जनकपुर चुरोट कारखाना सञ्चालन गर्न संघ र प्रदेशबीच मतभेद
जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने विषयमा संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मन्त्रीको मत बाझिएको छ।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले साउन ११ गते स्थलगत अवलोकन गरी कारखाना पुनः सञ्चालन गर्नुपर्ने बताएका थिए। तर, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पुनःसञ्चालन असम्भव रहेको प्रतिक्रिया दिएका छन्। दुवै मन्त्री नेपाली कांग्रेसका नेता हुन्।
मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने भएकाले वैकल्पिक व्यवस्था गरेर भए पनि कारखाना सञ्चालन गर्नुपर्ने मन्त्री बडूले धारणा राखेका थिए। उनले रुग्ण उद्योग पुनःसञ्चालनमा ल्याउने, क्षमता वृद्धि गरी पूर्ण क्षमतामा चलाउने तथा नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सहुलियत दिएर आकर्षित गर्ने बताएका थिए। जसका लागि निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिने योजना रहेको मन्त्री बडूको भनाइ छ।
प्रदेश मन्त्री यादवले चुरोट सेवनले घातक रोगहरू लाग्ने भएकाले सरकारले यस्ता उद्योग सञ्चालन गर्न नहुने बताएका छन्। केही व्यक्तिहरूले आफ्नो जागीर सुरक्षित रहोस् भन्ने इच्छा राखेर कारखाना पुनः चल्छ भन्दै हिंडेको पनि आरोप लगाएका छन्। मन्त्री यादवले कारखानाको जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गरेर त्यसमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण गर्न दिनुपर्ने माग समेत राखेका छन्। यसका लागि प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाएको उनले स्मरण गराएका छन्।
मधेश प्रदेश सरकारले कारखानालाई मधेश भवन नामकरण गरिसकेको छ। कारखानाको भवनमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारका कार्यालय र मन्त्री निवास राखिएका छन्।
मधेशमै दुईमत
मधेश प्रदेश सरकारले जनकपुर चुरोट कारखानाको जग्गा आफ्नो मातहत ल्याउने प्रयास गरिरहेको छ। जसका लागि मुख्यमन्त्री लालबाबु राउतको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कारखानाको भवन र जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरिसकेको छ।
मधेश सरकारले सरकारको भौतिक संरचना निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न गठन गरेको समितिले पनि कारखानाको जग्गामा स्थायी संरचना निर्माणका लागि सिफारिश गरेको छ।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) भने चुरोट कारखाना परिसरलाई प्रदेश सरकारलाई हस्तान्तरण गर्न नहुने पक्षमा रहेको छ। तमलोपाका अध्यक्ष अध्यक्ष वृषेशचन्द्र लालले बुधबार विज्ञप्ति जारी गरी यस क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा राख्नुपर्ने अडान राखेका छन्। यस्तै, साना तथा मझौला उद्योगहरूको केन्द्रका रूपमा विकास गरिनुपर्ने, यसो गरे यस क्षेत्रमा उद्योग स्थापना गर्ने र उत्पादनको क्षेत्रमा काम गर्ने उद्यमीहरू प्रोत्साहित हुने उनको जिकिर छ।
लालले जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको उद्योग मन्त्री रामनारायण मिश्रले नेपालको औद्योगिकीकरणका लागि गरेका प्रयासमध्ये जनकपुर चुरोट कारखाना एक उदाहरण रहेकाले त्यसलाई बचाइराख्नुपर्ने माग समेत गरेका छन्।
कस्तो छ उद्योगको अवस्था?
जनकपुर चुरोट कारखाना लिमिटेड धनुषा जिल्लाको सदरमुकाम जनकपुरधाममा रहेको छ। तत्कालीन सोभियत संघको प्राविधिक सहयोगमा स्थापित यो कारखानाको उद्घाटन २०२१ पुस २९ गते राजा महेन्द्रले गरेका थिए। शुरूमा कारखानाबाट वार्षिक दुई अर्ब खिल्ली चुरोटको उत्पादन हुन्थ्यो। यहाँ ३६६ जनाले रोजगारी पाएका थिए।
कारखाना ३३ बिघा नौ कट्ठा क्षेत्रफलमा फैलिएको छ। कारखाना परिसरलाई तीन भागमा छुट्याइएको छ। कारखानाको भवन आठ बिघामा रहेको छ। २० बिघामा आवास र पाँच बिघामा गोदाम भवन छन्। कारखाना सञ्चालनमा रहेको समयमा कर्मचारी आवासका लागि २५ वटा भवन निर्माण गरिएका थिए। भवनमा १०० भन्दा बढी कोठा छन्।
कारखानामा देउराली, याक र गैंडा गरी तीन ब्रान्डका चुरोट उत्पादन हुन्थे। उत्पादन भने २०६८ चैतबाट नै बन्द भएको थियो। मन्त्रिपरिषद्ले २०७० असार २० गते सञ्चालक समिति विघटन गरी कारखाना बन्द गर्ने निर्णय गर्ने, कर्मचारीलाई अवकाश दिने निर्णय गरेको थियो। त्यस वेला ७५८ जना कर्मचारी थिए। अहिले तीन जना कर्मचारी छन्। उनीहरू पनि कहिलेकाहीं मात्र आउने गरेको जानकारहरू बताउँछन्।
कारखानाका मशिनहरूमा खिया लागेको छ। २०६६ सालमा कारखानाको उपप्रबन्धक पदबाट अवकाश भएका सुनील मिश्र कारखाना लामो समयदेखि बन्द रहेकाले पुरानै मशिनबाट पुनरुत्पादन गर्न नसकिने बताउँछन्। “फलामको समेत समयसीमा हुन्छ, खिया लाग्छ,” उनी भन्छन्, “नयाँ मशिन थपेर चलाउन सकिन्छ, तर पुरानै मशिनलाई फेरि सञ्चालनमा ल्याउने हो भने त्यो सरकारी रकमको दुरुपयोग बाहेक केही हुन सक्दैन।”
कारखानामा करीब २० वर्ष काम गरेका इन्जिनीयर ललित रौनियार पनि पुरानो मशिनबाट कारखाना पुनःसञ्चालन गर्न नसकिने बताउँछन्। “मशिन ३० देखि ४० वर्ष पुराना छन्। यिनलाई मर्मत गरेर चलाउन सकिंदैन,” रौनियार भन्छन्, “नयाँ मशिन थपेर नसकिने भने होइन। तर, यथास्थितिमै भने चलाउन सकिंदैन।