हलोले गर्ला त रवीन्द्र मिश्रको भलो?
२०७४ सालमा तराजु चिह्न लिएर उठ्दा ८१८ मतले पराजित भएका रवीन्द्र मिश्रलाई राप्रपाको हलोले भलो गर्छ नै भन्न कठिन छ।
विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले असोज १४ गते काठमाडौं-१ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरे। २०७४ सालको चु्नावमा काठमाडौं-१ बाटै उम्मेदवारी दिएका उनी त्यति वेला थोरै मतान्तरले पराजित भएका थिए। नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मत ल्याएर विजयी हुँदा मिश्रले १० हजार ११८ मत पाएका थिए।
आउँदो मंसीर ४ गतेको निर्वाचनमा मिश्र गत निर्वाचनमा भन्दा बलियो होलान् कि कमजोर? यो प्रश्नको उत्तर खोज्नुअघि मिश्रको राजनीतिक ‘लाइन’ बारे चर्चा गरौं।
बीबीसी नेपाली सेवाबाट राजीनामा दिएको सात महीनापछि चुनावी मैदानमा होमिंदा उनी विवेकशील साझा पार्टीका संयोजक थिए। यति वेला राप्रपाको वरिष्ठ उपाध्यक्ष छन्।
पुनः मतदाताकहाँ जाने घोषणा गरेका मिश्रको पछिल्लो पाँच वर्षमा दलीय र पदीय हैसियत मात्रै होइन, राजनीतिक विचारमा पनि परिवर्तन आएको छ। सञ्चारकर्म छाडेर राजनीति रोज्दा उनले ‘व्यक्ति बन्ने तर देश नबन्ने दशकौंको विडम्बनालाई सदाका लागि अन्त्य गर्दै देशलाई हाम्रै जीवनकालमा समृद्ध बनाउने र सुसंस्कृत राजनीतिक शक्ति निर्माण गर्ने’ बताएका थिए।
अघिल्लो चुनाव ताका खान पुगोस् दिन पुगोस्, भूमध्यरेखा र रवीन्द्र मिश्रका कविता संग्रह प्रकाशित गरेका मिश्रले असोज १२ गते राप्रपा प्रवेश गर्नु एक साताअघि विचारभन्दा माथि देश पुस्तक सार्वजनिक गरे।
वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा सहित राजनीतिमा पाइला टेक्दा भने उनले संविधानको दायराभित्रै बसेर देशलाई समृद्ध बनाउन सकिने बताएका थिए।
मिश्रले नेतृत्व गरेको त्यति वेलाको साझा पार्टीको दस्तावेजमा भनिएको थियोः
विचारको महत्त्व हुन्छ तर लोकतन्त्रमा विचारलाई संविधानले व्यवस्थापन गर्नुपर्छ। नेपालमा भने संविधानलाई सडकदेखि संसद्सम्म बारम्बार विचारले निर्देशित गर्न खोजिएको छ। तसर्थ‚ साझा पार्टीले लोकतान्त्रिक संविधानको प्रधानतालाई स्वीकार्नेछ। विधिको शासन हाम्रो मन्त्र हुनेछ। हामी अहिलेको संविधानको दायराभित्रै बसेर अनि संसद्को सार्वभौमसत्तालाई प्रयोग गरेरै यो देशलाई हाम्रै जीवनकालमा समृद्ध बनाउन सकिन्छ भन्नेमा विश्वास गर्दछौं।
काठमाडौं-१ बाट दोस्रो पटक उम्मेदवारी घोषणा गर्दा मिश्रले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र खारेजीको मुद्दा अघि सारेका छन्। मंसीर ४ गते उनी निम्न राजनीतिक–सामाजिक अजेन्डा बोकेर मतदाताकहाँ जाँदै छन्ः
-संवैधानिक राजसंस्था तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
-स्थानीय तहलाई पुन:संरचना र सुदृढ गर्दै संघीयता खारेजी
-सनातन हिन्दू–बौद्ध राष्ट्र
-धर्म, पहिचान, संस्कृति, सम्पदाको संरक्षण
-वर्गीय आरक्षण, समावेशिता र समानुपातिक प्रतिनिधित्व
उम्मेदवारी घोषणा कार्यक्रममा मिश्रले स्पष्ट शब्दमा राजसंस्थाको माग लिएर मतदाताकहाँ जान लागेको बताएका थिए। “२०७४ सालको चुनाव लड्ने वेलामा यही व्यवस्था बोकेर हिंडेकै हो। तर, थोरै समयमा के महसूस गरें भने यो देश भँड्खालोतिर जाँदै छ, नेपालका संस्थाहरू क्षयीकृत हुँदै छन्। ...यो देशमा कुनै न कुनै रूपमा संविधानले बाँधेर राजसंस्था पुनःस्थापित गर्नुपर्छ। यही कुरा लिएर मतदाताकहाँ जान्छु” उनले भनेका थिए।
मिश्रले उठाएका प्रायः मुद्दा २०७२ सालमा संविधानसभाबाट जारी संविधानले प्रत्याभूत गरेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता जस्ता विषय प्रतिकूल छन्। काठमाडौं-१ देशकै शिक्षित मतदाता भएका क्षेत्रमध्येको एक हो। अघिल्लो निर्वाचनमा भन्दा बढी भोट पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मिश्रको पछिल्लो अजेन्डा मतदाताले कति मन पराउँछन् भन्नेमा निर्भर गर्दछ। यद्यपि‚ निर्वाचन परिणाममा सधैं अजेन्डा नै प्रधान हुन्छ भन्न सकिंदैन।
फेरिएको समीकरण
सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आगामी चुनावमा पनि गठबन्धनबाट साझा उम्मेदवारी अघि सार्ने तयारी गरिरहेका छन्।
अघिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवारले १० हजार ९३६ र विवेकशील साझाले १० हजार ११८ मत ल्याउँदा एमालेको समेत समर्थन पाएको माओवादी केन्द्रका अनिल शर्माले पाँच हजार ३३६ मत पाएका थिए।
२०७४ मा काठमाडौंका १० मध्ये काठमाडौं क्षेत्र नम्बर ९ मा मात्रै राप्रपाले उम्मेदवारी दिएको थियो। त्यहाँ राप्रपाका विक्रमबहादुर थापालाई कांग्रेसले समर्थन गरेको थियो भने बाँकी नौ वटा निर्वाचन क्षेत्रमा राप्रपाको समर्थन कांग्रेस उम्मेदवारलाई थियो। यसको अर्थ प्रकाशमान सिंहले प्राप्त गरेकोमध्ये केही मत राप्रपाको थियो। समानुपातिकतर्फ कांग्रेसले नौ हजार १२१ भोट ल्याएको थियो। सिंहले राप्रपाको कति मत पाए यकिन साथ भन्न गाह्रो छ। तर‚ समानुपातिक निर्वाचन प्रणालीतर्फ त्यो क्षेत्रमा राप्रपाले ९४९ मत पाएको थियो।
अहिले मिश्रले त्यही राप्रपा रोजेका छन्। उनको पूर्व पार्टी साझा विवेकशीलले त्यति वेला समानुपातिकतर्फ ६ हजार ९११ मत ल्याएको थियो।
काठमाडौं-१ मा माओवादी केन्द्रले समानुपातिकतर्फ एक हजार ६८० भोट ल्याएको थियो। अर्थात्, माओवादीका शर्माले पाएको मतमध्ये झण्डै दुई तिहाइ एमालेले दिएको देखिन्छ। यो क्षेत्रमा एमालेले समानुपातिकमा ६ हजार ५०८ मत प्राप्त गरेको थियो। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी अहिले सत्तारूढ गठबन्धनमा छ। गठबन्धनमा रहेका जसपा (त्यति वेला संघीय समाजवादी फोरम)ले ९३ र जनमोर्चाले ३३ भोट ल्याएका थिए।
अघिल्लो चुनावमा मिश्रकै पार्टीबाट उठेर काठमाडौं-८ मा चार हजार ४१४ मत पाएका पुकार बमले यस पटक काठमाडौं-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिह्नबाट चुनाव लड्ने बताएका छन्।
२०७४ सालको प्रदेश सभा चुनावमा विवेकशील साझा पार्टीको काठमाडौं-१ ‘ख’ बाट उम्मेदवारी दिएका पुरुषोत्तम ढुंगेललाई कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो पार्टीमा भित्र्याएका छन्।
विश्लेषक पुरञ्जन आचार्य काठमाडौं-१ को निर्वाचन परिणाम अहिले नै आकलन गर्नु कठिन हुने बताउँछन्। उनी गठबन्धन वा एमालेका उम्मेदवारसँग राप्रपाको उम्मेदवारलाई प्रतिस्पर्धा गर्न सजिलो नहुने बताउँछन्।
आचार्य भन्छन्, “वैकल्पिक राजनीतिक शक्तिको नारा दिएर आउँदा दोस्रो स्थानमा आएका मिश्रजीलाई पूर्व पञ्चहरूको पार्टीबाट उठ्दा मतदाताले पहिला जस्तै मन पराउँछन् नै भन्न सकिंदैन।”