विद्यार्थीको झोला बोक्ने ‘जोगी सर’ सांसदमा निर्वाचित
मोरङ-५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ‘जोगी सर’ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी दुवै गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले २१ हजार ८२० मत पाए।
उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाए। त्यस्तै, नेकपा (एमाले)को समर्थन रहेका जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत पाए।
माओवादी उम्मेदवार मण्डल यसअघि तीन वटा निर्वाचनमा लगातार निर्वाचित भएका थिए।
‘जोगी सर’ नामले चिनिने उनी शिक्षा, स्वास्थ्य लगायतका मुद्दा बोकेर मतदाता समक्ष जाने गरेका थिए। उनले ‘ठूलो सपना देखाउँदिनँ, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारमा मेरो भूमिका छ र रहन्छ’ भन्दै मत माग्ने गरेका थिए।
२०५२ सालमा बीएस्सी गरेर विराटनगरबाट मोरङको अमाही बरियातीमा गएर विद्यार्थीलाई निःशुल्क ट्यूसन पढाएका थिए। उनले विद्यालय नजाने विद्यार्थीको झोला बोकेरै ट्यूसन पढाउन लग्ने गरेका थिए।
जसले गर्दा स्थानीय बासिन्दामाझ लोकप्रिय थिए। उनी आफ्नो नामले भन्दा पनि ‘जोगी सर’ उपनामले परिचित थिए।
२०५४ मा जीवन विकास समाज संस्था स्थापना गरेर गाउँमा सामाजिक क्रियाकलापमा संलग्न उनलाई स्थानीयले ‘जोगी सर’ भनेर बोलाउने गरेका छन्।
उनको अगुवाइ रहेको जीवन विकास पब्लिक स्कूलमा एक हजार २०० र बालविकास केन्द्रहरूमा ६०० विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, उनकै अगुवाइमा ३०० शय्याको अस्पताल बन्दै छ।