हङकङ आईडी छोडेर तरकारी व्यवसायमा
धनकुटाको सिंधुवामा उत्पादित बेमौसमी तरकारी भारतीय बजारसम्म पुगेको छ र यसको श्रेय मेघेन्द्र गुरुङलाई जान्छ।
मध्यम वर्गीय धेरै नेपालीका लागि हङकङ आईडीको निकै महत्त्व छ। तर‚ धनकुटा‚ सिंधुवाका मेघेन्द्र गुरुङलाई भने हङकङ आईडीले लोभ्याएन। बुबाले अवकाश पाएपछि उनी बुबासँगै सिंधुवा फर्किए।
मेघेन्द्र तरकारीको कुशल बजार व्यवस्थापकका रूपमा परिचित छन्। सम्भवत: नेपालकै पहिलो बेमौसमी तरकारी खेती गरिएको सिंधुवामा उत्पादित तरकारीको बजार व्यवस्थापनमा उनले कुशलता प्रस्तुत गरेका हुन्।
बुबा कुलप्रसाद बेलायती सेनामा रहेका वेला मेघेन्द्र २०१७ माघ १२ गते हङकङमा जन्मिए। सिंधुवामा गैरसरकारी संस्था वातावरण तथा कृषि नीति अनुसन्धान, प्रचार एवं विकास केन्द्र (सिप्रेड)ले २०४८ सालमा नेपालमै पहिलो पटक बेमौसमी तरकारी खेती परियोजना सञ्चालन गर्यो। मेघेन्द्र त्यही परियोजनामा संलग्न भई कृषिकर्ममा लागे।
सिप्रेड र रामानन्दप्रसाद गुप्ताको अवधारणामा बेमौसमी तरकारी खेतीको शुरू भएको थियो। त्यहाँ उत्पादित तरकारीको बजार व्यवस्थापनको जिम्मेवारी मेघेन्द्रले सम्हालेका थिए। सिंधुवामा उत्पादित तररकारी भारतीय बजारसम्म पुगेको छ। सिंधुवाबाट मात्र होइन‚ नेपालबाट नै पहिलो पटक पुगेको हो। यसको श्रेय मेघेन्द्रलाई नै जान्छ।
जिम्मेवारीले सिकाएको काम
सिप्रेड परियोजना दुई वर्षको थियो। त्यसमा ६ महीना थपियो। त्यसपछि परियोजना सकियो। परियोजनाले धेरै किसानलाई बेमौसमी तरकारी खेतीमा संलग्न गराएको थियो।
८५ वटा कृषक समूह थिए। यस्तै समूहमा आबद्ध नभएका किसानले पनि तरकारी खेती गर्दै आएका थिए। यति धेरै किसानले उत्पादन गरेका तरकारीलाई करीब ३० वर्षअघिको पूर्वी नेपालको बजारमा थेग्दैनथ्यो। धरान स्थापित शहर भए पनि जनसंख्या धेरै थिएन। इटहरी भर्खर शहर बन्ने क्रममा थियो। झापामा पनि ठूला बजार थिएनन्। विराटनगरले पनि धेरै मात्रामा तरकारी खपत गर्ने हैसियत राख्दैनथ्यो।
तरकारीको बजार खोज्ने जिम्मा मेघेन्द्रको काँधमा थियो। व्यवस्थापनको औपचारिक अध्ययन नगरेका मेघेन्द्र आफ्नो समूहका सदस्यहरूसँग काठमाडौं‚ पोखरा‚ नारायणगढ जस्ता नेपालकै ठूला शहरमा अध्ययनका लागि निस्किए। त्यति वेला सिंधुवामा उत्पादन भइरहेको ठूलो मात्राको तरकारी थेग्न सक्ने बजार नभेट्टाएको उनी बताउँछन्। त्यसपछि मेघेन्द्रको ध्यान भारतीय बजारतर्फ मोडियो। भारतमा रहेका तरकारी व्यापारीको माध्यमबाट सिलगुढी‚ कोलकत्तासम्म तरकारी पठाउन सफल भएको उनको भनाइ छ।
मेघेन्द्र अहिले नेपाली कृषि उत्पादनलाई पेस्ट रिक्स एनालाइसिस (पीआरए) गराउन लागिपरेका छन्। यसका लागि व्यक्तिगतभन्दा नेपाल सरकारले पहल गरे सफलता प्राप्त हुने उनी बताउँछन्। नेपालमा उत्पादित कृषि उपजलाई पीआरए गर्न सकिए भारतीय तथा विश्व बजारमा लैजान समस्या नहुने मेघेन्द्रको भनाइ छ।