पोलमा तानिएका तार ४५ दिनभित्र व्यवस्थापन गर्न विद्युत् प्राधिकरणको निर्देशन
नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचना मार्फत दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोही अनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरीकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुन्ड्याइएका उपकरणहरूका कारण शहर कुरुप भएको आलोचनाका बीच प्राधिकरणले तार हटाउने पहल थालेको हो। आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको प्राधिकरणले दाबी गरेको छ।
आगलागी लगायत विद्युतीय दुर्घटना कम गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र शहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमा सहित सार्वजनिक रूपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए।
“तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरण आफैंले हटाउने र यसबाट हुन सक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवार हुनुपर्नेछ,” उपकार्यकारी निर्देशक सिलवालले भने।
उनले अव्यवस्थित तारको गुजुल्टोका कारण शहर कुरूप बनेको, आगलागी भई धनजनको क्षति भएको तथा प्राधिकरणको सेवा प्रवाह प्रभावित भएको बताए। “शहरी सौन्दर्य कायम गर्न तथा विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरूका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको हो,” उनले भने।
प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युत् लाइन तथा भू–सतहबीचको न्यूनतम दूरी तोकेको छ। ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनुपर्नेछ। ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी दुई मिटर हुनुपर्नेछ। अन्य ४०० भोल्टका उपकरणसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्नेछ। अप्टिकल फाइबर/केबल र जमीन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ। न्यूनतम दूरी कायम कायम नगरी सर्भिस केबल मार्फत ग्राहकलाई कनेक्शन दिन रोक लगाइएको छ।
राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लीप प्रयोग गरी वायरिङ गर्नुपर्नेछ। प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनुपर्नेछ। पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दा समेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्ड्याउन नपाउने व्यवस्था गरिएको छ।
सेवा प्रदायकहरूले निजहरूको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्नेछ। पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्नेछ। सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ। तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबलहरू हटाउनुपर्ने भनिएको छ।
तोकिएका मापदण्ड अनुसार तार तथा उपकरणलाई सेवा प्रदायकहरूले ४५ दिनभित्र व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनुपर्ने जारी सूचनामा उल्लेख छ।