मलेशिया जाने कामदार ठगीमा संलग्न बेस्टिनेट निलम्बित
मलेशिया सरकारले विदेशी कामदारको बायोमेट्रिकको काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेटलाई निलम्बन गरेको छ।
आज, २९ साउनमा आयोजित पत्रकार सम्मेलनमार्फत् मलेशियाको मानव संसाधनमन्त्री एम. कुलासेगरनले बेस्टिनेललाई निलम्बन गरेसँगै मलेशियामा कामदार ल्याउने विषयमा नेपाल सरकारसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन्।
उनले नेपालबाट मलेशियामा कामदार लैजाने समस्याको समाधान खोज्न एमओयू गर्ने तयारी भइरहेको बताएका हुन्।
मलेशियाको अनलाइन पत्रिका मलेशियाकिनीले कुलासेगरनकाे भनाइ उद्धृत गर्दै भनेको छ, “हामीले क्याबिनेटमा एमओयू गर्ने प्रस्ताव लैजाँदै छौँ। नेपाल सरकारले नयाँ व्यवस्थामार्फत कामदार पठाउन रुची देखाएको छ। हामी त्यो कुरा स्वीकार्न तयार छौ।”
पत्रकार सम्मेलनमा सहभागी मलेशियाका प्रधानमन्त्री महाथिर बिन मोहम्मद्दले मलेशिया सरकारले बाङ्लादेशबाट जस्तै कामदार ल्याउने विषयमा नेपाल सरकारसँग पनि द्विदेशीय (जिटुजी) सहमति गर्ने तयारी भएको बताएका छन्।
प्रधानमन्त्री मोहम्मद्दले भनेका छन्, “नेपाल सरकारले मलेशियामा कामदार पठाउन रोकेकोमा हामीलाई कुनै आपत्ति छैन। तर हामी नेपालसँग बाङ्लादेशमा जस्तै जिटुजी सहमति गर्न चाहन्छौ।”
२४–३० असार २०७५ मा हिमाल खबरपत्रिकामार्फत खोज पत्रकारिता केन्द्रले मलेशिया जाने नेपाली कामदारबाट सरकारी निकायहरूको संलग्नता र मिलेमतोमा रु. ५ अर्ब असुलेको खुलासा गरेको थियो।
समाचारमार्फत मलेशियाको एजेन्ट कम्पनी बेस्टिनेटसहित नेपाली कम्पनीहरुको संलग्नतामा कामदारबाट अवैध रकम उठाएको र त्यो रकम हुण्डीमार्फत मलेशिया पुर्याएकाे जानकारी बाहिर ल्याएको थियो।
उक्त समाचार मलेशियाको प्रमुख अनलाइन पत्रिका मलेशियाकिनीलगायत अन्य सञ्चार माध्यममार्फत् सार्वजनिक भएपछि त्यहाँका मानव संसाधनमन्त्री कुलासेगरनले त्यस विषयमा संसदलाई जानकारी गराएका थिए।
याे पनि पढ्नुहाेस्- राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब http://himalkhabar.com/news/8018