कानून विपरीत शेयर कारोबार गर्ने जलविद्युत् लगानीकर्ता गुरु न्यौपानेलाई धितोपत्र बोर्डको उन्मुक्ति, छानबिन प्रतिवेदन लुकाइयो
जलविद्युत् लगानीकर्ता गुरुप्रसाद न्यौपानेले कानून विपरीत शेयर कारोबार गरेको पुष्टि हुँदा पनि धितोपत्र बोर्डले उनीमाथि कारबाही नगरी उन्मुक्ति दिएको पाइएको छ।
धितोपत्र बोर्डले गठन गरेको छानबिन समितिले न्यौपाने र उनका परिवारका सदस्यले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कानून विपरीत दोस्रो बजारबाट खरीद–बिक्री गरेको फेला पारेर कारबाहीको सिफारिश गरेको थियो। हिमालखबरलाई प्राप्त छानबिन समितिको गोप्य प्रतिवेदनमा न्यौपाने शेयरको भित्री कारोबारमा समेत संलग्न हुन सक्ने आशङ्का जनाउँदै थप अनुसन्धानको सिफारिश गरिएको छ। तर, बोर्डले ६ महीनादेखि छानबिन समितिको प्रतिवेदन नै लुकाउँदै न्यौपानेमाथिको कारबाहीलाई थाती राखेको भेटिएको छ।
धितोपत्र बोर्डकी सूचना अधिकृत दीपा दाहालले सुपरिवेक्षण विभागलाई उल्लेख गर्दै प्रतिवेदन कार्यान्वयनकै क्रममा रहेको बताइन्। “यसबारे थप केही भइसकेको छैन, कार्यान्वयनकै क्रममा छ भनेर सुपरिवेक्षण विभागले सूचना दिएको छ,” दाहालले हिमालखबरसँगको कुराकानीमा भनिन्। तर, न्यौपानेसँगको मिलेमतोमा उनलाई उन्मुक्ति दिन सिफारिश समितिको प्रतिवेदन थन्क्याइएको बोर्डका एक अधिकारीले आशङ्का गरेका छन्। बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रतिवेदन कार्यान्वयन गरी न्यौपानेमाथि कारबाही अघि बढाएका छैनन्। सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएपछि अघिल्ला अध्यक्ष भीष्मराज ढुंगाना गत भदौमा सरकारद्वारा बर्खास्त भएका थिए। हमाल गत फागुनमा बोर्डको अध्यक्ष नियुक्त भएका थिए।
न्यौपानेले २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको शेयर खरीद–बिक्री गरेका थिए। जसमा उक्त कम्पनीको २८ हजार ९५३ कित्ता शेयर खरीद गरी ३९ हजार २२३ कित्ता शेयर बिक्री गरिएको थियो।
न्यौपाने अध्यक्ष रहेको रिडी हाइड्रोपावर कम्पनीको शेयर किनबेच सम्बन्धमा अध्ययन गर्न २०७८ कात्तिक २९ मा बोर्डका कायममुकायम उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो। समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट प्राप्त विवरण र कागजातको विश्लेषणपछि न्यौपाने तथा उनका परिवारिक सदस्यले उक्त कम्पनीको शेयर दोस्रो बजारमा कानून विपरीत किनबेच गरेको पत्ता लगाउँदै उनीहरूमाथि अधिकतम कारबाहीको सिफारिश सहितको प्रतिवेदन २०७८ पुस ६ गते बोर्डमा बुझाएको थियो।
प्रतिवेदनमा न्यौपानेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम १(क) मा भएको व्यवस्था तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) विपरीत आफू अध्यक्ष रहेको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरहरू दोस्रो बजारमा खरीद–बिक्री गरेको औंल्याउँदै उनलाई धितोपत्र बोर्ड सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम कारबाही गर्न सिफारिश गरिएको थियो। उक्त उपदफा अनुसार बोर्डले रु.२५ हजारदेखि ७५ हजारसम्म जरिवाना गराउन सक्ने उल्लेख छ।
जरिवाना रकम सानो भए पनि कारबाही हुँदा निम्तिने परिणामको असर ठूलो हुन्छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०८ ले दफा १०१ बमोजिम कारबाही भोगेको व्यक्ति १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक हुन नपाउने व्यवस्था गरको छ। दफामा उल्लेख छ, “कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुनेछैन।” न्यौपानेमाथि कारबाही हुने हो भने उनी आगामी १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा बस्न अयोग्य हुनेछन्।
प्रतिवेदनमा न्यौपानेका छोराहरू सतीश न्यौपाने, सञ्जीव न्यौपाने र बुहारी सिर्जना खड्कामाथि पनि कानून विपरीत दोस्रो बजारमा शेयर खरीद–बिक्री गरेको आरोपमा सोही दफा बमोजिम कारबाहीका लागि सिफारिश गरिएको उल्लेख छ। अपि पावर कम्पनीको सञ्चालक समितिका अध्यक्ष सतीश न्यौपाने, कार्यकारी सञ्चालक सञ्जीव न्यौपाने तथा सञ्चालक सदस्य सिर्जना खड्काले आफ्नो बुबा/ससुरा गुरुप्रसाद न्यौपानेको नामबाट सोही कम्पनीका शेयरहरू धितोपत्रको दोस्रो बजारमा खरीद–बिक्री गरेको देखिएको प्रतिवेदनले औंल्याएको छ।
उनीहरूमाथि पनि धितोपत्र सम्बन्धी ऐनको दफा १०८ बमोजिम कारबाही हुने हो भने कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा बस्न पाउनेछैनन्। अहिले सतीश न्यौपाने अपि पावर कम्पनीका अध्यक्ष छन्। सञ्जीव उक्त कम्पनीका प्रबन्ध निर्देशक छन्।
छानबिन समितिले गुरुप्रसाद न्यौपाने धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९२ अनुसारको भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति भएको देखिएकाले उनले गरेको कारोबार भित्री कारोबार हो वा होइन भन्ने सम्बन्धमा थप अध्ययन गरिनुपर्ने भनी सिफारिश गरेको छ। ऐनको उक्त दफाले संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई भित्री कारोबारमा पहुँच भएको व्यक्तिका रूपमा उल्लेख गरेको छ।
प्रतिवेदनमा न्यौपाने परिवारको शेयर कारोबार गरिदिने त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडलाई पनि कारबाहीको सिफारिश गरिएको छ। यो धितोपत्र दलाल व्यवसायी कम्पनीलाई धितोपत्र ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम रु.एक लाख ५० हजारसम्म जरिवाना गर्न सिफारिश गरिएको थियो। समितिले यो धितोपत्र दलाल व्यवसायी कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनको परिपालना पनि नगरेको औंल्याएको छ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले पदमा रहँदारहँदै दोस्रो बजारमा शेयर–बिक्री गरेका थिए। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) ले संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा पदबाट अवकाश पाएको मितिले एक वर्षसम्म सम्बन्धित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र खरीद–बिक्री गर्न वा गराउन नहुने व्यवस्था गरेको छ।
छानबिन समितिले कारबाही सिफारिश गरेका न्यौपानेले भने आफूलाई कारबाही सिफारिश गरिएको विषयमा अनभिज्ञता जनाए। हिमालखबरको प्रश्नमा उनले भने, “त्यस्तो कारबाहीको सिफारिश गरिएको त नहुनुपर्ने हो, यसबारे मलाई जानकारी छैन।” उनले धितोपत्रको दोस्रो बजारमा रिडी हाइड्रोपावरको शेयर खरीद–बिक्रीको विषयमा पनि आफूलाई जानकारी नभएको बताए।
पछिल्लो समय जलविद्युत् कम्पनीहरूमा संस्थापकहरूले कानून विपरीत शेयर किनबेच गर्दै आएको भेटिएको छ। राधी जलविद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुङ्गाटाले पनि कानून विपरीत शेयर किनबेच गरेको क्लिकमाण्डु अनलाइन पोर्टलले समाचार प्रकाशन गरेको छ। रुङ्गाटा राधी विद्युत् कम्पनीमा अध्यक्ष रहँदा कम्पनीको शेयर २०७८ जेठमा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले बिक्री गरेको थियो। राधी विद्युत् कम्पनीमा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको ४७.२६ प्रतिशत स्वामित्व छ।
त्यसै गरी, नेपाल हाइड्रो डेभलपर लिमिटेडका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले पनि पदमा बहाल रहेकै वेला २०७७ असोजमा श्रीमती, छोरा र छोरीको नामको उक्त कम्पनीको शेयर बिक्री गरेको पाइएको थियो। उनले श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र छोराछोरीसँग अंशबण्डा भइसकेको भनी बोर्डलाई जवाफ दिएका थिए।
कम्पनी वा संस्थाका बारेमा भित्री सूचना भएका व्यक्तिले कानून विपरीत दोस्रो बजारमा शेयर किनबेच गर्दै आए पनि धितोपत्र बोर्डले उनीहरूमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन चुक्दै आएको छ। खास गरी, जलविद्युत् कम्पनीका संस्थापक लगानीकर्ताले पदमा रहँदारँहदै कानून विपरीत शेयर बिक्री गरेर बाहिरिंदै आएका छन्। यसले कम्पनीहरूको संस्थागत सुशासन तथा बजारको स्वच्छतामा गहिरो संशय उत्पन्न गराएको छ।