फ्रान्स र मोरोक्को भिड्दै, को कति बलियो?
फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा आज राति फ्रान्स र मोरोक्को भिड्दै छन्।
कतारको अल बेट रंगशालामा आज राति १२:४५ बजे फ्रान्स र मोरोक्को भिड्न लागेका हुन्। यो कतारको दोस्रो ठूलो रंगशाला हो। यसको क्षमता ६८ हजार ८९५ दर्शक अटाउने रहेको छ।
फ्रान्स र मोरोक्को पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुवै देशले पाँच वटा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए। जसमा फ्रान्सले तीन खेल जितेको थियो भने दुई खेल बराबरीमा टुंगिएका थिए।
यसपटक इङ्ल्यान्डलाई पराजित गर्दै फ्रान्स र पोर्चुगललाई पराजित गर्दै मोरोक्को सेमिफाइनलमा पुगेका हुन्। इङ्ल्यान्डविरुद्धको खेल फ्रान्सले २-१ गोल अन्तरले तथा पोर्चुगललाई मोरोक्कोले १-० गोल अन्तरले पराजित गरेको थियो।
फ्रान्सले खेलेका पछिल्लो पाँच खेलमा चार खेल जितेको छ भने एउटामा हार बेहोरेको छ। मोरोक्कोले पति पछिल्लो पाँच खेलमा चार खेल जितेको छ भने एक खेल बराबरीमा टुंग्याएको छ।
कतार विश्वकपमा क्यानडा विरुद्धको खेलमा आत्मघाती गोल बाहेक कुनै पनि देशले मोरोक्को विरुद्ध गोल गर्न सकेको छैन। बरु मोरोक्कोले पाँच गोल गरेको छ।
लिग चरणमा मोरोक्कोले क्रोएशियासँग गोलरहीत बराबरी खेलेको थियो भने बेल्जियमलाई २-० र क्यानडालाई २-१ गोल अन्तरले पराजित गरेको थियो। प्रिक्वार्टर फाइनलमा स्पेनलाई पेनाल्टी सूटआउटमा ३-० ले पराजित गरेको थियो भने क्वार्टर फाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले पराजित गरेको थियो।
विश्वकपमा फ्रान्सले भने ११ गोल गरेको छ भने पाँच गोल खाएको छ। समूह चरणमा क्यानडासँग १-० ले पराजित भएको थियो भने अस्ट्रेलियालाई ४-१ र डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, प्रिक्वार्टर फाइनलमा पोल्यान्डलाई ३-१ ले र क्वार्टर फाइनलमा इङ्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हो। यअसघका ६ वटा सेमिफाइनलमध्ये पहिला तीन वटा सन् १९५८, १९८२ र १९८६ मा हारेको थियो भने पछिल्लो तीन वटा सन् १९९८, २००६ र २०१८ मा जितेको थियो।
आज मोरोक्कोले जितेमा विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बन्नेछ। अफ्रिकी टोली खेल्न लागेको यो पहिलो सेमिफाइनल खेल पनि हो। यसअघि कुनै पनि अफ्रिकी टोली विश्वकपको सेमिफाइनलमा पुगेका थिएनन्।
आज विजयी हुने टोलीले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। गएराति भएको खेलमा क्रोएशियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरिसकेको छ।