राष्ट्रिय स्वतन्त्र पार्टी: आकर्षण छ, भविष्य थाहा छैन
राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न क्षेत्रका परिचित अनुहारहरूको आकर्षण देखिए पनि वैकल्पिक शक्ति बन्छ कि बन्दैन भन्ने अनुमान गर्न हतार हुने देखिन्छ।
असार ७ गते पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दा धेरै परिचित अनुहार थिएनन्। तर, पछिल्लो समय आफ्नो पेशा, क्षेत्र तथा सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका व्यक्तिहरूको यो पार्टीमा आकर्षण बढेको छ। खास गरी प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिन चाहने व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न थालेका छन्।
त्यस्तैमध्येका एक हुन्, वातावरणविद् अरनिको पाण्डे। केही समयअघि ललितपुर क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको सूचीमा राखेको छ। जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अस्ट्रेलियाको मेलबर्न इन्स्टिच्यूट अफ मेलबर्न (एआईटी)बाट विद्यावारिधि गरेका छन्। आफ्नो कुरा देशव्यापी रूपमा लैजान र नयाँ पार्टीको संरचना बनाउने क्रममा नै सहभागी हुने अवसर दिएकाले स्वतन्त्र पार्टी रोजेको उनको भनाइ छ।
काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले पनि स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। सामाजिक अभियान र राजनीतिमा लामो समयदेखि सक्रिय उनी विवेकशील राजनीतिक दलमा स्थापना कालदेखि सक्रिय थिए। स्वर्गीय उज्ज्वल थापासँगै राजनीतिमा होमिएका उनी २०७० सालको संविधानसभा निर्वाचनमा कुकुर चुनाव चिह्न लिएर लडेका थिए। २०७४ को चुनावमा काठमाडौं ८ मा उम्मेदवारी दिएका उनी चार हजार ४१४ मत सहित तेस्रो स्थानमा आएका थिए।
चुनावपछि वैकल्पिक राजनीति गर्नेहरू एकजुट हुने भन्दै विवेकशील राजनीतिक दल र रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीको एकता भयो। तर, पार्टी मिलेको केही समयपछि भने पार्टी छिन्नभिन्न भयो। त्यसपछि सामाजिक अभियानमा सक्रिय बम मंसीर ४ मा घण्टी चुनाव चिह्न लिएर चुनाव लड्न लागेका हुन्। स्वतन्त्रहरू एकजुट भएर लड्दा राम्रो नतीजा आउने भएकाले स्वतन्त्र पार्टीको चुनाव चिह्न रोजेको बमले बताए।
त्यस्तै, टीच फर नेपालका सहसंस्थापक तथा उद्यमी शिशिर खनालले पनि स्वतन्त्र पार्टीबाट चुनाव लड्ने घोषणा गरेका छन्। उनले पनि शुरूआतमा काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका उनीसँग स्थानीय सरकारसँग काम गरेको अनुभव छ।
एउटै उद्देश्यका लागि चुनाव लड्न लागिरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएको खनाल बताउँछन्। खनाल भन्छन्, "दलका सांसद पार्टीको सङ्केत अनुसार चल्ने भएकाले जनताको मुद्दामा बोल्दैनन्, त्यसैले स्वतन्त्र व्यक्ति संसद् प्रवेश गर्नु जरुरी छ।"
द्वन्द्व व्यवस्थापन विज्ञ प्रणयशमशेर राणाले पनि स्वतन्त्र पार्टीबाटै उम्मेदवारी दिने बताएका छन्। उनी नेपाली कांग्रेसको गत महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधि थिए। स्वतन्त्र उम्मेदवारी दिएका अधिकांशले घण्टी चुनाव चिह्न रोजेकाले वैकल्पिक शक्ति बन्ने विश्वास लिएर आफूले पनि घण्टी चुनाव चिह्न रोजेको उनको भनाइ छ। "संसद्मा सार्वजनिक नीतिमा काम गरेका विज्ञहरू हुनुपर्छ भन्नेहरू एक भएर चुनाव लड्दा राम्रो सन्देश जान्छ भनेर घण्टी चिह्न रोजेको हुँ," उनी भन्छन्।
चिकित्सा शिक्षा सुधारमा सक्रिय डा. तोसिमा कार्कीले ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा गरेकी छन्। चिकित्सा सुधारका लागि डा.गोविन्द केसीको आन्दोलनमा सघाउँदै आएकी उनले पनि स्वतन्त्र पार्टीकै चुनाव चिह्न रोजेकी छन्।
त्यस्तै, पर्वतारोही माया गुरुङले सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवारी दिने भएकी छन्। गत वैशाखको स्थानीय तहको निर्वाचनमा पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी उनले यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रोजेकी हुन्।
त्यस्तै, व्यवस्थापन परामर्शदाता समुना श्रेष्ठ पनि स्वतन्त्र पार्टी प्रवेश गरेकी छिन्। उनलाई भने पार्टीले समानुपातिकको सूचीमा राखेको छ। वातावरणका विद्यार्थी गणेश कार्की पनि स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य छन्। स्थानीय तहको चुनावमा काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)को चुनावी अभियानमा सहभागी उनी स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य हुँदै समानुपातिक उम्मेदवारको सूचीमा परेका छन्।
यस्तै, स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको घोषणापत्र तयारी समिति सदस्य रहेका मनीष झाले पनि राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन्। उनी स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको बन्द सूचीमा छन्।
घण्टी रोज्नुको अर्थ
स्वतन्त्र पार्टीको चुनाव चिह्न लिने कतिपय उम्मेदवारले चुनावी सजिलोका लागि उक्त पार्टी रोजेको बताएका छन्। राजनीतिक तथा सुरक्षा विश्लेषक इन्द्र अधिकारी स्थानीय चुनावमा जस्तै संसदीय चुनावमा स्वतन्त्र लडेर ठूलो उपलब्धि हासिल गर्न मुश्किल हुने बताउँछिन्।
संसदीय चुनावमा एक-दुई जनाले स्वतन्त्र रूपमा चुनाव जित्दैमा स्थानीय तहमा जस्तो फरक नपर्ने उनको भनाइ छ। स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले चुनाव जित्दा कार्यकारी अधिकार प्राप्त हुन्छ भने संसद्मा कुनै पनि नीति तथा ऐन-कानून बनाउन र पारित गर्न बहुमतको आवश्यकता पर्छ।
विश्लेषक अधिकारी चुनाव जितेका तर कम सीट प्राप्त गरेका नेपाल मजदूर किसान पार्टी लगायतका दलको उदाहरण दिन्छिन्। "यी दलका सांसदले संसद्मा बोल्ने बाहेक अन्य काम गर्न सक्दैनन्," अधिकारी भन्छिन्।
स्वतन्त्र चुनाव जितेर संसद्मा पुगे पनि प्रभावशाली काम गर्न नसक्ने बुझेर स्वतन्त्र पार्टी रोजेको हुन सक्ने अधिकारीको भनाइ छ। पुराना पार्टी विरुद्ध लड्न स्वतन्त्रहरू एकजुट भएको उनको भनाइ छ। "दलीय व्यवस्थामा बहुमतले अर्थ राख्ने बुझेर उनीहरू एकजुट हुन खोजेका हुन्," अधिकारी भन्छिन्, "विचार, गतिविधि र त्यहाँ गएकाहरू हेर्दा अहिले नै स्वतन्त्र पार्टीलाई लोकप्रिय र वैकल्पिक शक्ति मान्न हतार हुन्छ।"
विवेकशील साझा पार्टीका पूर्व नेता मिलन पाण्डे वैकल्पिक राजनीति संक्रमणकालमा रहेको वेला स्वतन्त्र उम्मेदवारहरू साङ्केतिक रूपमा एकजुट भएको बताउँछन्। संसदीय चुनावले सरकार तथा नीति-नियम बनाउने भएकाले स्वतन्त्रहरू एकजुट हुनुको विकल्प नभएको उनको भनाइ छ। "अहिले एकजुट हुने सबैको विचार, आस्था र सिद्धान्त फरक होला, तर तत्कालीन रूपमा पुराना दललाई चुनौती दिन स्वतन्त्रहरू एक ठाउँमा आउनुको विकल्प छैन," पाण्डे भन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणासँग सहमत भएर आउनेहरूलाई पार्टीमा स्वागत गरेको पार्टीका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकाल बताउँछन्। उनका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले १६५ क्षेत्रमा विभिन्न क्षेत्रका विज्ञ, अनुभवी र बौद्धिक व्यक्तिलाई उम्मेदवार बनाउन लागेको छ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा र नेपालकै सार्वजनिक क्षेत्रमा काम गरेर राम्रो छवि बनाएका अन्य धेरै व्यक्तिहरू स्वतन्त्र पार्टीबाट चुनाव लड्न छलफल गरिरहेको उनी बताउँछन्।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले धमाधम स्वतन्त्र पार्टीको चुनाव चिह्न लिनु र आआफ्नो क्षेत्रमा ख्याति कमाएका अन्य व्यक्ति पनि जोडिन खोज्नुले स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता उत्साहित बनेका छन्। तर, स्थापना भएको छोटै समय र संगठन विस्तार हुन नसकेकाले ठूला पार्टीसँग प्रतिस्पर्धा गर्न भने स्वतन्त्र पार्टीलाई त्यति सजिलो छैन।