मधेशमा कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउँदै मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई हटाउने तयारी गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीलाई बर्खास्त गरेको केही घण्टा नबित्दै मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी कांग्रेस, माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई हटाउने तयारी गरेका हुन्। सत्ता गठबन्धनलाई छोडेर नेकपा (एमाले) सँग तालमेल गरेकाले जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले हटाएका थिए।
मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सहभागी तीनै पार्टीका ६ मन्त्री र दुई राज्यमन्त्रीलाई हटाउने जानकारी सम्बन्धित मन्त्रीलाई दिइसकेका छन्। उनले कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, माओवादीबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह, राज्यमन्त्री रुबीकुमारी कर्ण तथा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो एवं कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादवलाई हटाउने लागेका हुन्।
कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिहं २०७८ जेठ २६ गते मन्त्री बनेका थिए भने माओवादीबाट भरतप्रसाद साह र रुवीकुमारी कर्णले साउन २ गते शपथ लिएका थिए।
मुख्यमन्त्री राउतले मन्त्रीलाई अहिले नै हटाउन नखोजिएको प्रतिक्रिया दिए। “संघमा मन्त्रीलाई हटाइएपछि यहाँ पनि हटाउन सकिन्छ,” मुख्यमन्त्री राउतले हिमालखबरसँग भने।
यद्यपी मुख्यमन्त्री राउतले सत्ता गठबन्धनका मन्त्रीहरुलाई राजीनामा दिन फोन मार्फत आग्रह गरिसकेका छन्। उनले मन्त्रीहरुलाई फोन गरेर संघ सरकारबाट आफ्नो पार्टीका मन्त्रीलाई हटाइएपछि प्रदेशमा रहेका सत्ता गठबन्धनबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव बताए।
“राजीनामा नदिइए पदबाट बर्खास्त गर्ने बताउँनु भएको छ,” मन्त्री यादवले हिमालखबरसँग भने, “तीन वटै दलका मन्त्रीहरुको भोलि बिहानै बैठक बसेर यस विषयमा छलफल गर्छौं।”