दशैं दाफा
जसरी दशैंका वेला विदेश गएका पनि घर फर्कन्छन्, दाफा खलःमा पनि यस्तै जम्काभेट हुन्छ। यो पारिवारिकभन्दा पनि सामुदायिक मिलन हो।
वर्षभरि नै आफ्नै संस्कृति अनि सौन्दर्यले सजिएको हुन्छ कीर्तिपुर नगर। गुँला, यँलाको वेला अर्थात् साउ-भदौदेखि असोजसम्म भने कीर्तिपुरका फल्चाहरूमा दाफा गीतहरू गुन्जिन्छन्। युवाहरू खिं बजाइरहेका भेटिन्छन्। मोहनि नखःले पनि घरघरमा आफ्नो मिठास छर्छ। नेवाः समुदायभित्र संस्कृति, सङ्गीत र साहित्यको मौलिक परिवार दाफा नै हो।
हरेक चाडपर्वको आफ्नो क्रम हुन्छ, सिलसिला हुन्छ, समुदायका प्रत्येक व्यक्तिको आआफ्नो अभिभारा हुन्छ। दाफा खलःमा घरमा जस्तै मोहनि मनाइन्छ, तर सामूहिक रूपमा। यसमा जेठो व्यक्ति, आमाबा अनि घरका सदस्य नभई मार्गनिर्देश गर्ने गुरु हुन्छन्।
नेवाः समुदायमा परम्परागत रूपमा चलिआएको साङ्गीतिक र सांस्कृतिक परम्परा हो दाफा। कीर्तिपुरका प्रत्येक गल्लीका फल्चामा कुनै न कुनै सामाजिक, साहित्यिक अनि सांस्कृतिक जीवन बाँचिरहेको छ, कलादेखि शब्द अनि सङ्गीतको संयोजनले इतिहासलाई वर्तमानसँग जोडिरहेको छ।
हजुरबा, छोरा अनि नातिका उमेरका व्यक्तिहरू तीनै पुस्ता एकै ठाउँमा बसेर ताल अनि लयमा उनिएका पद्यहरू गाइरहेको दृश्य कीर्तिपुरमा दाफा संस्कृतिले पस्किन्छ। कलाको दृष्टिमा यो वास्तुकलाको संरक्षण गर्ने दीर्घकालीन उपाय हो, सङ्गीतको दृष्टिमा यो मल्लकालीन शास्त्रीय सङ्गीतको निरन्तरता हो, मानवशास्त्रका दृष्टिमा दाफा सामाजिक जीवनको सक्रिय अभिव्यक्ति हो अनि सामान्य दृष्टिमा यो भजनहरू गाएको अनि जात्रापर्व मनाएको हो। दाफा के हो भनेर बुझ्न मोहनि पर्वका वेला हुने गतिविधि निकै सहायक हुन्छ।
जसरी दशैंका वेला विदेश गएका पनि घर फर्कन्छन्, मोहनिका वेला पनि कुछि भ्वेका लागि सबै परिवार जम्मा हुन्छन्। यसरी नै दाफा खलःमा पनि यस्तै जम्काभेट हुन्छ।
जसरी दशैंका वेला विदेश गएका पनि घर फर्कन्छन्, मोहनिका वेला पनि कुछि भ्वेका लागि सबै परिवार जम्मा हुन्छन्। यसरी नै दाफा खलःमा पनि यस्तै जम्काभेट हुन्छ। यो पारिवारिकभन्दा पनि सामुदायिक मिलन हो। यसमा दाफा गीत गाउने, बाजा बजाउन सिकाउने गुरुहरू अनि सिकेका र सिक्दै गरेका शिष्यहरू सबै एकै ठाउँ जुट्छन् अनि वार्षिक सांस्कृतिक क्रियाकलापमा सहभागी हुन्छन्।
दाफा खलःको आखः छें जहाँ सिक्ने सिकाउने गरिन्छ, त्यहाँ मोहनिको शुरूआतमा नलसने भनेर जमरा राखेर गरिन्छ, नवौं दिनमा थापं भनेर बाजागाजा, दाफा सफु सबैलाई मिलाएर पूजा गरेर स्थापित गरिन्छ र चालं भनेर दशौं दिनमा विधिवत् पूजा गरी गुरुको हातबाट एक एक गरी शिष्य सबैलाई सुम्पिएर दाफा गाएर टीका-प्रसाद लिएर सकाइन्छ।
दाफा खलःमा हुने जमघट गुरु र शिष्यको हो, यसमा बाजा अनि गीत सिकाउने गुरुको आशीर्वाद शिष्यहरूले लिने गर्छन्। अलि भिन्न किसिमको यो चलनले दाफालाई अरू चाडपर्वभन्दा मौलिक बनाउँछ।
नेपालको भूबनोटदेखि यसको सांस्कृतिक संरचनामा स्पष्ट देखिने एउटा कुरा भनेको विविधता हो। एउटा सानो करेसाबारीमा मकै, भटमास, काँक्रो अनि घिरौंला मिलेर फले जस्तै नेपालमा विविध भाषा, विविध संस्कृति अनि जीवनशैली फक्रिएका छन्। कीर्तिपुरको दाफा परम्परा यस्तै मौलिक संस्कृतिमध्येको एक हो।
दाफा संस्कृतिका मूर्त आधार फल्चा र आखः छें हुन्। फल्चा दाफा खलः समुदायमा पस्किने र अभ्यास गर्ने ठाउँ हो भने आखः छें सिकाउने ठाउँ।
दाफामा गाइने गीतदेखि बजाइने बाजा अनि हुने हरेक क्रियाकलाप नेपालभाषामा हुन्छ। दाफाका गीतहरू विभिन्न कालखण्डमा नेपालभाषा, संस्कृत अनि मैथिलीमा समेत रचिएका छन्। कीर्तिपुरमा कीर्तिपुरकै परिवेशलाई लिएर रचिएका दाफा गीतहरू छन्। जस्तै, जय जय बागमती दाफा गीतमा कीर्तिपुरबाट देखिने बागमतीको वर्णन गरिएको छ। जगत्पाल विहारस दाफामा चिलन्चो विहारका बारेमा वर्णन गरिएको छ।
दाफा संस्कृतिका मूर्त आधार फल्चा र आखः छें हुन्। फल्चा दाफा खलः समुदायमा पस्किने र अभ्यास गर्ने ठाउँ हो भने आखः छें सिकाउने ठाउँ। दाफा संस्कृति जीवन्त हुनका लागि त पहिले यी दुवै भौतिक पूर्वाधार राम्रो हुनुपर्छ। आखः छें पुरानो विद्यालय नै भयो। दाफा खलः अहिलेसम्म हजारौं वर्ष पहिलेका सिर्जना अहिलेसम्म अभ्यास सहित सुरक्षित हुनुले आखः छेंको उपयोगितालाई स्पष्ट गर्छ।
दाफा आखः छें र फल्चामा निरन्तर छ, यसलाई औपचारिक शिक्षामा जोड्न सकिन्छ। हिजोआज पढाइने विषय, हामीले सिकाउन खोजेको कुराको बीचमा कस्तो अन्तर्सम्बन्ध छ भन्ने केलाएर आखः छेंलाई सामुदायिक शिक्षालयका रूपमा विकास गर्न सकिन्छ। कीर्तिपुरमा तःनि दाफा खलः र गुँदे दापा खलःमा नयाँ व्यक्तिहरूलाई बाँसुरी सिकाइँदै छ। यसमा साना स्कूले बालबालिकादेखि, कलेजका युवायुवती अनि गृहिणीसम्म सहभागी छन्।
~~~ ~~~ ~~~
दाफा संस्कृति नेवाः समुदायमा साहित्य र सङ्गीत सिर्जनाको ऐतिहासिक प्रवाह हो। यसमा धर्म, अध्यात्म अनि त्यससँग सम्बन्धित जीवन दर्शन गाँसिएको छ। दाफाको एउटा आयाम आध्यात्मिक छ, अर्काे सामाजिक। कीर्तिपुरमा नै गाइने गीत गोविन्दका पद्यहरू वैष्णव संस्कृत साहित्यकै उत्कृष्ट रचना हुन्।
दाफा समुदायमा सिक्ने र सहकार्य गर्ने अवसर हो। फल्चा, आखः छें जस्ता सामुदायिक स्थानहरू यसबाट जीवन्त भएका हुन्छन्। दाफाका गीतहरू नबुझिने र पुरानामा मात्र सीमित हुनुपर्छ भन्ने छैन। तःननि आखः छेंबाट बर्सेनि प्रदर्शन हुने इन्द्रायणी देवीको नाच यसको सुन्दर उदाहरण हो। दाफाका आधारमा यहाँ देवीको विभिन्न मुद्रा, भावभंगिमा सहितको नृत्य मोहनिका वेला प्रस्तुत गरिन्छ। अझ पहिले दाफा विकसित भएको समयमा त लालहिराको नृत्य नाटक नै देखाइने ज्येष्ठ नागरिकहरू बताउँछन्।
भाषालाई समृद्ध बनाउने साहित्यले हो अनि समुदायलाई शिक्षाले, साहित्य र शिक्षाको समन्वय राम्ररी भएमा सुन्दर संस्कृतिको निर्माण हुनसक्छ।
भाषालाई समृद्ध बनाउने साहित्यले हो अनि समुदायलाई शिक्षाले, साहित्य र शिक्षाको समन्वय राम्ररी भएमा सुन्दर संस्कृतिको निर्माण हुनसक्छ। कीर्तिपुरमा जीवनको नौ दशक पार गरिसकेका थांबहाः दाफा खलःका गुरु चक्रमान महर्जन भन्छन्, “मैले जीवनमा दाफा दुई पल्ट, धिमे दुई पल्ट, बाँसुरी दुई पल्ट सिकाइसकें, नयाँ पुस्ताले चाहन्छ भने म अझै सिकाउन तयार छु।”
यसरी नै तःननि दाफा खलःका दाफा गुरु सिद्धिनारायण महर्जन लालहिरा प्याखं पुनः लेख्दै छन्। गुँदे दाफा खलःका न्हुजः महर्जन नयाँ पुस्ताको अनुभव राख्छन्, “कीर्तिपुरमा नै भदौमा हुने बाघभैरवको जात्रामा हामी बिहानै बाजा बजाउन जान्छौं। हाम्रो शिक्षामा नै स्थानीय संस्कृति अनि यसका कथा, साहित्य, सङ्गीतका कुरा भएको भए शिक्षाका साथै संस्कृतिको अभ्यास सहज हुने थियो।”
~~~ ~~~ ~~~
एक पुस्ता अघिसम्म आखः छेंमा बाजाहरूका बोल सिक्दा लेखेर सिकाइन्नथ्यो, सुनेको भरमा सिक्नुपर्थ्यो। युवा पुस्ताको प्रवेशसँगै यसमा परिवर्तन हुन थालेको छ। गुँदे दाफा खलःमा खिं बजाउन सिकाउने वाद्यवादक रुमिन महर्जन भन्छन्, “मैले भाइहरूलाई बाजाको बोलको लिखित कपी दिने गरेकाले उनीहरूलाई सिकाइमा सहजता भएको छ।” उनकै शब्दमा पुरानो पुस्तासँग भएको ज्ञान बचाउनु र नयाँ पुस्तामा हस्तान्तरण गर्नु महत्त्वपूर्ण छ।
यस परम्पराको मुटु भनेको दाफा गीत हो। प्रायः यो पुरानो कागजमा पुराना नेपालभाषाका अक्षरहरूमा लेखिएको हुन्छ। कीर्तिपुरकै आखः छेंहरूमा हस्तलिखित ग्रन्थको भण्डार छ। यिनमा हजारौं गीत सङ्कलित छन्, साहित्यका अनेक पदहरू सुरक्षित छन्।
एउटा दाफा खलःमा भएको हस्तलिखित सम्पदा अर्काे दाफा खलःको व्यक्तिले हेर्न, सिक्न र अनुसन्धान गर्न सहज भने छैन। पुराना किताबहरू यतिकै पोकोमा हुँदै बिग्रिएर जाने डर पनि उत्तिकै छ। त्यसैले दाफा संस्कृतिको सुरक्षा र संवर्द्धनका लागि हस्तलिखित ग्रन्थको डिजिटल प्रति बनाउने र यसरी सुरक्षित भएका सम्पदाको अभिलेखीकरण, अनुवाद जस्ता काम गर्नुपर्ने चुनौती छ।
एउटा दाफा खलःमा भएको हस्तलिखित सम्पदा अर्काे दाफा खलःको व्यक्तिले हेर्न, सिक्न र अनुसन्धान गर्न सहज भने छैन। पुराना किताबहरू यतिकै पोकोमा हुँदै बिग्रिएर जाने डर पनि उत्तिकै छ।
सतोरी सेन्टर फर आर्टस् अन्तर्गतको फोक लोक कार्यक्रमले दाफा ब्याङ्कको अवधारणामा तःननि दाफा खलःसँग मिलेर काम गर्दै छ। यस अन्तर्गत लालहिरा प्याखंको पुनर्लेखन, गीत गोविन्दका पाँच गीतको ट्रान्सक्रिप्सन र नेपालीमा अनुवाद, २८ नेपालभाषाका दाफा गीतको ट्रान्सक्रिप्सन र नेपालीमा अनुवाद गर्ने काम भएको छ। साथै, २६ वटा गीतको अडियो रेकर्डिङ गरिएको छ।
दाफा पुकार अन्तर्गत नै दाफा संस्कृतिका विविध आयाममा निरन्तर मिहिनेत गर्दै आएका व्यक्तिबीच संवाद होस् भनेर अनलाइन अन्तरसंवाद पनि भएका छन्। तःननि दाफा खलःका अभियन्ता रवीन्द्र महर्जन भन्छन्, “कीर्तिपुरमा पहिले ३०-३५ दाफा खलः थिए, अहिले मुश्किलले १९-२० वटा छन्। सबैको प्रयास भएको खण्डमा दाफाको नयाँ स्वर्ण युग सम्भव छ।”
यस लक्ष्यका लागि दाफा ब्याङ्क सहकार्यको एउटा डबली हुनसक्छ। दाफाका गीतको, बाजाका बोलको अनलाइन संस्करण उपलब्ध भए भविष्यमा कीर्तिपुर आउँदा दर्शक अनि वाद्यवादक र गायक सबैले मोबाइलमा हेर्दै दाफा गाएको दृश्य हेर्न सकिनेछ।
~~~ ~~~ ~~~
कीर्तिपुरमा पुराना फल्चाहरू नयाँ बन्दै छन्, नयाँ पुस्ता पुराना कुरा सिक्दै नयाँ स्वर थप्दै छ। नयाँ पुस्ताका पनि दुःख छन्, सङ्घर्ष पुरानो पुस्ताले पनि गरेको छ। आखः छेंमा सिकेको दाफा, बाजा फल्चासम्म आइपुग्दा कति मीठा नमीठा अनुभूति मनले सँगाल्न पुग्छ, कीर्तिपुरका गल्लीमा यस्तै भावना अनि साधनाका स्वर पनि गुञ्जायमान हुनसक्छ। दाफामा केवल मनोरञ्जन छैन, यो सामूहिक साधना जति हो, त्यति नै आध्यात्मिक नियात्रा पनि।
महिला, बालबालिका अनि युवा पुस्ता सिक्न तयार छन्। सिकाउनका लागि नौ दशक जीवनको अनुभव बटुलेका गुरुको उत्साह पनि छ। यसमा कीर्तिपुर नगरपालिकाले सबै शिक्षालय र विद्यालयमा थोरै व्यवस्था मिलाइदिएमा किताबका गीतहरू फल्चामा सस्वर निरन्तर गुन्जिनेछन्।