सलाम शोणितपुरका कर्मयोगीलाई
कृष्णप्रकाशले रूसी भाषाका कृतिहरूको अनुवाद गरेर नेपाली भाषा-साहित्यको भण्डार भरेका मात्र होइनन्, रूसी भाषामा पनि लेख-रचना र मौलिक पुस्तक लेखेर रूसी पाठकलाई लाभान्वित पारे। उनको बेजोड अनुवाद शिल्प र लालित्यबाट मिल्ने आनन्द छुट्टै छ।
कृष्णप्रकाश श्रेष्ठसित मेरो पहिलो भेट सन् १९७३ अगस्ट महिनाको दोस्रो साताको कुनै दिन तत्कालीन सोभियत संघको राजधानी मस्कभा (मस्को) मा भएको थियो, कुनै एउटा होटेलमा। टाई, सुट, मफलर, त्यसमाथि पातलो ओभरकोट, टाउकामा रूसीहरूले लाउने जस्तो गोल टोपी, हातमा डाक्टर अथवा ‘मेडिकल रेप्रेजेन्टेटिभ’ ले बोक्ने जस्तो ब्याग लिएको। मैले भेट्दा यस्तै थियो कृष्णप्रकाश श्रेष्ठको हुलिया।
नेपालबाट गएका पाँच जनाको टोली थियो हाम्रो जसमा सामेल थियौं, महोत्तरीका मदनमोहन थापा, चितवनका भीमबहादुर श्रेष्ठ, पाल्पाका हरिबहादुर गोदार, मोरङका प्रह्लाद भट्टराई र सुनसरी जिल्लाको म। वास्तवमा हामी पाँच जनाको त्यो टोली उसवेला औपचारिक तवरमा जर्मन डेमोक्य्राटिक रिपब्लिक (जीडीआर) भनिने र बोलीचालीमा पूर्वी जर्मनी भनेर चिनिने कम्युनिष्ट मुलुकको राजधानी बर्लिनमा सम्पन्न दसौं विश्व युवा तथा विद्यार्थी महोत्सवमा भाग लिएर मस्को पुगेको थियो, सोभियत युवा कम्युनिष्ट लीग अर्थात् ‘कम्सोमोल’ को निम्तामा।
विशाल बर्लिन शहर उसबखत विभाजित थियो पूर्वी र पश्चिमी दुई खण्डमा र तिनको बीचमा साबुदै थियो बर्लिनको पर्खाल। पूर्वी बर्लिनमा आयोजित त्यस महोत्सवमा संसारका एक सयभन्दा बढी मुलुकबाट आएका लाखौं युवा र विद्यार्थी प्रतिनिधिले भाग लिएका थिए। नेपालबाट पनि चालीस जनाको जम्बो टोली गएको थियो, नेपाल युवक संगठनको छाता अन्तर्गत। हामी पाँच जना त्यसमा मिसिएका थियौं, नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनका तर्फबाट। फेडरेशनलाई उसवेला मस्को समर्थक कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनका रूपमा चिनिन्थ्यो र त्यही नै थियो टोलीमा हामी सामेल हुने कारण।
बर्लिन महोत्सवमै हाम्रो भेट भएको थियो सोभियत संघबाट नेपाली छात्र संघको प्रतिनिधित्व गर्दै आएका नेपाली विद्यार्थी साथीहरूसित, जसमा थिए रौतहटका लोहितराज उपाध्याय, गोर्खाका सरोज देवकोटा, कास्कीका रामबहादुर केसी, पाल्पाका जयन्त भट्टराई र धरानमा स्कूल पढ्दाका साथी विश्वराज जोशी। बरा, डाक्टर बनेर फर्केका लोहित, इन्जिनियर भएर फर्केका सरोज र विशेष केही नबनी फर्केका जयन्त तीनै जना दिवङ्गत भइसके।
कृष्णप्रकाश रेडियो मस्कोमा नेपाली भाषाको कार्यक्रम सञ्चालक थिए र रूसी भाषाका साहित्यिक पुस्तकहरूको नेपालीमा अनुवाद गर्ने काम गर्थे।
नौ दिन चलेको युवा महोत्सव सकिएपछि बेग्लाबेग्लै रेल र समयमा बर्लिन छाडेका भए पनि मस्कोमा भेट गर्ने हाम्रो कार्यक्रम तय थियो र त्यही बमोजिम हामीले भेट गर्यौं नेपाली साथीहरूसित। मस्कोमा उनीहरूको छात्रावास हेर्न गयौं र केही ठाउँ सँगै डुल्यौं पनि। उनीहरूले नै हामीलाई भेटाउन ल्याएका थिए कृष्णप्रकाश श्रेष्ठलाई हामी बसेको होटेलमा। कृष्णप्रकाश रेडियो मस्कोमा नेपाली भाषाको कार्यक्रम सञ्चालक थिए र रूसी भाषाका साहित्यिक पुस्तकहरूको नेपालीमा अनुवाद गर्ने काम गर्थे।
त्यस वेला भेटेकामा मैले अहिले पनि सम्झने अर्का दुई जना हुन्, गणेश शाह र राजेन्द्रमान मास्के। गणेश उसवेला नेपाली छात्र संघको अध्यक्ष थिए। विद्यावारिधि गर्ने तालसुरमा लागेका राजेन्द्र चाहिं साइडमा कृष्णप्रकाश झैं अनुवाद पनि गर्थे। म्याक्सिम गोर्कीको आमा मास्केले नै नेपालीमा अनुवाद गरेका हुन्। हामीले भेटेका प्रायः सबै साथी अविवाहित विद्यार्थी थिए, कृष्णप्रकाश र राजेन्द्र मास्के बाहेक। उनीहरू दुवैले पढाइ सिध्याएर घरजम पनि गरिसकेका थिए, रूसी नारीसित बिहे गरेर।
प्रत्यक्ष भेट नभए पनि कृष्णप्रकाश मेरा लागि पूर्णतः अपरिचित नाम थिएन, रेडियो मस्को र नेपालीमा अनूदित उनका पुस्तकका कारण। हँसमुख, मृदुभाषी, सरल स्वभावका र हेर्दै भलादमी लाग्ने कृष्णप्रकाशसित पहिलो भेटमा नै मेरो मित्रता गाँसियो। हामीलाई घुमाइहिंड्ने उनलाई फुर्सद थिएन, किनभने उनी परिवारवाला कामकाजी व्यक्ति थिए। तैपनि, अफिस छुटेपछि साँझमा हामीलाई भेट्न दुई-चार चोटि आए हाम्रो होटेलमा।
यसबीच पाँच जनाको हाम्रो टोली तितरबितर भयो। भीमबहादुरजी र मलाई तासकन्द घुमाउन लगियो पाँच दिनका लागि। मस्को फर्केपछि जचाउँदा उनमा कडा र जीर्ण रोग देखियो। उनलाई एम्बुलेन्समै अस्पताल पुर्याइयो भने मदन थापा पहिल्यै त्यस्तै कुनै दीर्घरोगका कारण उपचारार्थ अस्पताल भर्ना भइसकेका थिए। मेरो जाँच गराउँदा साथीहरूको जस्तो पुरानो समस्या देखिएन। तर, बर्लिनमा रेल चढेदेखि नै पुट्ठामा केही असजिलो महसूस भइरहेकोमा अहिले केही चर्केर मलाई दुःख दिन थालेको थियो।
त्यसरी मलाई अप्ठेरोमा पारेको रहेछ जालेपिलोले। त्यसका लागि मेरा आतिथेयहरूले मलाई याल्टाको सेनेटोरियममा पठाउने निधो गरेको थाहा भयो। अरू दुई जना मित्र शायद नेपाल फर्किसकेका थिए। सेनेटोरियम जानुअघिको अन्तरिम कालमा मलाई ‘अक्च्याबर्स्काया’ नामक होटेलमा सारियो जो पहिलेको सामान्य होटेलभन्दा कता हो कता भव्य र शानदार थियो- रेस्टुराँ-बार, लाइब्रेरी र सिनेमा देखाउने हल समेत यावत् सुविधा भएको। प्रत्येक साँझ नियत समयमा त्यहाँ सिनेमा देखाइन्थ्यो। मैले एउटा छुट्टै कालो कार पाएको थिएँ घुमफिरका लागि र अङ्ग्रेजी तथा हिन्दी दुवै भाषा बोल्ने दोभासेको सेवा।
कृष्णप्रकाशले रेडियो मस्कोमा मेरो अन्तर्वार्ता पनि लिए। कुनै रेडियो स्टेशनको स्टुडियोभित्र पसेर अन्तर्वार्ता दिएको मेरो पहिलो अनुभव थियो त्यो। केही नर्भस त थिएँ, तर जेनतेन काम चलाएँ।
यसै अवधिमा कृष्णप्रकाशले रेडियो मस्कोमा मेरो अन्तर्वार्ता पनि लिए। कुनै रेडियो स्टेशनको स्टुडियोभित्र पसेर अन्तर्वार्ता दिएको मेरो पहिलो अनुभव थियो त्यो। केही नर्भस त थिएँ, तर जेनतेन काम चलाएँ। प्रश्नहरू राजनीतिक प्रकृतिका नभई सोभियत संघ घुम्दाको अनुभवबारे थिए। अन्तर्वार्ता दिए बापत मलाई लाग्छ, मैले ३० रूबल पाएको थिएँ खाममा, कृष्णप्रकाशको हातबाट।
निकै ठूलो लागेको थियो त्यो रकम उसवेला र आफ्नो दोभासेका साथ रेडस्क्वायर नजिक रहेको ‘गुम’ भनिने डिपार्टमेन्ट स्टोरमा गएर मैले फुर्तीसाथ खरीददारी गरेको थिएँ। उसवेला रूबल बलियो थियो र चीजबिजको भाउ सस्तो। त्यहाँ पढ्ने नेपाली विद्यार्थीले छात्रवृत्ति बापत महिनाको ९० रूबल पाउँथे र त्यसबाट महिनाबारी खर्च मनग्गे पुग्ने बताउँथे उनीहरू।
साँझ मलाई भेट्न आएका वेला दुई पटक कृष्णप्रकाश र मैले होटेलमा सँगै सिनेमा हेरेका थियौं। फिल्म रूसी भाषाका हुने भएकाले मेरा लागि उनको साथ लाभदायी थियो। एउटा फिल्म म विशेष गरी अझै सम्झन्छु। पृष्ठभूमिमा तानाशाहले शासन गरेको ल्याटिन अमेरिकाको कुनै देशमा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि गरिएको आन्दोलन समेटेर बनाइएको त्यस फिल्ममा जेल परेका क्रान्तिकारी नेताहरूलाई कस्ता कस्ता जोखिम मोल्दै फिल्मको मुख्य नायक सुरुङ खनेर थुनामुक्त गर्न सफल हुन्छ भन्ने कथालाई बडो रोमाञ्चकारी ढङ्गले प्रस्तुत गरिएको थियो। क्रान्ति भनेको दुई-चारवटा बम पड्काउनु र एक-दुई व्यक्तिको हत्या गर्नु होइन, यो धीरतापूर्वक गरिने दीर्घकालको जनसंघर्ष हो भन्ने सन्देश पनि त्यस फिल्मले बोकेको थियो।
मलाई खुलदुली लागेर पात्रहरूले बोलेका हरेक संवादको अर्थ सोधिमाग्थें कृष्णप्रकाशसँग। उनी भने फिल्म हेर्नमा तल्लीन। मतर्फ नहेरी बुझाउँथे यस्तो तरीकाले- ‘अहिले उनीहरूबीच झगडा हुँदै छ’, ‘हिरो घर छाडेर जाँदै छ’, ‘हिरोइन दुःखले रुँदै छे’, ‘पुलिसले समातेर लग्यो’ आदि-आदि। अर्थात् पर्दामा सोझै जे देखिन्थ्यो त्यही मलाई भन्थे, पात्रहरूले बोलेका संवादको अर्थ होइन।
तत्क्षण त दिक्दार लागेको थियो उनको त्यो तालको अनुवादबाट। पछि भने हाँसो उठेको थियो। लेख्य अनुवाद कार्यमा उनी धुरन्धर भए पनि कानेखुसीको तालमा तत्काल गरिने अनुवादमा उनी अभ्यस्त भइनसकेको बुझ्न सकिन्थ्यो।
पुट्ठामा फैलेको जालेपिलोको कारण म मस्कोबाट ब्ल्याक सी नामको प्रसिद्ध समुद्री किनारमा अवस्थित सुन्दर याल्टा सहरमा उपचारका साथै आराम गर्न भनेर क्रिमियाको सिम्फोरोपोल उडें। मलाई भाषाको समस्या नहोस् भनेर मित्र लोहितराज उपाध्यायलाई पनि मेरो साथ लगाइदिएका थिए आतिथेयहरूले। मान्नै पर्ने खालको थियो सोभियत सरकारको उदार आतिथ्य। समुद्री किनारबाट उठेको दम्स्याइलो-दम्स्याइलो पाखाको ठूलो क्षेत्र ओगटेर बनेको सेनेटोरियममा बस्न आउने सबै जना सरकारी पाहुना हुन्थे विभिन्न देशबाट आएका, विशेषतः कम्युनिष्ट पार्टी र वामपन्थी ट्रेड युनियनसित सम्बद्ध।
प्रशस्त रूखहरू भएको र पगपथ फूलका क्यारीबाट सजाइएको त्यो सेनेटोरियम बाहिरबाट हेर्दा ठूलो सार्वजनिक पार्क जस्तो लाग्थ्यो। अतिथि बस्ने कोठाहरू भएका छुट्टाछुट्टै बङ्गला थिए। खानपिन र आदानप्रदानका लागि ठूलो हल सहितको रेस्टुराँ थियो, लाइब्रेरी थियो अनि पियानो र बिलियर्ड बोर्डका बेग्लाबेग्लै कक्ष। फराकिलो पटाङ्गिनी भएको त्यस भवनको बाह्य स्वरूप कुनै पुरानो दरबारको झैं देखिन्थ्यो, उच्च सिलिङ र गोलाकार स्तम्भहरूले गर्दा रोमन स्थापत्यकला झल्कने। ब्याडमिन्टन र टेनिस कोर्ट थिए। बेलुकी सिनेमा हेर्नलाई शानदार एम्फिथेटर थियो अनि औषधोपचारका लागि डाक्टर र परिचारिकाहरूको पूर्ण सेवा उपलब्ध भएको सानोतिनो अस्पताल।
त्यही अस्पतालमा जालेपिलोको उपचारका लागि म दिनहुँ जानुपर्थ्यो। सबभन्दा रमाइलो कुरा त त्यहाँबाट समुद्री तटमा जानलाई ओह्रालो हिंडिरहन नपर्ने। आठ-दस तले घर जति अग्लो लिफ्टले ठ्याक्क तटमा पुर्याउँथ्यो। ब्ल्याक सीको विशेषता के थियो भने यसको किनारमा केवल गोल गोल ढुङ्गा थिए। दुई-तीन इन्च गोलाइका ढुङ्गा जसलाई अङ्ग्रेजीमा ‘पेबल्स’ भनिन्छ। बालुवाका नाममा एक थोपै नभएको समुद्री तट थियो त्यो। समुद्रमा पौडी खेल्ने र डुङ्गा चलाउने पहिलो मौका मैले त्यहीं पाएँ जिन्दगीमा।
सेनेटोरियमले एक दुई दिन बिराएर अतिथिहरूलाई बसमा नयाँ नयाँ ठाउँ घुमाउन लैजान्थ्यो। दोस्रो विश्वयुद्धका वेला अमेरिकाका रुजवेल्ट, बेलायतका चर्चिल र सोभियत संघका स्टालिनले भेटेर वार्ता गरेको स्थल, रूसी लेखक चेखोभको निवास, सेवास्तोपोलको बन्दरगाह त्यसै वेला हो मैले हेर्न पाएको।
खाना खाने समयमा प्रायः सबै अतिथिको टेबलमा पुगेर खाना कस्तो भयो भनी सोध्थिन्। मलाई चाहिं विशेष गरी ‘तिमी जवान छौ, राम्रोसित खाएर आफूलाई तन्दुरुस्त राख्नुपर्छ’ भन्थिन्।
सोभियत सरकारको सौजन्यमा आनन्दका साथ दिन बितिरहेका थिए, याल्टाको त्यस पूर्ण सुविधायुक्त सेनेटोरियममा। यस्तैमा कुनै जरुरी काम आइपर्नाले लोहित निर्धारित अवधिभन्दा अगावै मस्को फर्कियो। तर, यतिन्जेल निकै जनासित चिनजान भइसकेको हुनाले एक्लिएको अनुभव मैले गर्नु परेन। याल्टामा रहँदाको झलझली सम्झना भने मलाई ११ सेप्टेम्बरको दिनको आउँछ। झलमल्ल घाम लागेको हुनाले त्यस दिन केही गर्मी थियो।
दक्षिण अफ्रिकाका एक अश्वेत व्यक्ति थिए जो हरबखत कानमा ट्रान्जिस्टर रेडियो टाँसेर समाचार सुनिरहेका हुन्थे। निधार, कञ्चट र गालाबाट पसिना चुहाउँदै समाचार सुनिरहेका तिनले अचानक दुःखी तर केही ठूलो स्वरमा बगैंचामा वरपर बसिरहेका सबैले सुन्ने गरी भने, ‘बडो दुःखद समाचार छ साथी हो, चिलेका राष्ट्रपति आयेन्डे सैनिक कूमा मारिए।’ त्यस समाचारले त्यस दिन सेनेटोरियमको खुशहाल माहोलमा साँच्चिकै अवसाद छायो। एक जना जननिर्वाचित र लोकप्रिय सोसलिस्ट राष्ट्रपति मारिएका थिए, सीआईएको प्रत्यक्ष धापमा आफ्नै सेनाको गोलीबाट। रातिको खानामा पनि सबै जना गुमसुम र उदास उदास देखिन्थे।
त्यस घटनाको दुई-चार दिनपछि मैले आफैंलाई हतप्रभ बनाउने एउटा नराम्रो समाचार पाएँ। नेपालमा मेरो गिरफ्तारीको ‘वारेन्ट’ काटिएको समाचार। अब याल्टाको सुखसयलमा भुलेर बसिरहनु मलाई उचित लागेन। मैले मस्को फर्कने इच्छा जाहेर गरें त्यहाँको व्यवस्थापनलाई। सेनेटोरियमको प्रमुख प्रबन्धक थिइन् रोबदार व्यक्तित्वकी एक अधबैंसे महिला। खाना खाने समयमा प्रायः सबै अतिथिको टेबलमा पुगेर खाना कस्तो भयो भनी सोध्थिन्। मलाई चाहिं विशेष गरी ‘तिमी जवान छौ, राम्रोसित खाएर आफूलाई तन्दुरुस्त राख्नुपर्छ’ भन्थिन्। ब्रेकफास्टमा त लिटो जस्तो ‘कासा’ नामको रूसी परिकार मलाई खुवाएरै छाड्थिन्। तिनले अर्को एक साता बसेर जाऊ न भनेर खूबै जोड गरिन्। म त्यहाँ बसेको झण्डै तीन साता पुग्न लागेको थियो र त्यहाँ बस्ने मेरो म्याद एक महीनाको थियो शायद।
आखिर एक साताको याल्टा बसाइ कटौती गरेर म मस्को फर्किछाडें। बर्लिनमा मैले र मदनमोहन थापाले पञ्चायत व्यवस्था र राजतन्त्रको विरोधमा भाषण गरेको भनेर सरकारबाट वारेन्ट जारी गरिएको थाहा भयो, जानकार साथीहरूबाट। स्पष्टतः सरकारले त्यो कदम बर्लिन गएका युवक संगठनका केही लाउकेहरूको झोसपोलका आधारमा चालेको थियो। बर्लिनमा हामीले त्यस्तो कुनै काम गरेका थिएनौं, अन्य देशका क्रान्तिकारीहरूको भाषण सुन्नु बाहेक।
विश्वका लाखौंलाख तरुनी-तन्नेरीहरू थुप्रिएका त्यत्रो विशाल मानव भवसागरमा नेपाल जस्तो सानो मुलुकको प्रतिनिधिले कहाँबाट बोल्ने मञ्च पाउनु? त्यस समय भियतनाम थियो, विश्वनयनको तारा। हामी चाहिं मस्को जाने अनि आफूहरू चाहिं बर्लिनबाट सोझै नेपाल फर्कनुपरेकामा जलेका थिए ती लाउकेहरू, भएको त्यही थियो।
मेरा सामु दुई वटा विकल्प थिए- एउटा, नेपालको वारेन्टको रापताप नसेलाएसम्म मस्कोमै यताउति गरेर बस्ने। अर्को, जोखिम मोलेर भए पनि नेपाल फर्कने।
म नेपाल फर्किए त्रिभुवन विमानस्थलबाटै पक्राउ पर्ने कुरा पक्का थियो। अब के गर्ने त? नेपालबाट सँगै आएका भीमबहादुर श्रेष्ठ र मदनमोहन थापा अझै अस्पतालमै थिए। मैले मस्कोमा विश्वास गर्न सक्ने नजिकका साथीहरूलाई गुहारें र उनीहरू म बसेको अक्च्याबर्स्काया होटेलमा आए सरसल्लाहका लागि। कृष्णप्रकाश श्रेष्ठ र लोहितराज उपाध्याय त पक्का थिए, शायद जयन्त भट्टराई पनि थियो आएका चार-पाँच जना साथीमध्येमा।
मेरा सामु दुई वटा विकल्प थिए- एउटा, नेपालको वारेन्टको रापताप नसेलाएसम्म मस्कोमै यताउति गरेर बस्ने। अर्को, जोखिम मोलेर भए पनि नेपाल फर्कने। साथीहरू त पहिलो विकल्पमै जोड दिइरहेका थिए, तर अनिश्चित कालसम्म उतै बसिरहने आइडिया मलाई जँचेन। केही गरी लुकीछिपी बसिरहेको थाहा पाएको खण्डमा (र थाहा पाउन कुनै गाह्रो थिएन सरकारलाई) सरकारले मेरो राहदानी रद्द पनि गर्न सक्थ्यो र म देशविहीन अनागरिक बन्न सक्थें। नेपाल छाडेको दुई महीना भइसकेको थियो- तिर्खा बढेको थियो घरको, परिवारको साथै देशको पनि।
राज्यविप्लवको कुनै अपराध गरेको थिइनँ मैले। फेडरेशनको महासचिव भएको त थाहा पाएर नै सरकारले पासपोर्ट दिई युवक संगठनको प्रतिनिधिमण्डलमा सामेल गरेको थियो। म नेपाल फर्किएँ, साथीहरूको सुझाव विपरीत। कसरी र कुन रुट भएर फर्कें, त्यसको कथा बेग्लै छ। अहिले त्यसको विवरण यहाँ सान्दर्भिक नहोला।
बर्लिन र त्यसपछि मस्कोमा भेटेकामा विश्वराज जोशी बाहेक अरू सबै साथी नवपरिचित थिए। न्यानो सम्झना बोकेर आएको भए पनि ती साथीहरूसित चिठीपत्र खासै भएन, कृष्णप्रकाश र विश्वराजसित बाहेक। उक्रेनको खारकोभ (उक्रेनीहरू खारकिब भन्दा रहेछन् त्यो अहिले आएर थाहा भयो) भन्ने ठाउँमा डाक्टरी पढिरहेको विश्वराज त्यहाँबाट पहिलेदेखि नै चिठी लेखिरहन्थ्यो र पढाइ नसकेसम्म उसको त्यो क्रम जारी रह्यो। त्यसमा थपिएका थिए कृष्णप्रकाश, अनियमित भए पनि उनीसित पत्रको आदानप्रदान निकै पछिसम्म चलिरह्यो।
यस्तैमा, विश्वविद्यालयको पढाइ र विद्यार्थी फेडरेशनको गतिविधि चलिरहेकै भए पनि मैले समीक्षा साप्ताहिकमा काम गर्न थालें। मोटामोटी दुई वर्ष त्यहाँ रहँदा मदनमणि मास्टरसाबबाट ‘विशेष संवाददाता’ को पद पनि पाएँ। त्यस अवधिमा कृष्णप्रकाश श्रेष्ठसित सम्बन्धित मैले गरेको एउटा काम चाहिं ए पी मिनायभ र नेपाल पुस्तकको समीक्षा थियो। मिनायभ नेपाल आउने पहिलो रूसी थिए र उनले सन् १८७५ मा नेपालको यात्रा गरेका थिए। तर, उनी सामान्य यात्रु थिएनन्, उनी थिए कहलिएका रूसी प्राच्यविद्। तिनले लेखेको नेपालको महत्त्वपूर्ण भ्रमण वृत्तान्तलाई नेपालीमा अनुवाद गरेका थिए कृष्णप्रकाशले।
विद्यार्थी जीवनबाट निवृत्त भएपछि फेडरेशन र विद्यार्थी राजनीतिको सारा जम्मजाल चुँडालेर म लागें नोकरीको चक्करतिर। त्यस चक्करले मलाई धेरै मोड र घुम्तीमा पुर्यायो र उकालो-ओह्रालो हिंडायो। मैले समातेको त्यो बाटो कृष्णप्रकाशको भन्दा बेग्लै थियो र लगभग शून्य थियो, त्यहाँ फेरि उनीसित ठोक्किने सम्भावना। उनीसित पत्राचारको क्रम त्यही बाटामा कतै उहिल्यै टुटिसकेको थियो। तर, मान्नुपर्छ समयको चक्रलाई जसले हामीलाई फेरि सन् १९९४ मा भेटाइदियो। पहिलो भेट भएको ठीक एक्काइस वर्षपछि र फेरि मस्कोमै।
यस अवधिमा म घुम्दै-झुम्दै हिमाल पत्रिका परिवारमा सामेल हुन आइपुगेको थिएँ र अनुवाद कार्यमा राम्रैसित होमिएको थिएँ। उता नेपाल पर्वतारोहण संघ नामक संस्थामा पनि संलग्न रहँदै आएको थिएँ काकतालीले, आफू पर्वत चढ्ने वा चढाउने व्यक्ति नभए पनि। टर्कीको राजधानी इस्तानबुलमा हुन लागेको अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको वार्षिक अधिवेशनमा भाग लिने जाने संघको तीन सदस्यीय टोलीमा म पनि छानिएँ।
त्यस वेला रूसी वायुसेवा एयरोफ्लोटको काठमाडौंबाट नियमित सोझो उडान चल्थ्यो मस्कोसम्म र त्यसको भाडा अरू हेरी सस्तो थियो। त्यसैले एयरोफ्लोटमा जाने तय भयो। इस्तानबुल जाँदा र त्यहाँबाट फर्कंदा दुवै पटक मस्कोमा केही दिन बिताउनुपर्ने यात्रा कार्यक्रम बन्यो। त्यसो भन्ने बित्तिकै स्वाभाविक रूपमा मलाई झ्वाट्ट सम्झना भयो पुराना मित्र कृष्णप्रकाशको। उनीसित सम्पर्क पुनःस्थापित गर्ने हेतुले कुनै यत्नले उनको ठौरठेगाना पत्ता लगाएँ मैले।
उनीसित भेट भयो मस्कोमा, हाम्रो टोलीको। उस्तै हँसमुख, उस्तै सहयोगी, उस्तै शालीन र भलादमी। केवल समयले उनको मुहारमा केही अतिरिक्त धर्काहरू कोरेको थियो र कपालमा केही सेतो रङ पोतेको थियो। हाम्रो विस्तारसाथ कुराकानी चाहिं इस्तानबुलबाट फर्कंदाखेरि भयो जति वेला हामीले एक साँझ उनको अपार्टमेन्टमा गएर खाना खाने मौका पनि पायौं। त्यो उनी र उनकी पत्नीले आर्जेको आफ्नै अपार्टमेन्ट थियो जहाँ उनी बस्थे पत्नी इरिनासित।
सोभियत कालमा बनेको चार-पाँच तलामाथिको उनको त्यो अपार्टमेन्टमा त्यस्तो झकिझकाउ केही थिएन। सामान्य र औसत दर्जाको थियो त्यो, जस्तो कुनै श्रमशील र इमानदार व्यक्तिको हुने गर्छ। उनको जीवन असहज र अनिश्चित दौरबाट गुज्रिरहेको बुझ्न-देख्न सकिन्थ्यो। सोभियत संघ नामको जुन देशलाई अङ्गीकार गरेर उनले यतिका वर्षदेखि त्यहाँ घरजम गर्दै आएका थिए, अहिले त्यसको अस्तित्व विलीन भएको थियो। अर्कै राजनीतिक व्यवस्था आएको थियो र त्यसबाट पहिले कल्पना नगरिएको परिस्थिति सिर्जना भएको थियो।
समाजवादी राज्यले ओढाएको सुरक्षात्मक छाताको ओतमा जिउन अभ्यस्त नागरिकहरूले आफूलाई एकाएक विना ओतको खुला ठाउँमा पाएका थिए, सर्वथा असुरक्षित र असंरक्षित।
समाजवादी राज्यले ओढाएको सुरक्षात्मक छाताको ओतमा जिउन अभ्यस्त नागरिकहरूले आफूलाई एकाएक विना ओतको खुला ठाउँमा पाएका थिए, सर्वथा असुरक्षित र असंरक्षित। नयाँ वातावरणलाई आत्मसात् गर्न र त्यससित सामञ्जस्य कायम गर्न कृष्णप्रकाशलाई स्पष्टतः गाह्रो परिरहेको थियो। उनी काम गर्दै आएको रेडियो मस्कोको नेपाली कार्यक्रम आज हो कि भोलि बन्द हुने अवस्थामा पुगेको थियो। शीतयुद्धकालमा त्यसले जुन महत्त्व बोकेको थियो त्यो अहिले गुमेको थियो।
नेपाली श्रोताहरूको घटेको सङ्ख्या बढाउने कुनै उपाय देखिन्नथ्यो र श्रोताहरूको गतिलो सङ्ख्या नभई त्यो कार्यक्रम धानिन्नथ्यो। त्यो पीर थियो उनको। अघि पो राज्य सञ्चालित प्रगति प्रकाशन र रादुगा (रूसी भाषामा इन्द्रेणी) प्रकाशन थिए, रूसी साहित्य र कृतिहरूको नेपाली अनुवाद गराउने। अब कसले कृष्णप्रकाशलाई त्यो काम दिने? त्यही थियो, उनले आर्जन गरेको सीप र गर्दै आएको एक मात्र काम। सँगैका चतुर तथा व्यापारिक मनोवृत्तिका साथीहरू बोरिस यल्तसिनले ल्याएको राजनीतिक बाढीको छालमा तैरेर कता कता अर्कै दुनियाँमा पुगिसकेका थिए।
एक कृष्णप्रकाश थिए जो जनकपुर-जयनगर चल्ने पुरानो रेल जस्तो घर र रेडियो मस्को गरिरहेका थिए- सदैव एउटै लिकमा, एउटै रुटमा। अपार्टमेन्ट रहेको बिल्डिङको मुख्य प्रवेशकक्षका झ्यालका फुटेका सिसा र बिजुलीको चिम देखाउँदै बदमास गुन्डाहरूको कर्तूतबाट बच्न गाह्रो भएको गुनासो गर्थे उनी। त्यस्तो बदमासी सोभियत कालमा हुने कल्पनासम्म पनि गर्न सकिन्नथ्यो। पूरै बिल्डिङले मर्मतसम्भारको माग गरिरहेको थियो। तर हेरिदिने कसले? हतियारधारी बाहुबलीहरूले एक्ला, निरीह र निमुखाहरूलाई पिटेर, धम्क्याएर फ्ल्याटबाट बलात् निकालिरहेको वेला थियो। त्यस्तो सङ्कटको वेलामा आफ्नो अपार्टमेन्टमा बसिरहन पाउनु नै ठूलो कुरा थियो।
मैले एक्काइस वर्षअघि देखेको लेनिनले खडा गरेको देश चिन्नै नसकिने हिसाबले बदलिएको थियो। ब्यांक, मुद्रा सटही काउन्टर र ठूला पसलमा बन्दूक बोकेका सुरक्षा गार्ड तैनाथ थिए। पाकेटमारा र चोरहरूबाट सावधान भन्ने सूचना ठाउँ ठाउँमा देखिन्थे। रेडस्क्वायरमा विदेशीहरू टहलिएको देख्नासाथ देहव्यापारी युवतीहरू पछ्याउँथे। क्रेमलिन नजिकका मेट्रोस्टेशन छेउछाउ कुकुरका छाउरादेखि अनेक किसिमका घरेलु सामान उभिई उभिई बिक्री गर्ने मानिस भेटिन्थे।
कोही कोही मुख लुकाएर भुइँमा टोपी र पछ्यौरामा भीख थापिरहेका थिए। निकिता ख्रुश्चोभको प्रधानमन्त्रित्वकालमा निर्माण गरिएको लेनिनस्की प्रोस्पेक्टका एक ताकाका नामूद र भव्य डिपार्टमेन्ट स्टोरहरू सरसामानको अभावमा रित्ता देखिन्थे। सार्वजनिक खुला स्थानहरूमा बर्खे च्याउ झैं रातारात छाप्रे पसल उम्रिरहेका थिए।
यस्तो लाग्थ्यो, मस्कोका सारा खुला ठाउँमा कब्जा जमाउने होड नै चलेको थियो। चारैतिर विशृङ्खलता दृश्यमान थियो।
यस्तो लाग्थ्यो, मस्कोका सारा खुला ठाउँमा कब्जा जमाउने होड नै चलेको थियो। चारैतिर विशृङ्खलता दृश्यमान थियो। यी यस्ता दृश्य थिए जसको कल्पना चार वर्षअघिसम्म कुनै सोभियत नागरिकले गरेको थिएन। सोभियत संघ मात्र छिन्नभिन्न भएको थिएन, त्यहाँका पूरै जनताको जीवनपद्धति उथलपुथल भएको थियो।
अर्थतन्त्रमा भनिनसक्नुको पहिरो गएको थियो। सुन्थ्यौं, मानिसहरू सरकारी कारखानाका सरसामान आफूखुशी बेचिरहेका थिए। सक्नेले फाइटर जहाज र ट्याङ्क पनि किन्न सक्थे भन्थे। हामी मस्कोमा भएकै समयमा आएको थियो २४ सेप्टेम्बरको ‘ब्ल्याक ट्युज्डे’, जुन दिन रूसी मुद्राको मूल्य खातखुत घटेर एक अमेरिकी डलरको सटही दर चार हजार रुबलभन्दा माथि पुग्न गएको थियो र रूबल लगभग कागजको खोस्टा सरह हुन पुगेको थियो।
हामी अमेरिकी डलर बोकेकाहरूलाई त त्यो फाइदाकै कुरा थियो, तर जनसामान्यको हालत त्यसले त्रासदीपूर्ण बनाएको थियो। भूतले खाजा खाने समय थियो त्यो, रूसीहरूका लागि। यस्तो वेला हाम्रो मस्को बसाइ पनि अप्रत्याशित र अनिश्चित रूपमा लम्बिन गएको थियो। भारतको गुजरातमा प्लेग रोग फैलेकाले एयरोफ्लोटले इन्डियाका साथै नेपालको उडान एकाएक रद्द गरेकाले वैकल्पिक उडान मिलाउने बित्यासमा परेका थियौं हामी।
निःसन्देह, कृष्णप्रकाश पनि आम रूसी सरह स्वप्नभङ्गको अवस्थामा थिए। विद्यमान् बेथितिप्रति उनको शिकायत थियो। यसबाट उनी जरुर आहत थिए, तर निराश थिएनन्। उनले बडो सहजता र साहसका साथ लिएका थिए परिवर्तित परिस्थितिलाई। जसोतसो अराजकता र अव्यवस्थाको त्यस दुर्दिनबाट सही सलामत उम्कने हिम्मत राखेका थिए।
त्यस समय हाम्रो आफ्नै देशमा पनि सरकार गतिलो तालले चलेको थिएन। तर, हामीले खराब राजनीतिबारे दुखेसो गर्दै बिताएनौं त्यो साँझ। बरु भाषा, साहित्य र अनुवादबारे कुरा गर्यौं जो उनका व्यवसाय र व्यसन दुवै थिए, त्यसैले उनका प्रिय विषय थिए ती। हामीले एकआपस्तमा मिलेर गर्नुपर्ने र गर्न सकिने कामबारे पनि छलफल गर्यौं। उनले मेरो लेखाइ र अनुवादको पनि सह्रनी गरे।
कुनै डिप्लोमाको प्रमाणपत्र पाउनु सरह थियो मेरा लागि उनीबाट पाएको त्यो सह्रनी। उनलाई खुशी लागेको थियो, दस दिशा चहार्दै म फेरि पत्रकारिताको फाँटमा फर्केर आएकोमा। हामी दुवैले हामीलाई बाँधिराख्ने एउटा साझा डोरी फेला पारेका थियौं, त्यस साँझ।
त्यसपछिका वर्ष पातलो पातलो नै भए पनि हामीबीच सञ्चारको सूत्र गाँसिइरह्यो। उनी बडादशैं, वैशाख १ गते र खास गरी ग्रेगोरियन पात्रो अनुसारको जनवरी १ तारिखको शुभकामना बर्सेनि पठाइरहन्थे। सोभियत शासनकालमा क्रिसमसलाई नभई नयाँ वर्षलाई नै ठूलो पर्वका रूपमा मनाउने चलन स्थापित गरिएको थियो। त्यसैको प्रभावबाट जन्मेको हुनुपर्छ पहिलो जनवरीमा नबिराई शुभेच्छा दिने उनको बानी।
पछि हामीले इमेलमा पत्राचार गर्न थाल्यौं। म कृष्णप्रकाशको इमेल पाउँथें नेपालीमा र आफू भने पठाउँथें अंग्रेजीमा। मैले नेपालमा बसेर अनि पत्रिकामा काम गरेर पनि कम्प्युटरमा नेपाली टाइप गर्न सिकेको थिइनँ।
उनी भने मस्कोमा बसेर पनि नेपाली टाइप गर्न सक्थे कम्प्युटरमा। त्यो लज्जाको विषय थियो मेरा लागि। सोच्थें, कसरी सिके होलान् उनले कम्प्युटरमा नेपाली टाइप गर्न, मस्कोको अरण्यवासमा। पहिले त लुमुम्बा विश्वविद्यालय थियो जहाँ बर्सेनि नेपाली विद्यार्थीहरूको हुलै पढ्न जान्थ्यो। रेडियो मस्को थियो। नेपाली बोल्नलाई साथीको खाँचो हुन्थेन। अब त्यो माहोल रहेन।
कसरी आफ्नो नेपाली भाषालाई तिखारिराख्थे उनी? त्यसका लागि के उपाय अपनाउँथे? त्यो कुरा सोच्दा अहिले पनि मलाई अचम्म लाग्छ। कुन शक्तिले उनले त्यो निक्खरा नेपाली भाषा जोगाउन सकेको? किनभने, बोल्दा लेख्दा उनको नेपाली भाषा कहिल्यै पनि बिटुलिएको मैले पाइनँ। सबै त होइन, उनले रूसीबाट नेपालीमा अनुवाद गरेका केही किताब पढेको छु र प्रकाशकको हैसियतले उनीद्वारा अनूदित पुस्तकहरू छापेको पनि छु।
उनको अनुवादमा प्रयुक्त ठेट नेपाली शब्दहरू देखेर म अवाक् बन्छु। उनले अनुवाद गरेका पुस्तकमा आजभोलि चनलचल्तीबाट हराइसकेका शब्द फेला परे म तिनलाई टिपेर राख्छु, बिर्सने डरले। वेलावेला म आफूसित भएका उनले अनुवाद गरेका किताब पल्टाउने गर्छु जथाभावी, विना प्रयोजन यत्तिकै। मेरो सरोकार किताबको विषय वा कहानीसित रहँदैन, उनको भाषासित रहन्छ।
पहिले त लुमुम्बा विश्वविद्यालय थियो जहाँ बर्सेनि नेपाली विद्यार्थीहरूको हुलै पढ्न जान्थ्यो। रेडियो मस्को थियो। नेपाली बोल्नलाई साथीको खाँचो हुन्थेन। अब त्यो माहोल रहेन।
उनीद्वारा अनूदित किताबहरू जतिखेर बजारमा उपलब्ध थिए त्यस वेला तिनलाई जोगाएर राख्ने सुद्धी भएन। जब होस् खुल्यो, उनका किताबहरू खोज्न म ‘प्रगतिशील’ पुस्तकहरू बेच्ने भक्तपुर, कीर्तिपुर र ललितपुरका पसलहरूमा गएँ। रूसी पुस्तकहरू बेच्ने इन्टरन्याशनल बुक सेन्टर हुँदा त्यहाँ काम गर्ने हरि दाइ नामका व्यक्तिको घर खोज्दै जैसीदेवल पनि पुगें।
यो अठार-बीस वर्षअघिको कुरा हो। तर, धेरै ढिला भइसकेको रहेछ। मैले रित्तो हात फर्कनुपर्यो। थकथकी लाग्छ, उनका सबै अनूदित पुस्तकहरूको सङ्ग्रह आफूसँग नभएकोमा। तिनका माध्यमबाट रूसी साहित्यको रसास्वादन गर्ने कुरा त छँदै छ, उनको बेजोड अनुवाद शिल्प र लालित्यबाट मिल्ने आनन्द छुट्टै हुन्छ। उनको अनुवाद पढ्दा लाग्दैन अनुवाद पढिरहेछौं। त्यो नितान्त मौलिक लाग्छ। वास्तवमा त्यही नै हो सफल अनुवादको वैशिष्ट्य।
अनुवाद कर्म त खेती नै थियो कृष्णप्रकाशका लागि। तर, उनले त्यस खेतीमा सोभियत संघमा त्यस बखत पढ्दै गरेका छात्रहरूलाई पनि नौसिखियाका रूपमा हात हाल्न लगाउने गरेको मैले सन् १९७० को दशकमा त्यहाँ पढेका छात्रहरूबाट सुनेको छु। अरूले जानीनजानी गरेको अनुवादलाई परिष्कृत गरेर त्यसको प्रकाशनमा सघाउँथे उनी। नेपाली विद्यार्थीका लागि चल्ताफिर्ता पुस्तकालय र सङ्ग्रहालय नै थिए कृष्णप्रकाश।
व्यक्तिगत चिठीपत्रदेखि सानोतिनो पर्चा, पुस्तक, पत्रपत्रिका सबैलाई जतनसाथ सङ्ग्रह गर्नु र परेका वला फुत्त निकाल्नु उनको बायाँ हातको काम थियो। नेपाली विद्यार्थीहरू कैयन् प्रचलित रूसी गीतहरू पनि रहरले नेपालीमा अनुवाद गरेर गाउँथे। ती गीतमा कृष्णप्रकाशको नजर पर्नु र ठप्पा लाग्नु अनिवार्य जस्तै थियो। यस्तै गीतमा ‘कम्युनिष्ट इन्टरन्याशनल’ भनेर चिनिने अन्तर्राष्ट्रिय गीतको रूसीबाट नेपालीमा गरिएको अनुवाद पनि पर्छ।
त्यसको प्रारम्भिक अनुवादमा खारकोभमा अध्ययनरत विश्वराज जोशी र साथीहरूको पहल भए पनि त्यसको अन्तिम स्वरूपले कृष्णप्रकाशको सधिएको हातको स्पर्श पाएको थियो। ‘जाग पीडित औ निन्दित, भोका र दासको संसार’ भन्ने बोलको त्यस गीतको उत्पत्तिबारे सम्भवतः धेरै जनालाई जानकारी नहोला, त्यसलाई कर्मकाण्डी तवरले गाउनेहरू लगायतलाई।
सन् २००३ मा जगदम्बाश्री सम्मान ग्रहण गर्न उनी काठमाडौं आउँदा फेरि एक पटक भेट्ने मौका जुर्यो। उनी हर्षित थिए र हामी शुभेच्छुकहरू उत्तिकै हर्षित थियौं उनले प्राप्त गरेको सम्मानबाट। पूर्वतर्फ म्यानमारसम्मैका सत्पात्रहरूलाई खोजी खोजी जगदम्बाश्रीको सम्मान प्रदान गर्ने मदन पुरस्कार गुठीले त्यस साल पश्चिमतर्फ मस्को पुगेर फेला पारेको थियो कृष्णप्रकाशलाई। सम्मान थापेर मेरो अफिसमा आएका कृष्णप्रकाश र अन्य साहित्यकारलाई मैले सानो मारुती कारमा त्यस दिन यताउति पुर्याउने काम गरेको थिएँ।
आफ्नो जन्मथलोलाई चिनाउनुपर्दा उनी जहिले पनि शोणितपुर लेख्थे जुन ठाउँलाई आम मानिस थानकोट भनेर चिन्दछ। शोणितपुरका ती निवासी कालक्रममा सोभियतभूमि पुग्छन्, त्यसैलाई कर्मभूमि बनाउँछन् र आखिर रूसीभूमिमै समाधिस्थ हुन्छन्।
त्यसपछि आठ वर्षको अन्तरालमा उनी फेरि काठमाडौं आए, यस पटक भने सपत्नीक। फेरि अर्को पुरस्कारले उनलाई काठमाडौं डोर्याएको थियो। यस चोटि नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार थाप्न काठमाडौं आएका थिए उनी। छोटो समय र भेटघाटको खाँदाखाँद कार्यक्रमले गर्दा उनीसित विस्तारसित कुराकानी गर्ने जोग मिलेन।
हिमाल किताबले छापेका उनका स्थाननाम कोश लगायत किताबहरूको थोरैतिनो लेखकस्व रकम उनका भाइ तेजप्रकाश श्रेष्ठको कुलेश्वरस्थित निवासमा गएर उनको हातमा राख्न सक्यौं। त्यस सङ्क्षिप्त भेटमा पनि स्थाननाम कोशमा उनले चाहे जसरी हामीले सन्दर्भ-सूची दिन नसकेकोमा आफ्नो बेखुशी प्रकट गर्न उनी चुकेनन्। त्यो गल्ती हिमाल किताबका प्रबन्धक भाइ चिरन घिमिरे र मैले नतमस्तक भएर स्विकार्यौं। अक्षरको मामिलामा भुइँमा तिलको गेडा देख्ने चीलको तीक्ष्ण दृष्टि राख्थे उनी।
पछिल्लो पटक इमेल मार्फत मैले रूसी लेखिका नतालिया मर्कोभ्ना कार्पोभिचको मुस्ताङको बाटो पुस्तक नेपालीमा अनुवाद गरिदिन अनुरोध गरेको थिएँ। तर, कामको चाप बढ्ता भएकाले आफू अनुवादको काम गर्न असमर्थ भएको बताउँदै अरूले गरेको अनुवादको सम्पादन भने गरिदिने आश्वासन उनले दिएका थिए। अनुवादका लागि उनले सुझाएका दुई जनामा एक जनाको नाम बिर्सें, अर्का भने जंगब चौहान थिए। पहिले रूसी भाषाका ग्रन्थलाई नेपालीमा ल्याउने काममा उनको बढी जोड थियो, तर यतातिर आएर नेपाली साहित्य र संस्कृतिलाई रूसी भाषाको माध्यमबाट रूसी पाठकहरूलाई बुझाउने काममा आफू लागेको उनले बताएका थिए इमेलमा।
समयाभावले गर्दा आफूले हात हालेका काम सिध्याउन नसकुँला भन्ने उनलाई आत्तुरी थियो। यो आत्तुरी यस्तो व्यक्तिले व्यक्त गरिरहेको थियो जो गएको दुई वर्षदेखि विधुर जीवन बिताइरहेको थियो र कोभिडद्वारा सिर्जित ऐकान्तिकतासित ८२ वर्षको उमेरमा एक्लै जुधिरहेको थियो। जीवनको अन्तिम कालमा पनि त्यस्तो कर्तव्यबोध, त्यस्तो एकाग्रता, त्यस्तो समर्पण र त्यस्तो अठोट हर कोहीमा सितिमिति पाइने कुरा होइन।
एकतर्फी साँघु जस्तो थिएन कृष्णप्रकाशको योगदान। उनले केवल रूसी भाषाका अनमोल कृतिहरूको अनुवाद गरेर नेपाली भाषा-साहित्यको भण्डार भरेका होइनन्, रूसी भाषामा पनि लेख-रचना र मौलिक पुस्तक लेखेर रूसी पाठकलाई लाभान्वित पारे। त्यस अर्थमा दोहोरो सवारी चल्ने पुलको भूमिका निर्वाह गरेका थिए उनले। सोभियत कालदेखि नै रूसको साहित्य, कला र विज्ञान एकेडेमीले उनलाई एकाधिक पटक पुरस्कृत र सम्मानित गरेको त्यसै थिएन।
सुनेको छु, कुनै संस्थाले मस्कोमा उनको शालिक निर्माण गर्ने पहल शुरू गरेको छ। बरु नेपाल सरकारले कन्जुस्याइँ गरेको हो, उनलाई प्रज्ञालङ्कार जस्तो कुनै उपाधि प्रदान नगरेर। कम्तीमा उनलाई रूसका लागि ‘सांस्कृतिक दूत’ बनाएर भगीरथ झैं उनको तपस्याका लागि सम्मान व्यक्त गर्न सक्थ्यो नेपाल सरकारले।
जन्मभूमिदेखि हजारौं कोस टाढा बिरानो प्रकृति-संस्कृति, बेग्लै भाषाभेष भएको देश-परिवेशमा रहेर पनि नेपाली भाषा-साहित्य र अझ नेपालभाषासित समेतको उनको सम्बन्ध कहिल्यै अवच्छिन्न भएन, सदैव अटुट रह्यो। शब्दकोश निर्माण लगायत उनका मौलिक र अनूदित रचना र कृतिहरूको लम्बेतान सूची त्यसका साक्ष्य हुन्। एकलव्यसरि जीवनपर्यन्त एकाग्र रहेर नेपाली वाङ्मयको उन्नयनमा लागेका उनको लगनशीलताको जति बखान गरे पनि पूर्ण हुँदैन। अनेक प्रतिकूलताका बावजूद आफ्नो ध्येयमा एकनिष्ठ कृष्णप्रकाशको जीवनलाई कठोर तपस्वीको जीवन मान्नुपर्छ जो नेपाली भाषा र साहित्यप्रति पूरापूर समर्पित थियो।
आफ्नो जन्मथलोलाई चिनाउनुपर्दा उनी जहिले पनि शोणितपुर लेख्थे जुन ठाउँलाई आम मानिस थानकोट भनेर चिन्दछ। शोणितपुरका ती निवासी कालक्रममा सोभियतभूमि पुग्छन्, त्यसैलाई कर्मभूमि बनाउँछन् र आखिर रूसीभूमिमै समाधिस्थ हुन्छन्। प्रारब्धले ती अधिवासी अवश्य भए तर थिए मन, वचन र कर्मले खाँट्टी नेपाली जसको भाषा-साहित्य सेवा थियो अतुलनीय। शोणितपुरका ती कर्मयोगीलाई कोटी कोटी सलाम!