कसरी व्यवस्थापन गर्ने मानव-बाँदर द्वन्द्व?
बाँदरको वासस्थानमा मानवीय गतिविधि बढ्नुका साथै वनको खण्डीकरण हुँदा बाँदर-मानव द्वन्द्व बढेको हो।
२०७६ असार २९ गते बाग्लुङको बाग्लुङ नगरपालिका-४ कुँडुलेका २२ वर्षीय सुदर्शन पौडेल बारीमा आएका बाँदर धपाउने क्रममा भीरबाट चिप्लिँदा घटनास्थलमै बिते। गत साउन २ मा अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ का टंक खनाल मकैबारीमा पसेको बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भए। उनको उपचारका क्रममा मृत्यु भयो।
वन्यजन्तु संरक्षण र मानिस-वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन नेपालमा मात्र होइन, विश्वमै चुनौतीपूर्ण बनिरहेको छ। नेपालमा बाँदर, बँदेल, दुम्सी‚ हात्ती, गैंडा, नीलगाईले बाली नोक्सानी गर्ने क्रम बढिरहेको छ। ‘बाँदर आतङ्क’ का कारण मानिसको ज्यानै जाने घटनालाई ‘मानव-बाँदर द्वन्द्व’ को कारण मान्नुपर्ने अनुसन्धाता बाँदरविज्ञ सविना कोइराला बताउँछिन्। तर‚ सरकारले बाँदर-मानव द्वन्द्वलाई समस्याका रूपमा पहिचान नगरेको उनको गुनासो छ।
“बाँदरलाई मानवीय मृत्युको कारण मान्न थालिएको छ, तर यो त भवितव्यको कुरा हो,” कोइराला भन्छिन्, “बाँदर आहाराको खोजीमा खेतबारीमा आएको हो। यसो हुनुको कारण बढ्दो शहरीकरण र प्रभावकारी वन संरक्षण नहुनु हो।”
पछिल्लो नौ दशकमा बस्ती विस्तार भएका ५० प्रतिशत स्थानमा वन थियो। यस्तै‚ वन विस्तारका लागि लागू भएको सामुदायिक वनमा पनि सन्तुलित वनको अवधारणा नहुँदा जङ्गली जनावरको संख्या बढिरहेको छ, तर तिनलाई आहाराको कमी छ। यी कारणले पनि मानिस-बाँदर द्वन्द्व बढेको कोइरालाको भनाइ छ।
“प्राकृतिक वनको खण्डीकरण, शहरीकरण र बढ्दो जनसंख्याका कारण मानिस-बाँदरबीच द्वन्द्व बढेको हो,” उनी भन्छिन्, “द्वन्द्व त भर्खर शुरू हुँदैछ, किनभने मानव बस्ती बढ्ने क्रम जारी छ।”
मानव-बाँदर द्वन्द्व बढ्नुको मुख्य कारक बसाइँसराइ हो। खोज पत्रकारिता केन्द्रद्वारा प्रकाशित एक रिपोर्ट अनुसार‚ सन् २०२१ को जनगणनाको प्रारम्भिक प्रतिवेदनमा पछिल्ला १० वर्षमा मात्रै शहरी जनसंख्या ६३.१९ बाट ६६.०८ प्रतिशत पुगेको छ। ग्रामीण जनसंख्या ३६.८१ प्रतिशतबाट घटेर ३३.९२ प्रतिशतमा झरेको छ।
यो परिवर्तनले ग्रामीण कृषि बिथोलिएको छ। खेतबारी बाँझै रहन थालेका छन्। गाउँका खेत बाँझो हुने र शहरको नजिक सीमित खेतीपाती हुन थालेपछि बाँदर ग्रामीण भेगबाट शहरी बस्तीतिर आइरहेको विभिन्न अध्ययनले देखाएको छ। बाँदरविद् कोइरालाले पनि दुई वर्षअघि युनिभर्सिटी अफ चाइनिज एकेडेमी एफ साइन्सबाट ‘नेपालमा रातो बाँदर-मानव द्वन्द्व’ शीर्षकमा विद्यावारिधि शोध गर्दा उस्तै नतीजा पाइन्।
उनको अध्ययनले नेपालको कुल क्षेत्रफलको ४४ प्रतिशत भूभाग रातो बाँदरलाई बस्न उपयुक्त भएको देखिएको छ। त्यसमा आठ प्रतिशत भूभाग निकुञ्ज लगायत संरक्षित क्षेत्रमा पर्छ भने बाँकी भूभाग सामुदायिक वन तथा मानव बस्तीमा पर्छ। कोइरालाका अनुसार‚ विभिन्न अध्ययनहरूले बाँदरको वासस्थानमा मानवीय गतिविधि बढ्नुका साथै वनको खण्डीकरण हुँदा बाँदर-मानव द्वन्द्व बढेको हो। उनी भन्छिन्‚ “त्यसैले बाँदर मिचाहा प्रजाति होइन, बरु मानिस चाहिं सबैभन्दा मिचाहा प्राणी हो।”
कस्तो हुन्छ बाँदरको स्वभाव?
नेपालमा तीन प्रजातिका बाँदर पाइन्छन्। तिनमा लङ्गुर बाँदर र बाँकी दुई प्रजातिका मकाका बाँदर पर्दछन्। लङ्गुर (ढेडु पनि भनिन्छ)को सेतो जीउ, कालो अनुहार, लामो पुच्छर हुन्छ। मकाका प्रजातिका पहरे बाँदर (कालो बाँदर) र रातो बाँदर (अनुहार र पुच्छरमा रातो) हुन्छन्।
लङ्गुर प्रजातिका बाँदरबाट मानिसलाई खासै समस्या नहुने बाँदरविज्ञ कोइराला बताउँछिन्। वासस्थान भए ती बाँदरहरू मानव बस्तीकै नजिकै रहे पनि रातो बाँदर जस्तो बस्तीमा नआउने उनको भनाइ छ।
काठमाडौं उपत्यकाका पशुपति, स्वयम्भू लगायत क्षेत्रमा देखिने र प्रायः बालीनाली बिगार्ने भनिएका बाँदर मकाका प्रजातिका हुन्। यिनलाई नेपालमा रातो बाँदर भनिन्छ। यिनै प्रजातिका बाँदर समस्याग्रस्त बनिरहेका छन्।
दक्षिणएशियाका धेरै मुलुकमा पाइने यी बाँदर दुईदेखि २५० वटाको समूहमा बस्छन्। यसको वासस्थान वनजङ्गल तथा मानव बस्ती छेउछाउ नै हुन्छ। मुख्य गरी घाँसपात, फलफूल खाने यो बाँदर बस्ती पसेर बालीनालीसँगै मानिसले पकाएका तथा तयारी खानेकुरा समेत खाइदिन्छ।
कोइरालाको अध्ययनमा सल्लाको वनबाट बाँदरले आफ्नो आहाराको ४५ प्रतिशत र बाँकी ५५ प्रतिशत कृषि बाली तथा गाउँघरबाट चोरेर खाने गरेको पाइएको थियो। बाँदरले रुचाउने वनस्पतिमा घँगारु, चुत्रो, चिलाउने, कटुस, हाडे बयर, काफल, जामुन पर्दछन्।
कृषि भूमि र गाउँबस्तीमा भने बाँदर मकै, आलु, गहुँ तथा तरकारीजन्य उत्पादन खान आउने गरेको छ। बाँदरले टिम्बुर, कागती, खुर्सानी, अदुवा, बेसार, पिंडालु लगायत बालीलाई भने धेरै नोक्सानी गर्दैन।
विभिन्न स्थानका बाँदर समूहले के-कस्तो बाली रुचाउँछन् र उनीहरूको खानपानको व्यवहार कसरी परिवर्तन हुँदै छ भन्ने जानकारी बाँदर-मानव द्वन्द्वको समाधानका लागि आवश्यक भएको कोइराला बताउँछिन्। “किसानले खेतीको वैकल्पिक योजना बनाउनु र सरकारले त्यसमा साथ दिनु द्वन्द्व न्यूनीकरणको पहिलो काम हुन सक्छ,” उनी भन्छिन्।
कसरी हुन्छ मानव-बाँदर द्वन्द्वको समाधान?
द्वन्द्वको प्रमुख कारण एउटै भूभागमा मानिस र बाँदर बस्नु हो। यस्तै‚ अन्य कारणमा वातावरणीय प्रभाव हुन्। जङ्गल खण्डीकरण, बाटो विस्तार, जङ्गल हुँदै गएको बिजुलीको हाइटेन्सन लाइन, वन फँडानी लगायत मानवीय गतिविधिले मानव-बाँदर द्वन्द्व बढिरहेको छ।
कोइरालाले दुई वर्ष लगाएर काभ्रेको पनौतीमा गरेको अध्ययनमा बालीनाली खाने बाँदर समूहका कारण प्रति घरधुरीले खेतीपातीबाट पाउने उब्जनीको ४.२ प्रतिशतका दरले नोक्सानी भोगेको देखिएको थियो। धेरै खेतबारी हुने तथा जङ्गल नजिकै बारी हुनेको नोक्सानी भने १० प्रतिशतभन्दा बढी भएको पाइएको थियो।
उनी भन्छिन्‚ “यसरी हेर्दा पहिला द्वन्द्व न्यूनीकरणका कार्ययोजना बनाउँदा विपन्न किसानलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ।”
द्वन्द्व व्यवस्थापनको अर्को उपाय वैकल्पिक खेती रहेको कोइराला बताउँछिन्। बाँदरले रुचाउने बाली नलगाई बाँदरले कम रुचाउने वा नखाने खाद्यबाली लगाउनु एउटा उपाय हो। कोइराला भन्छिन्‚ “बाँदरको खानपान र स्वभावको अध्ययन गरेर प्राप्त नतीजाका आधारमा वैकल्पिक खेती शुरू गर्नुपर्छ।”
सन्तुलित वनको अवधारणालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने पनि उनको सुझाव छ। त्यस्ता वनमा बाँदरलाई रुचिकर रैथाने वनस्पति लगाउन सकिन्छ। बाँदरको बन्ध्याकरण गरेर पनि द्वन्द्व कम गर्न सकिने उनको भनाइ छ। यसका लागि बाँदरको संख्या र समूह संरचनाको यकिन तथ्याङ्क हुनुपर्छ। तर‚ आजसम्म नेपालमा बाँदर गणना नभएको कोइराला बताउँछिन्।
कोइरालाका अनुसार‚ संरक्षण क्षेत्रमा ठूलो जनावरहरूको अध्ययन, संरक्षण र व्यवस्थापनमा जति प्राथमिकता दिइएको छ त्यो अनुपातमा बाँदर लगायत प्राणीलाई प्राथमिकता दिइएको छैन। “संरक्षण क्रियाकलाप बाघ, हात्ती, गैंडा लगायतको प्राणीमा केन्द्रित छ। साना प्राणी लक्षित द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छैन,” उनी भन्छिन्।
प्रकृतिमा एउटा कीराको पनि महत्त्व हुन्छ भने बाँदर पनि प्रकृतिकै अङ्ग भएकाले उसलाई मास्नेभन्दा पनि जोगाएर काम गर्न आवश्यक छ। वनजङ्गलमा बीज वितरण गर्न, परागसेचन गर्न, अन्य जङ्गली जनावरको आहारा भएर प्रकृतिमा सन्तुलन ल्याउन बाँदरको भूमिका रहेको हुन्छ।
बाँदरलाई खेदाउनु वा मार्नु समस्याको समाधान नभएको कोइराला बताउँछिन्। “बाँदरलाई मारेर वा नासेर समस्या हल हुँदैन‚” उनी भन्छिन्‚ “आज एक ठाँउबाट खेदाउनु पनि समस्याको हल होइन। समस्याको स्थानान्तरण मात्र हो। त्यसैले पहिला मानव-बाँदर द्वन्द्व बुझौं अनि उपयुक्त निकास खोजौं।”
मानव-बाँदर द्वन्द्व बुझेर समस्या समाधान सम्भव हुने बाँदरविज्ञ कोइराला बताउँछिन्। “कम्तीमा यो द्वन्द्वको दोष बाँदरलाई मात्र नलगाएर समाधानको उपायमा सरकारले काम गरोस् भन्ने लागेको छ,” उनी भन्छिन्, “यो सम्भव पनि छ। जसको पहिलो कदम बाँदरको गणना नै हो।”