किन महँगो भयो पुस्तक?
एक-दुई वर्षअघि तीन सयको हाराहारीमा पाइने पुस्तक अहिले दोब्बर महँगो हुँदा पाठक त मर्कामा परेका छन् नै यसले पठन संस्कृतिमा पनि असर परेको छ।
भक्तपुरको गठ्ठाघरका नवीन थापा अचेल पहिले जस्तो पुस्तक किन्न जाँदैनन्। उनले पुस्तक किन्न कन्जुस्याँइ गर्नुको एउटै कारण हो, पुस्तकको बढ्दो मूल्य। बरू अनलाइन बजारका ‘अफर’ कुर्ने गरेको उनी बताउँछन्। “कुन अनलाइनले छूटको अफर ल्याउँछ भनेर हेर्छु,” थापा भन्छन्।
केही समय अघिसम्म हाराहारी २५० पृष्ठको पुस्तकको मूल्य तीन सय रुपैयाँ आसपास हुन्थ्यो। अचेल त्यही आकारको पुस्तकको मूल्य ६-७ सय पुगेको छ। मूल्य बढेकाले पुस्तकको लागि बजेट अपुग भएको थापा सुनाउँछन्। “पहिले पाँच-सात सयमा अंग्रेजी किताब पाइन्थ्यो भने तीन सय हाराहारीमा राम्रै नेपाली किताब पाइन्थे,” उनी भन्छन्, “अचेल मोल बढेर विदेशी पुस्तक किन्नै गाह्रो हुन थालिसक्यो भने नेपाली पुस्तक पनि सस्ता छैनन्।”
ललितपुरको शंखमूलका चन्द्रमणि नेपालको पनि त्यस्तै गुनासो छ । नेपालले आफ्ना लागि साहित्यिक तथा बुवाका लागि केही अध्यात्मिक पुस्तक अनलाइनबाटै मगाए। पुस्तक मगाउन उनले रत्न पुस्तक भण्डारले उपलब्ध गराएको छूटको अवसरलाई छोपेको सुनाउँछन्। “अफिसमै ल्याइदिने भएकाले पुस्तक पसल खासै जान्न। पसल चहार्ने समय पनि हुँदैन,” नेपाल भन्छन्।
पुस्तक महँगो भएको गुनासोप्रति प्रकाशक संस्था फाइनप्रिन्टका नीरज भारीको असहमति छैन। पुस्तकको मूल्य बढ्नुको मुख्य कारण कागजको बढ्दो भाउ भएको प्रष्ट्याउँदै उनी अन्य धेरै कारणले त्यसमा काम गरेको बताउँछन्। “पुस्तकको मूल्य निर्धारणमा प्रकाशकको निर्णायक भूमिका हुने भए पनि सबै कुरा प्रकाशकको नियन्त्रणमा हुँदैन,” उनी भन्छन्।
केही सयमयता कागजको मूल्य बढ्दै गएको छ। त्यस्तै, बजार भाउ पनि अकाशिँदै गएको छ। “अहिलेको नै स्थिति रहने हो भने पठन संस्कृति बढ्दैन,” प्रकाशन संस्था कथालयका राजीव धर जोशी भन्छन्, “यसको असर किताबमा मात्र नभई पत्रिका साथै अनलाइन र सम्पूर्ण ज्ञान प्राप्त गर्ने माध्यममा पर्छ। हामी मात्र हेडलाइन पाठक बन्नेछौं र सीमित अध्ययनले ज्ञानको दायरा साँघुरो हुनेछ।”
विगतमा लेटर प्रेसको चल्ती हुँदा कागजमा हातले लेखेर दिएको पाण्डुलिपि प्रेस खर्च मात्रमा पुस्तक बनेर आउँथ्यो। अहिले प्रविधिको प्रयोगले पुस्तक महँगिएको प्रकाशकहरूको भनाइ छ। टाइप, सम्पादन, शुद्धाशुद्धि, भित्री र बाहिरी आवरण सज्जा र ‘प्याकेजिङ’ खर्चले पुस्तकको मूल्य बढेको उनीहरूको भनाइ छ। नेपालका प्रमुख प्रकाशन संस्था साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानले संस्था सञ्चालनका लागि सरकारी अनुदान पाउँछन् । तर निजी प्रकाशन संस्थाले भने बिक्रीमै भर पर्नु पर्छ ।
त्यस्तै, राम्रा सम्पादकले एउटा पुस्तक सम्पादन बापत पुस्तकको आकार हेरी ५० हजारदेखि दुई लाख रुपैयाँसम्म लिन्छन्। लेखकलाई पुस्तकको बिक्री मूल्यको न्यूनतम १० देखि १५ प्रतिशत लेखकस्व दिने गरिन्छ। “यी सब खर्चले पनि पुस्तक महँगो देखिएको हो,” भारी भन्छन्।
अर्को, नेपालमा पुस्तक तयार पार्न चाहिने सबै सामान विदेशबाटै आयात हुन्छ। त्यसमा जोडिने कर र सेवा शुल्कले नेपाली पुस्तक भारतीयभन्दा महँगो भएको प्रकाशकहरू बताउँछन्। एक वर्षमा कागजको मूल्य झण्डै दोब्बर भएको जनाउँदै पुरानो प्रकाशन संस्था साझा प्रकाशनका अधिकृत भेषराज घिमिरे प्रेसजन्य सामग्रीको अकाशिएको बजार भाउले पुस्तक महँगिएको बताउँछन्। “कोरोना महामारीअघि प्रति किलो ११० देखि १२० रुपैयाँमा पाइने कागजको मूल्य दोब्बर भएको छ,” घिमिरे भन्छन्, “प्रेसलाई चाहिने मसी, फिल्म, ग्लू लगायत यावत् सामानको भाउ थेग्न नसक्ने गरी बढेपछि त्यसको असर पुस्तकको मूल्यमा परेको हो।”
महँगीको मार
प्रकाशकहरूका अनुसार, समग्र मूल्यवृद्धिको असर पुस्तकमा पनि परेको छ। गत पाँच वर्षमा नेपालको मूल्यवृद्धि ४.६ प्रतिशत थियो, जसलाई मध्यम मूल्यवृद्धि मानिन्थ्यो। तर, कोरोनाभाइरस महामारीपछि अन्तर्राष्ट्रिय बजारमा सामानको मूल्य बढेसँगै परेको चाप रसिया-युक्रेन युद्धले झन् चर्कियो। मुख्यतः पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै वस्तु तथा सेवाको मूल्य बढेको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, २०७९ वैशाखमा मूल्यवृद्धि ८ प्रतिशत पुगेको थियो। यस वर्षको अन्त्यसम्म वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि त्योभन्दा उच्च हुने अनुमान छ। २०७९ वैशाखमै खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.१ प्रतिशतले बढेको थियो। राष्ट्र ब्यांकका अनुसार, नेपालमा गत ४० वर्षमा औसत मूल्यवृद्धि ८ प्रतिशत छ।
त्यस्तै, रुस-युक्रेन युद्धअघि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, धातु, खाद्य सामग्री र अन्य मध्यवर्ती वस्तुको मूल्य २७ वर्षयता उच्च बिन्दुमा पुगेको थियो। कोभिड-१९ ले गराएको बन्दाबन्दीपछि खुलेको बजारमा वस्तु तथा सेवाको माग ह्वात्तै बढ्दा माग र आपूर्तिको असन्तुलनले वस्तुको मूल्यमा विश्वव्यापी चाप परेको विज्ञहरू बताउँछन्। यसको प्रभाव पुस्तकमा पनि परेको प्रकाशकहरूको भनाइ छ।
आठ महीनाअघि गत अप्रिलमा भारतको उपभोक्ता मूल्यवृद्धि ७.७९ प्रतिशत पुगेको थियो। जुन आठ वर्षयताकै उच्च हो। त्यसको असर नेपालमा पनि पर्यो, किनभने अधिकांश वस्तु भारतबाटै आयात हुन्छन्।
विश्व कागज बजारको प्रमुख आपूर्तिकर्ता र उत्पादक चीन हो। एकातिर चीनले कागजको भाउ बढाउँदा त्यसको असर विश्व बजारमा पर्यो भने अर्कातिर पुस्तकको गुणस्तर बढाउँदा पनि महँगो भएको व्यवसायीको भनाइ छ। “पहिले नेपालमै उत्पादित कागज पुस्तकमा प्रयोग हुन्थ्यो, जुन सस्तो पनि हुन्थ्यो,” छपाइ सेवा प्रदायक संस्था प्रिन्ट कम्युनिकेशनका दीपक अधिकारी बताउँछन्, “अचेल विदेशी किताब सरह बनाउन कागज पनि विदेशी नै उपयोग हुँदा महँगो पर्न गएको हो।”
यससँगै बजार अनुगमन नहुँदा पनि मूल्यवृद्धि भइरहेको छ। त्यसको मारमा ग्राहक परेको अधिकारी बताउँछन्।
त्यस्तै, कम बिक्री हुने पुस्तक थोरै छापिने हुँदा पुस्तकको मूल्य अधिक हुन्छ। प्राज्ञिक पुस्तक थोरै बिक्री हुने भएकाले पनि मूल्य अधिक हुने विश्वव्यापी अभ्यास नै छ। त्यस्ता पुस्तक वर्षौंको अनुसन्धानपछि निकै मिहिनेत साथ लेखिन्छन्। यद्यपि, लगानीको तुलनामा मूल्य सस्तै मान्नुपर्ने प्रकाशकहरूको तर्क छ।
कविता, नाटक जस्ता कम बिक्री हुने पुस्तकको मोल पनि तुलनात्मक रूपमा अधिक हुन्छ। पाककलाका पुस्तक चिल्लो प्रकारको महँगो कागजमा रङ्गिन छपाइमा छापिने हुँदा महँगो नै पर्छ। प्रकाशन गृहबाट त्यस्ता पुस्तक कमै छापिन्छन्।
आख्यान भने धेरै बिक्री हुने भएकाले मूल्य पनि सस्तो पर्छ। पुस्तक बजारलाई धान्ने भनेकै आख्यानले हो। पुस्तकको महत्त्वसँग यसको मूल्यको तुलना नहुने भए पनि नेपाली ग्राहकको क्रयशक्ति कमजोर हुँदै जाँदा पुस्तक बजारमा प्रतिकूल असर परेको छ।
प्रकाशन संस्था कथालयका जोशी पाठ्यपुस्तक बाहेकको सामग्री पढ्नेको संख्या कम रहेको बताउँछन्। “अहिले साहित्यका कथा-उपन्यास केही चर्चित लेखकको पुस्तक १०-१५ हजार बिक्री हुन्छन्,” जोशी भन्छन्, “त्यस्ता पुस्तक वर्षमा ६-७ वटा निस्कन्छन्। चर्चित व्यक्तिका गैरआख्यान पनि दुई-चार हजार बिक्री हुन्छन्। नत्र आम पुस्तक छापिने र बिक्री हुने भनेको हजार-दुई हजार हो।”
पठन संस्कृति स्थापनाका लागि पठन अभियान नै सञ्चालन गर्नुपर्ने जोशीको सुझाव छ। त्यसका लागि राष्ट्रिय तहबाटै पुस्तकालयमा कस्ता पुस्तक किन्न लगाउनेदेखि निजी पुस्तक प्रकाशनलाई समेट्ने कुराको निर्धारण हुनुपर्ने उनी बताउँछन्। “विद्यालयले विद्यार्थीको स्तर अनुसार पुस्तक सूची तयार गरी अध्यापन गर्न लगाउने र त्यसलाई परीक्षामा जोड्नुपर्छ,” जोशी भन्छन्।
त्यस्तै, पठन संस्कृति बढाउन जिल्ला वा स्थानीय तहस्तरमा बाल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी हुनुपर्ने अध्येताहरूको सुझाव छ। उनीहरूका अनुसार हाम्रो लक्ष्य अब पुस्तक पढ्ने व्यक्तिको संख्या, वार्षिक पढेको पुस्तक संख्या, बौद्धिक स्तर वृद्धिमा हुुनु जरुरी छ।
पसल जाने घटे
प्रविधिको विकास र आधुनिकताको गतिसँगै सामान किन्न जाने भन्दा पनि सामान मगाउने अभ्यास बढ्दै गएको छ। सामान बिक्रीको प्रवृत्ति नै अनलाइनमय भइरहँदा पुस्तक बिक्रीमा पनि यसको प्रभाव परेको छ। प्हिले पहिले पुस्तक किन्न पसलै जाने चलन थियो, तर अचेल सूचना प्रविधिको व्यापकताले पुस्तक किन्न पसलै जानुपर्ने बाध्यता छैन।
जुत्ता, लुगा किन्न शरीरमा ठीक हुन्छ/हुँदैन, सुहाउँछ/सुहाउँदैन जाँच्न पनि पसलै जानुपर्छ। पुस्तकको हकमा भने त्यो आवश्यक देखिँदैन। फेरि पसल जान लाग्ने समय र गाडीभाडा वा सवारी साधनको इन्धनको खर्च पनि अनलाइन खरीदले जोगाउँछ।
बागबजारको रत्न बूक डिस्ट्रिब्युटरका सुरेश श्रेष्ठ नयाँ पुस्ता अनलाइनमा अभ्यस्त हुँदै गए पनि पुराना ग्राहक पुस्तक किन्न आइरहेको बताउँछन्। काठमाडौं उत्यकामा शहरीकरण बढेको र बस्ती विस्तार भएकाले टाढाका ग्राहक अनलाइनतर्फ आकर्षित भएको उनी बताउँछन्। “नयाँ पुस्ताका पाठकले अनलाइन मार्फत किन्ने गरेको देखिन्छ,” श्रेष्ठ भन्छन्।
पछिल्लो समय सामान बिक्री गर्ने अनलाइन पोर्टल फस्टाउँदै छन्। तिनले पुस्तकलाई पनि समावेश गरेका छन्। जसले गर्दा पाठक पुस्तक पसल पुग्नुभन्दा पनि अनलाइनबाट पुस्तक खरीद गर्न थालेका छन्।
केही समयअघि अनलाइनमार्फत पाइने छूट हेरेर पुस्तक किनेका भक्तपुरको गठ्ठाघरका थापा पसल नगएको धेरै भएको बताउँछन्। उनी भन्छन्, “एक क्लिकको भरमा पुस्तक घरमै आउँछ भने किन धाउनु?”