महारानी एलिजाबेथ, गोर्खा र सगरमाथा
बेलायती महारानी एलिजाबेथ द्वितीयाले दुई पटक राजकीय भ्रमण गरे पनि बेलायतका प्रधानमन्त्री भने नेपालको भ्रमणमा आएका छैनन्।
नेपालमा सन् १९६१ मा राजकीय भ्रमण गरेकी बेलायती महारानी एलिजाबेथ द्वितीया त्यसको ठीक २५ वर्षपछि १९८६ मा पनि नेपाल आइन्। दुवै राजकीय भ्रमणमा दोस्रो विश्वयुद्धमा भाग लिएका गोर्खा सैनिकहरूसँग भेटघाट गर्नु उनको उद्देश्य रहेको देखियो।
इस्ट इन्डियासँग नेपालको युद्ध सन् १८१६ मै सकिए पनि त्योभन्दा धेरै अघिदेखि नै नेपालीहरू बेलायतका लागि लडिरहेका थिए। नेपालको जनसंख्या ४० लाख पनि नहुँदा दुई लाखभन्दा धेरै नेपालीले दुई वटा विश्वयुद्धमा बेलायती सेनाका तर्फबाट लडेका थिए।
पहिलो विश्वयुद्धमा ग्यालिपोलीको लडाइँ र फ्लान्डर्स फिल्ड, दोस्रो विश्वयुद्धमा इटाली, बर्मा र मलायासम्म पुगेर ४० हजारभन्दा धेरै नेपाली लडाकूले ज्यान गुमाएका थिए।
९६ वर्षको उमेरमा भदौ २३ गते साँझ बालमोरल दरबारमा जीवनको अन्तिम स्वास लिएकी महारानी एलिजाबेथ द्वितीयाको सधैं नेपालप्रति नरम धारणा नै रहेको थियो। जुन दिन महारानी एलिजाबेथ द्वितीयाले शासन सम्हाल्ने औपचारिक कार्यक्रमको तयारी हुँदै थियो, सोही दिन लन्डनमा पहिलो पटक सगरमाथा आरोहणको सफलताको समाचार आइपुगेको। त्यो २ जुन १९५३ को कुरा थियो।
हुन त एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण २९ मेमा नै गरिसकेका थिए। काठमाडौंको बेलायती राजदूतावास मार्फत सगरमाथाको सफल आरोहणको समाचार लन्डन पुग्न केही दिन किन पनि लागेको थियो भने सो समाचारलाई सकेसम्म गोप्य राख्न खोजिएको थियो। त्यही भएर पनि सगरमाथा आधारशिविरबाट नाम्चेको रेडियो स्टेशन हुँदै काठमाडौंमा कोड भाषामा आएको समाचारले लन्डन पुग्न समय लगायो।
बेलायतको अखबार टाइम्सका पत्रकार जेम्स मोरिस जो बेलायती आरोहण दलसँगै सगरमाथा क्षेत्रमा थिए, उनले सगरमाथा सफल आरोहणको समाचारको ‘स्कूप’ मारे। एलिजाबेथको राज्याभिषेक हुने दिन फ्लिट स्ट्रिटबाट प्रकाशित हुने डेली एक्सप्रेसको ब्यानर समाचारमा लेखिएको थियो- यी सबैको साथमा सगरमाथा पनि! ‘अल दिस-एन्ड एभरेस्ट टु।’
महारानी एलिजाबेथको नेपाल भ्रमण राजा महेन्द्रले २०१७ सालमा संसद् भङ्ग गरेर बागडोर आफ्नो हातमा लिएको एक वर्षपछि मात्र भएको थियो। राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको मन्त्रिमण्डललाई नै कारावास गराएका थिए र प्रत्यक्ष शासन शुरू गरेका थिए।
महारानीको सो भ्रमणलाई केही राजावादीले महेन्द्रको राजनीतिक कदमको समर्थनका रूपमा पनि व्याख्या गर्ने प्रयास गरे। तर, खासमा उनको त्यो भ्रमण शीतयुद्ध चरम सीमामा पुगेको वेला भएको थियो र चीन तथा भारतको तनाव पनि आकाशिएको थियो। पश्चिमाहरूले संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा बलियो राजतन्त्रको आवश्यकताको महसूस गरेका थिए र राजा महेन्द्रका लागि पनि आफ्नो कदमको अन्तर्राष्ट्रिय समर्थन जुटाउनु अत्यन्त आवश्यक थियो।
महारानी एलिजाबेथ त्यो भ्रमण आम नागरिकलाई पनि उत्तिक्कै उत्साहजनक थियो। त्यसका उदाहरण हुन् खुम्जुङ गुम्बाका अभिभावक कोन्जो चुम्बी। सन् १९६१ महारानी एलिजाबेथ र राजकुमार फिलिपलाई काठमाडौंमा भेट्न खुम्जुङबाट आउने क्रममा जिरी पुग्दा उनकी श्रीमती सुत्केरी भएकी थिइन्। नवजात शिशु बाेकेरै उनीहरू काठमाडौं आइपुगे र महारानीको दर्शन भेट गरे।
जब राजकुमार फिलिपले नवजात शिशुको कुनै नाम नराखिएको थाहा पाए तब उनले 'फिलिप' नै राखे हुन्न भन्ने सुझाए। उनै थुक्तेन फिलिप शेर्पाले जब राजकुमार फिलिपलाई महारानीको दोस्रो नेपाल भ्रमणको वेला भेटे तब उनी २५ वर्षका लक्का जवान भइसकेका थिए। आज उनी क्यालिफोर्नियामा बसोबास गरिरहेका छन्।
नेपालको राणा शासनको परम्परालाई नै निरन्तरता दिँदै बेलायती राजपरिवारले सन् १९६१ मा चितवनमा आयोजना गरिएको शिकारको कार्यक्रमलाई निरन्तरता दियो। त्यो वेला महारानी एलिजाबेथले आफ्नो बुवा राजा जर्ज छैटौंले उपहार दिएको १६ एमएमको फिलिम क्यामेराबाट हात्तीमाथि बसेर फिल्म पनि खिचेकी थिइन्।
महारानी एलिजाबेथ नेपाल आउने भएपछि काठमाडौंलाई मजाले सिँगारिएको थियो। कान्तिपथको हाल निर्वाचन आयोग भएको बहादुर भवन जहाँ त्यति वेला द रोयल होटल थियो, सो बाटो छेउमा भएका रूखहरू काटेर बाटो चौडा बनाइएको थियो। नबल्ने सडक बत्तीका पोल पनि बाटो छेउमा ठड्याइए।
रोयल होटल चलाउने बोरिस लिस्सानेभिचले राजा महेन्द्रका तर्फबाट महारानीलाई सिंहदरबारमा राजकीय भोजको आयोजना गरेका थिए। खानाका तातो परिकारलाई कामदारहरूले बहादुर भवनबाट ओसारेको ओसार्यै गर्नुपरेको थियो।
सो राजकीय भोजबारे लेखक डेसमन्ड डुइगले आफ्नो पुस्तक माई काइन्ड अफ काठमाडौंमा उल्लेख गरेका छन्। ‘बेलायतकी महारानीले साधारण पहिरन र एकसरो मोतीको मालामा सजिएर आउँदा राजकीय अपेक्षाभावमा रहेका नेपालीहरू अन्यमनस्क भएका थिए, यसपटक भने महारानी पन्ना र हिराको चम्किलो सजावटमा आउँदा धपक्कै बलेकी जस्ती देखिएकी थिइन्। महारानीको गाउनमा पनि सितारा भरिएको थियो।’
अर्को दिन बेलायत राजदूतावास लाजिम्पाटमा आयोजित कार्यक्रममा एडमन्ड हिलरीलाई ‘सर’ को खिताब दिइयो। त्यो समारोहमा महारानीले सगरमाथाको साङ्केतिक स्वरूप देखाउने खैरो, हरियो र सेतो रङ्गको क्रिममा सजिएको केक काटिन् जहाँ एडमन्ड हिलरी र तेन्जिङ नोर्गेको साना आकृति बनाइएको थियो।
डुइगले आफ्नो पुस्तकमा लेखेका छन्, ''जब महारानी हातमा चक्कु लिएर केक काट्न अघि बढिन् उनले एडमन्ड हिलरीतिर हेर्दै भनिन्- मैले तिमीलाई आधी हुने गरी पो काट्नुपर्ने भयो त, सर एडमन्ड।''
बेलायती गोर्खाहरूले आफ्नो देशका लागि गरेको सेवाका लागि महारानी एलिजाबेथले आफ्नो ७० वर्षे शासनकालमा गरेको कृतज्ञता र दुई पटकसम्म नेपालको औपचारिक भ्रमण गरे पनि हालसम्म कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन्।
बेलायती सेनामा गोर्खा सेवाको २००औं वार्षिकोत्सवको अवसरमा लन्डनमा सन् २०१५ मा परेडमा महारानी एलिजाबेथ पनि सहभागी भएकी थिइन्। उनका नाति राजकुमार ह्यारीले गोर्खा सन् २००७/८ मा अफगानिस्तानमा रोयल गोर्खा राइफल्सको पहिलो बटालियनमा पनि सेवा गरेका थिए।
राजकुमार ह्यारीको मेघन मर्कलसँग भएको विवाह समारोहमा रोयल गोर्खा रेजिमेन्टको टोलीलाई पनि आमन्त्रण गरिएको थियो। त्यति मात्रै होइन, ह्यारीले सन् २०१६ मा नेपालको भ्रमण गरेका थिए र गोर्खा वेलफेयर ट्रस्टका केही आयोजनाहरूको सक्रियतापूर्वक निरीक्षण गरेका थिए।
राजकुमार चार्ल्स, जो अब राजा चार्ल्स तेस्रोका रूपमा चिनिनेछन्, उनले पनि सन् १९७७ देखि रोयल गोर्खा राइफल्सको चीफको कर्नेलको पद धारण गरेका छन्।
क्वीन गोर्खा पल्टन जहाँ नेपालबाट गएका बेलायती सैनिक जवानहरू कार्यरत हुन्छन्, तिनले अधिकांश औपचारिक समारोहको सुरक्षा गर्ने गरेका छन्। यो अभ्यास महारानी भिक्टोरियाको पालादेखि शुरूआत भएको हो र यस परम्परालाई महारानी एलिजाबेथले पुनः शुचारू गरेकी हुन्।
नेपालको पहिलो पटकको राजकीय भ्रमण बाहेक महारानी एलिजाबेथ र राजकुमार फिलिप सन् १९८६ मा पुनः अस्ट्रेलिया र न्यूजिल्यान्ड जाने क्रममा चारदिने भ्रमणमा नेपाल आएका थिए। तत्कालीन राजा वीरेन्द्र र महारानी ऐश्वर्यले उनीहरूलाई विमानस्थलमा स्वागत गरेका थिए।
यस पटकको भ्रमणका क्रममा महारानीले ब्रिटिश गोर्खाका दुई सय योद्धालाई भेटेकी थिइन्। सो समारोहमा भिक्टोरिया क्रसबाट सम्मानित सात जना गोर्खा सैनिकहरू पनि समावेश थिए।
त्यो वेला उनी काठमाडौं नगर पञ्चायतका तत्कालीन प्रमुख कमल चित्रकारसँग काठमाडौं दरबार क्षेत्रको पैदल यात्रामा पनि सहभागी भएकी थिइन्।
यस पटकको भ्रमणमा शिकारको कुनै योजना थिएन। किनभने, अघिल्लो पटक शिकार गरिएको चितवनको जङ्गल राष्ट्रिय निकुञ्जमा परिणत भइसकेको थियो। महारानी एलिजाबेथले गोर्खा क्याम्पको भ्रमण गरिरहँदा राजकुमार फिलिप भने दक्षिणएशियाकै पहिलो प्राकृतिक सम्पदा घोषणा भएको चितवनको मेघौलीमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग जङ्गल सफारी सकेर त्यहाँको चर्चित टाइगर टप्समा बिहानी नास्ता गरिरहेका थिए। राजकुमार फिलिप र अधिराजकुमार ज्ञानेन्द्र शाह पछि गएर संरक्षणको क्षेत्रका हस्तीका रूपमा दरिए।
महारानी एलिजाबेथको नेपालसँगको पछिल्लो औपचारिक संलग्नता भनेको बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउँदा गत मे महीनामा अनलाइनबाट भएको थियो।
राजकुमार फिलिपको सन् २०२१ मा मृत्यु भयो। त्यो वेला महारानी आफैं पनि ज्यादै कमजोर भइसकेकी थिइन् र उनलाई सार्वजनिक सभा-समारोहबाट टाढै राख्न थालिएको थियो।
त्यो वेलाको समारोहमा महारानीले आफ्नो वक्तव्यमा नेपाल र बेलायतबीचको ‘मैत्रीपूर्ण र पारस्परिक सम्बन्ध’ को प्रशंसा गर्दै सन् १९६१ र १९८६ मा गरेको नेपालको राजकीय भ्रमणको स्मरण गरेकी थिइन्।
(नेपाली टाइम्सबाट गरिएको अनुवाद। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)