पूर्वी तराईमा फैलँदै खतरनाक घोप्टे काँडा
स्थानीय जैविक विविधतालाई विस्थापित गर्ने वनस्पतिलाई मिचाहा, अतिक्रमणकारी र विनाशकारी प्रजाति भनिन्छ। तर, पूर्वी तराईमा फैलँदै गरेको लज्जावती जस्तो देखिने घोप्टे काँडा मिचाहा मात्र नभई गाईवस्तुकै निम्ति पनि खतरनाक रहेको छ।
भदौको तेस्रो साता हामी झापाको बाह्रदसी गाउँपालिकाको साधुप्रति स्थित भुतेनी खोलाको पुल तरेर जलथल जङ्गल प्रवेश गर्दै थियौं। पर्यावरणविद् लिलानाथ शर्माले पङ्क्तिकारलाई बाटामै टक्क अडिएर 'यो वनस्पति चिन्नुहुन्छ' भनेर सोधे। वनस्पतिको पात झलक्क हेर्दा लज्जावती झार जस्तो देखिन्थ्यो। तर, दुई-तीन फिट अग्लो, तीन-चार मिटर लम्बाइ र एक-दुई मिटर चौडा झाडी ढाकेर फैलिएको थियो। शर्माले 'यो झापामा गत साल भेटिएको लज्जावती जाति अन्तर्गतको नयाँ तर खतरनाक मिचाहा वनस्पति हो' भने।
बाहिरी मुलुकबाट प्रवेश गरेर स्थानीय जैविक विविधतालाई विस्थापित गर्ने त्यस्ता वनस्पतिलाई मिचाहा, अतिक्रमणकारी र विनाशकारी प्रजाति भनिन्छ। तर, नेपालको पूर्वी तराईमा फैलँदै गरेको लज्जावती जस्तो देखिने त्यो वनस्पति मिचाहा मात्र नभई गाईबस्तुकै निम्ति पनि खतरनाक रहेछ। यसको घाँस खाँदा अक्सर मसिना काँडा घाँटी र पेटमा गाडिएर चौपाया मर्दा रहेछन्। जलथल जङ्गलको नजिकमा मात्रै सयौं चौपाया मरेका रहेछन्।
मिमोसा जातिः लज्जावती झारको जातिलाई मिमोसा भनिन्छ। जीवजन्तुको उत्पति कालक्रम अनुसार मिमोसा जाति दक्षिण अमेरिकामा करीब एक करोड वर्ष पहिले मायोसिन युगको अन्त्यतिर उद्विकास भएको मानिन्छ। यसको संसारभर करीब पाँच सय प्रजाति फैलिएको भए पनि धेरैजसो दक्षिण र उत्तर अमेरिकामा छन्।
भारत र चीनमा क्रमशः आठ र तीन प्रजाति रहेको अभिलेख छ। सन् २००० मा प्रकाशित पुस्तक एन्नोटेटेड फ्लावरिङ प्लान्टस् अफ नेपालका अनुसार, नेपालमा मिमोसा पुडिका, मिमोसा रुबिकाउलिज र मिमोसा रुबिकाउलिज सब-स्पेसिस हिमालयना पाइन्छन्।
उता, लन्डनस्थित रोयल बोटानिकल गार्डेन्स क्युको विद्युतीय सञ्जालमा पनि नेपालमा मिमोसा पुडिका, मिमोसा रुबिकाउलिज र मिमोसा रुबिकाउलिज सब-स्पेसिस हिमालयना पाइन्छन् भन्ने जानकारी छ। तर, वन मन्त्रालय अन्तर्गत वनस्पति विभागले सन् २०१९ मा प्रकाशित गरेको पुस्तक अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल, भोलम-२ मा नेपालमा मिमोसा हिमालयना र मिमोसा पुडिका मात्र पाइने उल्लेख छ।
यस्तै, प्रदेश नम्बर १ सरकारले सन् २०२० प्रकाशन गरेको पुस्तक फ्लवारिङ प्लान्टस् अफ प्रोभिन्स नं. १ (इस्ट नेपाल) मा मिमोसा डिप्लोट्रिका, मिमोसा हिमालयना र मिमोसा पुडिका (पृष्ठ २७२, २७३) समावेश छ। रोयल बोटानिकल गार्डेन्स क्युको विद्युतीय सञ्जालमा उपलब्ध जानकारी अनुसार, मिमोसा हिमालयना वैधानिक नाम होइन। यो त मिमोसा रुबिकाउलिजको हिमालयना भनिने एक उप-प्रजाति अर्थात् मिमोसा रुबिकाउलिज सब-स्पेसिस हिमालयना हो।
मिमोसा पुडिका तराईदेखि मध्य पहाडसम्म जताजतै पाइन्छ। यस्तै, मिमोसा रुबिकाउलिज सन् १८२० मा नेपाल आएका नाथानियल वालिचले सङ्कलन गरेका थिए। तर, उसवेला यसलाई अर्कै नाम दिइएको थियो। उक्त नमूना रोयल बोटानिकल गार्डेन्स क्युको विद्यतीय सञ्जालमा उपलब्ध छ।
उल्लिखित दुई प्रजाति र एक उप-प्रजाति बाहेक झापा जिल्लामा फैलँदै गरेको मिमोसा जाति अन्तर्गतको मिचाहा वनस्पति मिमोसा डिप्लोट्रिका हो। यो जानकारी लिलानाथ शर्मा, भास्कर अधिकारी, महेशराज विष्ट र भरतबाबु श्रेष्ठको सन् २०२० मा प्रकाशित लेख 'मिमोसा डिप्लोट्रिकाः अ न्यू रिपोर्ट अफ इन्भेसिभ विड फ्रम इस्टर्न तराई अफ नेपाल'मा छ।
नेपालमा मिमोसा जातिको माथि उल्लिखित ४ बाहेक थप मिमोसा हामाटा पनि तराईका जिल्लामा कतैकतै पाइन्छ। तर, नेपालमा पाइने भने कतै उल्लेख छैन। भारतबाट प्रकाशित ग्रन्थहरूमा चाहिं उक्त प्रजाति पाकिस्तानदेखि भारतको आन्डमन टापुसम्म पाइने उल्लेख छ।
मिमोसा डिप्लोट्रिकाः ल्याटिन शब्द मिमिकबाट मिमोसा बनाइएको हो। मिमिकले कुनै गतिविधिको नक्कल गर्नु भन्ने अर्थ दिन्छ। यसको अर्थ जे भए पनि मिमोसा पुडिका वैज्ञानिक नाम भएको लज्जावती झारको पात छुँदा तत्कालै चुप्रुक्क खुम्चिन्छ। मिमोसा डिप्लोट्रिकाको स्पेसिस इपिथेड डिप्लोट्रिका ल्याटिन शब्द डिप्लूज अर्थात् डबल र थ्रिक्सबाट बनेको हो। थ्रिक्सको अर्थ हेयर अर्थात् रौं भन्ने हुन्छ।
उक्त प्रजाति काँडा जस्ता मसिना रौं भएका दुई किसिमका भएकाले मिमोसा डिप्लोट्रिका नामकरण गरिएको हो। मसिना काँडा चाहिं खतरनाक हुँदा रहेछन्। ती यति मसिना हुन्छन्, कि राम्ररी ठम्याउन हेर्नुपर्ने हुन्छ। तर, छुने बित्तिकै छालामा बिज्छन्। जुन निकाल्न निकै सकस पर्छ। यसलाई हटाउन खरानी पानीले बिस्तारै माड्नुपर्दो रहेछ। ती काँडाबाट गाईवस्तुका घाँटी, पेट र आन्द्रामा असर गर्दो रहेछ।
मिमोसा डिप्लोट्रिका दक्षिण अमेरिकामा उद्विकास भएको मानिन्छ। यो प्रजाति दक्षिण अमेरिकाको धेरैजसो देश सहित मध्य अमेरिका, दक्षिण पश्चिम मेक्सिकोको रैथाने वनस्पति हो। यो वनस्पति अहिलेसम्म मेक्सिको बाहेक उत्तर अमेरिकाको अन्य देश सहित युरोपमा प्रवेश भएको प्रमाण छैन। अंगोला, सुडान, मोजाम्बिक, न्यू गाइनिया सहित १ दर्जनभन्दा बढी अफ्रिकी देशमा फैलिएको छ।
यो अस्ट्रेलिया सहित दक्षिणएशिया र दक्षिण-पूर्वी एशियाका सबैजसो देशमा फैलिएको छ। प्रकाशित अभिलेख अनुसार, अफ्रिकामा भन्दा पहिले दक्षिण-पूर्वी एशियामा प्रवेश भएको यो वनस्पति इन्डोनेशियामा सन् १९०० मा सूचीकृत भएको थियो। थाइल्यान्ड र ताइवानमा सन् १९६० मा फेला परेको थियो।
सन् १९७० को दशकमा भारत, श्रीलंका, फिलिपिन्स, भियतनाम र कम्बोडियामा सूचीकृत भए। ८० र ९० को दशकमा लाओस, म्यान्मार, इस्ट टिमोर, सिंगापुर र चीनमा भेटियो। भारतकै त्रिपुरा राज्यबाट भने सन् २०१७ मा मात्र सूचीकृत भएको छ।
उता, अस्ट्रेलिया र अफ्रिकामा क्रमशः सन् १९२० र १९७० को दशकमा मात्र फेला परेको थियो। नेपालमा चाहिं झापाको जलथल जङ्गलको सीमावर्ती क्षेत्र सहित अर्जुनधारा, गौरीगञ्ज, दमक र मोरङको पथरीमा सन् २०१९ मा भेटिएको थियो।
पङ्क्तिकारले गत भदौमा झापाको कचनकबलको दुर्गाभिट्टा सहित झापाको भद्रपुर, चन्द्रगढी र हल्दीबारीमा सडक छेउ देखेको थियो। यो खाली जग्गामा विशेषतः बाढीले सम्म पारेको भाग सहित खोलाका किनार, सडक किनार र खेतीपाती गर्न छाडिएका भूभागमा अक्सर एक मिटरभन्दा बढी उचाइ सहित लत्रिएको अवस्थामा अन्य सबै वनस्पतिलाई ढाकेर फैलन्छ। यसको पात पनि लज्जावती झार झैं हातले छुँदा चुप्रुक्क खुम्चिन्छ।
नियन्त्रणका उपाय: यो वनस्पति झापा, मोरङ, सुनसरी लगायत जिल्लामा पनि प्रवेश भइसकेको हुनुपर्छ। सुनिता भट्ट, मोहन शिवाकोटी र भरतबाबु श्रेष्ठलिखित इन्भासिव एलाइन प्लान्टस् इन द प्रोटेक्टेड एरियाज अफ नेपालः डाइभर्सिटी, इम्प्याक्ट एण्ड म्यानेजमेन्ट (सन् २०२१) अनुसार यो अतिक्रमणकारी वनस्पति अहिलेसम्म नेपालको संरक्षित क्षेत्रमा प्रवेश भइसकेको छैन।
यो वनस्पति नियन्त्रणको पहिलो खुड्किलो भनेको यसलाई पहिचान गर्न सक्नु हो। सन् २०१९ फरेस्ट एक्सन नेपाल सम्बद्ध अनुसन्धानकर्ताले पहिलो पटक नेपालमा झापा तथा मोरङमा फेला पारे। उक्त संस्थाले यो खतरनाक अतिक्रमणकारी वनस्पति हो भनेर सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूलाई सचेत गराउँदै आएका छन्।
यो झापा स्थित जलथल जङ्गलका आसपास क्षेत्रमा फाट्टफुट्ट कतै कतै फैलिएको छ। त्यसैले आम समुदाय सचेत भई यसलाई जरै उखलेर मास्नुपर्छ। फुलेर फल पाक्यो भने यो आसपास क्षेत्रमा तुरुन्तै फैलन्छ। तसर्थ, वन डिभिजन कार्यालय, कृषि कार्यालय, सामुदायिक वन उपभोक्ता समिति आदिले यसलाई पहिचान गरी नियन्त्रण गर्नतर्फ लाग्नुपर्छ।