अयोग्य र अनैतिक उम्मेदवार घटाउन 'भेटिङ'
व्यक्तिका राम्रा-नराम्रा पक्ष नकेलाई नातावाद, राजनीतिक पहुँच र लेनदेनका आधारमा नियुक्ति र टिकट वितरण गर्ने प्रवृत्तिले महत्त्वपूर्ण पदहरूमा गलत मानिसहरू पुग्ने शृङ्खला चली नै रहनेछ।
कुनै व्यक्तिलाई पदमा बहाली गर्न, चुनावमा उम्मेदवार बनाउन र पुरस्कार दिने निर्णय गर्नुअघि ऊ हरेक हिसाबले उपयुक्त, नैतिकवान्, विवादरहित हो या होइन भनी विस्तृत जाँच गर्ने कार्य हो, 'भेटिङ'। भेटिङ अनेक सन्दर्भमा गरिन्छ। जस्तै, कुनै क्रान्तिपछिको संक्रमणकालीन अवस्थामा पनि गरिन्छ। निकट विगतको उथलपुथलका वेला पक्ष-विपक्षमा संलग्न मानिसहरूले मानव अधिकार हनन गरे कि गरेनन् भनेर जाँच गरी कसूरमुक्तलाई मात्र कुनै पद लिन योग्य भनी निर्क्यौल गरिन्छ।
अर्को, कर्मचारी छनोटमा पनि भेटिङ गरिन्छ। प्रतिस्पर्धात्मक युगमा महत्त्वपूर्ण पदका निम्ति सक्षम उम्मेदवारहरूमध्येबाट पनि सबैभन्दा उपयुक्त कुनै एक छनोट गर्न भेटिङ गरिन्छ। तर, भेटिङ गरिनेबारे उम्मेदवारसँग लिखित अनुमति लिएको हुनुपर्छ। भेटिङका सिलसिलामा थाहा भएका उम्मेदवारका व्यक्तिगत सूचना गोप्य राख्ने, दुरुपयोग नगर्ने व्यावसायिक नैतिकता कायम गरिनुपर्छ।
धेरै मुलुकमा सुरक्षा निकायमा योग्य व्यक्ति छनोट गर्न विशेष किसिमले भेटिङ गरेर लायक उम्मेदवारलाई नियुक्त गरिन्छ। साथै, राज्यका उच्च पदहरूमा हुने निर्वाचनका लागि उम्मेदवार बनाउने वेला पनि पार्टीहरूले भेटिङ गरेर सक्दो स्वच्छ छविको व्यक्तिलाई मात्र उम्मेदवार बनाउने विकसित मुलुकहरूको अभ्यास छ।
के के हेरिन्छ भेटिङमा?
१) बायोडाटामा उल्लिखित शैक्षिक योग्यता, शैक्षिक संस्था र उल्लिखित कामका अनुभवका कुरा साँचो छन् कि छैनन्? पुलिस रिपोर्ट कस्तो छ? हरेक साल कर तिरेको छ या छैन? कतै घूस खाएको वा बेथिति गरेको छ कि? वकील या न्यायाधीश रहिसकेको हो भने उसले के कस्ता मुद्दा किनारा लगाएको थियो? यी कुरा जाँचिन्छन्।
२) सर्वोच्च पदका निम्ति हो भने मुलुकको अर्थतन्त्र कस्तो छ? नराम्रो भए त्यसलाई सुधार्न उम्मेदवारसँग के के योजना छन्? जलवायु परिवर्तनका वैश्विक सवालमा के धारणा छ? आदि विषयहरूमा सम्बन्धित व्यक्ति अद्यावधिक छ/छैन भनी जाँच गरिन्छ।
३) उम्मेदवारको बाल्यकालदेखिकै विगत कस्तो थियो? जस्तै- कलेज जीवनका वेला उम्मेदवारको कुनै उग्रवादी समूहसँग सम्बन्ध थियो कि? गुन्डागर्दी, यौन हिंसा या चोरी, लूटपाट गरेको थियो कि?
४) उम्मेदवारले घरमा काम गर्ने मानिस राखेको छ भने त्यो मानिस गैरकानूनी आप्रवासी हो कि? बाल मजदूर हो कि? उम्मेदवारले श्रीमतीलाई घरेलु हिंसा तथा अन्य महिलाहरू, अन्य जाति वा लिङ्गका मानिसलाई अवहेलना-दुर्व्यवहार गरेको थियो कि भनेर पनि त भेटिङ गरिन्छ।
नेपालमा उपेक्षित
राज्यका निकायहरूमा राजनीतिक नियुक्ति गर्ने र चुनावमा उम्मेदवार बनाउने वेला राजनीतिक दलहरूले भेटिङ गर्ने चलन छैन। चुनावको वेला टिकट दिंदा योग्यता, कार्यक्षमता, इमानदारी हेर्नेभन्दा पनि नातागोता, जसरी पनि चुनाव जित्न सक्ने विशेषता भएको, पार्टीलाई प्रशस्त चन्दा रकम दिन वा दिलाउन सक्ने जस्ता आधार बनाइने गरेको देखिन्छ। समानुपातिक कोटा त झन् करोडौंको बढाबढमा किनबेच हुने वा श्रीमती या सम्धीलाई दिने गरेको कुरा पढ्न-सुन्न पाइयो। त्यस्तै, राजनीतिक नियुक्ति र सरुवा-बढुवामा पनि आफ्नो मान्छे, राजनीतिक रूपमा निकट, पार्टीलाई आर्थिक सहयोग गर्न सक्ने जस्ता आधारलाई प्राथमिकता दिने गरिएको 'ओपन सिक्रेट' जस्तै छ । राजदूत र केही आयोगका प्रमुख छान्दा संसदीय समितिले ‘जाँच’ गरे झैं गर्छ, भेटिङको पूरै विधि पुर्याएर छानबिन गरेको देखिन्न। नेपालमा प्रजातान्त्रिक र साम्यवादी सिद्धान्तमा आधारित हौं भन्ने पार्टीहरूले टिकट दिन मानिस छान्दा सैद्धान्तिक रूपमा बलियो या देश विकासको योजना भएको या नैतिकवान्, इमानदार व्यक्ति हुनुपर्ने प्रावधान राखेको पाइँदैन।
केही पत्रपत्रिकाले लाभको पदमा रहिसकेका व्यक्तिहरूको सम्पत्तिको स्रोतबारे फाट्टफुट्ट खोतल्ने गरेको देखिन्छ। तर, यो भेटिङ गर्ने उद्देश्यले भन्दा पनि बदला लिन वा पत्रकारको शक्ति देखाउन र आफ्नो प्रोफाइल बढाउन मात्र गरेको हो कि भन्ने शङ्का जाग्छ। किनभने, त्यो खोतलखातलको फलोअप गरेको देखिन्न। यसबाट नेपालको पत्रकारिता क्षेत्र सहित कुनै पनि निकाय, कार्यालय र संस्थाहरू भेटिङबारे तालीम नपाएका, यसको महत्त्व नबुझेका वा बुझेर पनि बुझपचाएका हुन् कि जस्तो बुझिन्छ।
व्यक्ति छनोट गर्ने प्रक्रिया नै कमजोर भएपछि संसद्मा, मन्त्रिमण्डलमा, राजनीतिक नियुक्तिमा अक्षम मानिसहरू धेरै पस्ने भए। मुहानमै पहिरो गएपछि कुलोमा धमिलो पानी त आउने नै भयो। तर, मुलुक र गणतन्त्रलाई दरिलो बनाउने हो भने यस क्षेत्रमा सुधार नगरी हुन्न। विद्यमान अवस्थामा भेटिङको काम नेपाल सरकारले, राजनीतिक दलहरूले र संघसंस्थाले गर्ने छेकछन्द देखिंदैन। तर, नेपालका मिडियाहरूले यसबारे तालीम लिएर जनसमुदायको उपस्थितिमा सांसदको टिकट आकांक्षीहरूको, राजदूत नियुक्ति सिफारिश भएकाहरूको, विभिन्न आयोगका प्रमुख नियुक्तिका आकांक्षी प्रतिस्पर्धीहरूको भेटिङको अभ्यास शुरू गरे राज्य सञ्चालनका निम्ति योग्य र असल मानिस छान्ने कार्यमा योगदान पुग्नेछ। होइन भने अहिले जस्तो तरीकाले देशमा सुशासनको रटान लगाउनु खराब जोक मात्र हुनेछ।
सुब्बा कवि हुन्।