लखनउ विद्रोह दबाएर फर्केपछि लखन थापाले भने- जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो!
लखनउ विद्रोह दबाउन जंगबहादुर राणाले खटाएको पल्टनका सदस्य लखन थापाले उल्टै भारतीय विद्रोहीहरूबाट राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको मूल्य बुझे। फर्किएपछि राणाशासन विरुद्ध मोर्चा कसे।
‘जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो!’ राणाकालीन विद्रोही लखन थापाले शासक जंगबहादुरलाई यस्तो आरोप त्यसै लगाएका थिएनन्। भारतमा अङ्ग्रेज विरुद्धको सैन्य विद्रोह दबाउन उनले नेपाली सैनिकलाई जसरी बाध्य पारे, त्यस विरुद्धको आक्रोश पनि थियो यो। अधिनायकवादी शासनसत्ता टिकाउन जंगबहादुरले देशको स्वाभिमान अङ्ग्रेजको अधीन बनाएको लखनको बुझाइ थियो।
अङ्ग्रेज हुकुमत विरुद्ध सङ्घर्षशील राजा, रजौटा, नवाबहरूलाई दमन गर्न नेपाली सैनिक लखनउ उतारिएका थिए। शिख रेजिमेन्ट र अङ्ग्रेजहरू सहयोद्धाका रूपमा थिए। त्यस क्रममा हत्या, लुटपाटसँगै निर्दोष चेलीहरूको अस्मिता पनि लुटियो।
भनिन्छ, नुनको सोझो गर्नुपर्ने भएकाले आँखै सामुन्नेका ती अपराध टुलुटुलु हेरेर बस्न नेपाली सैनिक बाध्य भए जसको पश्चात्ताप तिनलाई पछिसम्म भइरह्यो। यद्यपि, नेपाली सैनिकमा पहिल्यैदेखि अङ्ग्रेज विरोधी भावना छँदै थियो, उक्त घटनाले त्यसलाई झन् बढाइदियो। शासकले सेनाको छवि नै धमिलिने गरी शक्तिको दुरुपयोग गरेको यो घटनालाई उनीहरूले कलङ्क ठाने।
आफ्नै पुरानो शत्रुप्रति जंगबहादुरको यस्तो हिमचिम र भक्तिभाव देखेपछि उनीहरूले स्वाभिमानमा ठेस लागेको अनुभूति गरे। अङ्ग्रेजकै कारण नेपालले (सन् १८१६ को सुगौली सन्धि मार्फत) एक तिहाइ भूभाग गुमाउनुपरेको थियो। अनि दरबारमा रहेका सुगौली सन्धि विरोधी भारदार सिध्याउनकै लागि अङ्ग्रेजहरूले जंगबहादुर मार्फत कोतपर्व मच्चाएको कतिपयको बुझाइ थियो।
लखन लखनउमा ‘पुरानो गोरख’ पल्टनबाट खटिएका थिए। भारतीय इतिहासकार विक्रमजीत हसरतलाई पादटिप्पणीमा राख्दै फ्रान्सेली मानवशास्त्री मेरी लेकम्टी टिलोइनले ‘विद्रोहकै दौरान जंगबहादुर गोरखपुर पुगेदेखि नै त्यहाँका विद्रोही नेताहरूको सम्पर्कमा आएको र उनीहरूले ब्रिटिश सेना विरुद्ध आफूलाई साथ दिए जंगबहादुरलाई लखनउको राजा बनाइदिनेसम्मको प्रस्ताव राखेको’ उल्लेख गरेकी छिन्। उनी थप लेख्छिन्, ‘त्यसरी विद्रोहीहरूसँग सम्पर्क हुने सैनिकमध्ये लखन थापा पनि एक थिए। सम्भवतः उनले आफ्नो विद्रोही योजनाका लागि त्यतिखेरै कुनै मोडेल फेला पारेका थिए।’ (द हिस्ट्री मेस्सियन एन्ड रिबेल किङ लखन थापा मगर: युटोपिया एन्ड आइडियोलजी एमङ मगर्स, अ सेमिनार पेपर प्रेजेन्टेड टु द सीएनआरएस, पेरिस, २०००, पीपी. १५०-१६८)
हाम्रा इतिहासविद्हरू भारतीय विद्रोहीसँगको यस्तो राजनीतिक भेटघाटबारे मौन छन्। यद्यपि जंगबहादुरको जीवनयात्रामा पद्मजंग राणाले उद्धृत गरेको कमिशनर म्याकग्रेगोरको भनाइले त्यसलाई केही बल दिन्छ। म्याकग्रेगोरको भनाइ यस्तो थियो, ‘जंगबहादुर आफ्नो निष्ठामा कहिल्यै डगमगाएनन्। अनेक किसिमका प्रलोभन (?) लत्याएर उनले तत्काल मलाई ती जासुस तत्त्वहरू र तिनले दिएका बाचा कबुल (?) बारे जानकारी दिए” (२०७४,पृ.२१२)।
यससँगै पद्मजंगले अवधका नवाब रमजान अली खाँ र नवाब मिर्जा ब्रिजिस कादर (नवाब वाजिद अली शाहका छोरा) ले जंगबहादुरलाई २९ मे १८५८ मा पत्राचार गरेको सन्दर्भ खुलाएका छन्- ‘विशुद्ध हिन्दू जाति भएर पनि नेपाली अङ्ग्रेजको बहकाउमा लागेर भारत आउनु, पवित्र मन्दिर र मस्जिद भत्काउने राक्षसी काममा उनीहरूलाई सहयोग गर्नु र तराई मैदानका आफ्नै दाजुभाइ विरुद्ध लडाइँ गर्नु आफैंमा एउटा आश्चर्यजनक दुर्घटना हो....तपाईंको सहयोग विना अङ्ग्रेज हामी विरुद्ध लड्न सक्नेछैनन्। ....नेपाल राज्यको सीमा तपाईंकै पवित्र गङ्गा नदीको तटसम्म विस्तार (?) हुनेछ र भारतका सम्पूर्ण राज्यले सार्वभौम राष्ट्रका रूपमा मान्यता दिनेछन्’ (उही, पृ.२०७)।
युद्धकालका राजनीतिक भेटघाट, विद्रोहीतर्फको प्रस्ताव र उल्लिखित पत्राचारबारे लखन अनभिज्ञ थिएनन्। तर, जंगबहादुरले नेपाल र नेपालीका हितमा आएका महत्त्वपूर्ण प्रस्ताव वास्तै गरेनन्। उल्टै राष्ट्रिय हित विपरीत अङ्ग्रेजसँग मिल्न गए, आफूले भेटेका विद्रोहीलाई उनीहरूकै शरण पर्न दबाब दिए। जंगबहादुरले आत्मसमर्पणवादी नीति लिंदा देश पराधीन हुन लागेको यथार्थ लखनले बुझे। प्रमोदशमशेर राणाले ‘अरूका तुलनामा लखन त्यस बखत निकै टाठाबाठा देखिन्थे र यिनको विचार पनि गहिरो थियो’ भनेका छन् (राणाशासनको वृत्तान्त, २००७, पृ.८७)।
सैन्य मद्दत दिई विपत्तिमा इज्जत जोगाएको कदरस्वरूप अङ्ग्रेजहरूले पश्चिम तराईका केही भूभाग नेपाललाई फर्काइदिए। यथार्थ यो पनि हो कि नेपालले छिमेकी विद्रोहीलाई सघाएको भए सम्भवतः भारत त्यतिखेरै ब्रिटिशको चङ्गुलबाट मुक्त हुन्थ्यो र उनीहरूले वाचा गरे अनुसार नेपालको नक्शा केही फराकिलो पनि हुन सक्थ्यो।
लखनको पृष्ठभूमि
कतिपय अध्येताका अनुसार, सुगौली सन्धिपछि आधाजसो गोरखाली पैतृक थलो फर्के भने बाँकी इस्ट इन्डिया कम्पनीकै सेवामा भारतको अल्मोडामा बसे। गोरखाली पल्टनसित स्वदेश फर्कनेकै खलक थिए, लखन। १८९१ सालमा गोरखाको बुङ्कोटमा जन्मिए पनि यिनले प्रारम्भिक शिक्षा अल्मोडामा पाएका थिए। लखनले सानैदेखि पितापुर्खाका वीरतापूर्ण कथा सुन्दै आए जसले अङ्ग्रेज विरुद्ध ठूल्ठूला युद्ध लडेका थिए। त्यसैले आफन्तले ब्रिटिश-भारतको सेवामा जोड गर्दा पनि १९११ सालमा यिनी ‘पुरानो गोरख’ पल्टनमा भर्ती भए।
हर्षबहादुर बुडामगरले उद्धृत गरेको इतिहासकार ढुण्डीराज भण्डारीको भनाइ यस्तो छ, ‘जंगबहादुर राणाले जुन तरीकाबाट राज्यको बागडोर आफ्नो हातमा लिएका थिए, ती घटनालाई राजभक्त, देशभक्त नेपाली प्रजाले बिर्सन सकेनन्, यसैको परिणामस्वरूप गोरखाका निवासीहरूले लखन थापाको नेतृत्वमा जंगबहादुरको विरुद्धमा आवाज उठाएका थिए। राजभक्त र देशभक्त लखन थापाले धर्मप्राण, जनसाधारणको सहानुभूति र सहायता प्राप्त गर्नको लागि दैवी प्रेरणाको कथा पनि यस कार्यमा जोडेका थिए’ (राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर (द्वितीय),२०५४,पृ.२३)।
लखनउमा साम्राज्यवादी अङ्ग्रेजलाई टिकाउन आफ्नै देशका क्रूर शासकलाई सघाउनुपर्दा गोरखालीहरू सन्तुष्ट थिएनन्। त्यस वेला ब्यारेकपुरमा भारतीय सैनिक मङ्गल पाण्डेको फाँसी र मेरठ छाउनीमा भएको गोलीकाण्डले उग्र रूप लिंदा असर लखनउसम्म पुगेको थियो। विद्रोहीले दिल्ली लगायत शहर कब्जा गरेका थिए भने उत्तर-पश्चिमी भारतमा पनि आन्दोलन फैलिएको थियो।
अङ्ग्रेजको स्थिति नाजुक बन्दै गएकाले तिनीहरू पछि हट्न बाध्य भइरहेका थिए। यही दौरान विद्रोहीले प्रशस्त हातहतियार लुटे र लखनउस्थित ब्रिटिश रेजिडेन्सी कब्जा गरे। कमिशनर सर हेनरी लरेन्सलाई मारी अङ्ग्रेज परिवारलाई बन्धक समेत बनाएका थिए। यो परिस्थितिमा त्यहाँ गोरखाली सेना उतारिएका थिए।
अन्य स्थानमा सन् १८५९ सम्म विद्रोह चलिरहेकै थियो। झाँसीकी रानी लक्ष्मीबाईले स्वाधीनताका लागि सङ्घर्ष गर्दै अद्वितीय साहस देखाएकी थिइन्। स्वाधीन राष्ट्रका निम्ति लड्ने भारतीयहरूको मर्म र भावना बुझेका लखनलाई देशको स्वतन्त्रता र स्वाभिमानको सर्वोपरिता थाहा भयो। अङ्ग्रेज विरुद्ध उत्रिएका भारतीय योद्धाहरूको सङ्घर्ष र बलिदानबाट उनलाई थप प्रेरणा मिल्यो। त्यही चेतनाले विद्रोही बनेका लखन अङ्ग्रेजका बफादार जंगबहादुरप्रति चर्को विमति राख्न थाले।
बुङ्कोट विद्रोह
ब्रिटिशको साथ-समर्थनले जंगबहादुर अत्यन्त क्रूर र उन्मादी बनेका थिए। अन्याय, अत्याचार र विभेदको सीमै थिएन। जतिसुकै सक्षम भए पनि सर्वसाधारणले उपल्लो दर्जा पाउँदैनथे। शासकवर्गको त्यस्तै एकाधिकार र पक्षपातको शिकार बनेपछि पूर्वजहरू झैं उच्च सैन्य अधिकारी बन्ने लखनको आकाङ्क्षा भताभुङ्ग हुन पुग्यो। योग्य भए पनि अवसर नपाउँदा लखन र जयसिंह चुमीमगर सैन्य सेवा छाडी पैतृक थलो बुङ्कोट फर्किए।
समाजमा रूढिवादी परम्परा र अन्धविश्वास थियो। सर्वसाधारण धर्ममा विश्वास गर्थे। त्यही आस्थालाई उपयोग गर्दै लखनले बुङ्कोटमा जोसमनी विचारधारा फैलाए। आफैं सन्त भएर घरघरै हिंडे र जातव्यवस्थामा आधारित १९१० सालको मुलुकी ऐनले विभाजित समाजलाई जोसमनी विचारबाटै एकीकृत गर्न खोजे।
राजा-प्रजा समान मानिने यो मतमा उचनीच, छुवाछूतलाई अस्वीकार गरिन्थ्यो अनि मूर्तिपूजा र कर्मकाण्डलाई ढोङ भनिन्थ्यो। समाजको विकृति, विसङ्गति हटाउन उपयोगी सिद्ध भएकाले सर्वसाधारण यो विचारप्रति आकृष्ट भए। त्यसैले लखनले सङ्गठनै खोलेर बाहिर सन्त अनि भित्रभित्रै विद्रोही क्रियाकलाप चलाउने थाले।
सर्वसाधारणको ध्यान तान्न लखनले आफ्नो विद्रोही रणनीतिमा प्राचीन कालका लखन थापा र मनकामना देवीको प्रसिद्धिलाई पनि जोडे। धर्मभीरु समाजमा यसको गहिरो प्रभाव पर्यो। उनको वाक्शक्तिबाट प्रभावित भई ठूलो जनसमूह एकत्रित भयो जसमा पूर्व सैनिक पनि सामेल थिए। त्यसपछि उनीहरूले युद्ध किल्ला बनाए, हातहतियार बटुली लडाकू तयार पारे। त्यसैको बलमा राज्यसत्तालाई चुनौती दिए।
ऐतिहासिक दस्तावेज
जंगबहादुरको मृत्यु एवं जगतजंगको हत्यापूर्व विसं १९३३-१९४२ को अवधिमा लेखिएको “नेपालको श्री ३ महाराज जङ्ग बहादुर राणा, जी.सी.बी.; जी.सी.यस.आई.को जीबन् चरीत्र” नामक पुरानो हस्तलिखित दस्तावेज भेटिएको छ। राणाकालीन इतिहासका ज्ञाता पुरुषोत्तमशमशेर जबरासँग सुरक्षित उक्त दुर्लभ सामग्रीमा लखन थापाको विद्रोहबारे उल्लेख भएको बेहोरा यस्तो छः
“गोदावरीबाट थापा थली दर्वारमा सवारी ....एक् अनौठो कीसीम्को वागीयानी को कुरा उठयो. अगी... भयेको यौटा कुनै गोर्खा को वासीन्दा ले आफूलाई उईलेको लखन थापाको अवतार हुँ भनी राजा वनेर हीन्दो रहेछ .त्येस्ले अं... नजान्ने रैतीहरूलाई तेही भनाई वाट छलछाम पारी धेरैजना मानीस हरू आफ्नु ठानेको राज्यको रैती तुल्याई आफु राजाभै वसेको रहेछ. मन कामना देवीले जङ्गबहादुर को राज्य खतंपार्नाको लागि तेस्लाई थापना गर्नु भयेको भनी भन्दोरहेछ. तेस्को यो चलाकीले १५०० हात हतीयार समेत फौज तेस्को झण्डामुनी जम्मापनी भै सकेको रहेछ, ती फौजहरू समेत साथमा लीयेर राज्धानी मा आई जङ्गबहादुर लाई मारेर राज्ये छीनेर ली नेपालमा सत्येजुग फीराउने भन्ने वहाना गरेको हुँदा धेरै मानीस नीजले हातलीन सकेको रहेछ.
यो प्रारम्भीक वीद्रोह को खवर जाहेर हुनासाथ् महाराजाले देवीदत् पल्टन वाट दुईतीन कम्पनी सीपाँही तीनीहरू पक्रन तुरुन्त खटाई वक्स्यो ; उनी हरूले हात् हतीयार चलायेमा मात्र आफुले पनी हतीयार चलाउनु भन्ने अडर थीयो. भाग्यले ती वागीहरूले थोरैवेरमात्र रोक् टोकगरी चाँडैनै हातहतीयार सुम्पी दीये. ती सवै नेल ठोकीयेर काठमाडौं चलान भये. त्यो राजा हुने र अरू तेस्को मुख्य मुख्य मानीस हरूलाई चाँही कोक्रा मा हालेर काठमाडौं चलाये. यस वीसय मा वुझ्नु पर्ने कुराहरू सवै वुझी सकेपछी तीनीहरूको कसुर सावीत् हुन आयो.
प्रीन्स अव वेल्सको सीकार वाट महाराजाको सवारी फीर्दा, द्यौराली मा सवारी पुगेको वखत्मा महाराजा लाई त्याहाँ वीलाई जङ्ग बहादुरको साथमा आयेका फौजहरू लाई समेत हातली साथ् साथै राजधानी मा गई त्यो लखन थापाको औतार भनाँउदो मानीस राजाहुने, तेसकीसम गरेमा तीनीहरू लाई कौनै कीसीम्को रोकटोक कतैवाट परी न आउने भन्ने तीनीहरू को वुज र मत्तो समेत रहेछ. तेस लखन लाई र अरु मुख्ये मुख्ये छ जनालाई ज्यानको सजाँय भयो, अरू वाँकी .....आफ्ना घरजानु भनी माफी मील्यो. रक्तपात को कां गर्ना .....मनकामना को अडर भयेको थीयो भन्ने जस्तो तेस्को भनाई थीयो, तेही बमोजीं .....को मन्दीर अघाडीको रूखमा लगेर तेस लखन भन्नेलाई .....याये.
दस्तावेजमा ‘लखन थापा राजा भइबसेको, १५०० हात-हतियारसमेतका फौज उनको झन्डामुनि जम्मा भइसकेको’ उल्लेख भएकाले लखनले आफूलाई राजा बनाई बुङ्कोटमा ‘स्वतन्त्र राज्य’ खडा गरेको देखाउँछ। उनी राजा नै बनेको प्रमाण दस्तावेजमा भेटिएको छैन। तर, लखन ‘श्री ३’ का आकाङ्क्षी अवश्यै थिए। आफ्नै किल्ला र लडाकू सेना भएका लखनलाई स्थानीयले राजा सरह मानेको देखिन्छ। अङ्ग्रेज विरुद्धको लडाइँमा भारतीय विद्रोहीले पनि आफूलाई राजा घोषित गर्दै स्वतन्त्रताको माग लिई सङ्घर्षमा होमिएका अनेकौं दृष्टान्त पाइन्छ।
बुडामगर लेख्छन्, ‘लखन थापाले गोरखामा ‘राजद्रोही सरकार’ खडा गरी स्वयं त्यसको मुख्तियार बनेर जयसिंह चुमी मगरलाई सेनापति जनरल बनाएका थिए’ (उही,पृ.२२)। लखनको सैन्यशक्ति निर्माण र राजा बन्ने आकाङ्क्षालाई महेशचन्द्र रेग्मीद्वारा सम्पादित रेग्मी रिसर्च सिरिज (वर्ष १२, अङ्क ५, १९८०) मा समेटिएको १९३२ चैत्र सुदी १ को दस्तावेजले पनि पुष्टि गर्छ। अन्यथा लखनको झन्डामुनि हात-हतियार सहितका सेना एवं सर्वसाधारण किन गोलबन्द हुन्थे?
विद्रोहमाथि दमन
दस्तावेज अनुसार विद्रोहीहरूले पन्ध्र सयजतिको सशस्त्र समूह गठन गरेको देखिन्छ। त्यो शक्ति शासकलाई चुनौती दिन पर्याप्त थिएन। त्यसैले लडाकूहरू जंगबहादुरलाई घात लाएर (एम्बुसमा पारी) सिध्याउन चाहन्थे। तराईमा शिकार खेली फर्कंदा देउरालीमै हमला गर्ने विद्रोहीको योजना सुनेर जंगबहादुरले तिनलाई दमन गर्न देवीदत्त पल्टनबाट केही कम्पनी खटाई आफू चाहिं अर्कै बाटो राजधानी फर्के। उता, बुङ्कोटमा दुवै शक्तिबीच भिडन्त भयो। सरकारी सेनाले घेरा हाली सबैलाई पक्रियो, बुङ्कोटको किल्ला ध्वस्त पारिदियो। यो घटना १९३२ चैत अन्तिमको हो।
जंगबहादुरले नौ महीना लगाई त्यो मुद्दा हेरे। थापाथली दरबारमा हाजिर गराइएका बाह्र जनामध्ये पाँच जना समर्थक मात्र ठहरिएकाले छाडिए, बाँकीलाई राजद्रोहको अभियोग लगाइयो। तिनलाई स्थानीयमाझ त्रास फैलाउन बुङ्कोटकै किल्ला परिसरमा झुन्ड्याइयो। जनकलाल शर्माका अनुसार, जति वेला जोसमनी सम्प्रदाय खूब जोडतोडसित प्रचारित भइरहेको थियो, त्यसै समय जोसमनीका अनुयायी गोरखाका लखनमाथि जङ्गबहादुरको कुदृष्टि पर्यो। यिनीहरूको कार्य राजद्रोही नभए तापनि कर्मकाण्डका विरोधी भएकाले राजगुरु र अरू ब्राह्मणलाई सह्य भएन। अन्ततोगत्वा उनी र उनका अनेक अनुयायी प्राणदण्डका भागी भए (हिमवत्संस्कृति, वर्ष १, अङ्क २, पौष २०१६)।
त्यस वेला मारिनेमध्ये लखन, जयसिंह र बालेश्वर अछामी मगर बुङ्कोटकै भएकाले स्थानीय बासिन्दा बरोबर सम्झन्छन्। बाँकीको हकमा रेग्मी रिसर्च सिरिज (उही, १९८०) मा प्रकाशित ऐतिहासिक सामग्री केलाउँदा विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिंह थापा मगर समेत लखनका मुख्य कार्यकर्ता भएको थाहा हुन्छ। उक्त विद्रोहमा मुख्य रूपले सक्रिय यिनै सात जना मारिएको प्रष्ट हुन्छ।
यस घटनाले आम समुदायमा शासकसँग लड्ने विद्रोही भावनाको विकास गरायो। यही चेतनाको आलोकमा कैयौं विद्रोह र परिवर्तन भए। विना भेदभाव न्याय र समानतामा आधारित शासन प्रणालीको स्थापनामा यस घटनाको प्रभाव देखिन्छ। अन्यथा देशमा जनअधिकार सहितको लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समन्याय र सुशासन लगायत मुद्दा स्थापित हुँदैनथे। तसर्थ, नेपालमा प्रजातान्त्रिक आन्दोलनको शुरूआत बुङ्कोट विद्रोहबाटै भएकोमा सन्देह छैन।
अन्त्यमा, विजेताका पक्षमा इतिहास लेख्दै सत्ताधारीहरूको देवत्वकरण र हार्नेहरूको दानवीकरण गर्ने चलन अद्यापि छ। विगतमा लखनलाई कतै लुच्चो-लफङ्गो पनि भनियो; उनको देशभक्तिपूर्ण सङ्घर्षलाई ‘हास्यास्पद विद्रोह’ भनी खिल्ली उडाइयो। सात-सात जना देशभक्तको बलिदानीपूर्ण इतिहास प्रकाशमा आउँदा हिजोका शासकहरूले लज्जा र अपमानबोध किन गरेनन्?
लखन सहितका आदिवासी भूमिपुत्रहरू ऐतिहासिक सपूतका रूपमा स्थापित हुने भयले कतिलाई सतायो पनि होला। अहिले राजनीतिक रूपले धेरै परिवर्तन आइसक्यो तापनि सङ्कीर्णता उस्तै छ। बुङ्कोट विद्रोहको इतिहास उजागर नहुँदा तत्कालीन शहीदहरू उपेक्षित छन्। राष्ट्रको गौरव बढाउन शहीदले खेलेको भूमिकालाई राज्यले विशेष महत्त्व दिई भावी पुस्तालाई चिनाउनुपर्छ।
लखनले सबैभन्दा पहिले चेतनाको दियो बाले, त्यसैको आलोकमा अरूले बाटो पहिल्याए। राणा विरुद्ध सङ्गठित हुने र सङ्घर्ष गर्ने ऊर्जा त्यहींबाट पाएर कैयौं देशभक्त मैदानमा ओर्लिए। यो जनजागृतिको मुहान निश्चय नै बुङ्कोट विद्रोह थियो। यसअघि शासकहरूप्रति यस्तो विद्रोही चेतना र भावना जनस्तरमा पैदा भएकै थिएन। बुङ्कोट विद्रोहकै जगमा उठेको राजनीतिक चेतनाले १९९७ सालको शहादतसँगै ०७ सालमा राणाशासनको अन्त्य गराएको हो।
१४५ वर्षअघिको समाजमा जनताका अधिकार, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको वकालत गर्ने लखन राष्ट्रिय विभूतिका हकदार हुन्। तर, उनको योगदानको मूल्याङ्कन भएको छैन। न त त्यो गौरवशाली इतिहास कुनै पाठ्यक्रममा सामेल गरिएको छ। लखन थापाको योगदान र बलिदान यसरी उपेक्षित रहनु देशकै दुर्भाग्य हो।