डेढ सय वर्षपछि रागमा रम्दै महिला
महिलालाई गाउन त परै जाओस्, डेढ सय वर्षदेखि हेर्न पनि नदिइने गरेको ‘दाफा भजन’ नाशिंदै गएपछि अहिले भने महिला नै संरक्षणमा जुटेका छन्।
‘तव चरणे प्रणता वयं इति भावय ए,
कुरु कुशलं प्रणतेषु जय जय देव हरे!’
अर्थात, हे भगवन्! हामी हजुरको शरणागत छौं, प्रेम भक्ति दिएर हजुरका भक्तहरूलाई भलो गर्नुहोस्। हे देव, हे हरे, हजुरको जय जय होस्।
१२औं शताब्दीमा संस्कृत भाषाका महाकवि जयदेवले विष्णुको उपसना गरी रचेको भजन हो, यो। यिनै शब्दहरूमा लय हालेर कीर्तिपुरको तःननी भजन खलमा हरेक साँझ ‘दाफा’ गाइन्छ।
अझ कुनै समय महिलाले नास: द्यो (गायन र नृत्यका देव) हेर्न हुन्न भन्ने गरिन्थ्यो। नास: द्योलाई हेर्दा मृत्यु हुन्छ भन्ने धार्मिक विश्वास थियो। तर, जयदेवले रचना गरेका भजन नाशिंदै गएपछि अहिले भने महिला नै भजन सिक्दै संरक्षणमा जुटेका छन्। तःननी भजन खलमा दाफा भजन समूह हाँकिरहेका छन्।
यसको शुरूआत भएको डेढ सय वर्षपछि महिला नै यस्ता अनेक ‘अमूर्त’ सम्पदा जोगाउन कस्सिएका छन्। “कैयौं पुस्तापछि बल्ल महिलाले भजन खल नै धान्ने वेला आएको छ,” महिलालाई दाफा भजनमा सहभागी गराउने गायिका एवं संगीत अनुसन्धाता पुष्पा पलाञ्चोके भन्छिन्, “अहिले त महिलाबाटै दाफा खलको संरक्षण हुने आश गरिएको छ।”
काठमाडौंको कीर्तिपुर नगरपालिका-१० स्थित तःननी टोलमा दाफा भजनको शुरूआत भएको यकिन तिथिमिति जानकारीमा छैन। लगभग डेढ सय वर्षअघि पनि सञ्चालनमा रहेको प्रमाणका रूपमा केही भजन स्थानीय बासिन्दाले भेटेका छन्। “अहिले ८० वर्षका हजुरबुबाले उहाँलाई पनि हजुरबुबाहरूले सिकाएको भन्नुहुन्छ। यो नै डेढ सय वर्षभन्दा बढी भइहाल्यो,” तःननी दाफा समाजका अध्यक्ष दिलीपकुमार महर्जन भन्छन्।
लामो इतिहास बोकेको तःननी दाफा खल गत ३५ वर्षदेखि सुनसान थियो। भजन सिकाउने वा अन्य वाद्यवादनको कार्यक्रम हुने गरेको थिएन। अझ नेवारी चाडपर्वमा उत्सव मनाउन सांस्कृतिक कार्यक्रम समेत गर्न नसक्ने अवस्थामा पुगेको थियो, खल।
अहिले भने बेग्लै रौनक छ। नियमित साँझ-बिहान पाटी र फल्चाहरूमा भजन गुन्जिन्छन्। पर्वहरूमा खिं र बाँसुरीको धुनले बस्ती नै झङ्कृत हुन्छ। यो क्रम शुरू भएको केही वर्ष मात्रै भयो। अझ दाफा र वाद्यवादन सिकाएर अर्को पुस्तालाई पारखी बनाउने काम भने २०७६ सालमा संगीत अनुसन्धाता पुष्पा पलाञ्चोकेको आगमनले सम्भव भयो।
पलाञ्चोके आफू आउँदाको अवस्था स्मरण गर्दै भन्छिन्, “तीन वर्षअघि ‘इकोज इन द भ्याली’ मा तःननी दाफा खलको देवी प्वाँख (नाच) प्रदर्शन गर्ने सोच थियो। कोरोनाले कार्यक्रम हुन सकेन, तर हामीले सिक्ने सिकाउने काम जारी राख्यौं।”
यससँगै उनीहरूले दाफा कसरी जोगाउने भन्ने विषयमा छलफल गर्न थाले। तःननी टोलमा पुरुषभन्दा बढी जनसंख्या महिलाको भएपछि उनीहरूकाे सहभागिताको विषय पनि उठ्यो। तःननी टोलमा ९० परिवार छन्। जसमा चार सयभन्दा बढी जनसंख्या छ।
प्रायः महिला घरायसी काममा मात्र व्यस्त भएको देखेपछि अनुसन्धाता पलाञ्चोकेलाई लाग्यो- केही समय खलःका लागि छुट्याइदिए सिक्न सक्थे। यही क्रममा महिलालाई बाँसुरी र दाफा भजनको प्रशिक्षार्थी बनाउन सफल भइन्।
त्यसपछि भने भिन्तुना र्याली, सकिमना पुन्हि, जात्रा र सामाजिक गतिविधि गर्न खलःलाई बाजा बजाउने मान्छेको कमी नै भएन। “पुष्पाजीले महिलालाई पनि दाफामा सरिक गराउने कुरा गर्नुभयो, नाइँनास्ती भन्ने कुरा थिएन,” खलःका अध्यक्ष महर्जन भन्छन्, “संस्कृतिको पुस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सहभागी गराउन आग्रह गर्यौं।”
अध्यक्ष महर्जनले भने जस्तै मुख्य कुरा संस्कृतिको पुस्तान्तरण नै हो, महिलाले गरून् या पुरुषले। अझ रोचक त पुस्तान्तरणका लागि खलःमा नौदेखि ९० वर्षसम्मका स्थानीय तल्लीन छन्। ८० वर्षसम्मका गुरुले निःशुल्क ज्ञान बाँडिरहेका छन्। तिनैमध्येका ७४ वर्षीय भजन गुरु सिद्धिनारायण महर्जन भन्छन्, “मैले त मेरा बुहारी र नातिनीलाई पनि लिएर आएको छु। मलाई मेरो हजुरबुबाले दिएको ज्ञान मैले पनि उनीहरूलाई दिनुपर्यो नि।”
यसरी गुरुहरूले नै दाफा भजन, खिं, बासुरी सिकाउन विभेद नगरेकोमा पलाञ्चोके दङ्ग छिन्। तीन वर्षदेखि प्रशिक्षण गराइरहेका गुरुले पनि अब भने महिलाले नै खलःको जिम्मेवारी लिएर संस्कृति संरक्षणमा लाग्नुपर्ने बताइरहेका छन्। भजन गुरु महर्जन भन्छन्, “पहिला नाट्यदेवलाई महिलाले हेर्नै हुँदैन भन्थे, तर त्यस्तो होइन रहेछ। अहिले उनीहरूले नै सबै कर्मकाण्डदेखि भजन गाउने लगायतका काम गरेका छन्।”
पुस्तान्तरणको प्रयास
सन् १६६४ मा काठमाडौंको तलेजु मन्दिरमा राजा प्रताप मल्लले पौभाः चित्र बनाएका थिए। त्यसमा तलेजु परिसरको धार्मिक गतिविधिमा राजाले छोराको तौल बराबरको गरगहना र चाँदी तौलिरहेको देखिन्छ। सबै मिलेर दाफा गाएको दृश्य पनि छ। त्यो दृष्यमा महिला भने छैनन्। त्यति वेला महिलालाई सहभागी गराउने चलन नभएको खलःका भजन गुरु महर्जन बताउँछन्।
हजुरबुबाको समयमा समेत दाफामा महिला सहभागी नहुने गरेको उनी सुनाउँछन्। “एक-डेढ सय वर्षअघि त त्यो अवस्था थियो, झन् त्यो समयको त के कुरा भयो र!,” उनी भन्छन्।
अब भने समय उस्तै रहेन। महिलाबाट नै दाफा भजन र अन्य अमूर्त सम्पदाको संरक्षण हुने आश गरिएको छ। अहिले खलःमा १२ जना महिलाले भजन सिकिरहेका छन्। खिं बजाउन समन महर्जन (१८) र मिडेल श्रेष्ठ (२३) ले भजनमा महिलालाई साथ दिन्छन्।
भजन सिकाउँदै आएका गुरुहरू पनि यो संस्कृतिलाई पुस्तान्तरण गर्न आतुर छन्। किनकि, धेरै भजनका राग र सुरहरू बिर्सिसकेका छन्। बाँकी स्मरणमा रहेका राग र सुर नयाँ पुस्तालाई सिकाएर नासिने जोखिम टार्न चाहन्छन्। “महिलाले सक्दो कोशिश गरिरहेका छन्। उनीहरूले यसको सबै जिम्मा लिएको हेर्ने चाहना छ,” ७४ वर्षीय भजन गुरु महर्जन भन्छन्।
गुरुहरूले पनि विभेद नगरी भजन सिकाएकोमा प्रशिक्षार्थी गीता महर्जन खुशी छिन्। पाटी र फल्चाहरूमा पुरुषले मात्र गाएको सुनेकी उनी अहिले भने आफैं गाउन थालेकी छन्। “जब आफूले गाउन थाले, बल्ल यसको पनि अर्थ रहेछ भन्ने थाहा भयो। यसका लागि धेरै मिहिनेत चाहिने रहेछ,” उनी भन्छिन्।
उनी जस्तै २४ वर्षीया ऋद्धि महर्जन दाफा भजन र बाँसुरीको धुनमा रमाइरहेकी छन्। आफूले राम्रो सिकेर अरूलाई पनि सिकाउने उनी बताउँछिन्। “पहिले त खलःको भित्र जानै पाइँदैनथ्यो, अहिले भने पाटीहरूमा दाफा भजन गाउँछौं,” उनी भन्छिन्, “अब त यो कहिल्यै बन्द नहोस्।”
खलःका अध्यक्ष महर्जन पनि अब दाफा संस्कृतिको जगेर्ना महिलाबाटै हुने विश्वास गर्छन्। आफूलाई हजुरबुबा पुस्ताले दिएको दाफा भजनको ज्ञान नयाँ पुस्तालाई बाँडिरहेको बताउँदै उनी भन्छन्, “समय बदलिसकेको छ। ज्ञानले महिला-पुरुष भन्दैन। सबैले दाफा भजन सिकिरहेका छन्, सिक्नु पनि पर्छ।”
जोगाउन नसकिएका ‘अमूर्त’ सम्पदा
दफा भजनको किताबलाई नेवारी भाषामा ‘सपु’ भनिन्छ। तःननी दाफा खलःसँग यस किताबमा पुराना पाँच सयवटा भजन छन्। तर, अहिले गायन सिकाइरहेका गुरुहरूलाई मुश्किलले ८० वटासम्म मात्र.याद छन्, गाउन सक्छन्।
खलःले चार सयभन्दा बढी भजनको गायन शैली गुमाइसकेको छ। त्यसको एक कारण हो, भजनको रागको ज्ञान गुमाउनु। खलः संस्थाका अध्यक्ष महर्जन भन्छन्, “भजनको राग गुम्नुको एउटै कारण भजनलाई निरन्तर गाउन नसक्नु हो।”
पछिल्लो पटक खलःले सामूहिक कार्यक्रम गर्न थालेको ३५ वर्ष भयो। अझ गत पाँच वर्षदेखि संस्था नै दर्ता गराएर खलः सञ्चालन भइरहेको छ भने तीन वर्षदेखि निःशुल्क भजन र वाद्यवाजन सिकाइँदै छ।
यससँगै खलः राग गुमाउनुको कारण राज्य पनि भएको संगीत अनुसन्धाता पलाञ्चोके बताउँछिन्। राणा शासनकालमा आदिवासी समुदायले लुकिछिपी मात्रै गाउन पाउने भएकाले नाशिएको उनको तर्क छ। “अहिले जोगिएका राग भनेको हाम्रो हजुरबुबाहरूले घोकेर याद गरेका राग मात्रै हुन्,” उनी भन्छिन्, “राग रेकर्ड भए पो सुरक्षित रहने हो। त्यस समयमा जोगाउने भन्दा पनि शासकले मास्ने गरेका थिए।”
राग गुमेकोमा खलःका अध्यक्ष महर्जन चिन्तित छन्। अब ती भजनहरू चाहेर पनि कहिल्यै उही रागमा गाउन नसकिने उनी सुनाउँछन्। “अब त कैयौं राग इतिहास भइसके। यसले मलाई सबैभन्दा बढी मर्माहत बनाउँछ,” उनी भन्छन्।
तथापि, उनी बाँकी भजनलाई जोगाउन दत्तचित्त भएर लागेका छन्। केही वर्षअघिसम्म पाटीमा भजन गाउन पर्याप्त मान्छे हुन्थे। अहिले भने सबैजसो मानिस इन्टरनेटकै दुनियाँमा हराइरहेको उनी सुनाउँछन्। यसलाई चिर्दै नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा लाग्न प्रेरित गर्ने गरी खलःले काम गर्ने उनको विश्वास छ।
भजनकीर्तनले मन शान्त बनाउने विश्वास गरिन्छ। त्यससँगै भजनमा सामाजिक सदाचारका विषय पनि समावेश हुने भजन गुरुहरू बताउँछन्। त्यसका लागि पनि भजनबारे नयाँ पुस्तालाई जानकारी दिन आवश्यक भएको उनी सुनाउँछन्। महर्जन भन्छन्, “मेरा हजुरबुबाले बुबालाई, बुबाले मलाई र अब मैले मेरा छोरा, बुहारी, नाति र नातिनीलाई सिकाइरहेको छु, मनै आनन्दित हुन्छ।”