काठमाडौं-५ का एमाले प्रदेश सभा उम्मेदवार प्रहरी नियन्त्रणमा
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख)का प्रदेश सभा सदस्यका उम्मेदवार दीपक निरौला सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले निरौला सहितको टोलीलाई मंसीर २ गते साँझ केही व्यक्तिले होहल्ला गर्दै घेराउ गरेपछि उद्धार गरिएको दाबी गरे। उनले हिमालखबरसँग भने, “उनलाई किन घेराउ गरियो भन्ने खुलिसकेको छैन।”
निरौला नेकपा (एमाले)का उम्मेदवार हुन्। उनको टोलीले रकम बाँडेको भन्दै नेपाली कांग्रेस समर्थित समूहले नाराबाजी गर्दै घेराउ गरेपछि प्रहरीले निरौला सहित बूढानीलकण्ठ-६ का वडाध्यक्ष रवि खड्का र अर्का एक जनालाई उद्धार गरेको बताएको छ। उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले जानकारी दिएको छ।
पैसा बाँडेको विषय भने पुष्टि नभएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले बताए। प्रहरीले नियन्त्रणमा लिएको गाडी निर्वाचन आयोगको प्रतिनिधिको रोहबरमा खानतलासी गर्ने भएको छ।
निरौलाले मौन अवधिमा मतदातालाई प्रभावित तुल्याउन गाडीमा रकम लिएर हिंडेको कांग्रेस लगायतका प्रतिस्पर्धी दलको आरोप छ। तर, त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन। तर, सामाजिक सञ्जालमा भने एमालेले रकम बाँडेको आरोपमा निरौला सहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै भिडिओ भाइरल बनाइएको छ।
जिल्ला निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन समितिको प्रतिनिधि आएपछि गाडीको खानतलासी गरिने भएको छ। त्यसपछि घटनाको यथार्थ विवरण आउने जनाइएको छ।
निरौलाले पनि आफू क्यान्सरका रोगका बिरामी तोक्मान लामालाई भेट्न जाँदा निराधार आरोप लगाएको भन्दै पुष्टि गर्न चुनौती दिंदै फेसबूकमा स्टेटस लेखेका छन्।
काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, जनता समाजवादी पार्टीका भीमबहादुर मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेती, नेपाल मजदूर किसान पार्टीका शैलेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी मौलिक जरोकिलो पार्टीका रामकृष्ण परियार, हाम्रो नेपाली पार्टीका मधुसूदन पाठक, नेपालका लागि नेपाली पार्टीका सागर खड्का, नेशनालिस्ट पिपल्स पार्टीका लवली थापा, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) टीकामाया गुरुङ, नेपालवादका दीपककुमार शर्मा, एकीकृत शक्ति नेपालका दीपक सिंह, जनसमाजवादी पार्टीका राजु विष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशमशेर राणाले उम्मेदवारी दिएका छन्।
त्यस्तै, स्वतन्त्रबाट श्रीराम गुरुङ, विनीता अर्याल, बाबुराम पोखरेल, गोपीलाल न्यौपाने, सुशान्त श्रेष्ठ, कृष्णराज श्रेष्ठ, विजय कँडेल, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायणप्रसाद दाहाल, रञ्जु न्यौपाने, शैलेन्द्र बस्नेत, हेमराज थापा र रमेश केसीको उम्मेदवारी परेको छ।