के हो ‘बौद्धमार्गी समाजवाद’ ?
मानव कल्याणलाई केन्द्रमा राखेर विकास गरिएको बौद्धमार्गी समाजवादले मानिस सहित समस्त प्राणी, प्रकृति र धर्तीबारे चिन्ता गर्छ।
मुलुकहरूको आर्थिक, सामाजिक, शैक्षिक विकास लगायतको अवस्था देखाउने सूचक हो, मानव विकास सूचकाङ्क (एचडीआई)। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गर्ने यो सूचकाङ्कको गणनामा मुख्य तीन आधार हेरिन्छ: औसत आयु, साक्षरता र प्रति व्यक्ति आय। मानव विकास मापन गर्ने यी सूत्र तत्कालीन पाकिस्तानी अर्थशास्त्री महबुब उल हकले यूएनडीपीका निम्ति सन् १९९० मा प्रतिपादन गरेका थिए।
एचडीआईका सूचक राम्रो देखिंदैमा मुलुकको समग्र विकास र प्रगति भएको मान्न नसकिने र मानव विकासलाई नागरिकको खुशीसँग जोडेर हेरिनुपर्ने अवधारणा सार्दै भुटानी राजा जिग्मे सिंगे वाङचुकले जनसंख्याको सामूहिक खुशी मापनका नौ सूचकाङ्क प्रस्ताव गरे। त्यसै बमोजिम सन् २००८ जुलाईमा लागू भुटानको संविधानमा भुटान सरकारको लक्ष्यका रूपमा ‘कुल राष्ट्रिय खुशी’ (जीएनएच) उल्लेख गरिएको थियो। खुशी मापनका नौ सूचक हुन्: मनोवैज्ञानिक रूपमा स्वस्थ, शारीरिक रूपमा स्वस्थ, जीवनोपयोगी दृष्टिले शिक्षित, समयको सदुपयोग, सांस्कृतिक विविधता र सह-अस्तित्वमा जिउने लचकता, समाज तथा राज्य सञ्चालनमा सुशासन, सामुदायिक सुदृढीकरण, पर्यावरणीय विविधता र जीवनस्तरमा निरन्तर सुधार।
जीएनएचकै अवधारणाको आधारमा सन् २००५ मा मेड जोन्सले ‘कुल राष्ट्रिय कल्याण’ (जीएनडब्लू) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे। उक्त अध्ययनको आधारमा यूएनडीपीले सन् २०११ मा खुशीलाई पनि हरेक मुलुकको विकास-प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो। जस अनुसार मानव विकासका चार किल्ला निर्धारण भए; दिगो विकास, सांस्कृतिक मूल्यमान्यताको संरक्षण र संवर्द्धन, प्राकृतिक वातावरणको संरक्षण र सुशासन स्थापना।
मानव कल्याणलाई नै केन्द्रमा राखेर बौद्धमार्गीहरूले विकास गरेको विचारधारा हो, बौद्धमार्गी समाजवाद। बौद्ध मार्ग र समाजवाद दुवैले मानव जीवनमा विद्यमान दुःख र अशान्तिका कारण हटाएर ‘दुःख’ तथा समाजमा रहेको स्वार्थी भावना अन्त्य गर्ने कुरा गर्छन्। यो अवधारणालाई बुद्धदास भिक्खु, बीआर अम्बेडकर, हान योङ उन, उ नू, राजकुमार नरोद्दम सिंहानुक आदिले समेत अघि सारेका पाइन्छ। बुद्धदास भिक्खुले मानिस बाहेकका जीवजन्तुले खानेकुरा साँचेर नराख्ने, धर्तीका स्रोतहरूमा खोसाखोस र अतिक्रमण नगर्ने गर्दा प्राकृतिक समाज बाँचेर आएको र समतामूलक किसिमले चलेमा मानिसलाई पनि धर्तीले खान पुग्दो दिन सक्ने भन्दै यसलाई ‘प्राकृतिक समाजवाद’ भनेका छन्।
हाल केही मुलुकले नागरिकलाई नि:शुल्क शिक्षा र स्वास्थ्य, युवालाई रोजगारी र वृद्धावस्थामा रेखदेख तथा भत्ताको व्यवस्था गरिरहेका छन्। नागरिकले रोजगारी पाएपछि खान-लाउन दुःख हुँदैन र शिक्षा-स्वास्थ्यको जिम्मा पनि सरकारले लिएपछि ‘अकुत सम्पत्ति’ थुपार्ने लोभ र आवश्यकता नै हुँदैन। हाल यूरोपेली मुलुकहरू, एशियाका जापान, सिंगापुर जस्ता मुलुकहरूमा ‘आफ्नै किसिमको’ समाजवादी प्रणाली शुरू भएको छनक पाइन्छ। राज्य वा सरकारको काम नागरिकलाई सक्षम बनाउने र आधारभूत आवश्यकता प्रदान गर्ने नै हो।
बौद्धमार्गी अर्थशास्त्र
श्रीलंकाली अर्थशास्त्री नेभल करुणातिलकेको भनाइमा बौद्धमार्गी अर्थशास्त्रको आधार सहकारी र सन्तुलित सामूहिक जीवन हो। यस प्रणाली अनुसार, समाजका हरेकले स्वार्थ र अकुत धन थुपार्ने बानी चित्तबाटै त्याग गर्नुपर्छ भन्ने कडा संहिताको आधारमा सामाजिक अर्थव्यवस्थाको परिकल्पना गरिएको छ। यसको आशय, मुलुकमा स्थापित हरेक संस्थाहरूमा सबैले समान फाइदा लिने र कर तिर्ने अवस्था हुनुपर्छ।
सहकारी, ब्यांक, जलविद्युत् आयोजना तथा व्यावसायिक संस्थाहरूमा सदस्य र सरोकारवाला सबैले फाइदा (शेयर) पाउने किसिमको अर्थव्यवस्था सरकारले अपनाउनुपर्छ। नेपाल जस्तो साना मुलुकमा ‘सबैलाई पुग्ने’ कुरा सोचिएन र ‘ठूला माछाले साना माछा खाने’ प्रणाली अँगालियो भने कहिल्यै शान्ति वा खुशी बहाल हुने कुरै हुँदैन।
मौर्य सम्राट् अशोकले हरेकले आफ्नो कमाइको केही अंश दान गर्नुपर्ने; सामाजिक कार्य गर्नैपर्ने; सामाजिक संस्थाहरू जस्तै- अस्पताल, उद्यान, खेलमैदान, बाटो, पाटी-पौवा आदि निर्माण र प्राकृतिक सम्पदाको संरक्षण गर्नैपर्ने जस्ता समुदाय नै मिलेर सामाजिक विकासको नियम बनाएका थिए। यसलाई ‘बौद्धमार्गी समाजवाद’ को प्रारम्भिक स्वरूप समेत मानिन्छ।
सन् १९६६ मा जर्मन-बेलायती अर्थशास्त्री ई.एफ शुमाकर लिखित ‘बौद्धमार्गी अर्थशास्त्र’ एशिया: अ ह्यान्डबूकमा प्रकाशन भएपछि नयाँ समाजवादी अवधारणा संसारभरि फैलिएको हो। बौद्धमार्गी अर्थशास्त्रको नयाँ समाजवाद बुझ्न र बुझाउन चुरोट उत्पादनलाई दृष्टान्त दिइएको छ। जस्तै- चुरोट उत्पादन भयो, विक्रेताहरूले पसलमा बेच्न थाले। ग्राहकले किने। बिक्री धेरै भयो, किनभने चुरोट खानेहरूलाई यसले सन्तुष्टि दियो।
यसमा पाश्चात्य-पूँजीवाद वा पूँजीवादी अर्थशास्त्रले आर्थिक फाइदा मात्र हेर्छ। बौद्धमार्गी अर्थशास्त्रले भने चुरोटले व्यक्ति, समाज र वातावरणलाई के के असर गर्यो भनेर सूक्ष्म तथा बृहत् किसिमले हेर्छ। यसरी हेर्दा चुरोट सेवनले व्यक्तिको स्वास्थ्यमा हानि पुर्याउने, आर्थिक चाप बढाउनेदेखि वातावरण प्रदूषित पारेर अनेक रोग निम्त्याउनेसम्मका पाटोहरू खोतल्छ।
बौद्धमार्गी अर्थशास्त्र र पूँजीवादी अर्थशास्त्रका फरक दृष्टिकोणबारे चर्चा गरौं।
१) पाश्चात्य-पूँजीवादी अर्थशास्त्र व्यक्तिगत स्वार्थमा केन्द्रित हुन्छ भने बौद्धमार्गी अर्थशास्त्रले ‘अनात्त’ वा ‘अनात्मन’ अर्थात् गैरआत्ममा जोड दिन्छ। यस अनुसार, म र मेरो भन्ने सोच त्यागेर मानिस सबैको निम्ति उदार हुन सके एकले अर्कोका लागि सोच्ने तथा सहयोग गर्ने प्रणाली शुरू भई समग्र समाजमा शान्ति र विकासले गति लिन्छ।
२) पूँजीवादी अर्थशास्त्र सधैं व्यक्तिलाई मुनाफा बढाउनेतर्फ केन्द्रित हुन्छ भने बौद्धमार्गी अर्थशास्त्रले मानवसँगै समस्त प्राणीको जीवनमा व्याप्त दुःख अन्त्य गर्नेमा ध्यान दिन्छ।
३) पूँजीवादी अर्थशास्त्रले भौतिक इच्छा पूरा गर्नु र सम्पत्तिलाई नै सफलता र सुख प्राप्ति भनेर परिभाषित गर्छ, तर यो सफलता र सुख हासिल गर्दा अरू मानिसले के के गुमाए होलान्, अरूको अधिकार हनन भयो कि भएन भनेर वास्ता गर्दैन। जबकि, बौद्धमार्गी अर्थशास्त्रले इच्छाहरूले मानिसलाई दास बनाउने भन्दै यसलाई ‘चाहिने जति’ मा सीमित गर्न विशेष जोड दिन्छ। यसले साधारण खाना, लुगा, आवास र औषधि बाहेकका अन्य भौतिक सामग्रीको इच्छा या तृष्णालाई कटौती गर्न सके व्यक्ति, समाज, प्रकृति र धर्तीकै लागि राम्रो हुने तर्क गर्छ। परिणामत: आउँदा सन्तान-दरसन्तानलाई धेरै स्रोत र सुन्दर धर्ती साँचेर राखिदिन सक्नेछौं।
४) पूँजीवादी अर्थशास्त्र र बौद्धमार्गी अर्थशास्त्रको बजारलाई हेर्ने दृष्टिकोण पनि फरक छन्। जस्तै- पूँजीवादी अर्थशास्त्रमा बजारको अन्तिम व्यक्तिलाई समेत (आफ्नो उत्पादन) बेचेपछि मात्र बजार अन्त्य हुन्छ भन्ने मान्यता हुन्छ भने बौद्धमार्गी अर्थशास्त्रले समाजमा विद्यमान अशान्ति कम गर्न सकियो कि सकिएन भन्नेमा जोड दिन्छ।
५) पूँजीवादी अर्थशास्त्रले आउँदो पुस्ताबारे ख्यालै गर्दैन, बाँचुन्जेल जेसुकै उपाय गरेर सुखभोग गर्नुलाई नै जीवनदर्शन ठान्छ। बौद्धमार्गी अर्थशास्त्रले अहिंसालाई जोड दिन्छ। बौद्ध धर्म-दर्शनले हिंसालाई दु:खका कारणहरूमध्ये एक मान्छ।
‘समुदायमा आधारित कृषि’ सन्तुलित आर्थिक गतिविधिको एक उदाहरण हो। जसले मानव समुदायबीच विश्वास बढाएर सहयोगी भावना तथा मूल्यमान्यतालाई सुदृढ गर्नुका साथै समुदायलाई आपसमा जोड्न र जमीन तथा खेतीपातीको नजिक हुन मद्दत गर्छ। साथै, त्यसबाट सुख-दुःख मिलेरै झेल्ने समाजको पनि सिर्जना हुन्छ।
६) पूँजीवादी अर्थशास्त्रले ठूलो र धेरैलाई प्राथमिकता दिन्छ भने बौद्धमार्गी अर्थशास्त्र सानो र थोरै नै सुन्दर भन्नेमा विश्वास गर्छ। किनभने, यसो गरे हरेक स्रोत सबैलाई पुग्छ र समाजमा अमनचैन कायम रहन्छ। ठूलो र धेरै खोज्ने वा ताक्ने पूँजीवादी दर्शनले जसको शक्ति उसको भक्तितिर डोर्याउँछ, जसका कारण समाजमा लुट र अशान्ति फैलिन्छ।
७) पूँजीवादी अर्थशास्त्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा विश्वास गर्छ भने बौद्धमार्गी अर्थशास्त्रले खुशीको सूचकाङ्क जीएनएचको महत्त्वमा जोड दिन्छ। किनभने, ‘खुशी’ नै मानव लगायत सबै प्राणीको अन्तिम लक्ष्य हो।
सुब्बा कवि हुन्।