बीपी प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई प्रतिष्ठानको रजिस्ट्रार नियुक्त गरेको मन्त्रालय स्रोतले जनाएको छ। प्रतिष्ठानमा अनियमितता गरेको भन्दै आन्दोलन भएपछि यसअघिका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका थिए।
डा. रेग्मीलाई २०७७ साउन ४ गते तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चार वर्षका लागि नियुक्त गरेका थिए। तर, प्रतिष्ठानमा कर्मचारी र प्राध्यापक आन्दोलनमा उत्रिएपछि डा.रेग्मीले २०७८ भदौ ११ गते राजीनामा दिएका थिए। त्यसयता प्रतिष्ठानमा रजिस्ट्रार पद रिक्त रहेको थियो।
अहिले रजिस्ट्रार नियुक्त संग्रौला कांग्रेस निकट छन्। उनी कांग्रेस नेत्री डिला संग्रौलाका श्रीमान् हुन्।
त्यस्तै, सिनेट सदस्यमा डा. ज्ञानेन्द्र मल्ल र स्मृति कार्कीलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यससँगै अस्पताल निर्देशकमा डा. जगत प्रसादलाई नियुक्त गरिएको छ।