसन्धान गर्न सुझाइएको छ।
भित्री कारोबार भएको हुन सक्नेबारे छानबिन गर्न कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठलाई तहकिकातको जिम्मेवारी दिइएको छ।