निर्वाचन आचारसंहितामा क-कसले गरे हस्ताक्षर?
नेपाल सरकार र राजनीतिक दलहरूले मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका प्रतिनिधिले असोज ९ गते निर्वाचन आयोग पुगेर आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।
प्रतिबद्धता पत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झा लगायतले हस्ताक्षर गरेका छन्।
“संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दल सम्बन्धी ऐन, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, प्रदेश सभा सदस्य ऐन र निर्वाचन आचारसंहिता, २०७९ मा भएका प्रावधानहरू इमानदारीका साथ पालना गर्न गराउन हामी प्रतिबद्ध छौं,” पत्रमा भनिएको छ।
आयोगले यसअघि नै आचारसंहिता सार्वजनिक गरिसकेको छ। आचारसंहिता केही दिनभित्र जारी गर्ने तयारी भइरहेका वेला आयोगले सरकार र दलहरूलाई छलफलमा बोलाएको हो।