भीएलएन प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा मलेशियाका पूर्व उपप्रधानमन्त्री हमिदि पक्राउ
–रामु सापकोटा, काठमाडौं र आल्या अलहाज्जरी, क्वालालम्पुर
मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन)ले मलेशियाका पूर्वउपप्रधान एवं आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदिलाई पक्राउ गरेर बुधबार मुद्दा चलाउने तयारी गरेको छ ।
आयोगले एर्टोनी जनरल्स् च्याम्बरबाट अनुमति लिएर हमिदिलाई सोमबार पक्राउ गरेको हो । आयोगले बुधबार उनलाई क्वालालम्पुरको सेसन्स् कोर्टमा उपस्थित गराउने छ ।
आयोगले उनीमाथि भीएलएन नामको विदेशी कामदारका लागि दिइने भिसा प्रक्रियामा भ्रष्टाचार गरेको अभियोग लगाएको छ । तर, उनी विरुद्ध कस्ता–कस्ता मुद्दा लगाइएको भन्ने बारेमा खुलाइएको छैन ।
भीएलएन त्यही प्रणाली हो, जसबारे हिमाल, खोज पत्रकारिता केन्द्र र मलेशियाकिनीले संयुक्त रूपमा असार–साउन २०७५ मा हमिदिसहित मलेशियाका सरकारी अधिकारीसँगको मिलेमतोमा नेपाली एजेन्ट कम्पनीले मलेशिया जाने कामदारबाट अनधिकृत रुपमा रकम उठाएको र उक्त रकम गैरकानुनी बाटोबाट मलेशिया पुर्याएको पनि खुलासा गरेको थियो ।
नेपालमा मलेशिया र नेपालका तत्कालीन सरकारी अधिकारी र एजेन्ट कम्पनीबीचको मिलेमतोमा भिसा लुअर नेगरा–भीएलएन नाम दिइएका भिसा सेन्टर खोलेर २०७० सालदेखि २०७५ वैशाखसम्म मलेशिया जाने कामदारबाट अतिरिक्त रकम अशुल्ने काम भइरहेको थियो ।
मलेशिया भीएलएन नेपाल प्रालि नामक कम्पनीमार्फत भीएलएन प्रणालीका नाममा मलेशिया जाने कामदारसँग भिसा प्रोसेसिङ भनेर शुल्क उठाउन थालिएको हो ।
भीएलएन हाकिम हमिदि आन्तरिक मामिला मन्त्री भएका बेला मलेशियन सरकारले ‘आउट–सोर्सिङ’ गरेको निजी कम्पनी अल्ट्रा किनारा एसडीएन बीएचडी को नियन्त्रणमा रहने नेपाली एजेन्ट कम्पनी हो ।
भीएलएनले भिसा प्रोसेसिङ शुल्क बापत २०७५ वैशाखसम्म नेपाली कामदारबाट रु. ३ हजार २०० का दरले एक अर्ब ९५ करोड उठाएको थियो । यो रकम गैरकानुनी बाटोबाट मलेशिया पुर्याएको हिमालले असार २०७५ मा नै खुलासा गरिसकेको छ।
हिमालको खुलासापछि नेपाली टाइम्समा पनि समाचार प्रकाशन भएको थियो । उक्त समाचार मलेशियाका मलेशियाकिनी, द डेली स्टार, द स्ट्रेट टाइम्स, द सन डेली, मले मेल, न्यू मलेशिया टाइम्स, सिंगापुरको याहु न्यूज लगायत सञ्चारमाध्यमले समेत प्रकाशन गरे ।
त्यसलगत्तै मलेशियाका सत्तासीन दलका सांसदले ठगीमा संलग्नलाई कारबाही गर्न र सम्बन्धित कम्पनीहरूमाथि अनुसन्धान थाल्न माग गरेका थिए । यस्तै, मलेशियाकाे संसदमा समेत उक्त समाचारका बारेमा छलफल भएको थियो ।
त्यसपछि मलेशियाको सरकारलाई कारबाही अघि बढाउन दबाब परेको थियो । मलेशियाको गृहमन्त्रालयले समाचारमा आएका प्रमाणहरूमाथि छानबिन गर्ने बताएको थियो ।
समाचार प्रकाशनपछि ६ साउनमा मलेशियाका तत्कालीन आन्तरिक मामिला मन्त्री अहमद जाहिद हमिदीले पत्रकारलाई दिएको जवाफमा ‘नेपाली कामदार ठगिएको विषयमा आफ्नो कुनै संलग्नता नभएको’ बताउँदै प्रमाणित गर्न सरकारलाई चुनौती दिएका थिए ।
हमिदिसँगको व्यापारिक र पारिवारिक सम्बन्धका आधारमा ओएससी प्रणाली सञ्चालन गर्ने प्रोफाउन्ड रेडियन्स, ‘बायोमेट्रिक’ सञ्चालन गर्ने बेस्टिनेट एसडीएन बीएचडी लगायत एजेन्ट कम्पनीहरूले मलेशियाको सरकारबाट काम पाएका थिए ।
मलेशियाको भ्रष्टाचार विरुद्धको आयोगले यसअघि नै कात्तिक २०७५ मा हमिदिलाई आन्तरिक मामिला मन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेशियन रिंगिट बराबरको रकम अवैध रुपमा आर्जन गरेको आरोपमा पक्राउ गरेर उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
कालो धन वैध बनाएका २७, विश्वास उल्लंघनको अपराध गरेका १० र घूस लिएका ८ वटा गरी ४५ वटा अभियोगमा उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।
घूस प्रकरणमध्येको एउटा मुद्दा हो– तीनवटा कम्पनीबाट लिएको रकम । हमिदिले तीनवटा फरक–फरक कम्पनीबाट २ करोड १२ लाख ५० हजार मलेशियन रिंगिट घूस लिएको आरोप लागेको थियो ।
हमिदिले घूस लिएका तीन कम्पनीमध्ये एउटा कम्पनी नेपालसँग जोडिएको थियो ।
आयोगले अदालतमा दर्ता गरेको हमिदि विरुद्धको अभियोग पत्रमा मलेशियाको कम्पनी प्रोफाउन्ड रेडियन्स एसडीएन बीएचडीका निर्देशक अज्लन साह जफ्रिलबाट उनले १९ साउन र १ चैत २०७४ मा कूल २० लाख मलेशियन रिंगिट बराबरका तीनवटा चेक घूस बापत बुझेको उल्लेख गरेको थियो।
प्रोफाउन्ड रेडियन्स नेपालमा मलेशिया जाने कामदारको पासपोर्ट संकलन गरेर दूतावासमा पुर्याउने काम गर्ने कम्पनी हो ।
हमिदिले घूस लिएको प्रोफाउन्ड त्यही कम्पनी हो, जसले नेपालमा मलेशिया भीएलएन नेपाल प्रालि कम्पनी मार्फत मलेशिया जाने कामदारबाट पासपोर्ट संकलन गर्ने नाममा प्रति कामदार रु.२८०० असुल्ने गरेको थियो ।
भीएलएनले कामदारबाट उठाएको रकम प्रोफाउन्डलाई पठाउने गरेको र रकम असुले बापत भीएलएनले प्रति कामदार रु.४२० कमिसन पाउने गरेको थियो । भीएलएन नेपाल प्रालिका सञ्चालक राम श्रेष्ठ हुन् ।
आयोगले हमिदिलाई लगाएका ४५ अभियोगमाथिको मुद्दा अझै उच्च अदालतबाट टुङ्गिसकेको छैन ।
पढ्नुहाेस् :
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब
कामदारमाथि लुट : मलेशिया–काठमाडौं नेक्सस पुष्टि
मलेशिया जाने कामदार ठगीमा संलग्न बेस्टिनेट निलम्बित