काठमाडौंका पसलबाट जफत गरिएका चरा जङ्गलमै छाडिने, व्यापारीमाथि कारबाहीको तयारी
काठमाडौंको स्वयम्भू, लाजिम्पाट र पानीपोखरीबाट नियन्त्रणमा लिएका चरा जङ्गलमै छाडिने भएको छ भने व्यापारीमाथि कारबाहीको तयारी गरिएको छ।
डिभिजन वन कार्यालय, काठमाडौंले तीनै स्थानका पसल छापा मारेर चरा नियन्त्रणमा लिएको थियो। ललितपुर तथा भक्तपुर वन कार्यालय, तीनवटै जिल्लाका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो र नेपाल पन्छी संरक्षण संघको सहयोग लिएर वन कार्यालयले छापा मारेको थियो।
स्वयम्भू, लाजिम्पाट र पानीपोखरीबाट १५ प्रजातिका ६ सयभन्दा बढी चरा नियन्त्रणमा लिइएको वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोकी संयोजक धनमाया सुनुवारले बताइन्। यसरी नियन्त्रणमा लिएका चरा जावलाखेलस्थित सदर चिडियाखाना राखिएका छन्। “जङ्गली चरालाई दाना खुवाएर, घरमै पालेको जसरी राखिएको रहेछ,” सुनुवारले भनिन्, “अहिले चिडियाखानामा राखेका छौं। अलि खुला ठाउँमा ‘एड्जस्ट’ भएपछि बिस्तारै प्रकृतिमै छाड्छौं।”
चरालाई पसलमा राखेर बिक्री वितरण भइरहेको विषयमा हिमालखबरले विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो। त्यसपछि वन कार्यालयको टोलीले छापा हानेर नियन्त्रणमा लिएको हो।
ब्यूरो संयोजक सुनुवारका अनुसार, पसलबाट स्ट्रबेरी फिन्च, जेब्रा फिन्च, बेंगोली फिन्च, डायमन्ड डोभ, बज्री, काकातिल, लभवर्ड, तोपचरा, लक्का पिजन, स्केली ब्रेस्टेड मुनिया, जाभा फिन्च लगायत चरा नियन्त्रणमा लिइएको हो। यस्तै, भेला, कन्ठे लगायत सुगा पनि बरामद गरिएको छ। यीमध्ये भेला सुगा आईयूसीएनको संवेदनशील सूचीमा सूचीकृत छ।
पसलमै चरा बिक्री भएका समाचार आएपछि अपरेशन शुरू गरिएको उनले बताइन्। “टाक्सफोर्स नै गठन गरेर काम गरेका छौं,” सुनुवारले भनिन्, “अब अनुसन्धानको काम सकेर पसलेमाथि कारबाहीका लागि अदालतमा पेश गर्छौं।”
चरासँगै चार जना व्यापारीलाई नियन्त्रणमा लिएको डिभिजनल वन अधिकृत बद्रीकुमार कार्कीले बताए। चरा बिक्री गर्ने पसलेलाई भने तारेखमा छाडिएको छ।
नेपालमा नपाइने चरा पनि बिक्रीका लागि राखिएको पाइएको सहायक वन अधिकृत अशोक पराजुलीले बताए। उनका अनुसार, ती भारतबाट तस्करी हुँदै आइरहेको देखिएको छ।
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ ले दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमूना खरीद बिक्री गर्ने, आफूसँग राख्ने, प्रयोग गर्ने, पालनपोषण गर्ने, रोप्ने, हुर्काउने, नियन्त्रित प्रजनन गर्ने, ओसारपसार गर्ने, निकासी वा पैठारी गर्ने कार्य गरे वा गराएमा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।
त्यसै गरी लोपोन्मुख वन्यजन्तु वा सोको नमूना सम्बन्धी कसूर गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।
यसै गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले प्रष्ट रूपमा वन्यजन्तुको शिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न नपाइने बताएको छ । साथै, अनुमति नलिई वन्यजन्तुको पालन वा प्रजनन गरे-गराएमा वा चिडियाखाना सञ्चालन गरेमा ६ महीनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।