स्थानीय कांग्रेस नेताको ड्रागन फार्म
हरिकुमार राईले सुनसरीको कालाबन्जरमा २.५ बिघामा ड्रागन फलको खेती गरेका छन्। खेतीलाई बढाउँदै लगेर कृषि पर्यटन‚ शैक्षिक भ्रमण स्थल‚ कृषिका विद्यार्थीका लागि इन्टर्न गर्ने ठाउँ बनाउने उनको योजना छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका अहालेका हरिकुमार राईले पाँच वर्षदेखि ड्रागन फल फलाउँदै आएका छन्। उनले ५० लाख रुपैयाँ लगानी गरेर सुनसरीको कालाबन्जरमा २.५ बिघामा ड्रागन फलको खेती गरेका छन्।
आफ्नो ‘हुलाक धारापानी कृषि फार्म’बाट यस वर्ष नौ लाख रुपैयाँको ड्रागन फल बिक्री गरेको हरिकुमारले बताए। एउटा बोटमा एक वर्षमा चार पटक फल्ने गरेको र आम्दानी प्रतिवर्ष पाँच गुणा बढ्दै गएको उनको भनाइ छ।
प्रायः कृषि फार्ममा रासायनिक मल प्रयोग गरिन्छ। तर, आफ्नो फार्ममा प्रयोग नगरिएको हरिकुमार बताउँछन्। उनले गोबर, गहुँत, पिना, ढैंचा, नाइट्रोजनयुक्त वनस्पतिको मिश्रणबाट उत्पादन गरेको मल प्रयोग गर्दै आएका छन्। मल उनकै फार्ममा उत्पादन गरिएको हो। मल बनाउने सूत्र आफ्नै भएको र त्यसलाई ब्रान्ड बनाएर बिक्री गर्ने योजना रहेको हरिकुमार बताउँछन्।
उनको फार्ममा ड्रागन फलसँगै कुरिलो, बेसार, ढैंचा, कागती लगाइएको छ। वर्षाको पानी निकास गर्न जमीनमुनि पाइप बिछ्याइएको छ। ड्रागन फलका लागि आवश्यक पिलर ११ देखि १२ फिटको फरकमा गाडिएका छन्। पिलर फराकिलो गाडिएकाले बेसार, कुरिलो जस्ता साना बोट हुने बालीका साथै घाँस तथा मलका लागि प्रयोग हुने बिरुवाको बीउ उत्पादनमा सजिलो हुने हरिकुमार बताउँछन्। यही कारण पनि उनको ड्रागन खेती अन्यको भन्दा फरक रहेको छ।
आफ्नो फार्ममा एउटै पिलरमा वर्षमा ४०० वटासम्म ड्रागन फल फलेको हरिकुमार बताउँछन्। कसरी अझै धेरै फलाउन सकिन्छ भनी अध्ययन अनुसन्धान गरिरहेको उनको भनाइ छ।
ड्रागन फल अधिक मल तथा खाद्य तत्त्व पचाउन सक्ने वनस्पति हो। हरिकुमारको फार्ममा तयार गरिएको मल ड्रागन फलको बोटमा सन्तुलित रूपमा लगाएकाले धेरै फल लागेको हुन सक्दछ। खाद्यतत्त्वको सन्तुलन मिलाउन सके एउटै बोटबाट धेरै उत्पादन गर्न सकिने परीक्षणबाट देखिएको उनी बताउँछन्। फार्मका म्यानेजर अर्जुन कार्की मलको दैनिक रेखदेख र अध्ययनका लागि बिरुवामा मलको प्रयोग विभिन्न तरीकाले भइरहेको बताउँछन्।
थोरै ठाउँमा धेरै उत्पादन लिन कुन समयमा कुन खाद्यतत्त्व आवश्यक हुन्छ भन्ने जानकारी हुनुपर्छ। यसका साथै, पानीको मात्रा, मल्चिङ‚ थाक्रो व्यवस्थापन, छाँटकाँट पनि महत्त्वपूर्ण हुन्छ।
सफलताले उत्साहित
पहिलो चरणको परियोजनाबाट आशातीत सफलता प्राप्त गरेपछि हरिकुमारले दोस्रो परियोजना अघि बढाएका छन्। यसका लागि ६.५ बिघामा ६ हजार ७०० वटा पिलर गाड्ने उनको योजना छ। त्यहाँ रोप्नका लागि करीब ३० हजार बिरुवा तयारी गरिरहेको उनले बताए। यस परियोजनाका लागि नियमित पाँच र आंशिक ४० जनाले काम गरिरहेका छन्।
दोस्रो परियोजना सम्पन्न गर्न करीब एक करोड रुपैयाँ लगानी र एक वर्ष लाग्ने हरिकुमार बताउँछन्। आगामी तीन वर्षपछि उक्त बिरुवाबाट व्यावसायिक उत्पादन हुने उनको भनाइ छ। यस परियोजनासँगै सुपर नेपियार घाँसको बीउ‚ ढैंचाको बीउ र कम्पोस्ट मल उत्पादनलाई पनि सँगै लाने उनले योजना सुनाए।
परियोजना सम्पन्न भएपछि प्रदेश १ कै उत्कृष्ट ड्रागन फल फार्म हुने हरिकुमार दाबी गर्छन्। फार्मबाट कृषि पर्यटनको पनि प्रवर्द्धन हुने‚ विद्यालय र क्याम्पसका विद्यार्थीको शैक्षिक भ्रमण स्थल‚ कृषिका विद्यार्थीका लागि इन्टर्न गर्ने ठाउँ पनि हुने उनी बताउँछन्।
दोस्रो योजना सकिएपछि अर्को योजनालाई अघि बढाउने हरिकुमारको योजना छ। आगामी पाँच वर्षभित्र कम्तीमा २० हजार पिलरमा पुर्याउने‚ जसका लागि जमीन तयारी रहेको उनी बताउँछन्। तेस्रो परियोजना सम्पन्न भएपछि फार्मबाट वार्षिक १० करोड आम्दानी हुने र ५०० जनाले नियमित तथा एक हजार जनाले आंशिक रोजगारी पाउने हरिकुमारकाे दाबी छ।
राजनीतिमा पनि सक्रिय हरिकुमार अब राजनीतिलाई नै व्यवसायका रूपमा लिएर अघि बढ्न नसकिने बताउँछन्। त्यसैले कमाउँदै राजनीति गर्नुपर्ने उनको सुझाव छ। नेपाली कांग्रेसका चर्चित स्थानीय नेता हरिकुमार महासमिति सदस्य पनि हुन्।
“अब पहिलाको जस्तो राज्य दोहन गरेर राजनीति गर्न सम्भव छैन,” हरिकुमार भन्छन्, “राजनीतिक जीवनमा टिक्न र मुलुकको समृद्धिका लागि उत्पादनमा सामेल हुनैपर्छ। आफैंले केही राम्रो शुरूआत नगरी हुँदैन।”