प्रदेश १ मा फैलिंदै ड्रागन फलको खेती
पछिल्लो समय प्रदेश १ मा ड्रागन फलको खेती विस्तार हुँदै गएको छ। तर‚ प्रदेश सरकार भने यसबारे बेखबर छ। सरकारसँग खेतीबारे न तथ्याङ्क छ न किसानलाई सहयोग नै गरेको छ।
तीन वर्षअघि मोरङको बेलबारी नगरपालिका–८ का तारा सापकोटालाई नर्वेका लागि भिसा लागेको थियो। तर, उनको मनमा भने स्वदेशमै केही गरौं भन्ने हुटहुटी थियो। त्यही वेला साथीबाट ड्रागन फल खेतीको राम्रो सम्भावना रहेको थाहा पाए। लगत्तै नर्वे जाने योजना रद्द गरे।
नर्वे उडानका लागि जोहो गरेको १३ लाख रुपैयाँले सोही वर्ष १० कट्ठा क्षेत्रफलमा ड्रागन फल खेती शुरू गरेको सापकोटा सुनाउँछन्। खेती लगाएको पहिलो वर्षदेखि आम्दानी लिन शुरू गरेका उनले अहिले फलबाट मात्र वार्षिक करीब २५ लाख रुपैयाँ आम्दानी गरिरहेका छन्।
“पहिला त निकै डराएको थिएँ, तर अहिले म सन्तुष्ट छु,” सापकोटा भन्छन्, “घरमा बसीबसी राम्रो आम्दानी लिन सकेको छु।” बजार पनि राम्रो भएकाले खेती विस्तारमा लागेको उनको भनाइ छ।
थोरै लगानीमा राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि मोरङको सुन्दर हरैंचा नगरपालिका–११ का अनिल श्रेष्ठले पनि तीन वर्षअघि ड्रागन फलको खेती शुरू गरेका थिए। उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको जागीर र खेतीलाई दुई वर्षसम्म सँगसँगै लगेका थिए। तर, श्रेष्ठले हुँदाखाँदाको राम्रो जागीर छाडेर ड्रागन फलको खेतीमा नै सबै समय दिन थालेका छन्। एक वर्षदेखि उनी खेतीमा नै दत्तचित्त भएर लागेका छन्। अहिले पाँच कठ्ठामा ड्रागन फलको खेती गरिरहेका उनी राम्रै आम्दानी हुने देखेर परिवारको सल्लाहमै जागीर छोडेको बताउँछन्।
“पाँच कठ्ठा जमीनबाट वार्षिक १५ लाखभन्दा बढी आम्दानी भइरहेको छ,” श्रेष्ठ भन्छन्, “एक बिघा क्षेत्रफलमा लगाएको धान-मकैभन्दा एक कठ्ठामा लगाएको ड्रागन फलबाट बढी आम्दानी लिन सकिन्छ।”
झापाको मेचीनगर नगरपालिका–१० की भावना अधिकारी पोखरेलले प्याराडाइज कृषि फार्म दर्ता गरेर डेढ वर्षदेखि ड्रागन फलको व्यावसायिक खेती शुरू गरेकी छन्। करीब तीन बिघामा रहेको उनको फार्ममा हाइब्रिड सी भेराइटीको ड्रागन फल लगाइएको छ।
मोरङको उर्लाबारी नगरपालिकाका नारायणकुमार थापाले तरकारी खेती लगाउने योजनालाई परिवर्तन गरी १७ महीनाअघि ड्रागन फलको खेती शुरू गरेका छन्। वार्षिक ६० हजार रुपैयाँमा डेढ बिघा जग्गा भाडामा लिएर थापाले खेती गरेका छन्।
सुनसरीको रामधुनीमा १२ कट्ठा क्षेत्रफलमा कृपाशुर घलेले ड्रागन फलको व्यावसायिक खेती गरेको तीन वर्ष भयो। बिरुवा रोपेको पहिलो वर्षदेखि नै फलबाट आम्दानी लिइरहेका उनले १० धुरमा बेर्ना पनि उत्पादन गरी बिक्री गरिरहेको बताउँछन्।
एक पटक बिरुवा लगाएपछि कम्तीमा २५ वर्षसम्म आम्दानी लिन सकिने उनी बताउँछन्। भारतीय सेनाबाट अवकाशपछि ड्रागन फलको खेतीमा लगेका घलेले गत वर्ष बेर्ना बिक्रीबाट ६ लाख रुपैयाँ आम्दानी गरेका थिए। यस्तै, फलबाट करीब २० लाख आम्दानी लिएको उनले सुनाए।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेमा २४ रोपनीमा तीन वर्षदेखि ड्रागन फलको खेती गर्दै आएका शम्भु नेपाल ड्रागन फलको खेतीबाट मनग्य आम्दानी लिन सकिने बताउँछन्। पहाडमा पनि खेती सफल भएपछि व्यावसायिक रूपमै खेती गर्ने योजना रहेको उनले सुनाए।
“भोजपुरका फलफूल पसलमा यो फल पाइँदैन, माग धेरै छ, उत्पादन थोरै,” उनी भन्छन्, “अब ठूलो क्षेत्रफलमा खेती गरेर माग धान्ने कोशिश गर्नेछु।” सरकारले ड्रागन फलको खेती गर्न किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।
छैन बजारको चिन्ता
प्रदेश १ मा ड्रागन फलको खेती विस्तार हुँदै गएको छ। यहाँ उत्पादित फलले अहिले स्थानीय बजारको मागलाई धान्न नसकेको किसानहरूको भनाइ छ।
व्यापारीहरूले बारीबाटै प्रति किलो ५०० रुपैयाँले किन्ने गरेका छन्। स्थानीयवासी पनि खरीदका लागि बारीमै पुग्ने गरेकाले बजारको कुनै समस्या नरहेको प्याराडाइज कृषि फार्मकी सञ्चालक भावना अधिकारी पोखरेल बताउँछिन्।
सरकारको नजरमा परेन ड्रागन फल खेती
पाँच वर्षअघि फाट्टफुट्ट मात्रै लगाउँदै आएको ड्रागन फलको खेती पछिल्लो केही वर्षदेखि व्यावसायिक रूपमा नै हुन थालेको छ। तर, सरकारको नजरमा भने अहिलेसम्म पर्न सकेको छैन।
प्रदेश १ का तराई तथा पहाडी जिल्लामा खेती हुँदै आए पनि कति क्षेत्रफलमा खेती हुन्छ, कति किसान आबद्ध छन् भन्ने प्रदेश १ को सरकारलाई जानकारी छैन। प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले प्रदेश १ का तराई तथा पहाडी जिल्लामा पाँच वर्षदेखि ड्रागन फलको खेती गर्न थालेको जानकारी भए पनि कति क्षेत्रफलमा खेती गरिएको छ, कति किसान आबद्ध छन् र कति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क नभएको बताउँछन्। किसानले खेतीलाई व्यापकता दिएकाले अब अभिलेख लिने र तथ्याङ्क राखिने उनको भनाइ छ।
सरकारी तथ्याङ्क नरहे पनि प्रदेश १ का तराईका जिल्ला झापा, मोरङ र सुनसरीमा ठूलो क्षेत्रफलमा ड्रागन फलको खेती हुँदै आएको डाँगी बताउँछन्। एउटै किसानले कम्तीमा पाँचदेखि तीन बिघा क्षेत्रफलमा खेती गर्दै आएका छन्। पहाडी जिल्ला इलाम, पाँचथर, धनकुटा, भोजपुर र तेह्रथुममा पनि यसको व्यावसायिक खेती शुरू भएको छ।