एक कर्मशील शब्दकर्मी
धर्म र संस्कृतिका तत्त्वहरूको अनुवाद हुनै सक्दैन भनेर सबैले स्वीकार गरेकै छन्। त्यसैले अचेल धर्मलाई ‘धर्मा’, वेदलाई ‘वेदा’, आयुर्वेदलाई ‘आयुर्वेदा’, योगलाई ‘योगा’ लेख्ने गरिन्छ।
२०३० को दशकमा हामी केही युवा कवि त्यस वेलाका समालोचकहरूलाई एकपक्षीय र पञ्चायती शासकका तबेलाका घोडाको संज्ञा दिन्थ्यौं। त्यसै सन्दर्भमा एक पटक नेपाली साहित्यमा पूर्वाग्रहरहित समालोचक छँदै छैनन् त भन्ने विमर्श हुँदा गोविन्द भट्ट र कृष्णप्रकाश श्रेष्ठ चाहिं धेरै हदसम्म सन्तुलित समालोचना गर्छन् भन्ने कुरा चल्यो। सौभाग्यवश, कालान्तरमा कवि मञ्जुल मार्फत भट्ट र मित्र प्रा. जङ्गब चौहान मार्फत कृष्णप्रकाश दाइलाई भेट्ने मौका पाएँ।
कृष्णप्रकाश दाइको फरासिलो स्वभावकै कारण पहिलो भेटमै अन्तरङ्ग कुराकानी भए। कुरैकुरामा उहाँले स्वस्थानी व्रतकथालाई रूसी भाषामा अनुवाद गरेको बताउनुभयो। स्वस्थानी व्रतकथा नै किन भनेर सोधें। दाइको सरल जवाफ थियो, “प्रचलित पुराना ग्रन्थहरूमध्ये स्वस्थानी व्रतकथा मात्र नेपालको भूगोल वरिपरि घुमेको छ र कथामा घटित घटनाहरूका आधारमा यहाँ धार्मिक स्थलहरू समेत बनेका छन्।
तिनै स्थलप्रतिको आस्थाले नेपाली महिलाको मनोभावनालाई आकार दिएको छ। जस्तै, दम्पतीबीचको प्रेम सम्बन्धबारे स्वस्थानी व्रतकथाबाट धेरै नेपाली महिला एक किसिमले प्रशिक्षित हुन्छन्। यसरी नेपाली चिन्तन निर्माणमा निरन्तर सामाजिक-सांस्कृतिक पाठ्यपुस्तक जस्तो बनेकाले स्वस्थानी व्रतकथा महत्त्वपूर्ण लाग्यो। कथा भन्दै रूसी पाठकहरूलाई नेपाल चिनाउने राम्रो माध्यम हुने देखेर यसको अनुवाद गर्ने निर्णय गरेको हुँ।”
कृष्णप्रकाश दाइका कुरा सुनेर हरेक समाजका मिथहरूले मानव सोचहरूलाई कसरी आकार दिन्छन् भन्ने कुराको एक प्रतिनिधि उदाहरण स्वस्थानी व्रतकथा रहेको पाएँ। खासमा मिथ र स्वैरकल्पनाबाटै हामी अधिकांशले दिमागमा छुट्टै संसार सिर्जना गर्छौं र यही सिर्जनशीलताले नै मानिसलाई अरू प्राणीभन्दा फरक बनाएको हो।
दाइसँग दोस्रो भेट नेपालस्थित रूसी विज्ञान तथा सांस्कृतिक केन्द्रको एक गोष्ठीमा भयो। मैले आफ्नो कविताका किताबहरू उपहार दिएँ। त्यसपछि हामीबीच इमेल र फोनमा पटक पटक कुराकानी भए। उहाँले मेरा कविताहरूबारे लेखेको समीक्षा कान्तिपुरमा प्रकाशन भयो भने मेरा केही कविता ‘प्रणयतत्त्व’, ‘दाइजो कविता’, ‘गीत जिन्दगीको’, ‘सिमानाको नेपाली’, ‘परेवा र चील’ आदि रूसी भाषामा (केही रूसी कविसँग मिलेर) अनुवाद पनि गर्नुभयो।
नेपाल कुनै एक मात्र सभ्यताको सांस्कृतिक विधिविधान तथा नियमका आधारमा व्यवस्थापन गरिँदै आएको राष्ट्र होइन।
८२ वर्षको जीवनकाल (१९९५ कात्तिक २२-२०७७ चैत १६) मा कृष्णप्रकाश दाइले गरेका विभिन्न काम सम्झन्छुः
१) उहाँ नेपाल छोडेर रसियामा बसे पनि अघोषित रूपले नेपालको साहित्यिक राजदूत सरह काम गर्नुभयो;
२) उहाँको कार्यक्षेत्र भन्नु नै नेपाली र रूसी साहित्यको अनुवाद थियो;
३) रूसी र नेपाली साहित्यको अनुवादकका रूपमा सम्भवतः अहिलेसम्मकै सबैभन्दा धेरै काम गर्नुभयो।
कृष्णप्रकाश दाइसँगका विभिन्न वार्तालापमा नेपालको पहिचानबारे पनि हाम्रो कुरा मिल्थ्यो। प्राचीन नेपाल उपत्यका (काठमाडौं)का किरात, तत्कालीन विदेह (हालको जनकपुर सहित)का ब्राह्मण, तत्कालीन कपिलवस्तुका क्षेत्री र सिञ्जाका खस गरी चार सभ्यताका चिन्तन, संस्कृति तथा मिश्रित संहिताहरूको जगमा राष्ट्र खडा भएकाले ती चारै सभ्यताका मूल्यमान्यताको सगोल स्वरूप नै नेपालको पहिचान हो भन्ने हाम्रो बुझाइ थियो। अर्थात्, नेपाल कुनै एक मात्र सभ्यताको सांस्कृतिक विधिविधान तथा नियमका आधारमा व्यवस्थापन गरिँदै आएको राष्ट्र होइन।
यस विषयमा केही काम गर्नुभएको छ भनेर सोध्दा उहाँले किरात जातिको नालीबेली र संस्कृतिबारे लेखिरहेको बताउनुभयो। किरात सभ्यता पनि नेपालको इतिहासको जग रहेको कुरा बुद्धिजीवी र नीतिनिर्माता लगायतलाई बुझाउन लेखले सन्दर्भ सामग्रीको काम गर्ला भन्ने अपेक्षा गरेको पनि उहाँले सुनाउनुभयो।
लेख तयार भएपछि मलाई पठाउनुभयो। जसमा किरात जातिको बारेमा नयाँ सवाल उठाउनुभएको थियो। उक्त सन्दर्भ जस्ताको तस्तैः
किरात जाति: बौद्ध कि हिन्दू?
विद्वान् सोमध्वज विष्टको भनाइ अनुसार ‘किरातहरू शुरूमा शिवमार्गी थिए। पछि लिच्छवि शासकहरूको पालामा मात्र बिस्तारै बुद्ध धर्मको प्रभावमा आए।’ वर्तमान समयमा किरातहरू आंशिक रूपमा लामा धर्म मान्दछन् भने आंशिक रूपमा हिन्दू धर्मबाट पनि प्रभावित छन्। उदाहरणार्थ, केही लिम्बुहरू बुद्ध धर्म अन्तर्गतको लामा धर्म मान्दछन् भने केही चाहिँ हिन्दू धर्मको तान्त्रिकपन्थका अनुयायी छन्।
उत्तरतर्फबाट लामा धर्मको प्रभाव परेको पाइन्छ भने हिन्दू धर्मले दक्षिणतर्फबाट प्रभाव पारेको छ। हुन त, ल्हासागोत्र र काशीगोत्रका किरातहरू ल्हासा (तिव्बत) र काशी (भारत)सित कुनै सम्बन्ध राख्तैनन्, यद्यपि उनीहरूमा लामा धर्म र हिन्दू धर्मसित केही निकटता अवश्य छ। काशीगोत्र अन्तर्गत पर्ने किरातहरू ल्हासागोत्रका आफ्ना बन्धुवबान्धवहरूप्रति केही हेय दृष्टि राख्तछन् भने ल्हासागोत्रका किरातहरू पनि काशीगोत्रको प्रतिनिधित्व गर्नेहरूलाई लिम्बू नभनी ‘ठकुरीका सन्तान’ भनेर खिज्याउँछन्।
राईहरू चाहिं न हिन्दू हुन्, न त बौद्धमार्गी नै। उनीहरूको धर्ममा छिमेकी धर्महरूका कैयौं तत्व समावेश छन्। लेप्चाहरू चाहिं लामा धर्म (सत्रौं शताब्दीको मध्यदेखि) अन्तर्गत प्राचीन सम्प्रदायका अनुयायी हुन्। अन्य किरात जातिको जस्तै लेप्चा जातिमा पनि खास गरी जीवात्मा र भूतप्रेतमा विश्वास जस्ता केही प्राचीन धार्मिक अवधारणाहरू सुरक्षित छन्। लेप्चाहरू देवदेवी र भूतप्रेतमा स्पष्ट भेद गर्दछन्। देवदेवीहरू मानिसलाई संरक्षण प्रदान गर्दछन् भने भूतप्रेतहरूले चाहिं मानिसमा रोगव्याधी फैलाउँछन्। उनीहरूलाई सन्तुष्ट तुल्याउन पशुपक्षीको बलि समेत चढाउँछन्।
माथि उल्लेख गरिए झैं किरात जातिको धार्मिक क्रियाकलाप र रीतिरिवाजहरू ‘मुन्धुम’ मा आधारित छन्। यस पवित्र ग्रन्थलाई उनीहरू ‘किरात वेद’ भन्दछन्। यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने किरात जातिले अद्यापि आफ्नो परम्परागत धर्म र रीतिथितिलाई सुरक्षित राख्न सकेका छन्। उनीहरूको धर्ममा नगण्य मात्रामा नै भए पनि उत्तर र दक्षिणतर्फका व्यापक स्तरमा प्रचलित धर्महरूको प्रभाव अवश्यंभावी परेको पाइन्छ।
किरात जातिका प्रतिनिधिहरू, खास गरी लिम्बूहरू आफूलाई युम्मा साम्माङ अर्थात् युमा धर्मका अनुयायी मान्दछन्। कुरा के त भने परम्परा अनुसार किरातहरू युमा साम्माङलाई सर्वोच्च देवी मान्दछन्। आफ्नो धर्मलाई उनीहरूले किरात धर्म पनि भन्ने गरेका छन्। नेपालमा सन् १९९१ (२०४८ साल)मा सम्पन्न जनगणना अनुसार ३ लाख १८ हजार ३८९ व्यक्तिले आफूलाई किरात धर्मावलम्बी बताएका थिए। यो देशको जनसंख्याको १.७२ प्रतिशत हुन आउँछ।
सन् २००१ (२०५८)को जनगणना अनुसार चाहिं युमा धर्म अर्थात् किरात धर्म मान्नेहरूको संख्या बढेर आठ लाख १८ हजार १०६ पुगेको छ। यस धर्मले नेपालमा हिन्दू, बौद्ध र इस्लामपछिको चौथो स्थान ग्रहण गरेको छ। यस बाहेक किरात वा युमा धर्मका अनुयायीहरू भारत तथा अन्य देशहरूमा पनि छन्।
उल्लिखित लेखमा कृष्णप्रकाश दाइले अनुसन्धान सम्बद्ध प्रश्नहरू छोड्नुभएको छ। किरात सम्बद्ध अध्येताहरूले यसबारे थप अनुसन्धान गर्ने अपेक्षा गरौं।
प्राच्य विद्या
कृष्णप्रकाश दाइले प्राच्य विद्या (टर्की, इरान, भारत, बर्मा (म्यानमार), चीन, स्याम (थाइल्यान्ड), मलाया आदि पूर्वीय मुलुकका इतिहास, धर्म, भाषा, संस्कृति, साहित्य, आदिको अनुसन्धान र विवेचना) अन्तर्गत पनि खास गरेर भारत र नेपालको ज्ञान उत्पादनको परम्पराबारे जहिल्यै कुरा गर्नुहुन्थ्यो। भारतीय उपमहाद्वीपको ‘सभ्यता’ या ‘सनातन धर्म’ बारे हामीबीच धेरै पटक विचार आदानप्रदान भएका थिए। मौलिक रूपमा भारतीय उपमहाद्वीपमा ‘रिलिजन’ र ‘गड’ (ईश्वर?)को परिकल्पना गरिएको थिएन भन्नेमा हामी सहमत थियौं।
गड र रिलिजनको अवधारणा इसाई र मुस्लिमहरूबाट आएको हो, र कालान्तरमा नेपालमा पनि प्रवेश भयो। वेदमा इन्द्र (पानी पार्ने), अग्नि या सूर्य जस्ता प्राकृतिक शक्तिहरूको प्रशंसा र उपासना गरिएको पाइन्छ। यस्तै, पूजनीय शक्तिहरूमा मारुत (चट्याङ), नदी (प्रतीकात्मक रूपले पानी), अदिति (मातृ या प्राकृतिक शक्ति), उषा (मिर्मिरे बिहानी), धर्ती र यम (मृत्यु शक्ति) आदि रहेका देखिन्छन्।
देवता भनेको अलौकिक ‘गड’ (ईश्वर) नभई विशिष्ट योग्यता भएको या योगदान गरेको समाजकै व्यक्ति हो।
भारतीय उपमहाद्वीपमा परापूर्व कालदेखि ‘धर्म’ र ‘सनातन धर्म’ को अवधारणा चल्दै आएका छन्। धर्म भनेको पाश्चात्य र मुस्लिम जगत्ले भनेको ‘रिलिजन’ होइन। यहाँ ‘देव’ या ‘देवता’ को आदर-सम्मान गर्ने परम्परा थियो। देवता भनेको अलौकिक ‘गड’ (ईश्वर) नभई विशिष्ट योग्यता भएको या योगदान गरेको समाजकै व्यक्ति हो।
त्यस्तै, धर्म (कानून वा कर्तव्य) र सनातन धर्म पनि ‘रिलिजन’ भन्दा फरक अवधारणा हुन्। ‘धर्म’ भनेको मानव समाजलाई व्यवस्थित रूपले चलाउन गरिने काम-कर्तव्य र पालना गरिने नियम हो। चलनचल्तीमा ‘पिताको धर्म सन्तानको पालनपोषण गर्नु’, ‘राजाको धर्म प्रजाको कल्याण गर्नु’ भनिन्छ। यी नियम फरक फरक युगमा फेरबदल हुँदै आए।
‘सनातन धर्म’ (इटर्नल ल) भनेको सदियौंदेखि निरन्तर चलिआएको, अपरिवर्तनीय र मान्नैपर्ने प्राकृतिक नियमहरू हुन्। महिला र पुरुषबीचको आकर्षण, आमा र बच्चाबीचको माया आदि त्यस्ता प्राकृतिक नियम हुन्। मानव जीवनमा सशक्त रूपमा उपस्थित र पालना गर्नैपर्ने नियम नै सनातन धर्म हुन् भन्नेबारे हाम्रो विमर्श चल्थ्यो।
देवी-देवता
भारतीय उपमहाद्वीपका हिन्दू, जैन, शिख र बौद्ध भनिने पन्थहरूमा ‘देव’/‘देवता’ को अवधारणा अनुसार ध्यान र योगमा काम गर्नेहरूमध्ये सबैभन्दा शुरूका ध्यानी र योगीलाई देवहरूको पनि देव ‘महादेव’ या ‘आदि योगी’ भनियो। महादेव लगभग १५ हजार वर्षअघिका एक ध्यानी र योगी मानव नै थिए भन्ने अनुमान गरिन्छ।
यही धर्तीमा मानिसकै रूपमा जन्मेका र समाजमा उदाहरणीय बनेका राम, कृष्ण, बुद्ध, महावीर, मार्क्स, लेनिन, गान्धी, माओ, मन्डेला मानव नै थिए, तर तिनको विशेष योगदानको सम्मानमा तस्वीर राखेर तथा मूर्ति स्थापना गरेर फूलमाला र धूपबत्ती गरेको देखिन्छ। वैचारिक तथा ज्ञानगुनका क्षेत्रमा विशिष्ट काम गरेकाले उनीहरू आदरणीय त हुन्, तर अलौकिक र अवतारी ईश्वर होइनन्।
पूजा गर्ने भनेको अहिलेको अर्थमा प्रशंसक बन्नु र भक्तिभावबाट ऊर्जा हासिल गरेको अनुभूति गर्नु नै हो। आजको समयमा उत्कृष्ट फूटबल खेल्ने लियोनल मेस्सी र क्रिश्चियानो रोनाल्डोका प्रशंसकहरू प्रशस्त छन्। पहिलेको चलन अनुसार यी खेलाडी फूटबल क्षेत्रका ‘महादेव’ हुन्। मानव सृष्टिमा जन्म दिने आमाको उच्च योगदान रहेकाले पहिले आमालाई ‘देवी’ मानेर पूजा गरिन्थ्यो।
‘रिलिजन’ ले पनि मेरो कुरा मात्र ठीक, तेरो कुरा बेठीक भन्ने सोच राख्छ। ‘धर्म’ ले सबथोक र सबैलाई अटाउँछ।
अहिले पनि आमाभन्दा ठूलो भगवान् हुँदैन भनेर जनजिब्रोले बोलेको सुनिन्छ। तर, आमा त सामान्य नारी नै हुन्। आमामा बच्चा जन्माउने विशिष्ट गुण प्रकृतिले स्थापित गरिदिएको छ र प्रकृतिको विधिविधान अनुसार चलेको मातृकर्म रहस्यमयी लाग्छ। वेदमा पनि अदिति (मातृशक्ति)को उल्लेख भएकै छ। आमा विना त सृष्टि नै हुने थिएन, तसर्थ आमा भनेको देवी हुन् भनेर विशिष्टीकरण (देवत्वकरण?) गर्ने गरिन्छ।
मोक्ष
भारतीय उपमहाद्वीपको सभ्यतामा सांसारिक दुःखकष्टले भरिएको जिन्दगीबाट ‘मुक्ति’ र ‘मोक्ष’ को कामना र चाहनालाई उच्च स्थानमा राखिँदै आएको छ। साह्रोगाह्रो पर्दा मानिसहरूले ‘हे दैव, मलाई मुक्ति देऊ’ भनेको सुनिन्छ भने कोही मरेपछि ‘मृतकको आत्माले मोक्ष प्राप्त गरोस्’ भन्ने कामना गरिन्छ। भगवान् भन्ने परिकल्पित अज्ञात शक्तिलाई पनि मोक्ष प्राप्तिका निम्ति प्राविधिक सहायकका रूपमा मात्र लिइन्छ, चाहना गरिने सर्वोच्च कुरा त यहाँ ‘मोक्ष’ हो।
प्रश्नलाई ठाउँ
भारतीय उपमहाद्वीपमा हरेक कुरामा बहस गर्ने संस्कार देखिन्छ। महादेवसँग पार्वतीले अनेक प्रश्न गर्दै बहस गरिन्, र भैरवतन्त्र जन्मियो। यसलाई योग र ध्यान (ज्ञान)को आधारभूत स्रोत मानिन्छ। महाभारत काव्यमा कृष्णको आदेश मुताबिक युद्ध शुरू नगरी अर्जुन अनेक प्रश्न गर्छन्, बहस गर्छन्, सवालजवाफ चल्छ। जसलाई गीताका रूपमा लिपिबद्ध गरिएको छ। अर्थात्, भारतीय उपमहाद्वीपको संस्कार अनुसार मानव भनेको बहस गर्ने प्राणी हो। बहस गर्नु भनेको निरन्तर खोज गर्नु हो। इसाई र इस्लाममा चाहिं ईश्वरको निश्चित निर्देशनलाई खुरुखुरु पालना गरिन्छ, प्रश्न सोध्ने छूट हुँदैन।
‘रिलिजन’ ले पनि मेरो कुरा मात्र ठीक, तेरो कुरा बेठीक भन्ने सोच राख्छ। ‘धर्म’ ले सबथोक र सबैलाई अटाउँछ। नरम, गरम, उग्र, पतीत सबै किसिमकालाई ठाउँ दिन्छ। जस्तै- बुद्ध, महावीर र चार्वाकले प्रतिपादन गरेका बौद्ध, जैन, लोकायत मार्ग नास्तिक दर्शन हुन्। यी सबैलाई लोकले सहर्ष स्वीकार गरेको छ। समाजका नास्तिक विचारधाराका व्यक्तिहरूलाई पनि आदरपूर्वक नै हेरिन्छ।
अनुवादमा अनर्थ
भारतीय उपमहाद्वीपमा जब इसाई र इस्लाम ‘रिलिजन’ पसे र आफूलाई इसाई र इस्लाम धर्म भन्न थाले, तब भारतीयले पनि रिलिजनलाई धर्म, धर्मलाई रिलिजनका रूपमा उल्था गर्न थालेको देखिन्छ। हिन्दू धर्मलाई ‘हिन्दू रिलिजन’ भनी ठाडो अनुवाद गरिएको अवधारणात्मक रूपले मिल्दैन।
उसो त धर्म र संस्कृतिका तत्त्वहरूको अनुवाद हुनै सक्दैन भनेर सबैले स्वीकार गरेकै छन्। त्यसैले अचेल धर्मलाई ‘धर्मा’, वेदलाई ‘वेदा’, आयुर्वेदलाई ‘आयुर्वेदा’, योगलाई ‘योगा’ लेख्ने गरिन्छ।
ठोकुवा भर्सेस ‘होलावाद’
खासमा भारतीय उपमहाद्वीप भनेको सांसारिक रहस्यमयी जीवनबारे अन्योलग्रस्त मानिसहरूका अनेक हुलको सभ्यता हो। यो अन्योल राम्रो कुरा हो भनेरै स्वीकार गरिन्छ। किनभने, अन्योलग्रस्त मानिसले नै अनेक प्रश्न सोध्छ र शोधकर्ता बन्छ। प्रश्न गर्ने मानिसले कहिल्यै किटान गरेर निष्कर्ष दिँदैन, सन्धान गरेर पुरानो कुरा खारेज नयाँ नयाँ पक्ष र तथ्य निकालेर स्थापित गर्दै जान योगदान गर्छ।
जैन मार्गमा त ठोकुवा गरेर यही ठीक या बेठीक नभन्ने ‘होलावाद’ नै छ। त्यस अनुसार संसारका हरेक वस्तु परिवर्तनशील छन्, कुनै पनि कुरा ‘यो हो’ या ‘यो होइन’ किटेर भनेको केही छिनमै बदलिन सक्छ। त्यसैले ठोकेरै भन्ने मानिस अलिक समयमा झूटो सावित हुने जोखिम रहन्छ भनिन्छ।
सिक्ने कुरा
विभिन्न देशमा सन्धान तथा ज्ञानगुन उत्पादन हुन्छन् र ती ज्ञान सबै देशलाई काम लाग्छन्। यस्ता ज्ञान अनुवाद गरेर एक-अर्को देशमा फैलाउन सके सबै लाभान्वित हुन सक्छन्। यहाँनेर कृष्णप्रकाश दाइको अनुवाद कर्मको महत्त्व छ।
रसियाका ज्ञानगुनका कुरा तथा साहित्य अनुवाद गरेर नेपाली समाजमा ल्याउने र यताका साहित्य अनुवाद गरेर रसियाली समाजमा पुर्याउने कामलाई संस्थागत गरेर अघि बढाउन सके धेरै लाभ हुनेछ।
(सुब्बा कवि हुन्। हिमालको २०७९ कात्तिक अंकबाट।)