क्रोएशियालाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
क्रोएशियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
कतारको लुसैल रंगशालामा गएराति भएको खेलमा अर्जेन्टिना क्रोएशियालाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। योसँगै अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको छ।
अर्जेन्टिनाका लागि पहिलो हाफको ३४औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गरेका थिए। उनले पेनाल्टीमा पहिलो गोल गरेका हुन्।
त्यसको पाँच मिनेटपछि जुलियन अल्भारेजले अर्जेन्टिनाका लागि अर्को गोल गरे। पहिलो हाफको ३९औं मिनेटमा अल्भारेजले एक्लै बल लगेर गोल गरेका थिए।
दोस्रो हाफको ६९औं मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गरेको थियो। मेसीले दिएको सुन्दर पासमा अल्भारेजले गोल गरेका थिए।
त्यसपछि क्रोएशियाले दबाब बनाए पनि गोल गर्न सकेन। क्रोएशियाले केही अवसर पाए पनि गोलमा परिणत गर्न सकेन।
पहिलो सेमिफाइनल खेलमा अधिकांश समय क्रोएशियाले नै बलमा नियन्त्रण राखेको थियो। खेलमा बलमाथि ६१ प्रतिशत क्रोएशियाले र ३९ प्रतिशत अर्जेन्टिनाको नियन्त्रण रहेको थियो।
लुका मोड्रिक नेतृत्वको क्रोएशियाले गोलका लागि प्रहार पनि धेरै गरेको थियो। क्रोएशियाले १२ प्रहार गर्दा अर्जेन्टिनाले नौ प्रहार गरेको थियो। अर्जेन्टिनाको भन्दा झण्डै दोब्बर पास खेले पनि क्रोएशियाले गोल गर्न भने सकेन।
कतार विश्वकपको फाइनलमा पुग्ने अर्जेन्टिना पहिलो टोली बनेको छ। अब अर्जेन्टिना बुधबार राति फ्रान्स र मोरोक्कोबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।