घाँस पेलेर मल
बायोटेक्नोलोजी पढेका युवाहरूले जङ्गली घाँसबाट प्राङ्गारिक मल बनाउँदै आएका छन्। उनीहरूले काठमाडौंको चाल्नाखेलस्थित ग्रोबायो नेपाल प्रालि नामक कम्पनीबाट मल उत्पादन गरी बिक्री गर्दै आएका हुन्।
कीर्तिपुर भाजंगलका राजेश केसीले कक्षा १२ पछि काठमाडौंको हिमालयन ह्वाइट हाउस कजेलबाट बायो टेक्नोलोजीमा स्नातक सके। सोही कलेजबाट एमबीएको अध्ययन सकेपछि उनले केही वर्ष कृषि उपजको बजारीकरण गरे। पढाइ सकेपछि प्रायः साथीभाइ विदेश हान्निए तर राजेशलाई भने आफ्नै ठाउँमा आफूले पढेको विषयमै केही गर्न सकिन्छ कि भन्ने लागिरह्यो।
विज्ञ र साथीभाइसँगको सल्लाहपछि घाँस पेलेर मल बनाउने कामको सम्भावना देखियो । र‚ ११ जना साथीभाइ मिलेर लगानी जुटाए। जग्गा भाडामा लिए। मल बनाउने काम थाल्नै लाग्दा कोरोना महामारीले बन्दाबन्दी भयो।
उत्पादित मल आठ महीनादेखि काठमाडौं उपत्यकामा रहेको विभिन्न नर्सरी तथा एग्रोभेट मार्फत किसानसम्म पुगिरहेको राजेश केसी बताउँछन्। “प्रयोगकर्ता कृषकहरूको अहिलेसम्मको प्रतिक्रिया राम्रो छ,” ग्रोबायोका सञ्चालक राजेश भन्छन् ।
“कोरोना महामारीले गर्दा बन्दाबन्दी भएपछि योजना अनुसार समयमै मल उत्पादन गर्न सकिएन। यसले हाम्रो लगानी बढाइदियो,” राजेश भन्छन्‚ “बल्ल गतिशील भएर काम गर्न थालेका छौं।”
घाँसबाट मल बनाउन अपनाइएको विधि ‘बर्कली मेथड’ हो। यस्तो विधि अपनाएर मल बनाउने गरिएको नेपालमा सुनिएको छैन।
ग्रोबायोको प्रति महीना २५ टन मल उत्पादन गर्ने क्षमता छ। तर, अहिले त्यो तहमा उत्पादन भएको छैन। यहाँ उत्पादित मल कौसी खेती, तरकारी खेती, बगैंचाका लागि उपयुक्त हुने राजेश बताउँछन्। उनी भन्छन्‚ “यो मल सबै खेतीका लागि उपयुक्त छ।”
घाँस पेलेर मल बनाउन जटिल छैन। यो प्रविधि विश्वमा नौलौ पनि होइन। तर‚ नेपालमा भने नौलो छ। “एक किसिमले हेर्दा गाउँघरको गोबर मल बनाउने विधि र यो विधि आधारभूत रूपमा एउटै हो,” राजेश भन्छन्, “तर यसमा वैज्ञानिक पद्धति अपनाएर पोषण तत्त्वको मिश्रण मिलाइन्छ।”
घाँसबाट मल बनाउन अपनाइएको विधिलाई ‘बर्कली मेथड’ भनिने उनले बताए। “यस्तो विधि अपनाएर मल बनाउने गरिएको नेपालमा भने सुनेका छैनौं,” उनले भने।
राजेशका अनुसार‚ चाल्नाखेलको सामुदायिक वनको आडैमा रहेको कारखानामा चाहिने मुख्य कच्चा पदार्थ घाँस नै हो। नजिकैको वनबाट जरा सहित घाँस ल्याइन्छ।
घाँसलाई मशिनमा मसिनो हुने गरी काटिन्छ। झण्डै चालीस दिनमा निश्चित चरण पूरा गरेर घाँसलाई कुहाइन्छ र मल बनाइन्छ। तयार मललाई प्याकेजिङ गर्नुअघि राम्रोसँग छानिन्छ र प्याकेजिङ गरेर बजार पठाइने राजेश बताउँछन्।
ग्रोबायोमा १२ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्। राजेशसँगै काममा खटिएका छन्‚ वातावरण विज्ञानमा स्नातकोत्तर सकेका सुदीप सुनाम र वाणिज्यशास्त्रमा स्नातक गरेका नीरज खत्री। आफ्नो मेहनत सफल बनाउन गोब्रायोको टोली झरी‚ बादल नभनी दिनरात खटिरहेको छ। अहिलेसम्म ५० लाख लगानी पुगेको राजेशले बताए।
घाँस कुहाउन गोबर अत्यावश्यक छ। त्यसैले उनीहरूले खोकनाको फाँटमा १० रोपनी जग्गा भाडामा लिई गाईपालन र प्राङ्गारिक खेती पनि गरेका छन्। “हामीले मौसमी तरकारी‚ कुरिलो पनि लगाउने गरेका छौं,” राजेश भन्छन्, “मल चाहिंदा आफ्नै उत्पादन प्रयोग गर्छौं।”
उत्पादित तरकारी बिक्री-वितरणमा समस्या नभए पनि मलको बिक्री-वितरणमा भने केही असहजता रहेको उनको अनुभव छ। बजारमा ठूला बहुराष्ट्रिय कम्पनीहरूको उत्पादन सस्तो भएका तर ग्रोबायोको उत्पदान महँगो पर्ने गरेको किसानहरू बताउँछन्। भारत लगायत अन्य मुलुकमा निजी कम्पनीलाई पनि जैविक क्षेत्रको प्रवर्द्धनका लागि अनुदान र व्यावसायिक सहयोग गर्ने चलन छ। नेपालमा भने सहयोग नभएकाले उत्पादित प्राङ्गारिक मल महँगो छ। जसका कारण पनि मलको बिक्री-वितरणमा केही असहजता छ।
भारत लगायत अन्य मुलुकमा निजी कम्पनीलाई पनि जैविक क्षेत्रको प्रवर्द्धनका लागि अनुदान र व्यावसायिक सहयोग गर्ने चलन छ। नेपालमा भने सहयोग नभएकाले उत्पादित प्राङ्गारिक मल महँगो छ।
मिचाहा झारको व्यवस्थापन
घाँसबाट मल बनाउँदा बाह्य मिचाहा प्रजातिको वनस्पतिको व्यवस्थापनमा ठूलो भूमिका खेल्ने भएकाले यस्तो प्रयासलाई सहयोग गर्नुपर्ने विज्ञहरू बताउँछन्। “मिचाहा प्रजातिको प्रकोप बढिरहेको अवस्थामा घाँसबाट मल बनाउने कामलाई गति दिन सकियो भने मिचाहा प्रजातिको व्यवस्थापनमा पनि सहयोग पुग्छ,” वनस्पति विभागका पूर्व महानिर्देशक वनस्पतिविद् हरिकृष्ण सैंजू बताउँछन्।
वनस्पति विभागले २०७७ सालमा प्रकाशन गरेको नेपालमा फैलिएका बाह्य मिचाहा वनस्पतिहरू अनुसार‚ नेपालमा १७९ प्रजातिका बाह्य वनस्पति पाइन्छन्। तीमध्ये २६ प्रजातिका मिचाहा वनस्पति नेपालमा विस्तार भएका छन्। यी २६ प्रजातिमा चार प्रजाति सेतो वनमारा, जलकुम्भी, वनफाँडा र लहरे वनमारा विश्वमै खतरनाक मानिएका मिचाहा हुन्।
मिचाहा वनस्पतिले रैथाने वनस्पतिलाई बढ्न-हुर्कन दिंदैन। मिचाहाको वृद्धिदर अधिक र छिटो हुन्छ। यिनका जरा, काण्ड, पात, बीउ आदिमा सजिलै उत्पादन र पुनरुत्पादन हुने क्षमता हुन्छ। प्रतिकूल वातावरण पचाउने मिचाहा जस्तोसुकै ठाउँमा पनि फैलिन सक्छ। यी प्रजातिबाट पनि मल बनाउन सकिए लाभदायक नै हुने सैंजू बताउँछन्।
ऊर्वराशक्ति जोगाउन प्राङ्गारिक मल
प्राङ्गारिक मल नियमित प्रयोग गरे माटोमा प्राङ्गारिक तत्त्व बढाउन सकिने र कालान्तरमा रासायनिक मललाई प्रतिस्थापन गर्न सकिन्छ। “तर रासायनिक मलभन्दा प्राङ्गारिक मल महँगो हुने हुँदा रासायनिक मललाई तत्कालै प्रतिस्थापन गर्न गाह्रो हुन्छ,” राजेश भन्छन्। यद्यपि‚ सरकारले योजना बनाएर अघि बढे रासायनिक मल प्रयोगको मात्रा धेरै हदमा घटाउन भने सकिन्छ।
विभिन्न अध्ययनले माटोमा रहेको ‘जैविक कार्बन’ घट्दै गएको देखाएको छ। माटोमा जैविक कार्बन घट्दै जानु भनेको ऊर्वराशक्ति र उत्पादनशीलता कम हुँदै जानु हो। माटोलाई यस्तो अवस्थाबाट जोगाउँदै उत्पादनशीलता बढाउन प्राङ्गारिक मलमै भर पर्नुपर्ने विज्ञहरू बताउँछन्।
शुरूमा विकास सहायता अन्तर्गत आएका रासायनिक मलले हामीलाई परनिर्भर बनाएको र नकारात्मक स्थितिमा पुर्याएको कृषि विभागका शुरूआतकालीन महानिर्देशक तथा बागवानीविद् शिवबहादुर नेपाली बताउँछन्। “शायद हामीले शुरूमै बाटो बिरायौं,” नेपाली भन्छन्, “हाम्रै खेती प्रविधि र प्रणालीलाई सुधारेर लानुपर्नेमा विदेशी सिद्धान्त र व्यवहारलाई अँगाल्यौं। हामीलाई त्यस्तै सिकाइयो र अन्नतः हामी परनिर्भर हुन पुग्यौं।”
रामपुरको कृषि फार्मको जग्गामा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको ऊर्वराशक्तिमा ह्रास आएको र बल्लतल्ल पुन:स्थापना गरिएको बागवानीविद् नेपालीले सुनाए। माटोको ऊर्वराशक्तिलाई बचाइराख्न दीर्घकालीन लक्ष्य र योजना अनुसार प्राङ्गारिक खेती र मलको प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ।
हाम्रै खेती प्रविधि र प्रणालीलाई सुधारेर लानुपर्नेमा विदेशी सिद्धान्त र व्यवहारलाई अँगाल्यौं, अन्नतः परनिर्भर हुन पुग्यौं।
सन् १९९० ताका नेपाली किसानहरूसँग कृषि विकासका लागि के चाहिन्छ भनी सोध्दा उनीहरूले ‘रासायानिक मल चाहियो’ भनेको सुन्दा आफू छक्क परेको प्रसङ्ग विकासविद् तथा नेपाल ज्ञाता टोनी हागनले आफ्नो पुस्तक विकेन्द्रीकरण र विकासमा उल्लेख गरेका छन्। हागनका अनुसार‚ किसानको प्राथमिकतामा उत्पादनको सहज बिक्री-वितरण, मूल्य, भूमिसुधार जस्ता विषय हुनुपर्नेमा मलको परनिर्भरता हुनु भनेको करोडौं खर्च गरेर भएका कृषि विकास आयोजनाका विफलता हो। अरू देशका किसान व्यावहारिक रूपमा टाठो देखिए पनि नेपाली किसानलाई भने रासायनिक मलले मानसिक रूपमै विकलाङ्ग बनाएको हागनको टिप्पणी थियो।
आखिरमा हामीले अवलम्ब गर्नुपर्ने बाटो भनेको ग्रोबायो जस्तै प्राङ्गारिक कृषि उत्पादनकै हो। बागवानीविद् नेपाली भन्छन्‚ “सम्बन्धित निकायले प्राङ्गारिक कृषि उपजको प्रवर्द्धनमा गम्भीर हुन जरुरी छ।” त्यो भनेको ठाउँ ठाउँमा सानो लगानीका ग्रोबायो जस्तो प्राङ्गारिक मल कारखाना खोल्नु हो‚ त्यसका लागि स्थानीय तहहरूले पनि हस्तक्षेप गर्न आवश्यक छ।