‘काठमाडौंका मतदाताले व्यक्ति हेरेर भोट दिन्छन्’
‘तपाईंहरूसामु आफ्ना कुरा पारदर्शी रूपमा राख्ने र सार्वजनिक रूपमा पारदर्शी जीवन बिताउँदै आएकी व्यक्ति हुँ। विकल्प सहितको सकारात्मक अभियानमा लाग्न सबैलाई अनुरोध गर्छु।’
बुबाआमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यमीको नामबाट भन्दा आफ्नै कामले चिनिन चाहने युवा नेत्री हुन् मानुषी यमी भट्टराई। विद्यार्थी जीवनबाटै राजनीतिमा लागेकी उनी त्रिभुवन विश्वविद्यालयको स्ववियू सचिव भएर चर्चामा आइन्।
राजनीतिसँगै पढाइमा पनि अब्बल उनी त्रिवि समाजशास्त्र संकायको स्वर्ण पदक विजेता पनि हुन्। भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट एमफिल गरेकी उनी यतिवेला भने प्रतिनिधि सभाको चुनावमा केन्द्रित छिन्।
काठमाडौं ७ बाट नेकपा माओवादी केन्द्रबाट उम्म्द्वारी दिएकी उनै युवा नेत्री मानुषीसँग हिमालखबरको प्रस्तुति उम्मेदवार संवादमा सागर बुढाथोकीले गरेको संवाद:
चुनावको तयारी कस्तो हुँदै छ? के कस्ता अजेन्डा बोकेर मतादातामाझ गइरहनुभएको छ?
चुनावी तयारी हुँदै छ। छलफल र अजेन्डाको विषयमा काम गरिरहेकी छु। हाम्रा सार्वजनिक संस्थामा सुधार र सबलीकरण गर्दै जाने योजना छ। शिक्षा, स्वास्थ्य र आवास जस्ता कुरा संविधानमा आधारभूत अधिकार भनेर लेखिएको छ। सार्वजनिक संस्था दलको चङ्गुलमा फस्दा संविधानमा लेखेको कुरा कार्यान्वयन हुन सकेको छैन। हाम्रा सार्वजनिक संस्थाभन्दा दलीय संरचना बलियो भएको छ। दलभित्रका केही मुठ्ठीभरका मानिसको कब्जामा सार्वजनिक संस्था पुगेका छन्।
सार्वजनिक संस्था धराशायी बन्दै गएकाले नीति निर्माण तहबाट हाम्रा संस्थाहरूलाई पुन:संरचना, सबलीकरण र अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता छ। जस्तो- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना त छ, तर त्यसले प्रभावकारी काम गर्न सकेको छैन। विश्वविद्यालय र ठूला अस्पताल दिनानुदिन धराशायी बन्दै गएका छन्। त्यसैले यस्ता संस्थाको सबलीकरण गर्ने नीति निर्माण व्यवस्थापिकाबाट गर्नुपर्छ।
त्यस्तै, सार्वजनिक संस्था सबलीकरण गरेपछि ‘डेलिभर’ गर्नुपर्छ। स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना र त्यसपछि चलाउने भनेको अर्थतन्त्रले हो। अर्थतन्त्र सबलीकरण गर्नका निम्ति पनि आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिकाबारे जानकार छु।
विकाससँगै जोडिएको वातावरणीय सन्तुलनको कुरा पनि मेरो अजेन्डा हो। अहिले वातावरण झन् टड्कारो प्रश्न बनेको छ। हामी प्राकृतिक स्रोतमा एकदम धनी भनिरहेका छौं, तर हामीले अत्यन्तै दोहन र विनाश गरिरहेका छौं। प्राकृतिक स्रोत दोहनले हुने क्षतिको विषयमा हालसम्म गहिरोसँग सोचिएको छैन। यस्तो दोहन रोक्ने नीति निर्माण जरुरी छ। अहिले नै प्रणाली बसालिएन भने अर्को पुस्तालाई प्राकृतिक प्रकोपको झन् ठूलो जोखिम हुनेछ।
अर्को, स्वार्थको द्वन्द्व रोक्ने कानून ल्याउन ढिलो भइसकेको छ। राजनीतिमै संलग्न नेता होस् या कार्यकर्ता, उनीहरूको साँठगाठ निजी शिक्षा र स्वास्थ्य व्यापारीकरण गरौं भन्नेहरूसँग छ, आफ्नो अभियान चलाउन, घर खर्च चलाउन तिनैबाट पैसा लिने गरेको देखिन्छ। त्यसैले सार्वजनिक शिक्षा र स्वास्थ्य बलियो बनाउँछु भनेर बोल्नै सक्दैनन्। स्वास्थ्य र शिक्षा सर्वसुलभ हुनुपर्छ भनेर बोल्ने नैतिक बल नै हुँदैन। यस्ता साँठगाँठ भएको मान्छेलाई नरोक्ने हो भने संसद्मा जनताको पक्षमा बोल्ने मानिस हुँदैन।
म आफैं सरकारी स्कूल पढेकी हुँ। स्कूलदेखि कक्षा १२ सम्म दिल्लीको सरकारी स्कूल पढेकी हुँ। सरकारी कलेज नै पढेर त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडलिस्ट’ भएकी हुँ।
अहिले किन सार्वजनिक संस्थालाई विश्वास गर्दैनौं? म आफ्नो बच्चालाई सामुदायिक स्कूलमा पढाउन चाहन्छु, तर सबैले बच्चाको मामिलामा यसो नगरौं होला भन्नुहुन्छ। शुरूआत त गर्नैपर्यो। हामीले सार्वजनिक संस्थाको स्वामित्व किन नलिने?
म मेरो बच्चा बिरामी हुँदा कान्ति अस्पताल गइरहेकी हुन्छु। जब सार्वजनिक शिक्षा र स्वास्थ्य सेवा लिन जान्छौं, त्यसपछि त्यहाँको समस्या थाहा हुन्छ। आफूले नै सेवा लिने भएपछि जनशक्ति, स्वास्थ्यकर्मीको तलब र थप्नुपर्ने सेवाबारे संवेदनशील हुन्छौं। र, त्यही अनुसार नीति बनाउन सक्छौं।
त्यसैले स्वार्थको द्वन्द्व नहुने मानिस संसद्मा पुग्नुपर्छ। मेरा मुख्य अजेन्डा स्वास्थ्य, शिक्षा, रोजगार, प्राकृतिक स्रोत र स्वार्थको द्वन्द्व रोक्ने कानून पनि हो।
सांसदले बाटो, पुल र भवन बनाउनुपर्छ भन्ने गरिन्छ। यी अजेन्डाबारे जनतालाई कसरी बुझाउनुहुन्छ?
नेतृत्व भनेको चेतनाको हिसाबले, सोचको हिसाबले, व्यवहारको हिसाबले मासभन्दा दश कदम अगाडि हुनु नै पर्छ। जनताले रुचाउने मात्र बोल्नुपर्छ भन्ने होइन, लोकरिझ्याइँमा लागेर केही नगरी बस्ने छूट कसैलाई छैन। अहिलेको ठूलो चुनौती भनेको लोकरिझ्याइँ हो। नेतृत्वले बिक्ने कुरा बोल्नुपर्छ भन्ने चलन छ। बिक्ने कुरा बोल्ने कि देश र जनताका लागि दीर्घकालीन महत्त्व राख्ने नीति र मुद्दामा बोलेर जनतालाई सुसूचित गराउने भन्नेमा विकल्प छ। म दोस्रो विकल्प मन पराउँछु।
म केमा दृढ छु भने जनताले खोजेका आधारभूत कुरा पनि सम्बोधन गर्नुपर्छ, त्यो काम गर्न पनि लाग्नेछु। किनकि, धेरै जनतालाई संघ, प्रदेश र स्थानीय तहको आआफ्नो कार्यविभाजन र भूमिकाबारे अझै पनि बुझाउन सकेका छैनौं। स्थानीय तह, प्रदेश र संघले गर्ने काम के हो, किन गर्न सकेनन्, आफैंले गर्न सकेनन् कि अरूले गर्न दिएनन् भन्ने कुराको उत्तर लिएर जनताका माझमा जानुपर्छ।
देशले अवलम्बन गर्ने आर्थिक, परराष्ट्र, स्वास्थ्य तथा शिक्षा नीति, जसले दीर्घकालीन रूपमा महत्त्व राख्छन्, त्यो विषयमा पनि बोल्नै पर्छ। त्यस्तै, तत्कालीन रूपमा त्यहींको क्षेत्रको जनताले चाहेको काम पनि गर्नैपर्छ। किनकि, जनता विकासको भोको छन्। अहिले पनि म चुनाव लड्ने काठमाडौंको क्षेत्र नम्बर ७ मा बाटो र खानेपानीको कुरा आउँछ। समस्या नभएको भए जनताबाट यस्तो कुरा आउँदैनथे।
स्थानीय तहका समस्या समाधान गर्नु र दूरगामी महत्त्व राख्ने नीतिगत विषयमा बोल्नु मेरो दायित्व हो। यस्ता विषयमा बोल्नेछु र जनतालाई सूसुचित गर्दै अगाडि बढ्नेछु।
यहाँको राजनीतिक भविष्य सुरक्षित गर्न बाबुराम भट्टराईले गोर्खामा माओवादी केन्द्रको अध्यक्ष पुष्प कमल दाहाललाई छाडिदिएर यता तपाईलाई गठबन्धनको समर्थन जुटाउनु भयो भन्ने छ नि ?
यो विषय मेरो उम्मेद्वारीसँग सम्बन्धित नै छैन्। त्यस्तो गर्न चाहेको भए मलाई यहाँभन्दा गोर्खामै जित्न सजिलो थियो। यहाँ गठबन्धको समर्थन भएतापनि चुनौती धेरै छ, गोर्खामा म धेरै सुरक्षित हुने थिएँ।
एकाएक उम्मेदवारी घोषणा गरे जस्तो देखिन्छ, कि पहिलेदेखि नै सोचिराख्नुभएको थियो?
म लामो समयदेखि राजनीतिमा छु। विगतमा संगठन निर्माण तथा शैक्षिक तथा सामाजिक आन्दोलनमा सहभागी भएँ। स्ववियूमा पनि विद्यार्थीका पक्षमा काम गरें। प्रतिपक्षमा हुनु र स्वयं प्रतिनिधि भएर काम गर्नुबीचको दायित्व कसरी पूरा गर्ने भन्ने अनुभव छ। त्यो अनुभव अब काम लाग्ने वेला भएको छ।
म एकैचोटि आएको होइन। १५ वर्षको उमेरदेखि राजनीति तथा सामाजिक गतिविधिमा संलग्न हुँदै आएकी छु। शैक्षिक, सामाजिक र राजनीतिक अनुभव तथा क्षमता संसद्मा गएर प्रस्तुत गर्ने यो अनुकूल समय हो भनेर विचार गरेर नै उम्मेदवार बन्न लागेकी हुँ।
पहिलो पटक चुनाव लड्दै हुनुहुन्छ। कत्तिको जोखिम महसूस गर्नुभएको छ?
जोखिम यो अर्थमा छ कि अझै पनि एउटा तप्का राजनीतिक पार्टीमा विभाजित हुने र वैचारिक आस्था अनुसार मत हाल्ने निर्णय लिने गर्छ। तर, सँगसँगै एउटा ठूलो तप्का चाहिं राजनीतिक दलको कामप्रति वितृष्णा भएर उनीहरूले डेलिभरी गर्न नसकेको कामबाट बिरक्तिएर जुनसुकै दलमा आबद्ध भए पनि उम्मेदवार हेरेर मत हाल्ने सोचको छ। यस्ता नयाँ सोच भएका मतदाताको संख्या बढी भएकाले राम्रो सम्भावना देखेकी छु।
त्यस्तै, अझ ठूलो जनसंख्या दलमा आबद्ध छैन। त्यस्ता मानिस जुनसुकै दलको होस्, तर सक्षम र योग्य व्यक्तिलाई भोट हाल्नुपर्छ भन्ने चेतका छन्। त्यसैले पनि मैले जित्ने बढी सम्भावना देख्छु।
महिलाको लागि चुनाव लड्न के कत्तिको सजिलो/गाह्रो हुदोँ रहेछ?
जुनसुकै पार्टी हेरेपनि सुरुमा त उम्मेद्वारी छनौटमा पर्न पनि गाह्रो छ । सबै राजनीतिक दलमा आन्तरिक छनोटको प्रकिया छैन् । जे जति महिलालाई टिकट दिइन्छ, उहाँहरुलाई जित्ने सम्भावना कम भएको या हार्ने ठाउँमा पठाएको देखिन्छ । त्यस्तै, आम मानिसको मनोविज्ञान ऐजेण्डा केन्द्रित भन्दा पनि स्वरुप केन्द्रित हुने रहेछ । यो महिला कस्तो बोल्छे, उसको सोच र भिजन कस्तो छ भन्दापनि उस्ले के लाउँछे भन्नेमा धेरै ध्यान जाने रहेछ । त्यस्तै महिलाको स्वतन्त्र अस्तित्व स्विकार गर्ने भन्दापनि उसको श्रीमान र नातागोतासँग जोडेर हेर्ने चलन छ । त्यस्तै चुनाव लड्ने स्रोत साधन जुटाउन पनि महिलालाई गाह्रो छ । घर परिवार र बालबच्चालाई समय दिएर चुनाव लड्न गाह्रो हुन्छ नै ।
तपाईंका आमाबुबा राजनीतिमा हुनुहुन्छ। कतिको फाइदा वा घाटा हुँदा रहेछ?
फाइदा–घाटा भन्दा पनि यसका सकारात्मक र नकारात्मक पाटो दुइटै हुन्छ। मैले मेरो परिवारबाट जुनसुकै पदमा पुगे पनि फाइदा लिने काम कहिल्यै गर्नु हुँदैन भन्ने सिकेकी छु। उहाँहरू जुनसुकै पदमा पुगे पनि बढी जिम्मेवारी बोध नै गर्नुभयो। मेरा अभिभावक राजनीतिमा भएकाले फलानाकी छोरी भनेर परिचित हुन मलाई सजिलो भयो। अरू युवालाई परिचित हुन ‘प्लेटफर्म’ खोज्दै जानुपर्ने हुन्छ। मलाई अलि चाँडो मानिसहरूले चिने।
नकारात्मक पनि यही छ। आमाबुबालाई जुन चश्माले हेरिन्छ, त्यहीं चश्माले मलाई पनि हेर्ने गरिन्छ। मैले के नयाँ दिन सक्छु, मेरो आफ्नो छुट्टै अस्तित्व छ कि छैन, मेरो छुट्टै क्षमता छ कि छैन, मेरा छुट्टै अजेन्डा छन् कि छैनन् भन्नेतर्फ धेरैपछि मात्रै सोचिन्छ। बुबाआमालाई हेर्ने चश्माले हेरिंदा कहिलेकाहीं पूर्वाग्रही हुन्छ, कहिलेकाहीं आग्रह पनि हुन्छ। त्यसैले मलाई फाइदा भएको छैन, अलिकति बेफाइदा नै भएको छ।
आमाबुबाको राजनीतिबाट के सिक्नुभयो?
जुनसुकै पदमा पुग्दा पनि आमाबुबा आमजनतासँग जोडिएर बस्नुभयो। जितमा पनि धेरै नमात्तिने र हारमा पनि नआत्तिने आत्मविश्वासले पनि धेरै कुरा सिकेकी छु। जनतासँग जोडिएकाले नै उहाँहरूमा त्यो आत्मविश्वास आएको हो।
मेरा आमाबुबाले राम्रो शिक्षा आर्जन गर्नुभयो, शिक्षा अनुसारकै पेशा रोजेको भए आर्थिक हिसाबले अर्कै ठाउँमा पुग्नुहुन्थ्यो होला। तर, उहाँहरू राजनीतिमा लाग्नुभयो। राजनीति विशुद्ध सेवा गर्ने ठाउँ हो भनेर अडानमा बस्नुभयो।
आमाबुबा अत्यन्तै लोकतान्त्रिक हुनुहुन्छ। कुनै पनि कुरा कहिल्यै लाद्नुभएन। यो गर्नैपर्छ, हुनैपर्छ, यो नै अन्तिम सत्य हो भन्ने भावना छैन। हरेक चिजरू नयाँ विकास हुन्छ, नयाँ चिज सिक्नुपर्छ भनेर आफूलाई क्रमिक रूपमा विकास गर्नुपर्छ भनेर सिकाइरहनुभएको छ।
आमाबुबाले ‘राजनीति भनेको आर्थिक लाभ लिने ठाउँ होइन, लाभ खोज्ने हो भने अन्य थुप्रै ठाउँ छन्’ भनेर मलाई स्वतन्त्रता र विकल्प दिनुभएको थियो। राजनीतिमा लाग्न कहिल्यै दबाब दिनुभएन। तैपनि, म आमाबुबालाई देखेरै सामाजिक सेवामा लाग्न प्रेरित भएँ।
नेताको सन्तान भनेर सामाजिक सञ्जालमा तपाईंको पनि आलोचना गर्ने, विना कारण गाली गर्ने देखिन्छ। यसरी विना कारण नकारात्मक टीकाटिप्पणी सुन्दा राजनीति छोडेर अन्य काममा लागौं भन्ने हुँदैन?
म त्यति धेरै सामाजिक सञ्जाल हेर्दिनँ। म बढी प्रत्यक्ष मानिससँग भेटघाट गरेर संवाद गर्छु। सामाजिक सञ्जालमा मानिसले पोख्ने आक्रोशको विश्वव्यापी रूपमा एउटै छुट्टै संस्कार निर्माण भएको छ। म त्यतातर्फ धेरै बग्न चाहन्नँ।
म मानिससँग प्रत्यक्ष भेटेर जमीनमै टेकेर आफू अनुमोदित हुन चाहन्छु। प्रत्यक्ष भेट्दा जनताले चाहे गाली गरून्, चाहे माया गरून्, सहर्ष ग्रहण गर्छु। सञ्जालको टिप्पणी क्षणिक हुन्छ। सञ्जालले मानिसलाई ह्वात्तै माथि पुर्याइदिन्छ र कुनै वेला पछारिदिन्छ, त्यसलाई म त्यति धेरै गम्भीर रूपमा लिन्नँ।
तपाईंले अघिल्लो पुस्ताले गरेको राजनीति नजिकबाट नियाल्नुभएको छ। अब तपाईंले गर्ने राजनीति तपाईंको बुबा पुस्ताले गरिरहेको राजनीति भन्दा कसरी फरक हुन्छ?
अघिल्लो पुस्ताले देशमा रहेका निरङ्कुश र अलोकतान्त्रिक व्यवस्था, केन्द्रीकृत राज्य प्रणालीलाई विस्थापित गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपयो। त्यसमा हाम्रो पनि हिस्सेदारी रह्यो।
यो व्यवस्थामा टेकेर अब मानिसको घर घरको अवस्था, शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानी लगायत आधारभूत कुरामा कसरी फेरबदल ल्याउन सक्छौ| भन्ने कुरामा बढी केन्द्रित हुनुपर्छ। पुरानो संस्था र व्यवस्था भत्कायौं, अब नयाँ व्यवस्था अनुरूप हाम्रा संस्थाहरूलाई टिकाउन चाहिने आर्थिक जग र राजनीतिक संस्था बलियो बनाएनौं भने हामीले प्राप्त गरेका उपलब्धिहरू रक्षा गर्न सक्दैनौं।
यसलाई दिगो रूपमा अगाडि लैजाने हाम्रो पुस्ताको दायित्व हो। हामीले गर्ने राजनीति यो अर्थमा अघिल्लो पुस्ताको भन्दा फरक हुनुपर्छ कि जनताले भोगिरहेका समस्या समाधान गर्ने गरी, जनतालाई प्रत्यक्ष महसूस हुने गरी परिवर्तन गर्नुपर्छ। हाम्रो पुस्ताको राजनीति त्यसमा बढी केन्द्रित हुनुपर्छ।
विद्यार्थी राजनीतिबाट प्रत्यक्ष राजनीतिमा आएको एक दशक भइसक्यो। जे सोचेर राजनीतिमा लाग्नुभएको थियो, अहिले त्यो भएको छ?
सोचेको जस्तो नभएको सत्य हो। पहिले धेरै वर्ष संविधान निर्माणमा गयो। सरकारमा हाम्रो नेताहरूले प्रतिनिधित्व गरे पनि मुख्य दायित्व संविधान निर्माणमा थियो। हामीले नीतिगत रूपमा बढी ध्यान केन्द्रित गरिरहँदा जनताले दैनिक भोगिरहेका सास्तीमा निकास दिन नसकेको हो।
अब हामीले पाठ सिकिसक्यौं। हामी आफ्नो पार्टीको संरचनाभित्र पहिला कार्यकर्ता थियौं भने अब हामी आफैं नेतृत्व तहमा पुग्नुपर्छ भनेर हिम्मत लिएका छौं। नेताले जे भन्यो, त्यही गर्छौं भन्ने मानसिकता भयो भने अहिलेको चुनावमा नलडे हुन्छ। आफ्नै सांगठनिक संरचनाभित्र पनि नेतृत्व गर्न सक्छौं भन्ने आँट र हिम्मत छ भने चुनावमा लड्नुपर्छ। पहिले पुरानो अवस्था परिवर्तन गर्न हामी नेताहरूमाथि निर्भर भयौं, अब आफैं नेतृत्व लिएर जनताका समस्या हामी समाधान गर्छौं भन्ने ठाउँमा पुग्न चाहन्छौं।
राजनीति गर्न कति सजिलो हुँदो रहेछ?
हाम्रो पार्टीको नेतृत्व शक्तिशाली भएको वेला म राजनीतिमा आएको होइन। म यस्तो वेला राजनीतिमा आएँ, जुन वेला हाम्रो पार्टीको नेतृत्वको ‘पावर’ खस्किँदो अवस्थामा थियो। अरूको घेराबन्दीको र वस्तुगत हिसाबले साथ नदिएको अवस्थामा राजनीतिमा आएकी छु।
अहिले मेरो सानो दुई वर्षको बच्चा छ। मेरो बच्चालाई पढाउने वेला भएको छ, अस्पताल लानुपर्छ। यस्तो वेला पूर्ण रूपमा राजनीतिमा लाग्दा घर खर्च चलाउनै गाह्रो छ। त्यसैले मैले अहिले पढाउन शुरू गरेकी छु।
मेरा श्रीमान् पनि राजनीतिमा हुनुहुन्थ्यो, अहिले उहाँ पनि काम खोज्न थाल्नुभएको छ। हामी त अपवाद रहेछौं। अहिले ‘मेनस्ट्रिम’ भित्रको राजनीति गर्ने जुन तप्का छ, उनीहरूको घर कसरी चल्छ, आयस्रोत के हो? यस्ता केही कुरामा पारदर्शिता छैन।
अनि हाम्रो देशको अर्थतन्त्र धराशायी हुनु, महँगीको कसैलाई मतलब नहुनु, हाम्रो स्वास्थ्य र शैक्षिक संस्थाहरूले असुल्ने शुल्कको विषयमा कसैले भित्रैदेखि आवाज नउठाउनु, यो सबै कारण त राजनीतिसँग जोडिएको रहेछ नि। इमानदारीपूर्वक आफू पनि टिक्दै राजनीति पनि गर्दै, जनताका मुद्दामा अडिग हुन धेरै गाह्रो छ।
अन्त्यमा तपाईंको क्षेत्रका मतदातालाई केही भन्नुहुन्छ?
हामीले जीवनभर हाम्रा समस्याको सम्बोधन भएन भनेर जे भन्दै आएका छौं, त्यसको निकास खोज्ने वेला हो, यो। अब विकल्प हामी छौं। हामी संसद्मा पुग्यौं भने तत्काल जनतालाई महसूस हुने गरी काम गर्न सक्छौं। केही दीर्घकालीन प्रकृतिका काम गर्नुपर्नेछ। केही समय चाहिन्छ।
तपाईंहरूसामु आफ्ना कुरा पारदर्शी रूपमा राख्ने र सार्वजनिक रूपमा पारदर्शी जीवन बिताउँदै आएकी व्यक्ति हुँ। विकल्प सहितको सकारात्मक अभियानमा लाग्न सबैलाई अनुरोध गर्छु।