योगेन्द्रको अठोट, खलियानबाट शुरु भएको विद्यालयमा १२ सय विद्यार्थी
२३ वर्षअघि गाउँका बालबालिकालाई खलियानमा भेला गरेर पढाउन शुरू गरेका एक युवकको अठोटबाट कहलिएको विद्यालय स्थापना मात्र भएन, सात जिल्लामा ७५ शाखा रहेको संस्था समेत विकास भयो।
गुणस्तरीय शिक्षा दिइरहेको मोरङको अमाही बरियातीस्थित सुविधासम्पन्न जीवन विकास पब्लिक स्कूल, जहाँ १२०० विद्यार्थी अध्ययनरत छन् यसको जग बीएस्सी परीक्षा दिएर गाउँ आएका एक विद्यार्थीले बसालेका हुन् भन्दा जो–कोहीलाई पत्याउन गाह्रो हुन्छ ।
त्यति मात्र होइन, २३ वर्षअघि उक्त विद्यालय स्थापना र गरीबी न्यूनीकरणका लागि शुरू गरिएको जीवन विकास समाज सहकारी (लघुवित्तमा रूपान्तरित) ले गएको वर्ष मात्र करीब रु.८ अर्ब लगानी गर्न सफल भएको छ ।
हो, मोरङको धनपालथान गाउँपालिका–७ स्थित जीवन विकास पब्लिक स्कूल स्थापना र यसको विकासको कथा रोचक र प्रेरक छ । अंग्रेजी माध्यममा पढाइ हुने यो विद्यालयको स्थापना अमाही बरियातीका योगेन्द्र मण्डलले गरेका हुन् ।
जोगीको लगन
२०५२ सालमा महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट बीएस्सीको परीक्षा दिएपछि योगेन्द्र मण्डल (जोगी) आफ्नो गाउँ अमाही बरियाती फर्किए । “गाउँको बाध्यता हलो जोत्नै पर्ने, म पढेर आएको केटो, खेतमा जान मन लागेन”, योगेन्द्र भन्छन्, “छिमेकका दलित बालबालिका भेला गरेर पढाउन थालें ।”
परीक्षाको नतिजा कुरेर बसेका योगेन्द्रलाई यो काम सेवाका साथै समय कटनी पनि थियो । त्यसैले निःशुल्क पढाउँथे । उनी भन्छन्, “पढ्न आउनेहरू यति धेरै भए कि बिहान–बेलुका दुई पटक पढाउँदा पनि थेग्न धौ–धौ थियो ।” केही महीनापछि बीएस्सीको नतिजा आयो । योगेन्द्र एमएस्सी पढ्न कीर्तिपुरतर्फ लागे ।
“त्यही वर्ष दशैंमा घर आएका बेला आफूले पढाएका केटाकेटी देखें, उनीहरूले पढ्न पाइरहेका थिएनन्” योगेन्द्र भन्छन् । त्यसपछि उनले गाउँलेको भेला गराएर मासिक रु.५०० दिने शर्तमा छुट्टै ट्यूसन शिक्षकको व्यवस्था गरिदिए । “खासमा पैसा तिर्न नसक्ने अभिभावकहरूले मंसीरमा धान बेचेपछि प्रति विद्यार्थी पाँच किलो धान दिने शर्तमा शिक्षक राखिएको थियो”, उनी सम्झन्छन् । त्यसबेला २५० जना विद्यार्थीले दिएको धान मंसीरमा एकमुष्ट बेचेर शिक्षकलाई तलब दिइएको थियो ।
शिक्षकको व्यवस्था त भयो तर, खेतीको सिजनमा गरीबका छोराछोरी पढ्न आउन पाएनन् । उनीहरूमध्ये धेरैलाई खेतमा काम गर्न जानुपर्यो, कोही बाबुआमा खेतमा जाँदा घरमा भाइबहिनी हेरेर बसे ।
अरूको खेतमा काम गरेर पेट पाल्ने परिवारका छोराछोरी पढ्न नपाएको देखेर सहकारीमार्फत गरीबी कम गर्ने र विद्यार्थीलाई पढाइको व्यवस्था मिलाउने उद्देश्यले २०५४ सालमा दशैंको छेक पारेर संस्था दर्ता गरियो । संस्था दर्ता गर्न लाग्ने रु.५०० मध्ये आफूसँग अपुग भएको रु.१५० साथी विश्वनाथ मण्डलसँग मागेर ‘जीवन विकास समाज’ दर्ता गरेको योगेन्द्र सम्झन्छन् ।
जीवन विकास समाजले गाउँमा बचत समूह बनाएर कारोबार गर्न थाल्यो । आसपासका पाँच गाविसमा ५५ वटा समूह बने । मासिक रु.५ देखि रु.२० सम्म जम्मा गर्ने मानिस तयार भए ।
संस्थामा रकम बचत हुँदै गयो । २०६१ सालमा प्रति बिघा रु.१ लाख ५० हजारका दरले ६ बिघा जमीन खरीद गरेर जीवन विकास पब्लिक स्कूल स्थापना गरियो । संस्थाले विद्यालयका लागि थप ११ बिघा जमीन किन्यो । अहिले जीवन विकास पब्लिक स्कूलका तीनतले दुई भवन र छात्रावास १९ बिघा जमीनको कम्पाउण्डमा छन् । स्कूल भवन निर्माणमा मात्रै रु.६ करोड खर्च भएको छ ।
२२ किलोमिटर पूर्वको डाइनिया र १२ किलोमिटर पश्चिमको विराटनगरका विद्यार्थी समेत यहाँ पढ्न आएका छन् । रोचक त के भने गुणस्तरीय पढाइ भएकै कारण पाँच किलोमिटर दक्षिणमा रहेको भारतीय गाउँका विद्यार्थी पनि यहाँ आउँछन् । “हाम्रो रिजल्ट राम्रो छ, शुल्क कम छ, भारतीय विद्यार्थी पनि पढ्न आउँछन्” प्रधानाध्यापक अजितकुमार मण्डल भन्छन् ।
योगेन्द्रसँगै निःशुल्क ट्यूसन पढेर अहिलेको अवस्थासम्म आइपुगेका प्रअ मण्डलका अनुसार जीवन विकास स्कूलले अधिकतम मासिक रु.१७०० मा विद्यार्थी पढाइरहेको छ । जीवन विकास समाजका सदस्यका छोराछोरीलाई शुल्कमा १० प्रतिशत छुटको व्यवस्था पनि छ । यहाँ अध्ययनरत अधिकांश विद्यार्थीका अभिभावक समाजका सदस्य हुन् ।
“हामी विद्यार्थीलाई व्यावहारिक शिक्षा दिन्छौं”, प्रधानाध्यापक अजयकुमार मण्डल भन्छन्, “प्रयोगात्मक अभ्यासका क्रममा उत्पादित कृषि उपजबाट पनि विद्यालयले आम्दानी गरिरहेको छ ।” बेमौसमी तरकारी र च्याउ खेतीका बारेमा विद्यार्थीलाई सिकाउने क्रममा भएको उत्पादनबाट समेत विद्यालय लाभान्वित भइरहेको छ ।
जीवन विकास समाजका निर्देशक दामोदर रेग्मीका अनुसार विद्यालयले बाल शिक्षा र किशोरी शिक्षाका छुट्टाछुट्टै कक्षा पनि संचालन गरिरहेको छ । बाल शिक्षाका लागि बेग्लै भवनमा अध्ययनरत बालबालिकालाई विद्यालयले पौष्टिक आहार पनि उपलब्ध गराउँछ । त्यसबापत मासिक शुल्क रु.५४० मात्रै लिइन्छ । “खाजाको खर्च मात्रै लिइन्छ, पढाइ निःशुल्क नै हो”, शिक्षिका कञ्चन यादव भन्छिन् ।
समाजको सफलता
२०५९ मा लघुवित्तको कारोबार गर्ने प्रमाणपत्र पाएको जीवन विकास समाजका अहिले मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा, इलाम, सिन्धुली गरी सात जिल्लामा ७५ वटा व्यवस्थित शाखा छन् । एक लाख ९७ हजार ९५७ सदस्यले नियमित बचत गर्छन् ।
मोरङ कटहरीमा रु.९ करोडको लागतमा समाजको पाँचतले भवन बनेको छ । मोरङकै रतुवामाई नगरपालिकामा रु.१ करोड २१ लाख र जहदा गाउँपालिकामा रु.१ करोड १३ लाख खर्चेर शाखा भवन बनाइएको छ । रु.२ करोडको लागतमा छात्रावास बनाइएको छ ।
योगेन्द्र सम्झ्न्छन्, “शुरूमा हाम्रो सहकारीको कार्यालय समेत नहुँदा सडक छेउमा उभिएरै बचत संकलन र ऋण लगानीको काम गरेका थियौं ।”
योगेन्द्रसँगै निःशुल्क ट्यूसन पढेका जीवन विकास समाजका सिनियर अधिकृत रमेश रायका अनुसार, गएको आर्थिक वर्षमा रु.७ अर्ब ९१ करोड लगानी गरेको समाजले रु.४ अर्ब ८१ करोड बचत गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मान
गुणस्तरीय शिक्षाका लागि राम्रो काम गरेबापत जीवन विकास समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्ट ले ‘क्वालिटी एजुकेशन फर अल’ पुरस्कारबाट सम्मानित गरेको छ ।
तीन लाख अमेरिकी डलरको यो पुरस्कार गएको ३१ असोजमा संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा आयोजित कार्यक्रममा स्पेनकी महारानी सोफिया र साउदी अरबका राजकुमार तलाल विन अब्दुल अजिजले समाजका अध्यक्ष योगेन्द्र मण्डललाई प्रदान गरेका हुन् ।
करीब रु.३ करोड १० लाख बराबरको उक्त रकममा त्यत्ति नै थपेर कोष खडा गर्ने योजनामा छन् योगेन्द्र । उक्त कोषको रकमबाट सामुदायिक विद्यालयहरूको शिक्षा सुधारमा यसै वर्ष रु.१ करोड १० लाख खर्च गरिने र बाँकी रहेको रु.५ करोडको अक्षय कोष बनाई त्यसको ब्याजबाट शिक्षा सुधारका काम गरिने उनी बताउँछन् ।
“यो वर्षबाट नै जीवन विकास समाजले वार्षिक रु.३ करोड समाजका लागि खर्च गर्छ” योगेन्द्र भन्छन्, “अरू संस्थाहरूको साझेदारीमा हालसम्म ४० हजार घर बनाएर गरीबलाई दिइसकेका छौं ।”
मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको जीवन विकास समाजले करीब दुई लाख विपन्न परिवारलाई लघुवित्तका साथै शिक्षा, स्वास्थ्य, कृषि, आवास, ऊर्जालगायतका सामाजिक सेवा प्रदान गरिरहेको छ ।