गोरखा-२ मा दाहालका दुई चुनौती
चितवनमा हार्ने भयले गोरखा-२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मंसीर ४ को चुनाव चुनौतीरहित भने छैन।
चितवन छाडेर गोरखा-२ पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले आफूले प्रतिस्पर्धी नै पत्ता लगाउन नसकेको प्रतिक्रिया दिने गरेका छन्। “मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएको जस्तो मानेको छु,” चुनाव प्रचारका क्रममा दाहालले भनेका छन्, “‘प्रतिस्पर्धी मैले पत्ता लगाउन सकिनँ, प्रतिस्पर्धी देखेको पनि छैन, चिनेको पनि छैन।”
सत्ता गठबन्धनमा आबद्ध दलहरूले विगतमा पाएको मतलाई आधार मान्दा दाहाल बलियो अवस्थामा भएको सत्य हो। तर, मंसीर ४ गतेको चुनाव जित्न दाहाललाई चुनौती नै नभएको भने होइन। खास गरी नेपाली कांग्रेसका असन्तुष्ट पक्ष र मुस्लिम मतदाता दाहालको सांसद बन्ने यात्रामा तगारो बन्न सक्ने गोरखाका स्थानीयवासी बताउँछन्।
कांग्रेसका असन्तुष्टले अप्ठ्यारो
यसअघिका निर्वाचनहरूको नतीजा हेर्दा गोरखा माओवादी र कांग्रेस बलियो भएको जिल्ला हो। २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले गोरखाका दुई पालिका र कांग्रेसले नौ पालिकामा जितेका थिए भने गत वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेसले दुई पालिका र माओवादीले नौ पालिका जिते।
दुवै दल सत्ता गठबन्धनमा भए पनि कांग्रेस र माओवादीबीच एकखाले आन्तरिक असन्तुष्टि छ। त्यही असन्तुष्टि दाहालका लागि घातक हुन सक्ने कतिपय स्थानीयको बुझाइ छ।
दशक लामो सशस्त्र द्वन्द्वका वेला कांग्रेसका नेतालाई छानीछानी माओवादीले दुःख दिएका धेरै घटनाहरू छन्। जसका कारण कतिपय कांग्रेस मतदाताले माओवादी उम्मेदवारलाई मत दिन नसक्ने देखिन्छ।
कांग्रेसका बागी उम्मेदवार गणेश देवकोटा र नेपाली कांग्रेस (बीपी)बाट उम्मेदवार रहेका टीकादत्त पोखरेललाई असन्तुष्ट मत जान सक्ने देखिन्छ। नेकपा (एमाले) उम्मेदवार अब्दुस मियाँ भने सोही असन्तुष्ट मत आफ्नो पक्षमा ल्याउने प्रयासमा देखिन्छन्।
गोरखा-२ मा गठबन्धनका उम्मेदवार दाहाल विरुद्ध उम्मेदवारी दिएका गणेश देवकोटा पार्टीको बलियो मत भएको ठाउँमा विगतमा आफ्ना पार्टीका नेता-कार्यकर्तालाई दुःख दिएको माओवादीसँग तालमेल गरेपछि पार्टी कार्यकर्ताको भावना बुझेर आफू चुनावमा उठेको बताउँछन्।
आफ्नो उम्मेदवारी माओवादीसँगको गठबन्धनका विरुद्धमा भएको र आफूलाई पार्टीका कार्यकर्ताले राम्रो मत दिने देवकोटाको विश्वास छ। “गोरखामा कांग्रेसको बलियो मत छ, माओवादीको सशस्त्र द्वन्द्वका क्रममा हाम्रा पार्टीका अधिकांश नेता-कार्यकर्ता माओवादीबाट मारिएका छन्, अङ्गभङ्ग भएका छन्,” देवकोटाले हिमालखबरसँग भने, “त्यस कारण मैले यो गठबन्धन विरुद्ध विद्रोह गरेको हुँ। यस क्षेत्रमा हाम्रो पार्टीका नेता–कार्यकर्ताको मत मलाई आउँछ।”
कांग्रेस महासमिति सदस्य राजनराज पन्त भने धेरै नेता-कार्यकर्ता द्वन्द्वबाट पीडित भए पनि अब ती कुरा बिर्सिंदै जानुपर्ने तर्क गर्छन्। गोरखा नगरपालिकाका पूर्व मेयर समेत रहेका पन्तको एउटा औंला समेत सशस्त्र द्वन्द्वका वेला माओवादीको कुटाइबाट गुमेको थियो।
मुस्लिम मत
प्रमुख प्रतिपक्षी एमालेले यो क्षेत्रमा २८ वर्षीय अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ। विवेकशील साझा पार्टी परित्याग गरेर एमालेमा आएका उनी गोरखाकै स्थानीय हुन्।
गणतीय रूपमा सत्ता गठबन्धन बलियो देखिएपछि मियाँ मुस्लिम समुदायको मत एकीकृत गर्ने प्रयासमा देखिन्छन्। उनले मुस्लिम समुदायको मतलाई दाहाललाई चुनौती दिने आधारका रूपमा लिएका छन्।
यद्यपि, स्थानीयवासी भएकाले आफूलाई सबै मतदाताको विश्वास रहेको मियाँ बताउँछन्। मतदाताहरू विगतदेखि नै ‘टुरिस्ट उम्मेदवार’ सँग सतर्क रहेको उनको भनाइ छ। चुनाव जित्नकै लागि गोरखा पुगेका दाहालभन्दा गोरखाकै माटोमा जन्मेहुर्केको आफूलाई गोरखालीले मत दिने मियाँको विश्वास छ।
गठबन्धनको बलियो गणित
गत वैशाख ३० गतेको निर्वाचनमा केन्द्रमा सत्ता गठबन्धन भए पनि यो जिल्लामा कांग्रेस र माओवादीले एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए। यस पटक भने उनीहरूले साझा उम्मेदवार उठाएका छन्। गोरखा-१ मा कांग्रेसका राजेन्द्र बजगाईं उम्मेदवार छन् भने गोरखा-२ मा माओवादी अध्यक्ष दाहाल।
शान्ति प्रक्रियापछि २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा काठमाडौं-१० र रोल्पा-२ बाट प्रचण्ड निर्वाचित भएका थिए। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा दुई क्षेत्रबाट उम्मेदवारी दिएका उनी काठमाडौं-१० मा पराजित भएका थिए।सिरहाबाट भने उनी निर्वाचित भए। २०७४ सालमा वाम गठबन्धनको सहयोगमा चितवन-३ बाट जिते।
आफ्ना लागि चितवनभन्दा गोरखा नै सहज हुने देखेर दाहाल गोरखा लागेको विश्लेषण गरिएको छ। गत स्थानीय तह निर्वाचनको नतीजा हेर्दा गोरखा-२ मा वडाध्यक्षले पाएको मतमा माओवादी केन्द्र सबैभन्दा पहिलो स्थानमा छ। जसमा माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८ मत ल्याएका थिए। एमाले आठ हजार ४८४ मत ल्याउँदै तेस्रो दल बनेको थियो। बाबुराम भट्टराई सहितको जनता समाजवादी पार्टी (जसपा)ले सात हजार ५०४ मत ल्याएको थियो। जसपा फुटाएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराईले आफ्नी छोरीलाई काठमाडौंमा उम्मेदवार बनाउने शर्तमा गोरखाबाट उम्मेदवारी दिएनन्।
गोरखा-२ मा पहिलो, दोस्रो र चौथो भएको दल एकातिर र तेस्रो दल अर्कातिर भएर चुनाव लड्न गइरहेका छन्। पूर्व प्रधानमन्त्री भइसकेका दाहाल ‘हेभिवेट’ उम्मेदवार भएकाले पनि मत बढ्ने गठबन्धनका नेताहरूको दाबी छ।
एजेन्ट बस्नै समस्या
जिल्ला सुरक्षा समितिले गोरखाका ३६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मानेको छ। निर्वाचन जित्न साम, दाम, दण्ड, भेद प्रयोग गर्ने माओवादीको विगतका कारण पनि अन्य दलका उम्मेदवारहरूले खुलेर प्रचारप्रसार गर्न सकेका छैनन्।
गोरखा-२ का माथिल्लो पालिका क्षेत्रमा निर्वाचनमा एजेन्ट बस्न नै समस्या हुने देखिएको एमालेका स्थानीय नेताहरू बताउँछन्। दाहाल उम्मेदवार रहेको गोरखा २ का अजिरकोट गाउँपालिका लगायतका माथिल्लो क्षेत्रमा सत्ता गठबन्धनको दबदबा रहेका कारण विपक्षी एमाले लगायत प्रतिस्पर्धी दलका उम्मेदवारका चुनावी एजेन्ट नै बस्न नदिइने अवस्था रहेको ती नेताले बताए।
एमालेका उम्मेदवार अब्दुस मियाँ पनि दाहालले बूथ कब्जा नगर्लान् भन्न नसकिने बताउँछन्। “जसरी पनि जित्छु भन्नुको मतलब बूथ कब्जा गरेर, सबै भोट आफैंलाई हालेर भन्न खोज्नुभएको होला। अथवा भोट जसलाई जसरी खसे पनि मतपेटिका साटेर भए पनि जित्छु भन्नुभएको होला,” मियाँले गत हप्ता हिमालखबरको अन्तर्वार्तामा भनेका छन्, “छिस्रिक्क केही भयो भने हामी प्रतिकार गर्छौं। त्यसो गरे पुन: चुनाव हुन्छ। यो पटक उहाँलाई पहिलाको जस्तो ‘जसरी पनि’ जित्न दिन्नौं।”
एमाले केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभागका सचिव सम्झना देवकोटा अहिले नै समस्या आइहालेको नभए पनि ढुक्क हुन अवस्था नरहेको बताउँछिन्। सत्ता गठबन्धनकै नेतृत्वमा चुनाव भइरहेकाले शान्त रूपमा निर्वाचन सम्पन्न हुनेमा प्रतिपक्षी दल ढुक्क रहेको उनको भनाइ थियो।
“उनीहरूको तयारी एजेन्ट नै बस्न नदिने, सबै खालको हतकण्डा प्रयोग गरेर भए पनि विगतका उम्मेदवारभन्दा धेरै मत ल्याउने तयारीमा लागेका छन् भन्ने सुन्नमा आएको छ। जनतामा एकखाले त्रास सिर्जना गर्नेतर्फ उनीहरूको जोड देखिन्छ,” एमाले नेता देवकोटा भन्छिन्, “यसै भन्न सकिने अवस्था छैन। उनीहरूले त्यस्तो खाले गतिविधि गर्दैनन् भन्न सकिने अवस्था त छैन।”