राज्य संयन्त्रको दुरुपयोग गरेर पार्टीलाई बदनाम गर्न खोजियोः एमाले
नेकपा (एमाले)ले आफ्नो पार्टीलाई बदनाम गर्न राज्य संयन्त्रको दुरुपयोग भएको जनाएको छ।
काठमाडौं ५ (ख)का प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौला लगायतलाई बिरामी भेट्न गएका वेला प्रहरीले नियन्त्रणमा लिएर चरित्र हत्या गर्न खोजेको एमाले निर्वाचन परिचालन कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एमाले काठमाडौंका अध्यक्ष तथा प्रदेश सभा सदस्यका उम्मेदवार निरौला र बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई क्यान्सरका बिरामी तोक्मान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जाँदा राज्य संयन्त्रको दुरुपयोग गरेर प्रहरी बोलाउने र पैसा बाँडेको भनेर बदनाम गर्न खोजिएको काठमाडौं ५ एमाले निर्वाचन परिचालन कमिटी संयोजक शान्ति अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
आफ्नो पार्टीलाई बदनाम गर्न प्रहरी प्रशासनको समेत दुरुपयोग भएको भन्दै छानबिन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ। “कुनै तथ्य र प्रमाण विना गैरराजनीतिक कुरा गरी चरित्र हत्या गर्ने र चुनावी माहोल अन्त मोड्ने हिसाबले घटना गरिएको स्पष्ट छ,” विज्ञप्तिमा भनिएको छ, “हामी आरोप लगाउनेहरूलाई पुष्टि गर्ने प्रमाण भए सप्रमाण आउन चुनौती दिन चाहन्छौं।”