माओवादी सशस्त्र द्वन्द्व बुझाउने तीन चलचित्र
कुन चलचित्रले कति पैसा कमायो भन्ने कुरालाई एकातिर राखेर कला र कथाको कोणबाट नियाल्दा यी तीनै चलचित्र द्वन्द्वकालीन नेपाली समाजको अध्ययनका प्रभावशाली सिर्जनात्मक अभिव्यक्ति हुन्।
१० वर्षे माओवादी सशस्त्र द्वन्द्वको स्मृति नेपाली जनताको मानसपटलमा गहिरो गरी अङ्कित छ। कति विद्रोही भएर त कतिले राज्यको प्रतिनिधि भएर द्वन्द्व प्रत्यक्ष भोगेका थिए। तर‚ धेरै मानिसले ती दुवै कित्तामा नउभिएरै द्वन्द्वको प्रताडना भोगेका थिए। त्यो समयको कथामध्ये कति भनिएका होलान्, कति भुक्तभोगीका आँखाभित्रको गहन संवेदनामा सीमित होलान्। कति कथाहरू आफैंमा एउटा पूर्ण कथा छन् भने कति उपकथाहरूको समग्रताले एउटा सग्लो कथाको आकार लिन सक्दछ।
इतिहासले छोडेका ती पदचाप अब हामी सबैको साझा सम्पत्ति हो। त्यसैले तिनलाई सिर्जनाका विविध माध्यम मार्फत अभिव्यक्त गरिनुपर्छ। आख्यान र गैरआख्यानका विभिन्न विधामा केही हदसम्म भए पनि अभिलेखीकरण भएका छन्। तर‚ ललितकला, चलचित्र आदिमा भने कम मात्र काम भएको छ।
समान अनुभवका विभिन्न देशका चलचित्र त्यस्ता इतिहासका फसलको बिस्कुन सुकाउने सबभन्दा प्रभावशाली माध्यम हुन सक्ने देखाएका छन्। पुस्तक पठनको आफ्नै उचाइ छ नै‚ सँगै सूचना प्रविधिको तेज विकाससँगै चलचित्रको परिधि र प्रभाव क्षेत्र क्रमशः विस्तार हुँदै गएको छ। अभिनय, चरित्र तथा परिवेशको चित्रणले मौनताबाट नै धेरै कुरा प्रदर्शन गर्न सकिने र त्यस कारण भाषिक अज्ञानताको अचानो झेल्न नपर्ने भएकाले पनि चलचित्रको प्रभावशालिता अझै बढ्दो छ। त्यसमाथि भाषा बुझ्न प्रविधिको सहजता सुनमा सुगन्ध बनेको छ।
यति गन्थन पछाडिको चुरो कुरा भने नेपालले भोगेको १० वर्षे सशस्त्र द्वन्द्वकालका कथा पनि अभिव्यक्तिका अन्य माध्यममा जस्तै चलचित्र मार्फत सार्वजनिक हुन जरुरी छ भन्ने हो। स्वभावतः यसका गुनिला प्रयास केही वर्ष अघिदेखि नै हुँदै आएका छन्। तर, यो वर्षका पछिल्ला दुई महीना प्रदर्शन भएका तीन चलचित्र दोख‚ पानी फोटो र प्रकाशले भने दशक लामाे वर्षे सशस्त्र द्वन्द्वलाई चलचित्रमा ल्याउने प्रयासले थप गम्भीर मोड लिन थालेको छनक दिएको छ।
निर्माण अवधि फरक फरक भए पनि ती तीन चलचित्र सशस्त्र द्वन्द्वको माटोमा हुर्केका भिन्न भिन्न कथा हुन्। समय चित्रणको कोणबाट दोख र पानी फोटो सशस्त्र द्वन्द्व चल्दै गर्दाका घटनामा आधारित चलचित्र हुन्। प्रकाश भने सशस्त्र द्वन्द्व सकिएपछिको कथा हो जसमा सशस्त्र द्वन्द्वले सुल्झाउन नसकेका समस्याको चित्रण पाइन्छ।
नेपाली चलचित्र क्षेत्रलाई व्यावसायिकताको नाममा सस्तो र सतही कथाको दलदलबाट उकास्न मिहिनेत गरिरहेका कलाकारहरूले अभिनय गरेका यी चलचित्रहरूमा कोठामा हिटर तापेर हिमालको व्याख्या गर्ने गल्ती गरिएको छैन।
नेपाली चलचित्र क्षेत्रलाई व्यावसायिकताको नाममा सस्तो र सतही कथा (अझ कथाहीनता) को दलदलबाट उकास्न मिहिनेत गरिरहेका कलाकारहरूले अभिनय गरेका यी चलचित्रहरूमा कोठामा हिटर तापेर हिमालको व्याख्या गर्ने गल्ती गरिएको छैन। चलचित्रको कथा ‘डाउन टु द अर्थ’ छ। कथालाई प्रस्तुत गर्ने शैली सिर्जनात्मक छ। व्यावसायिक रूपमा खास उन्नति नगरे पनि यी चलचित्रको लामो समयसम्म यसको खोजी भइरहनेछ।
गजबको पाटो त, यी कुनै पनि चलचित्र काठमाडौं अथवा छेउछाउका सुगम ठाउँ/शहरमा खिचिएका होइनन्। यसले नेपाली चलचित्र अन्वेषणात्मक बन्दै गएको सङ्केत गरेको छ‚ अन्वेषणात्मक कथावस्तु र सामाजिक भूगोल दुवै कोणबाट। यसले आगामी दिनमा चलचित्र निर्माता, निर्देशक र कलाकारमाथि चुनौती थपिएको छ। अब नेपाली सिने क्षेत्रका गम्भीर दर्शकको मन जित्न कम मिहिनेतले पुग्नेछैन। नेपाली समाजको जटिलताका पत्र पत्र केलाएर कलापूर्ण ढङ्गले उतार्न सक्ने चलचित्रले मात्र वाहवाही पाउने अवस्था बन्दै छ। किनकि‚ संसारभरका विभिन्न बान्कीका चलचित्रको स्वाद चाखिरहेका नेपाली दर्शकको अबको माग अन्वेषणमूलक नेपाली चलचित्र हो जसको विषय मसिनै भए पनि प्रस्तुतिमा मिहिनताको अपेक्षा हुनेछ। नेपाली दर्शकलाई नेपाली समाजको भित्री पत्र पहिल्याएर नेपाल चिनाउने सामर्थ्य भएका चलचित्रको प्यास लागेको छ।
तीन वटा चलचित्रको तुलनात्मक अध्ययन त यो लघु टिप्पणीमा सम्भव नहोला। तथापि, ती चलचित्रमाथिको संक्षिप्त चर्चा थप तुलनात्मक अध्ययनका लागि विषय प्रवेशसम्म हुन सक्ला। कलात्मकताको हिसाबमा पानी फोटोको प्रस्तुति मिहिन र कलापूर्ण छ। त्यस्ता कलात्मक अभिव्यक्ति कति वेला सामान्य दर्शकले नबुझिने समेत हुन सक्छ। तीनमध्ये नवीन प्रस्तुतिको कोणबाट पानी फोटो अब्बल चलचित्र गनिन सक्छ। थिएटरबाट उत्पत्ति भएको कथा भएर पनि यो चलचित्रमा थिएटरको गन्ध निख्खर लाग्छ।
सशस्त्र युद्धमा बेपत्ता भएका एक किशोरको खोजीको कथा हो‚ पानी फोटो। द्वन्द्वले आमाबुबा र सन्तानबीचको सम्बन्धमा ल्याएको फरक आयाम यसमा उजागर गरिएको छ। यो निराशाबाट आशातर्फको यात्राको कथा हो। यस्तो झिनो आशाको यात्रा अझै पनि धेरै नेपालीले गरिरहेका छन्। रङ खुइलिंदै गएका तस्वीरमा पनि आशा पोतेर तल बेसीतिर धुलाइरहेका आमा-बुबाहरूका आँखामा ओइलाइनसकेको आशा नै पानी फोटो हो। चलचित्रमा त्यस्ता निराशाको पोखरीबीच आशा हुर्काएर बाँचेका मानिसको मनोविज्ञानको पत्र पत्र केलाउने प्रयास भएको छ।
कथावस्तुको हिसाबमा भने प्रकाश अन्य दुई चलचित्रभन्दा शक्तिशाली लाग्दछ। माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता एक पुरुषका श्रीमती र छोराले द्वन्द्वकालपछि भोग्नुपरेको कठिन समय र बद्ल्न नसकेको पुरानो पद्धति प्रकाशको मूल विषय हो।
‘बोतल बदलियो, सोमरस उही’ भने जस्तै द्वन्द्वले समाज र राजनीतिका पात्र बदलिए पनि सीमान्तीकृत जनताको जीवनमा कुनै परिवर्तन नआएको यथार्थ चित्रण प्रकाशमा गरिएको छ। जुम्लाको तिर्खुमा छायाङ्कन गरिएको यस चलचित्रले नेपालको एउटा सीमान्तीकृत जनताका कथा मात्र बोलेको छैन, त्यहाँको भूगोललाई पनि ल्याएको छ।
खस भाषाको आदिभूमि मानिने जुम्लाको कथा भन्न कलाकारहरूले जुम्लाकै उपभाषिका बोल्नु कम मिहिनेतको परिणाम होइन। योग्यता भएर पनि आजको नेपाली समाजमा राजनीतिको आवरणमा हुने ठगी र आफ्नो पहिलादेखिको सामन्ती सत्ता जोगाउन भूतपूर्व शासकहरूले रूप बदलेर फेरि पनि आफ्नो विरासत जोगाएको सत्य यसमा बोलिएको छ।
अब नेपाली सिने क्षेत्रका गम्भीर दर्शकको मन जित्न कम मिहिनेतले पुग्नेछैन। नेपाली समाजको जटिलताका पत्र पत्र केलाएर कलापूर्ण ढङ्गले उतार्न सक्ने चलचित्रले मात्र वाहवाही पाउने अवस्था बन्दै छ।
खँदिलो कथावस्तुलाई कलात्मक रूपमा प्रस्तुत गरिनु पनि उत्तम चलचित्रको विशेषता हो। प्रकाशको कथावस्तु र त्यो कथावस्तु जत्तिकै खँदिलो छ चरित्र चित्रण। जुम्लाको आधारभूमिमा बनेको चलचित्रमा गाउँको ठालुको राजनीतिमा ज्वाइँले खेलेको भूमिकाको चित्रण त्यहाँको स्थानीय समाजशास्त्रको सूक्ष्म अध्ययनको परिणाम हो।
पञ्चायतकालको अवसानपछि धेरै पञ्चले नेपाली कांग्रेस र नेकपा (एमाले) मा प्रवेश गरेर आफ्नो राजनीतिक मौजा जोगाएका थिए भने २०६३ सालपछि त्यस्ता परम्परावादी शासकहरू जोडिने एउटा नयाँ दल थपिएको थियो- नेकपा माओवादी। व्यवस्था बदलियो, तर उनीहरूले आफ्नो राजनीतिक, सामाजिक र आर्थिक मौजा भने छोडेनन्। राजनीतिक परिवर्तन रूपमा देखियो‚ अन्तर्तत्त्वमा शासनको बागडोर सम्हाल्नेहरू उही रहे। जसले राजनीतिक परिवर्तनलाई निष्प्रभावी बनायो।
व्यवस्थाको नाम फरक भए पनि डाडुपन्यु चलाउने हात उही रहे। अनि समाजको पिंधमा रहेका जनता पनि पुस्तौंपुस्तादेखिको उत्पीडन र विभेदको चोला फेर्न असमर्थ बनेका छन्। संरचनागत यथास्थितिका कारण त्यो वर्गका मानिसको मिहिनेत र पसिनाले कुनै अर्थ दिन सकेको छैन।
प्रकाश यस्तै सामयिक वास्तविकताको चित्रण हो। यसमा नेपालको प्रशासनतन्त्रभित्रको विकृत अवस्थाको दारुण चित्रण छ। सरकारी जागीर योग्यता र सक्षमताले नभई भनसुन र द्रव्यशक्तिले पाइने वास्तविकता र त्यो अवस्थाको कोपभाजनमा पर्ने ‘प्रकाशहरू’का निम्ति यो चलचित्र आफ्नै कथाको प्रस्तुति लाग्नेछ।
चलचित्रमा कलाकारहरूले स्थानीय चालचलन, वेशभूषा, बोलीचाली, बान्कीको चित्रण गर्न सफल भएको लाग्छ। प्रगतिशीलताको सैद्धान्तिक कसीमा घोटेर हेर्ने हो भने पनि यो चलचित्रको अन्त्यमा नायकले देखाउने विद्रोह आफैं पनि प्रगतिशील सिर्जना कर्म भएको सङ्केत हो। तथापि, नायक प्रकाश रोकायाको दलित समुदायकी राधासँगका प्रेम असफल हुनु र अझ राधाकी परिवार आफैं अन्तरजातीय प्रेमप्रतिको नकारात्मक हुनु भनेको चलचित्रले यथास्थितिलाई नै निरन्तरता दिन खोजेको देखिन्छ। यसमा प्रगतिशीलता गौण बनेको छ। तथापि, प्रकाश गतिलो अध्ययन, अन्वेषण र गहिरो मिहिनेतले बनेको अब्बल चलचित्र हो। नेपाली सिनेमामा लामो समय प्रकाशको चर्चा चलिरहनेछ।
कुन चलचित्रले कति पैसा कमायो भन्ने कुरालाई एकातिर राखेर कला र कथाको कोणबाट नियाल्दा यी तीनै चलचित्र द्वन्द्वकालीन नेपाली समाजको अध्ययनका प्रभावशाली सिर्जनात्मक अभिव्यक्ति हुन्।
निकै लामो निर्माण अवधि छिचोलेको अर्को चलचित्र दोख माओवादी सशस्त्र द्वन्द्वकालको एउटा फरक कथा हो। सस्पेन्स विधाको यो चलचित्र माओवादी विद्रोहीले आफ्नो पिताको हत्या गरेको रिसमा सेनाको गुप्तचर बनेर माओवादी क्षेत्रमा काम गर्ने एक व्यक्तिको कथा हो। द्वन्द्वकालको फरक कथालाई प्रदर्शन गर्न खोज्दाखोज्दै पनि केही असङ्गत प्रस्तुतिले दोखलाई कमजोर बनाएको छ। यसका उपकथाहरू बलियो बनाउने धूनमा मूल कथाले आफ्नो बाटो बिराउँदै गएको भान पार्छ। चलचित्र निर्माणकाल लामो हुँदा पनि यस्ता असहजता आएको हुन सक्छ। चलचित्रको उत्कर्षमा हुने फूटबल प्रतियोगितामा सर्वसाधारणको बाक्लो उपस्थितिबीच सेनाको हमला स्वाभाविक थिएन। तर, माओवादी द्वन्द्वका कारण सुनसान बनेका ग्रामीण क्षेत्रका मानिसहरूको सूक्ष्म मनोविश्लेषणमा यो चलचित्र गहिरो छ। द्वन्द्वका दुई विपरीत पक्षको तुलोमा नाप्दा यो चलचित्रले तटस्थ बनेर कथा भन्न नसकेको अनुभव हुन्छ।
कुन चलचित्रले कति पैसा कमायो भन्ने कुरालाई एकातिर राखेर कला र कथाको कोणबाट नियाल्दा यी तीनै चलचित्र द्वन्द्वकालीन नेपाली समाजको अध्ययनका प्रभावशाली सिर्जनात्मक अभिव्यक्ति हुन्। पानी फोटोका निर्देशक खगेन्द्र लामिछानेले भने जस्तै यी चलचित्रबारे समयान्तरमा विश्वविद्यालयमा शोध हुनेछन्। लामो समयसम्म यी चलचित्र प्राज्ञिक अध्ययनका खुराक रहनेछन्। विभिन्न देशका दर्शकले नेपाली समाजले भोगेको द्वन्द्वकालबारे बुझ्न यी चलचित्रको खोजी गर्नेछन्। अर्थात्‚ यी चलचित्र नेपाली समाज बुझाउन संसार समक्ष पस्कनलायक चलचित्र हुन्। किनभने, फरक कथा भएर पनि यी तीन चलचित्रमा विषयवस्तुमा गम्भीरता र प्रस्तुतिमा कला छ। त्यस कारण यी चलचित्रको आयु सिनेमा हलमा कति दिन टिक्योमा मात्र सीमित छैन।
खुशीको कुरा त, नेपाली चलचित्रकर्मीले नेपाली माटोका कथा भन्न थालेका छन्। कुनै अर्को देशको सफल कथाको अन्ध नक्कल गरी नेपाली दर्शकलाई रिझाउने युग अन्त्यको सङ्केत देखिंदै छ। चलचित्रको यो स्तरोन्नतिले निःसन्देह नेपाली दर्शकको स्तर र हेर्ने आँखामा पनि परिवर्तन आउनेछ। नेपाली समाजका द्वन्द्वलाई भित्री तहबाट तानेर बाहिर घाममा सुकाउने प्रयत्नमा नेपालको सिने क्षेत्र अग्रसर देखिंदै छ। यसरी ओसिएका सामाजिक र राजनीतिक समस्यालाई चलचित्रले घाममा सुकाउँदा बल्ल ती समस्याको समाधानको खोजी हुनेछ। त्यस अर्थमा चलचित्र आफैं पनि सामाजिक र राजनीतिक परिवर्तनका माध्यम बन्दै जानेछ। तीन वटै चलचित्र हेरिसकेपछि भर्खरै पछाडि छोडिएको युग फेरि छिचोलेर आएको अनुभव हुन्छ।