जलेश्वरमा चाँडै कलेज सञ्चालन गर्ने मणिपालको आश्वासन
मणिपाल एजुकेशन तथा मेडिकल ग्रुप (नेपाल) प्रालिले महोत्तरीको जलेश्वर नगरपालिका–८ मा चाँडै भवन निर्माण गरी कलेज सञ्चालन गर्ने बताएको छ।
नगरपालिकाको कार्यालयलाई पत्र लेखी जग्गाको चारैतिर तत्काल पर्खाल लगाउने र आवश्यक ठाउँमा वृक्षारोपण गर्ने प्रतिवद्धता जनाएको मेयर सुरेश साह सोनारले बताए। उनले भने, “पत्रबारे आइतबार नगरपालिका कार्यालयमा समीक्षा गरेर कलेज निर्माणका लागि विश्वासको वातावरण निर्माण गर्न मणिपालका प्रतिनिधिसँग थप छलफल गर्नेछौं।”
मणिपालले इन्जिनीयरिङ कलेज बनाउन भन्दै जलेश्वर नगरपालिकाको तत्कालीन ७ र ८ नम्बर वडाका स्थानीय किसानहरूसँग प्रति कट्ठा १० हजार रुपैयाँमा ३० बिघा जग्गा खरिद गरेको थियो। २५ वर्षअघि नगरपालिकाबाट नक्सा पास गराई भवन निर्माण गर्न जग पनि खनेको थियो। तर, बाढीको कारण देखाउँदै काम बढाएको थिएन।
लामो समयसम्म पनि पुनः काम अघि नबढाएपछि नगरपालिकाले साउन पहिलो साता इन्जिनीयरिङ कलेज सञ्चालनसँग सम्बिन्धित विषयका लागि मणिपाललाई पत्राचार गरेको थियो।
“मणिपाललाई कलेज सञ्चालनको विषय तथा भारतीय कम्पनीको लगानी रहेकाले परराष्ट्र मन्त्रालय र भारतीय दूतावासलाई आवश्यक सहयोगका निम्ति पत्राचार गरेका थियौं,” मेयर सोनारले भने, “मणिपालले विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट शैक्षिक अनुमति प्राप्त हुनासाथ थप पूर्वाधार निर्माण गर्ने आश्वासन दिएकोे छ।”