बेलायतमा यस्तो छ नयाँ राजा छान्ने नौ सय वर्षदेखिको परम्परा
बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएसँगै नयाँ राजा छान्ने प्रक्रिया शुरू भएको छ, जुन नौ सय वर्षदेखि चलिआएको छ।
महारानी एलिजाबेथको भदौ २३ गते राति निधन भएसँगै बेलायती साम्राज्यको बागडोर तत्कालै राजकुमार चार्ल्समा गएको छ। अब राजा भनिने चार्ल्सलाई हिजो बेलुकासम्म ‘प्रिन्स अफ वेल्स’ को नामले पुकारिन्थ्यो।
अब चार्ल्सको त्यो पदवी फेरिनेछ। उनी बेलायतको नयाँ राजा कहलिनेछन्।
तर, औपचारिक रूपमा राजा घोषणा हुनुअघि केही परम्परागत प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। यससँगै उनलाई राजा चार्ल्स तेस्रोको नामले पुकारिनेछ।
नयाँ राजाको पहिलो कार्यकारी निर्णय नै नाम सम्बन्धी हुने भएको छ। उनले आफ्नो चार वटा नाम ‘चार्ल्स, फिलिप, आर्थर, जर्ज’ मध्ये कुनै एक छनोट गर्न पाउनेछन्। बेलायतको राजगद्दीमा बसेपछि नाम तथा पदवी परिवर्तन हुने उनी एक मात्र उत्तराधिकारी होइनन्।
बेलायती राजतन्त्रको उत्तराधिकारी भए पनि चार्ल्सका छोरा राजकुमार विलियमले स्वतः ‘प्रिन्स अफ वेल्स’ को उपाधि पाउनेछैनन्। उनका बुबा चार्ल्सले त्यसको सुनिश्चितता गरिदिनुपर्ने हुन्छ।
हाल विलियमले आफ्नो बुबाको पदवी ‘ड्युक अफ कोर्नवाल’ उपाधि पाएका छन्। विलियम र उनकी पत्नी केटलाई ‘ड्युक एन्ड डचेच अफ कोर्नवाल र क्याम्ब्रिज’ को औपचारिक उपाधि प्राप्त छ।
चार्ल्सकी श्रीमती क्यामेलियाले पनि नयाँ उपाधि पाएकी छिन्। क्यामेलियालाई ‘क्वीन कनसोर्ट’ भनिने गरिन्छ। जसको शाब्दिक अर्थ राजसत्तामा रहेका व्यक्तिकी श्रीमती भन्ने बुझिन्छ।
यस्तो हुन्छ राजा घोषणा समारोह
आगामी शनिबार चार्ल्सलाई राजा घोषणा गरिने अपेक्षा गरिएको छ। यो घोषणा सभा लन्डनको सेन्ट जेम्स दरबारमा हुनेछ, जहाँ राजा घोषणा गर्ने काउन्सिल अगाडि औपचारिक कार्यक्रम हुनेछ।
यो काउन्सिलका सदस्यमा राजसभाका सदस्यहरू हुनेछन्। जसका सदस्यमा पूर्व तथा बहालवाला वरिष्ठ सांसदहरू, सरकारी सेवाका वरिष्ठ अधिकारीहरू, कमनवेल्थका उच्च अधिकारीहरू, लन्डनका मेयर छन्।
सिद्धान्तः सो समारोहमा सात सयभन्दा बढी सदस्यको उपस्थिति हुने गर्छ। तर, समयको सीमितताका कारण थोरै संख्यामा मात्र सदस्यहरू उपस्थित हुने अपेक्षा गरिएको छ। यसभन्दा अघि सन् १९५२ मा भएको महारानी घोषणा सभामा दुई सय जना उपस्थित भएको तथ्याङ्क छ।
घोषणा सभामा महारानीको मृत्युको औपचारिक जानकारी राजसभाका अध्यक्षले सबै सदस्यसामु सुनाउनेछन्। यो घोषणाका शब्दहरू तलमाथि होलान्, तर मुख्य रूपमा यो त्यो परम्परा हो, जहाँ अघिल्लो राजाको प्रशंसा गर्दै नयाँ राजाप्रतिको प्रतिबद्धता व्यक्त गरिनेछ।
घोषणा सभाको औपचारिक पत्रमा प्रधानमन्त्री, क्यान्टरबरीका आर्चबिसप र लर्ड चान्सलर लगायत धेरै वरिष्ठ अधिकारीहरूको हस्ताक्षर हुनेछ।
राजाको पहिलो घोषणा
नयाँ राजा राजसभाका सदस्यहरू सम्मिलित दोस्रो बैठकमा पनि सहभागी हुनेछन्। यो कार्यक्रम राष्ट्रपतिको शपथ जस्तो नयाँ राजाको शासनकालको शुरूआत गर्ने शपथ ग्रहण समारोह होइन। बरु यस सभामा राजाले नयाँ घोषणा गर्नेछन्, जुन १८औं शताब्दीदेखि चलिआएको बेलायती परम्परा हो। जहाँ राजाले ‘चर्च अफ स्कटल्यान्ड’ को संरक्षण गर्ने शपथ लिनेछन्।
बाजागाजाको धूमधाम सहित चार्ल्सलाई नयाँ राजा घोषणा गरिनेछ। यो घोषणा सेन्ट जेम्स दरबारको किल्ला माथिको बार्दलीबाट सुनाइनेछ। यो सुनाउने जिम्मा किङ्स अफ आर्म्सका रूपमा चिनिने अधिकारीले पाउनेछन्।
उनले घोषणा गर्नेछन्, ‘भगवान् राजालाई बचाऊ ।’ यो घोषणा सन् १९५२ पछि पहिलो पटक सुनिनेछ र त्यसपछि बेलायतको राष्ट्रिय गान बज्नेछ।
लन्डनको हाइड पार्क, टावर अफ लन्डन र नौसेनाका जहाजबाट सलामी अर्पण गरिनेछ। र, चार्ल्स बेलायतको राजा भएको घोषणा एडिनवर्ग, कार्डिफ र बेलफास्टमा पढेर सुनाइनेछ।
यसरी गरिन्छ राज्याभिषेक
मुख्य आकर्षणको कार्यक्रम नयाँ राजाको राज्याभिषेक नै हो, जहाँ नयाँ राजा चार्ल्सलाई राजमुकुट पहिर्याइनेछ। राज्याभिषेकको तयारी गर्न पर्याप्त समय चाहिने भएकाले चार्ल्सलाई तत्कालै राज्याभिषेक गरिनेछैन।
यसअघि पनि महारानी एलिजाबेथ द्वितीयाले सन् १९५२ को फेब्रुअरीमा राज्यको बागडोर सम्हालेकी थिइन्। तर, राज्याभिषेक भने सन् १९५३ को जून महीनामा मात्र गरिएको थियो।
बेलायतको राजसंस्थाको इतिहासमा विगत नौ सय वर्षमा राज्याभिषेकको कार्यक्रम बेस्टमिनिस्टर एबीमा भएको छ। राजा विलियमको बेस्टमिनिस्टर एबीमा नै राज्याभिषेक गरिएको थियो। अबका नयाँ राजा चार्ल्स त्यसरी राज्याभिषेक हुने ४०औं राजा हुनेछन्।
यो राज्याभिषेकको परम्परा एङ्ग्लिकन धार्मिक अनुष्ठान हो, जसलाई ‘आर्कबिसप अफ क्यान्टबरी’ ले सम्पन्न गर्नेछन्। यस समारोहको महत्त्वपूर्ण क्षण सेन्ट एड्वार्डको राजमुकुट नयाँ राजा चार्ल्सको शिरमा पहिर्याइनेछ। यो सुनको मुकुट सन् १६६१ देखि राजसंस्थाको प्रतीकका रूपमा रहिआएको छ। झण्डै पाँच पाउन्डको यो राजमुकुट यही अवसरमा मात्र राजाद्वारा पहिरिने गरिन्छ।
यस राज्याभिषेक समारोहको खर्च राज्यले नै भुक्तानी गर्छ। शाही विवाह समारोहको खर्च भने राजसदस्यको निजी स्वामित्वबाट हुन्छ। राज्याभिषेकको समारोहको खर्च राज्यले नै गर्छ र सरकारले नै अतिथिको सूची तयार पार्छ।
राज्याभिषेकमा सुन्तला, गुलाब, दालचिनी, कस्तुरी र एम्बरग्रीसको तेलको मिश्रणबाट बनेको अत्तरले नयाँ राजाको अभिषेक गरिनेछ। अनि, साङ्गीतिक धुन र अनुष्ठानको परम्परा पनि पूरा गरिनेछ।
नयाँ राजाले संसारको सामु राज्याभिषेकको साथै शपथ ग्रहण गर्नेछन्। नयाँ राजा भए बापतको साङ्केतिक प्रतीकका रूपमा उनले राजदण्ड पाउनेछन्।
राष्ट्रमण्डलको प्रमुख
नयाँ राजा चार्ल्स राष्ट्रमण्डलको औपचारिक प्रमुख बन्नेछन्, जहाँ ५६ वटा स्वतन्त्र देशहरू सदस्य रहेका छन्। जनसंख्याको हिसाबले उनले दुई अर्ब ४० करोड मानिसको अगुवाइ गर्नेछन्।
यी ५६ देशमध्ये १४ देशको भने राष्ट्र प्रमुखका रूपमा राजा नै रहनेछन्। जसमा बेलायतसँगै अस्ट्रेलिया, एन्टिगुवा, बरबुढा, बहमास, बलिजी, क्यानाडा, ग्रेनेडा, जमैका, पपुवा न्यूगिनी, सेन्ट क्रिस्टोफार र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनेडियस, न्यूजिल्यान्ड, सोलोमन आइल्यान्ड र टुभालु छन्।
(बीबीसीबाट महेश्वर आचार्यले गरेको अनुवाद।)