कञ्चनजंघा जुहार
कञ्चनजंघाबाट झण्डै २८ हजार फिट तल झरेर समुद्र पुग्ने अनि त्यहाँबाट उठेर ‘स्वर्गलाई छुने’ कञ्चनजंघाको शिरसम्म आउने पानीलाई हेरेर आफ्नो जीवनका उकाली–ओरालीलाई स्वीकार गर्ने तागत बटुल्न सक्छौं।
मोहन मैनाली
सन् १८४८ मा पूर्वी नेपाल आएका, ख्यातिप्राप्त वनिस्पतिविद् जोसेज डाल्टन हुकरले लेखेको किताबको नेपाल खण्डको नेपाली अनुवाद (अनुवादकः हस्त गुरुङ) को नाम हो- कञ्चनजंघा जुहार। यो किताब पढेपछि र सर फ्रान्सिस योङहस्बेन्डले लेखेको किताबको कञ्चनजंघा सम्बन्धी अंश (बहुमूल्य पर्वतराज कञ्चनजंघा, आकाशमुखी अनुदित निबन्धसंग्रह)को अनुवाद गरेपछि कञ्चनजंघा देखिने ठाउँतिर जाने अवसर जुट्यो।
कात्तिक ११ गते काठमाडौंबाट भद्रपुर जाने यती एअरलाइन्सको जहाजको अगाडितिरको ए सीट मागें, जहाँबाट हिमाल देखिन्थे। भद्रपुरमा जहाज ओर्लंदा कञ्चनजंघा झुलुक्क भए पनि देख्न पाउँथें। काउन्टरकी कर्मचारीले खुशीसाथ ‘भइहाल्छ’ भनिन् र अगाडितिरको ‘ए’ होइन ‘एफ’ सीट दिइन्। कसैको अनुरोध अस्वीकार गर्ने यस्तो पापी तरीका हुँदो रहेछ! आकाशबाट कञ्चनजंघा हेर्ने मेरो लालसालाई उनको हाँसोले यसरी ढाकिदियो।
कञ्चनजंघा सामुन्ने रहेको ठाउँतिर जाँदै छु, हिमाल हेर्न पाइहालिन्छ नि भनेर चित्त बुझाएँ। पाँचथरका पत्रकार गिरिराज बाँस्कोटालाई फोन गरेर सोधें- मेची राजमार्गको कुन ठाउँबाट कञ्चनजंघा राम्रोसँग देखिन्छ भनेर। “देखिने त पौवा भञ्ज्याङबाट हो, तर अब एकछिनमै कुहिरोले ढाक्छ,” उनले भने।
जहाजको मेरो सीटबाट देखिने दक्षिणतिरको पहाडलाई ढपक्क कुहिरोले ढाकेको थियो। उत्तरतिर हिमालका कम्मरसम्म मात्रै बादल थियो। त्यसमाथिको हिमशृङ्खला चम्किएको थियो। भद्रपुर विमानस्थलमा बस्न जहाज ओरालो झर्नुभन्दा अघि पाइलटले ‘हिमशृङ्खलाको अन्त्यमा भव्य कञ्चनजंघा देखिएको छ’ भनेर हामी यात्रीहरूलाई बताए। मैले यती एअरको काउन्टरकी कर्मचारीको कुटिल हाँसो सम्झिएँ।
गाडीमा फिदिम पुगुन्जेल कञ्चनजंघाको एक झुल्को पनि देख्न पाइनँ। ब्रिटिश अन्वेषक, लेखक तथा सिपाही योङहस्बेन्डले लेखेका यी कुरा सम्झिएँ- ‘कात्तिकको आधाउधिदेखि मंसीरको आधाउधिको एक महीनामा मात्र कञ्चनजंघा देख्न पाइएला भनी अलि बढी यकिन गर्न सकिन्छ। बाँकी ११ महीनामा मौका परेमा मात्र कञ्चनजंघा देख्न पाइन्छ। हिमाल कृपापूर्वक आफ्नो घुम्टो खोलिदिन प्रसन्न नभएसम्म मानिसले आफ्नो आत्मालाई धैर्यधारण गर्न लगाउनुपर्छ।’
पढ्नुहोस् सर फ्रान्सिस एडवार्ड योङहस्बेन्डको निबन्ध-
कात्तिकको आधाउधि भइसक्न लागेको थियो, तैपनि मैले मेरो आत्मालाई धर्यधारण गर्न लगाउनुपरेको थियो।
भोलिपल्ट, मेरो फिदिम मुकाम, नेपाल पत्रकार महासंघको आँगनबाट कञ्चनजंघातिर हेरें। आकाश बादलले डम्म ढाकेको थियो। पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा र दीपज्योति युवा क्लब फालेलुङका सुनील बान्तवाले मलाई मैले फिदिममा गर्नुपर्ने काम सकेपछि कञ्चनजंघा देखाइदिने लोभ देखाए। त्यसको भोलिपल्ट पत्रकार महासंघको आँगनबाट हेर्दा डाँडापारि दिनभर कञ्चनजंघाको टुप्पो देखियो। यसको अर्थ कञ्चनजंघालाई कात्तिकको आधाउधि लागिसक्यो, जतिवेला ‘कञ्चनजंघा देख्न पाइएला भनी अलि बढी यकिन गर्न सकिन्छ’। भोलि के हुन्छ के हुन्छ भनेर मलाई त्यही दिन काम छाडेर कञ्चनजंघा हेर्न जाऊँ जस्तो लागेको थियो। तर, त्यसो गर्न मिल्दैनथ्यो।
भोलिपल्ट बिहानै पाँचथरका पत्रकार र उनीहरूका हितैषीका साथ लागेर म फिदिमबाट उकालो हिंडें। गाडीले केही घुम्ती पर्तिर पुग्ने बित्तिकै कञ्चनजंघा देखियो, जसलाई आज म जाँदै गरेका ठाउँ छेउछाउबाट हुकरले यस्तो देखेका थिएः ‘बिहानको सफा, स्वच्छ र उज्यालो वातावरणले मनै रमाउने खालका सुन्दर दृश्य हेर्ने मौका जुराइदियो। कञ्चनजंघा हिमाल मेरो नजिकै उत्तरतिर देखियो। यसका स्वच्छ, शुभ्र चुचुरा चम्किला पर्वतपुञ्ज जस्ता देखिए। यिनको कोखमा धर्सा परेका नीला हिमनदी उदाउँदो सूर्यको प्रकाशमा टल्किइरहेका थिए। मानौं, ती हिमनदी होइनन्, स्वच्छ चाँदीको भाँडोमा जमेर बसेका हल्का नीला र हरिया रंगमा चम्किइरहेका समुद्री रत्न हुन्’ (अनुवादः हस्त गुरुङ)।
हाम्रो गाडी दक्षिण–पूर्व जाँदै थियो। यसो गर्दा हामी कञ्चनजंघालाई छाडेर अघि जाँदै थियौं। साथीहरूले पौवा भञ्ज्याङ पुगेर रोकिने बताए। मलाई लाग्यो- आज कञ्चनजंघा पूरै खुलेका वेला पनि राम्रोसँग हिमाल देख्न नदिने भए। पौवा भञ्ज्याङ पुग्दा अघि हामीले पछाडि छाडेको हिमाल आफ्नै अगाडि, पहिलेभन्दा अझ नजिक थियो। हिमाल निश्छल हुन्छ भन्छन् कविहरू, तर मलाई लाग्यो होइन, हामी अघि हिंड्दा पछाडि बसे जस्तो भान दिएर हिमालले हामीसँग छलछाम गर्छ।
गुगल अर्थमा पौवा भञ्ज्याङ ।
पौवा भञ्ज्याङ (८,२०० फिट)मा ओर्लियौं। हिमाल हेरेर एकसरो आनन्द लियौं। अलि टाढैबाट भए पनि पश्चिमका मकालु र अरू हिमाल पनि।

प्रफुल्ल मन लिएर हामी पौवा भञ्ज्याङको नजिकै, पूर्व-उत्तरमा पर्ने साधुटार पुग्न २०० फिट जति उक्लियौं। साधुटारबाट देखिने हिमालको फोटो बारम्बार छपाएर गिरिराजले मलाई यस ठाउँतिर जान लोभ्याएका थिए। अहिले उनैको सहयोगमा त्यस ठाउँमा जान पाउनु मेरो सौभाग्य थियो। साधुटार पुग्दा हिमाल र साधुटारको रङ साँच्चै राम्रो थियो। गिरिराजको कविता संग्रहको नाम छ- ढुङ्गाको प्रेम। यति सुन्दर ठाउँको चाहिं ढुङ्गाले पनि प्रेम गर्दाे हो र त उनले यस शीर्षकमा कविता लेखे।

साधुटारबाट हिमाल हेर्ने रहर नमेटिंदै हामीले हिंड्नुपर्यो, किनभने हामीले साधुटारभन्दा ६०० फिट अग्लो ठाउँ सुकेपोखरीबाट पनि यस हिमाललाई हेर्नुपर्ने थियो। त्यहाँबाट पाँच/सात किलोमिटर हिंडेर हामी सुकेपोखरी पुग्दा पनि हिमाल खुलेकै थियो।
हुकरले यही ठाउँको वरपर कतैबाट यो हिमाल हेरेको हुनुपर्छ। उनले लेखेका छन्- यस क्षेत्रबाट देखिएको सबैभन्दा मोहक दृश्य चाहिं कञ्चनजंघा हिमालको भव्य स्वरूप हो। त्यसले आफ्नो छेउमा कुब्रा हिमाल र जुन्नु हिमाललाई राखेर आफ्नो विशिष्ट उचाइ प्रदर्शन गरिरहेको थियो। यी तीन वटै हिमालकोे शिखरलाई आड दिंदै हजारौं फिट तलसम्म झरेका भिराला पखेरा चाहिं नाङ्गै थिए (अनुवादः हस्त गुरुङ)।

सुकेपोखरीको बाटो म धेरै पटक पैदल हिंडेको थिएँ। तर, यहाँबाट हिमालको दर्शन एक चोटि पनि पाएको थिइनँ। जति पटक आउँदा पनि बादलले ढाकिएको थियो होला। त्यसो नभएको भए त यो बाटो हिंड्दा मैले हिमाल नदेख्ने कुरै हुँदैनथ्यो।
यो शृङ्खलाको सबैभन्दा पश्चिमको हिमाललाई आजभोलि कुम्भकर्ण भनिन्छ। उचाइका हिसाबले यो कञ्चनजंघाभन्दा होचो छ। कहाँको विश्वको तेस्रो अग्लो चुचुरो, कहाँको २५ हजार फिटको कुम्भकर्ण। तर, हुकरले यसलाई (त्यति वेला जुन्नु भनिन्थ्यो) कञ्चनजंघा शृङ्खलाको सुन्दरतम हिमाल भनेका छन्। हो त, कञ्चनजंघा व्यक्तित्वविहीन देखिन्छ भने कुम्भकर्णको व्यक्तित्व छ, मान्छेकै स्वरूप छ यसको। कुम्भकर्णको खास नाम फक्ताङलुङ हो। यो लिम्बूहरूको पवित्र धार्मिक स्थल हो।

योङहस्बेन्डले यस हिमाललाई यहाँबाट भन्दा पूर्व दार्जीलिङबाट हेरेका थिए। यो हिमाल देख्दा उनलाई लागेको थियो- ‘यस हिमालको हृदयमा अविचलित अभिलाषाको पवित्र ज्वाला ज्वलन्त भइरहेको छ। यसले हाम्रो हृदयमा पनि यस्तै देदीप्यमान केही कुरा रोपिदिन्छ, जुन हाम्रो बाँकी जीवनभर बलिरहन्छ, कहिल्यै ननिभीकन। हामी आफ्नो शारीरिक आवरणमा उच्चतम सिद्धि प्राप्त भएको देख्छौं, यसले हामीलाई मानसिक सिद्धि हासिल गर्न उद्विग्न बनाउँछ। हामी र यस हिमालका बीचमा उच्च फल हासिल गर्नका लागि साझा प्रयास गर्ने दुई जनाबीचको नाता कायम हुन्छ। र, यही नाताले गर्दा हामी यस हिमालमा यस्तो शानदार सुन्दरता देख्न सक्षम हुन्छौं।’
हिमालले मानिसको सोचाइलाई माथि उठाइदिन्छ। यस्तै भएर होला, सुकेपोखरीभन्दा अलि पर्तिर यही हिमालको अगाडि बसेर धर्मगुरु फाल्गुनन्दले नयाँ नियम चलाएका थिए। हामीलाई फाल्गुनन्दले नयाँ नियम चलाएको ठाउँ लब्रेकुटीबाट पनि यो हिमाल हेर्नु छ। अर्थात्, सुकेपोखरीभन्दा १,५०० फिट होचो ठाउँबाट पनि हिमाल हेर्नु छ।
गुगल अर्थमा लब्रेकुटी।

लब्रेकुटी पुगेपछि साथीहरू कुटीभन्दा तलको सुन्दर डाँडातिर जान हिंडे। म पछाडि बसें, साथीहरू डाँडामा पुगेर उभिएको दृश्य खिच्न। दृश्य खिच्दा मलाई उनीहरू सबैजना बसिदिएको भए राम्रो देखिन्थ्यो भन्ने लाग्यो। तर, उनीहरूले त्यसो गरेनन्। तैपनि राम्रै देखिए जस्तो लाग्यो। म पुग्दा उनीहरू हिमाल सामुन्ने उभिए।

लब्रेकुटीबाट हामी सोझै माझीटार झर्यौं, जहाँ कञ्चनजंघा शृङ्खलाको टाकुराको पश्चिमी थाप्लोदेखिको पानी बोकेर आएको तमोर नदी भेटिन्छ। ओरालो झर्दा जोरसाल बजारभन्दा अलि तल १,८०० फिट जतिको उचाइबाट यो शृङ्खला देखियो, तर पूरै होइन कुम्भकर्ण मात्र। मलाई यति औलबाट यो हिमाल देखिन्छ जस्तो लागेको थिएन।
भोलिपल्ट, कात्तिक १५ गते काठमाडौं फर्कंदा मैले कञ्चनजंघाको पानीसँगै ओरालो लाग्ने विचार गरें, तमोर नदीको किनारै। माथि डाँडाबाट हिमाल एक खालको देखिन्थ्यो भने तल झण्डै झण्डै खोंच भन्न मिल्ने ठाउँबाट अर्कै देखियो।

प्रदीप रिमालले लेखेको, जयदेवले संगीतबद्ध गरेको अनि आशा भोसलेले गाएको एउटा गीत छ- कञ्चनजंघा, स्वर्गलाई छुन्छ यो कञ्चनजंघा। त्यसले भन्छ- ‘यो हिउँ पग्ली जगतैभरि ऐश्वर्य छर्दछ।’ स्रष्टा र वैज्ञानिकहरूले हिमाललाई हिउँदमा हिउँ जम्मा गरेर पछि खटाई खटाई पानी दिने गुणी प्रकृतिका रूपमा लिने गरेका छन्। अहिले तमोरको किनारभन्दा अलि माथिबाट तमोर सँगसँगै झर्दा मलाई यो ठाउँको बनोट अचम्मको लाग्यो। यहाँका धेरै पहाड बनाउँदा प्रकृतिले डाँडाले हिमालको दृश्य नछेकून् भनेर सकेसम्म ध्यान दिएको रहेछ। त्यसैले त, मैले निकै तलसम्म हिमाल देखिरहें- एउटै हिमाल तर विभिन्न बान्कीमा। साँवा खोला तरेर बाटो नदीको छेउबाट हिंड्न थालेपछि भने हिमाल देखिनँ।
हिमालले पठाएको पानी समुद्रसम्म जाँदा एक्लै जाँदैन। मध्य पहाडमा उत्पत्ति भएका ठाडा खोलाले ल्याएको पानीलाई पनि साथै लिएर जान्छ।

अझ तल आइपुग्दा हिउँ पग्लेर आएको पानीले जगत्भर ऐश्वर्य छर्दैन भन्ने बुझें। यसरी आएको पानी तल खोंचबाट बग्छ, जसलाई ऐश्वर्य भर्ने अन्न उब्जाउन जमीनमा उकाल्न अप्ठ्यारो छ। तमोर छेउका जति फाँटमा अन्नको ऐश्वर्य देखें, त्यो ऐश्वर्यको जस महाभारतले बर्खामा पानी सञ्चय गरेर खटाई खटाई पठाएको पानीलाई जान्छ।
हिमालले पठाएको उन्मत्त पानीले त नदी किनारका होचा फाँटमा ध्वंस मात्र मच्चाउँदो रहेछ।

तर, यसका आधारमा हिमाल र नदीको महत्त्व घट्दैन, किनभने हामी हिमाल र त्यहाँको हिउँ पग्लेर बगेका नदी हेर्न लालायित हुन्छौं। हिमालबाट प्रेरणा पाएर उठ्ने चाहना आफूमा जागृत गराउन सक्छौं। कञ्चनजंघाबाट झण्डै २८ हजार फिट तल झरेर समुद्र पुग्ने अनि त्यहाँबाट उठेर ‘स्वर्गलाई छुने’ कञ्चनजंघाको शिरसम्म आउने पानीलाई हेरेर आफ्नो जीवनका उकाली–ओरालीलाई स्वीकार गर्ने तागत बटुल्न सक्छौं।

