राष्ट्रपतिले उठाएको लैङ्गिक समानताको विषय सबैभन्दा महत्त्वपूर्णः गगन थापा
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले उठाएको लैङ्गिक समानताको विषय सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन्।
नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको भदौ २ गतेको बैठकमा बोल्दै महामन्त्री थापाले भने, “राष्ट्रपतिले उठाउनुभएको सबैभन्दा महत्त्वपूर्ण विषय लैङ्गिक समानताको विषय थियो, हो र रहनेछ।”
संविधान संशोधन गरेर भए पनि नागरिकता विधेयकमा लैङ्गिक समानताको प्रावधान राख्नुपर्ने थापाको धारणा छ।
विधेयकमा हुँदै नभएको तत्काल नागरिकता दिने प्रावधानका विषयमा अनावश्यक चर्चा भएको उनको भनाइ छ। बैठकमा थापाले भने, “वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा ४० वर्षदेखि एउटा व्यवस्था छ, र त्यो व्यवस्थालाई यो विधेयकले छोएकै छैन। तर हामी त्यही कुराको चर्चा गरिरहेका छौं।”
राष्ट्रपति कार्यालयले साउन २९ गते पठाएको १५ बुँदे सन्देश सहितको पत्र संसद्को सम्पत्तिका रूपमा रहने महामन्त्री थापाले बताए।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरण गर्न साउन १६ गते राष्ट्रपति कार्यालय पुगेको विधेयक पुनर्विचारका लागि संसद्मै फिर्ता भएपछि पुनः यसमा छलफल भएको हो।