प्रथम शहीद बहसः तथ्यमा लखन थापा र बाँकावीर
लखन थापाले हातहतियार सहितको लडाकू सेना गठन गरी देशको स्वतन्त्रता, स्वाधीनताको खातिर विद्रोह गरेको देखिन्छ। तर‚ बाँकावीरको विद्रोह सामूहिक भलाइभन्दा पनि राजपरिवारका निम्ति भएको देखिन्छ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत १८ गते अनेरास्ववियूको केन्द्रीय भेलामा अछामका बाँकावीर नेपालका ‘पहिलो शहीद’ भएको अभिव्यक्ति दिएपछि प्रथम शहीद बाँकावीर कि लखन थापा भन्ने विषयमा अनेकौं बहस सतहमा आए। प्रतिक्रियास्वरूप २०७९ वैशाख १० वैशाखको नयाँ पत्रिकामा सन्जोग लाफा मगर र २०७९ असार २५ को कान्तिपुर दैनिकमा सुरतबहादुर शाहको लेख प्रकाशित भए। लेखकहरूको विचारप्रति मेरो कुनै आग्रह तथा पूर्वाग्रह छैन। बरु केही तथ्यमा प्रकाश पार्दै विवादको छिनोफानोमा सघाउने जमर्को गरेको हुँ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेकाे नेपाली बृहत् शब्दकोशमा ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनेर शहीदलाई अर्थ्याइएको छ। उक्त परिभाषाभित्र नपरेका बाँकावीरको विद्रोहलाई राजनीतिक अर्थमा ग्रहण गर्न आग्रह गर्दै बाँकावीरलाई ‘प्रथम शहीद’ मान्नुपर्ने अध्येता शाहको दाबी छ। शाहले १९०६ साल पौष सुदी १५ मा कर्णेल खड्गबहादुर कुँवर राणाजी समक्ष अछामका भवानीसिंह र कालुसिंह स्वाँरले चढाएको बिन्तीपत्र प्रकाशमा ल्याएका छन्। जसमा बलदेव शाह उर्फ बाँकावीर सरकारी निर्देशनमा मारिएको उल्लेख छ, त्यसमा शङ्का गर्ने ठाउँ छैन। तर, बाँकावीर शहीदको परिभाषाभित्र पर्छन् कि पर्दैनन्? पर्छन् भने कुन प्रकृतिको शहीद? उनले सामूहिक स्वार्थका लागि लडे कि राजकीय स्वार्थका लागि? त्यसबारे पुनः अध्ययन गर्न जरुरी भयो।
साझा प्रकाशनबाट छापिएको पहलमानसिं स्वाँर स्मृतिग्रन्थमा रहेको इतिहासकार बाबुराम आचार्यको लेख अनुसार, विसं १८७४ मा अछाम र डोटी नेपालमा विलय भई डोटी-अछाम राज्य बनेको र त्यसको सदरमुकाम डडेल्धुरा कायम भएको देखिन्छ। काजी बालनरसिंह कुँवर हाकिम भएर त्यहाँ पुग्दा उनका छोरा जंगबहादुर साथैमा थिए। अछामका स्वाँरले एकीकृत राज्य निर्माण र सञ्चालनमा मद्दत गर्दै आएकाले उनीहरूसँग जंगबहादुरको हिमचिम भयो। तीमध्ये धेरैले जागिर पनि पाए। प्रधानमन्त्री बनेपछि जंगबहादुरले सोही भेगमा विरोधीका रूपमा देखापरेका बलदेव शाहलाई मार्न तिनै स्वाँरलाई गुहारेको यो इस्तिहारबाट देखिन्छः
स्वस्ति श्री प्राइममिनिष्टर याण्ड कमाण्डर इनचीफ जनरल जङ्गबहादुर कुवर कस्य पत्रम्-आगे भवानीसिंह स्वार के भगुवा गुरुप्रसाद साहले हामीलाई दगा गर्न भनी पठायाको आछामी रणभीम साहीको भाई बल्देव साही-१ बझाङ्गी अम्बरसिंह भण्डारी-१ गुमानसिंहको भाई ईश्वरसिंह-१ तीन जना जहाँ फेला पर्छन् इनलाई काटी दिनू। इनीहरूका मद्दतिमा जोजो छन् तिनलाई नेल गलफन्दी हाली न उम्कन्या गरी यहाँ ल्याउने काम गर्नू... इति सम्बत् १९०५ साल मिति बैशाख सुदि...रोज...शुभम् (पहलमानसिंह स्वाँर स्मृतिग्रन्थः २०३९,पृ.१०१)।
आचार्यका अनुसार, कोतपर्वको समयमा भवानीसिंह स्वाँरका माहिला दाजु रुद्रसिंह देशै छाडी कुमाउँ गएका, जेठा दाजु स्वरूपसिंहले सरकारी सेवामा चासो नलिई मधेशतिर लागेका, भवानीसिंह डोटीमा र भाइ कालुसिंह काठमाडौंका पल्टनमा कप्तान भएकाले यिनीहरूको खूबै नाम चलेको थियो (उही)।
को हुन् गुरुप्रसाद शाह?
ऐतिहासिक दस्तावेज हेर्दा अलौपर्वमा भागेका वा भगौडा भनिएका गुरुप्रसाद शाहले बलदेवलाई जंगबहादुर विरुद्ध परिचालन गरेको देखिन्छ। को हुन् गुरुप्रसाद शाह? उनी किन जंगबहादुर विरुद्ध लागे?
गुरुप्रसाद कोतपर्वकै शुरूआतमा जंगबहादुरको इशारामा गोली हानेर मारिएका प्रधानमन्त्री फत्तेजंग शाहका माहिला भाइ हुन्। कोतको पटाङ्गिनीमा थुप्रै चौतारियाहरू मारिए, गुरुप्रसाद भने पाल्पा गौंडा सम्हाली बसेकाले जोगिएका थिए। त्यसपछिको भण्डारखालपर्व र अलौपर्वले क्रमशः राजभक्त भारदारहरूलाई निस्तेज पार्यो। अनि पाँडे, बस्नेत र थापाहरूको स्थान जंगबहादुरले आफ्नै भाइ-भतिजालाई दिलाए। यसैको बदलास्वरूप चौतरिया गुरुप्रसादले विरोधी जत्था खडा गरी जंगबहादुरलाई सदाका लागि पन्छाउन चाहेका थिए।
बाँकावीर सरकारी निर्देशनमा मारिएको उल्लेख छ, त्यसमा शङ्का गर्ने ठाउँ छैन। तर, उनले सामूहिक स्वार्थका लागि लडे कि राजकीय स्वार्थका लागि? त्यसबारे पुनः अध्ययन गर्न जरुरी छ।
जंगबहादुरलाई हटाउने सैनिक अभियान अन्तर्गत राजा राजेन्द्रले गुरुप्रसादलाई प्रमुख सेनापति बनाएका थिए। काशी निर्वासनमा जाँदा साथमा लगेका धनमालको ठूलो हिस्सा सैन्य संगठन गर्न चौतरिया एवं पाँडेहरूलाई दिएका थिए। यही बलमा बाराको अलौमा घमासान युद्ध भएको थियो। मूलतः त्यो लडाइँ राजावादी र जंगबहादुरको अधिनायकवादी शक्तिबीचको टकराव थियो जसमा राजा पक्षले नराम्ररी हार व्यहोर्नुपर्यो। गुरुप्रसाद लगायतका भारदारहरूले भारत पसेर ज्यान जोगाए। यता, राजा राजेन्द्रलाई भक्तपुरमा नजरबन्द गरी कैदी सरह राखियो।
जंगबहादुरको जीवनयात्रामा पद्मजंग राणाले जनाए अनुसार, भारत पलायन हुँदा पनि गुरुप्रसाद शान्त भएनन्। जंगबहादुरको पटक पटक हत्या गर्ने षड्यन्त्र भइरह्यो। हरेक पल्ट विफल भएकाले यिनी झुक्न बाध्य भए। जंगबहादुरले पनि विगतका गल्तीकमजोरी माफ गरी यिनलाई सेनाको कर्णेल बनाइदिए। हरण गरिएका सबै सम्पत्ति फिर्ता गरिदिए (२०७४:पृ.९४-९५,१०४)। पछि १९१० माघमा गुरुप्रसादकै बहिनी हिरण्यगर्भकुमारीसँग विवाह गरेपछि त्यो दुश्मनी अन्त्य भयो।
को हुन् बलदेव शाह (शाही)?
बलदेव शाहको पृष्ठभूमि डा. राजाराम सुवेदीको अछामको इतिहास (२०५८:पृ.२३५-२४२) पढ्दा छर्लङ्ग हुन्छ। पुस्तक श्री वैद्यनाथ क्षेत्र प्रकाशन समिति, अछामले छपाएको हो जसको संयोजक सुरतबहादुर शाह छन्। तर, शाहको लेखमा उक्त पुस्तकबारे चर्चा छैन।
सुवेदीका अनुसार, अछामी राजा रणभीम शाहका रानीपट्टिका टीकाभूप र अर्कीपट्टिका बलदेव (माथि भाइ भनिएको) दुई छोरा थिए। टीकाभूप बुद्धिमा तेज थिए। राजा गीर्वाणयुद्धविक्रमकी छोरी सरस्वतीकुमारीको विवाह बझाङ्गी राजासँग भएको थियो। तिनै सरस्वतीकुमारीकी छोरी राजकुमारी त्रिभुवनेश्वरीको विवाह टीकाभूपसँग गराइएको थियो। अछामी राजखलकसँग नाता गाँसिएपछि राजा राजेन्द्रले पञ्चखत बाहेक अन्य सबै मुद्दा हेर्ने अधिकार टीकाभूपलाई प्रदान गरे। राजा राजेन्द्र नाताले मामाससुरा भएकाले अछामी राजवंशको सम्बन्ध दरबारसँग बाक्लियो।
बलदेव पनि दाजु टीकाभूप जस्तै चतुर र साहसी थिए। कडा मिजास र हक्की स्वभावका बलदेवले दाजुको वैवाहिक सम्बन्ध मार्फत् राजा राजेन्द्रसँग सीधा सम्पर्क बनाएका थिए। त्यसैले उनलाई हनुमानढोका दरबार सधैं खुला रहन्थ्यो। टीकाभूपको अल्पायुमै निधन भयो। त्यसैले उनकी पत्नी सबै सन्तानका साथ काठमाडौंमा बस्न लागिन्। यस्तो परिस्थितिमा सम्भवतः बलदेव अछामको राजकाज सम्हाल्न चाहन्थे। राजाका परमभक्त भए पनि राजकीय अधिकार हत्याएका जंगबहादुरले त्यसमा समर्थन नगरेकाले बलदेवको आकांक्षा पूरा हुन सकेन।
प्रधानमन्त्री हुनासाथ जंगबहादुरले देशैभर आफ्ना समर्थकहरू बढाउन थाले। सोही क्रममा अछाममा ठाना राखी आफ्ना समर्थक मार्फत विरोधीहरूको लगत राख्न थालेका थिए। एकीकरण ताका अछामीहरूले पटक पटक विद्रोह गरेकाले तिनीहरूलाई पहिलेदेखि नै सरकारले झारा स्वरूप भारी बोकाउँथ्यो। ठिटुवा (घरबुना कपडा) र लैना गाईहरू सित्तैमा बुझाउन लगाउँथ्यो। यही परम्पराको आडमा त्यहाँ आउने सैनिकले अछामीहरूलाई हेप्थे, अनेकौं तवरले सताउँथे। अछामीहरूले ती समस्या स्थानीय राजा समक्ष राख्थे। आफूसँग अधिकार नभए पनि रैतीको पीरमर्का हल गर्न बलदेवले सरकारबाट निर्धारण गरिएभन्दा बढी दुःख नदिन सेनालाई आग्रह गरे। तर, सिपाहीले दुःख दिन छाडेनन्। यही विषयमा बलदेवले प्रधानमन्त्री जंगबहादुरलाई बिन्तीपत्र चढाए। पत्रमा के लेखियो र त्यो जंगबहादुर समक्ष पुग्यो/पुगेन, स्पष्ट छैन।
स्थानीय समस्याको सुनुवाइ कतैबाट नभएपछि बलदेव प्रतिरोधमा उत्रन बाध्य भए। उनले प्रथमतः सैनिकहरूको ज्यादती प्रचारमा ल्याए, त्यो गाउँ गाउँसम्म फैलियो। उनले केही समर्थकको साथ लिएर एक्लैदुक्लै हिंड्ने सिपाहीलाई मार्ने, गायब पार्ने अभियान चलाए। सैनिकका लागि सुराकी गर्नेहरू पनि निशानामा परे। आफू राजभक्त भएकाले ‘सेनाहरू श्री ५ को नभई राणाका हुन्‚ राणाकै खान्छन् र राणाकै मान्छन्’ भनेर स्थानीयबाट सहानुभूति बटुलेर आफ्नो अभियानलाई थप मजबूत पार्दै लगे।
बलदेव उग्र हुँदै गएपछि सेनाले कुल्याहा (विद्रोही)का सन्तान भन्न थाले र बलिया-बाङ्गा, शूरो भएकाले स्थानीयले ‘बाँकावीर’ को उपमा दिए। सेनाले पक्राउ गर्न व्यापक खोजी गरे पनि फेला पार्न सकेन। त्यसैले आफू निकटका स्वाँरहरूको मद्दत लिई जंगबहादुरले षड्यन्त्रको बाटो रोजे। उनले कोतपर्व, भण्डारखालपर्व र अलौपर्वबाट उम्केका विरोधी भारदारहरूको मद्दतले बलदेवलाई मार्न स्वरूपसिंह स्वाँर, भवानीसिंह स्वाँर, कालुसिंह स्वाँर र रुद्रवीर स्वाँरलाई अख्तियारी नै दिए। ती स्वाँरहरूले आफू पनि विद्रोहकै समर्थक भएको विश्वास दिलाएर अभियानमा मिसिए जस्तो गरी बलदेवको गर्धन छिनाए। अनि टाउको रातारात काठमाडौं पुर्याए।
यता, काठमाडौंमा रहेका टीकाभूपका छोराहरू कुलदीप, दलबहादुर, स्थिरबहादुर, टेकबहादुरको सङ्गत धीरशमशेरका सन्तानसँग हुन गयो। कुलदीप बख्तावर शाहीकी ठकुरानी सेतीमैयाँ (जंगबहादुरकी भित्रेनीपट्टिकी छोरी)सँग गोप्य सम्बन्ध राखेको अभियोगमा काटिए। केहीपछि माहिला दलबहादुर शाह विसं. १९३५ मा अछामका राजा बनाइए। अछामी राजखलकसँग राणा परिवारको सम्बन्ध राम्रो थिएन। त्यसको कारण थियो- राणाका रखौटीतर्फका छोराहरूलाई अछामी राजवंशले आफ्ना चेलीहरू दिन नमान्नू।
बाँकावीरको विद्रोह सरकारी सेनाको ज्यादती विरुद्ध भएको बताइए पनि त्यस्तो थिचोमिचो पहिलेदेखि नै चल्दै आएको थियो। विद्रोह जनहितमा थियो भने भने दाजुको मृत्युपछि मात्र किन सक्रिय भए?
विद्रोहको मूल्याङ्कन
बलदेवको विद्रोह सामूहिक भलाइभन्दा पनि राजपरिवारका निम्ति थियो। विद्रोह सरकारी सेनाको ज्यादती विरुद्ध भएको बताइए पनि त्यस्तो थिचोमिचो पहिलेदेखि नै चल्दै आएको थियो। विद्रोह जनहितमा थियो भने भने दाजुको मृत्युपछि मात्र बलदेव किन सक्रिय भए? यसको चित्तबुझ्दो जवाफ आउन जरुरी छ। विद्रोहमा वलदेवको व्यक्तिगत स्वार्थ र महाराजप्रतिको पारिवारिक स्वार्थ थिएन भन्न मिल्दैन।
अलौपर्वमा पराजित भई भक्तपुरमा नजरबन्द गरिएका राजा राजेन्द्रलाई कैदी सरह अड्कलेर दिएको मानोमा बाँच्नुपर्ने स्थिति सिर्जना गरिएकाले शाही नातेदार र काठमाडौं बाहिरका ठकुरीहरू जंगबहादुरसँग आगो भएका थिए। बाबु राजेन्द्र जिउँदो छँदै छोरा सुरेन्द्रलाई राजाको मान्यता दिने पक्षमा गुरुप्रसाद थिएनन्। गुरुप्रसादको त्यो असन्तुष्टि बलदेव मार्फत देखा पर्यो। यो तथ्यलाई १९०५ वैशाखको इस्तिहारले पनि प्रष्ट्याउँछ। राजाले पाउनुपर्ने न्यूनतम सुविधा नपाएको झोकमा राणा र तिनका सिपाहीहरूप्रति बलदेव लक्षित देखिए पनि जंगबहादुरको ठाडो विरोधमा उत्रेको देखिंदैन। त्यसैले उनको विद्रोह राजकीय स्वार्थले प्रेरित थियो भन्न सकिन्छ।
लखन थापाको सन्दर्भ
जंगबहादुर क्रूर, निरङ्कुश र सर्वसत्तावादी शासक थिए। उनका सामु सर्वसाधारण त के, दरबार र भाइभारदार पनि डरले थुरथुर हुन्थे। उनले राजा राजेन्द्र र रानी राज्यलक्ष्मीलाई काशी धपाई उद्दण्ड स्वभावका युवराज सुरेन्द्रलाई गद्दीमा बसाले। राजारानीलाई ‘खोपीको देउता’ बनाई सम्पूर्ण राजकीय अधिकार आफैंले लिएकाले जंगबहादुर देशका असली हर्ताकर्ता भए। सेना र प्रशासनका महत्त्वपूर्ण ओहोदा राणा र तिनका आफन्तमा सीमित पारे। जतिसुकै योग्य भए पनि सेनामा कमान्डिङ कर्णेलभन्दा माथिल्लो दर्जा अरूलाई दिइँदैनथ्यो।
सर्वसाधारणको जनजीविकातर्फ शासकको ध्यान थिएन, उनीहरू पशु सरह बाँच्न विवश थिए। राणाहरू भने देशको ढुकुटी रित्याउँदै विलासी जीवन बिताउँथे। राणाहरूकै बोलवाला र हुकुम चल्थ्यो। जनतामा चरम निराशा फैलिइरहेको थियो।
यस्तैमा जंगबहादुरले जनतामा पकड जमाउन जात व्यवस्थामा आधारित मुलुकी ऐन, १९१० ल्याएर कडाइपूर्वक लागू गरे। जसले तागाधारी, मतवाली, पानी चल्ने-नचल्ने गरी समाजलाई वर्गीकृत गर्यो। तागाधारीलाई मात्र उच्च पदमा लगिन्थ्यो, यिनै शासकवर्गका राजगुरु, पुरोहित पनि हुन्थे। मतवालीमा मासिन्या र नमासिन्या वर्ग थिए। मासिन्याले अपराध गरेमा मार्न, बेचबिखन गर्न र दास बनाउन पाइन्थ्यो। पानी नचल्ने समूह सबैभन्दा तल पर्थे र बढी पिल्सिने पनि यिनीहरू नै थिए। एकै अपराधमा जातजाति अनुसार बेग्लाबेग्लै दण्डसजाय हुन्थ्यो। समाजमा जातीय भेदभाव, उँचनीच र छुवाछूत फैलँदै गयो।
ऐनको उल्लंघन गर्नेहरू सजायका भागीदार हुन्थे। सर्वसाधारण यो अव्यवस्थाले परस्पर असहिष्णु बन्दै गए। नेपाली समाज धार्मिक, सामाजिक रूपले विखण्डित हुँदै गयो। यी बेथिति विरुद्ध लड्न देशलाई सशक्त पात्रको खाँचो थियो र त्यो आवश्यकता लखन थापाले पूरा गरिदिए।
गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए। परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे। तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन्। त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए।
प्रमोदशमशेरका अनुसार‚ योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन। लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरङ्कुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।
गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए। जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि। जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने। कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन्। ...यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो। वेख-विर्ता, माना-चामल हरण भए। उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो। ...विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे। हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए। लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो। त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)।
त्यस वेलाको समाजमा रूढिवादी परम्परा र अन्धविश्वास व्याप्त थियो। दैवीशक्तिमा गहिरो आस्था राख्ने समाजलाई आकर्षित गर्न त्यही आस्थाको उपयोग गर्दै लखनले आफूलाई ‘प्राचीन कालका सिद्ध लखन थापाको अवतार’ बताउँदै ‘देवी मनकामनाले सपनामा जंगबहादुरलाई मारी त्यसको स्थानमा आफूलाई शासन गर्न अह्राएको’ प्रचार गरे। यसले प्रसिद्धि पायो। स्थानीयहरू बुङ्कोटमा भेला हुन थाले।
धर्मका नाममा फैलाइएको उँचनीच र छुवाछूत जस्ता कुरीति हटाउन लखनले जोसमनी विचारधारा अघि सारे। यो विचारले न्याय र समानतामा आधारित नयाँ समाजको निर्माण गर्ने र परस्पर एकता कायम गर्न सघाउने हुँदा सर्वसाधारण यसप्रति आकर्षित हुँदै गए। त्यसपछि सन्तहरूको संगठन खोली लखनले विद्रोही गतिविधि चलाए। गाउँ गाउँमा शासकको कुकृत्य भण्डाफोर गर्दै हिंडे, आफूले सत्ययुग अर्थात् उदार व्यवस्था (प्रजातन्त्र) ल्याउने वाचा गरे। सबैलाई एकत्रित गरेर लडाकू सहितको किल्ला बनाई त्यसैको बलमा जंगबहादुरलाई चुनौती दिए।
आफ्ना विरोधीलाई सखाप पारी सर्वशक्तिमान् बनेका जंगबहादुर त्यसै गरी अरूले पाखा लगाउलान् भनेर सधैं चिन्तित रहन्थे। त्यसैले भारतभूमिमा उपनिवेश कायम गर्दै राज गरिरहेको विस्तारवादी, साम्राज्यवादी अंग्रेजलाई रिझाई आफ्नो अधिनायकवादी सत्तालाई जोगाइरहन चाहन्थे। अतः देशको स्वाभिमानमै खलल पुग्ने गरी यिनले आत्मसमर्पणवादी नीति अँगाले। देशको शत्रु अंग्रेजसामु जंगबहादुर नतमस्तक भएको देख्दा जनतामा असन्तोष फैलिएको थियो। सर्वसाधारणको यही भावना बुझी लखन शासक विरुद्ध कठोरतापूर्वक उभिए। ‘जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर आक्षेप लगाए।
भनिन्छ, बुङ्कोट विद्रोह अद्भुत प्रकृतिको थियो। जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो। प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन। लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)।
विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो।
बुङ्कोटको यो ऐतिहासिक घटनाले आम समुदायमा शासकसामु लड्ने विद्रोही भावनाको विकास गरायो। शासकवर्गले जतिसुकै थिचोमिचो गरे पनि चूपचाप सहने जमानामा लखनले जनचेतना फैलाए। अन्याय, अत्याचार विरुद्ध जनस्तरबाट लड्ने माहोल बनाए। जन जनमा हिम्मत, हौसला र साहस जगाए। त्यही चेतनाको आलोकमा कैयौं विद्रोह र परिवर्तन भए। हामीले पाएको लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, न्याय, समानता र सुशासन लगायतका मुद्दालाई वर्तमान संविधानमा समेट्न यो विद्रोहले पनि प्रेरित गरेको हो। त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ बुङ्कोट विद्रोहबाटै भएकोमा कुनै शङ्का छैन।
सत्ताधारी आफैंले इतिहास लेखाउने हुँदा विजेताहरूको देवत्वकरण हुने र पराजय बेहोर्नेहरूको दानवीकरण गर्ने चलन छँदै छ। शासकले आफ्ना अनुकूलका वंशावलीहरूमा निकै हियाएर लेखिएको हुँदा लखन लामो समयसम्म छायामा परे। उनको देशभक्तिपूर्ण संघर्ष र बलिदानी इतिहास प्रकाशमा ल्याउन समय लाग्यो। राजनीतिक व्यवस्था बदलियो, तर देशको अवस्था बदलिएन। शासकवर्गको रवैया र सङ्कीर्णता उस्तै छ। बुङ्कोट विद्रोहको वास्तविक इतिहास अझै नलेखिएकाले तत्कालीन शहीद उपेक्षित छन्।
तत्कालीन दस्तावेज
महेशचन्द्र रेग्मीद्वारा सम्पादित रेग्मी रिसर्च सेरिजमा सङ्कलित ऐतिहासिक सामग्रीमा सरकारी अधिकारीले जंगबहादुर समक्ष चढाएको १९३२ चैत्र सुदी १ को अर्जीमा निम्न व्यहोरा परेको छ:
लखन थापा बस्ने घर कुनै किल्ला जस्तै छ, जो चारैतिरबाट ८ हात चौडा र १६ हात अग्लो पर्खालले घेरिएको छ। १९३२ फागुन २६ मा ससाना बन्दुक र तरबारसहित ठूलो संख्यामा भोटेहरू लखनलाई साथ दिन आएका थिए। उनीहरू पश्चिमतिर जङ्गबहादुरसँग मिल्ने बहानाले निस्केका थिए तर खास मनसाय चाँहि जङ्गबहादुरकै जीवन माथि धावा बोल्नु थियो। (रेग्मी रिसर्च कलेक्शन, वर्ष १२, अङ्क ५, १९८०, पृ.७४-७५)
सो कलेक्शन अनुसार‚ पाल्पाका मेजर कप्तान शमशेरजंग थापा क्षेत्री, सुब्बा वीरमानजंग थापा क्षेत्री र सुवेदार बदलसिंह बस्नेतले लखन थापाको घरकिल्ला र विद्रोहको सशस्त्र तयारीबारे प्रसादसिंह थापा, खड्ग थापा लगायतका व्यक्ति मार्फत थाहा पाए। सूचना पाउनासाथ सैनिकहरूले छापा मारी अजपसिंह थापा मगर सहित केही मानिस पक्राउ गरे र पक्राउ पर्नेहरूले यस्तो बयान दिए :
लखन थापाले हामीमध्ये केहीलाई जर्नेल र केहीलाई कर्णेल एवम् कप्तानमा भर्ना गर्ने बाचा गरेका छन्। उनले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जीतमान गुरुङलाई कर्णेलको दर्जा दिएका छन्। उनले प्रधानमन्त्री जङ्गको हत्या हुने, शाहज्यादा (उपेन्द्रविक्रम) राजा बन्ने र आफू चाँहि उपेन्द्रविक्रमका उत्तराधिकारी हुने घोषणा गरेका छन्। उनले तार्कु वा मनाङबेसी (लमजुङ) मा जङ्गबहादुरको मौका छोपेर हत्या गर्ने बताएका छन्। यो सम्भव नभए तिब्बततर्फ लाग्ने र लक्ष्य अनुरुप तिब्बती समर्थन एवम् सहयोग मिलेमा आफैं राजा हुनेछन्। (उही)
सरकारी अर्जी हेर्दा लखन थापाले तिब्बती सहयोग लिएर भए पनि जंगबहादुरको अन्त्य गर्न चाहेको, विद्रोहलाई साथ दिन असंख्य हतियारधारी भोटेहरू (सम्भवतः मनाङका गुरुङहरू) आएको र उनका सक्रिय समर्थकमा जहरे (जयसिंह) चुमी, विराज थापा, जुठ्या थापा, जितमान गुरुङ र अजपसिंह थापा देखिन्छन्। दस्तावेजमा छुटेका अर्का थिए- बालेश्वर अछामी। यो तथ्य स्थानीयका साथै इतिहासकार नगेन्द्र शर्माले पनि खुलाएका छन्। लखनका कट्टर कार्यकर्ता बालेश्वर थिए। सम्भवतः यिनीहरू नै १९३३ पुस ७ गते बुङ्कोटमा झुन्ड्याइएका थिए।
जंगबहादुरका छोरा पद्मजंगले लेखेका ‘जंगबहादुरको जीवनयात्रा’ मा बलदेव शाहको विद्रोही इतिहासबारे लेखिएको छैन। जबकि, लखन थापाको विद्रोहलाई विशेष स्थान दिइएको छ। यसबाट के बुझिन्छ भने लखनले झैं बलदेवले केन्द्रीय सत्तालाई ललकारेका थिएनन्।
बुङ्कोट विद्रोहलाई सैन्य जनरलको हैसियतले नियालेका पद्मजंगले दिएको बयान यस्तो छ- ‘....विनीत आचरण र अनुनयी भाषाले गर्दा लखन छोटो समयमा नै पन्ध्र सय संख्याको सेना जम्मा गर्न सफल भयो। उसले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जंगबहादुरको हत्या गरेर सरकार आफ्नो अधीनमा लिने र त्यसै दिनदेखि नेपाली इतिहासको स्वर्णयुग आरम्भ गर्ने घोषणा गर्यो’ (जंगबहादुरको जीवनयात्रा, २०७४: पृ.२८४)।
विद्रोहीहरूको तुलना
विसं १९०६ मा राजा राजेन्द्रको समर्थन पाएर नै अछाममा राणाका सिपाहीहरू विरुद्ध विद्रोह गर्ने बलदेव शाहको स्वाँरहरू मार्फत हत्या गरिएको डा. सुवेदीको निष्कर्ष छ। बलदेवको संघर्ष पद, प्रतिष्ठा र प्रतिशोधको भावनाले उठेको हुँदा त्यसमा नि:स्वार्थ भाव देखिंदैन। अर्थात्, विद्रोह पारिवारिक स्वार्थमा रुमल्लिएको स्पष्टै छ।
सुदूरपश्चिमको यो घटनालाई महत्त्व दिई राजनीतिक तवरले भए पनि त्यसको सम्बोधन हुनुपर्ने माग सुरतबहादुर शाहको छ। सबै थोकको समाधान राजनीतिमा खोज्नु कति उपयुक्त हुन्छ? यो प्रवृत्ति विगतमा गलत सावित भएको छ। शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा २०७४ असोजमा भागबण्डा नमिली मारिएका एक निर्माण व्यवसायी शरद गौचनलाई दबाबकै कारण शहीद घोषणा गरेका थिए। मृतकप्रति सहानुभूति हुँदाहुँदै पनि त्यो निर्णय सर्वसाधारणले स्वीकार गरेको देखिएन। गौचनले देशका लागि ज्यान गुमाएका थिएनन्। देउवा अहिले पनि प्रधानमन्त्री नै छन्। उनले भेगीय भावना वा दबाब, प्रभावमा अधिकार दुरुपयोग गर्न सक्छन्। त्यसअघि शहीदको परिभाषा राम्ररी केलाउन आग्रह छ।
लखन थापाले देशको स्वतन्त्रता, स्वाधीनताको खातिर खुलेआम लडेको, हातहतियार सहितको लडाकू सेना गठन गरेको, राजनीतिक उद्देश्यले धार्मिक जनजागरणको अभियान चलाएको देखिन्छ जुन बलदेवको विद्रोहमा छैन। बलदेवले लुकीछिपी छापामार शैलीमा सेनाको हत्या गरेका थिए। विद्रोहका यी महत्त्वपूर्ण भिन्नता हुन्।
जंगबहादुरका जीवनी लेखक उनकै छोरा पद्मजंगले पिताका जीवनकालका सानाभन्दा साना घटना समेटेको कृति (विसं १९६६ मा प्रकाशित)को नेपाली अनुवाद जंगबहादुरको जीवनयात्रामा बलदेव शाहको विद्रोही इतिहासबारे किन केही लेखिएन? जबकि, लखन थापाको विद्रोहलाई विशेष स्थान दिइएको छ। यसबाट के बुझिन्छ भने लखनले झैं बलदेवले केन्द्रीय सत्तालाई ललकारेका थिएनन्। तानाशाही शासन अन्त्य गर्न स्थानीयलाई उतारेका पनि थिएनन्। बलदेवका पक्षमा ठूलो जनमत बनेको र हातहतियार उठेको तथ्य पनि देखिंदैन। तसर्थ, बलदेवले केवल स्थानीय समस्याको सम्बोधन चाहेका थिए, त्यो नहुँदा लुकीछिपी विद्रोह गर्न बाध्य भए।
तथापि‚ राज्यबाट मारिएका बलदेव (बाँकावीर)लाई सहानुभूतिपूर्वक उच्च सम्मान दिनैपर्छ। उनको वीरता, साहस र संघर्ष कदरयोग्य छ। जंगबहादुर जस्ता शासकलाई पनि तर्साउने बाँकावीर निःसन्देह होनहार विद्रोही हुन्। यसमा कुनै सन्देह छैन। तर‚ यथार्थ यो हो कि राज्यले ज्यान लिंदैमा सबै शहीद बन्दैनन्। जंगबहादुरको समयमा मारिने कैयौं देशभक्त भारदार छन्। ती सबै शहीद दर्ज भएनन्।
केही विवादास्पद विचार
केही पहिले बाँकावीर पहिला शहीद हुन् भनेर राजनीतिक विश्लेषक एवं अध्येता विश्वभक्त दुलाल (आहुति)ले दिएको अभिव्यक्तिप्रति धेरैले गम्भीरतापूर्वक असहमति जनाएका थिए। उनले बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, चिरञ्जीवी वाग्ले, राजेश्वर देवकोटा सबै गोरखाका भएकाले लखन थापालाई पहिलो शहीद बनाइएको तर्क गरेका थिए। लखन थापा कसैको दया, माया, कृपाले नभई उनले गरेका बलिदानको सम्मानमा प्रथम शहीद घोषणा भएका हुन्। एक अध्ययनशील र बौद्धिक व्यक्तिले पनि बाँकावीर र लखन थापाको तथ्यगत अन्तर नबुझेको देखियो। नेपाली इतिहासको गहिरो अध्ययन विना प्रथम शहीदबारे गरिएको उक्त व्याख्या, विश्लेषण भ्रमपूर्ण रहेको जगजाहेर छ।
पूर्व प्रधानमन्त्री केपी ओली एक राजनीतिज्ञ हुन्, अरू क्षेत्रका विज्ञ वा प्राज्ञ होइनन्। बाँकावीरलाई ‘पहिलो शहीद’ भनिदिएर केहीलाई रिझाए, तर ओलीले धेरैलाई चिढ्याए। राजनीतिमा कहिलेकाहीं यस्ता अभिव्यक्ति प्रत्युत्पादक भइदिन सक्छ। यसको हिसाब उनैले गरून्।
लखन थापाको १३९औं स्मृति दिवसको अवसर पारी प्रथम शहीद लखन थापा मगर स्मृति प्रतिष्ठानले प्रकाशन गरेको प्रथम शहीद स्मारिकाको निम्ति आफू प्रधानमन्त्री हुँदा केपी ओलीले २०७२ माघ २४ मा दिएको शुभकामना पत्रमा “.....प्रथम शहीद लखन थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु.....” उल्लेख छ। (हेर्नुस् पत्र) शायद आफ्नै मन्तव्यको हेक्का पनि ओलीलाई भएन।
अन्त्यमा, लखन थापाले जनताको साथ, समर्थन बटुल्दै जनस्तरबाट गरेको बलिदानीपूर्ण संघर्षको लेखाजोखा गरेर नै संविधान जारी भएकै दिन अर्थात् २०७२ असोज ३ मा उनी ‘प्रथम शहीद’ घोषित भएका हुन्। ‘प्रथम शहीद’ लेखिएको लखन थापाको तस्वीर अङ्कित हुलाक टिकट २०७३ सालमै प्रचलनमा आइसकेको छ। त्यसैले यो विषयमा सबैले थप अध्ययन, मनन गरौं।