किरातकालदेखिको कानूनी इतिहास पुस्तकमा
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीेको पुस्तक हाम्रो कानूनी इतिहासको नालीबेलीः किरातकालदेखि २०७८ सालसम्म प्रकाशित भएको छ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सर्वोच्चका पूर्व न्यायाधीश टोपबहादुर सिंहले साउन ८ गते काठमाडौंमा उक्त पुस्तक लोकार्पण गरेका हुन्। भण्डारी, सिंह र सर्वोच्चका पूर्व न्यायाधीश ज्ञाइन्द्रबहादुर श्रेष्ठले लोकार्पण कार्यक्रममा मन्तव्य राख्दै पुस्तक सङ्ग्रहणीय रहेको धारणा राखे।
नेपालको कानूनी इतिहासका जानकार अधिवक्ता माधवकुमार बस्नेतले पुस्तकमाथिको समीक्षा मन्तव्य राखेका थिए। पुस्तक प्रकाशन पैरवी प्रकाशनले गरेको हो।
राष्ट्रिय मानव अधिकार आयोगको पूर्व सदस्य समेत रहेका लेखक वस्तीले पुस्तकमा कानूनीसँगै इतिहासका अन्य पक्ष समेत केलाइएको जानकारी दिए।
पुस्तकमा के छ?
कुल पृष्ठ १०५६ रहेको पुस्तकमा निम्न विषय समेटिएका छन्।
– नेपालको चिनारी– भूगोल, राष्ट्रिय झण्डा र राष्ट्रगान
– कानूनी प्रणालीहरू र हाम्रो कानूनी प्रणालीको विशेषता
– किरातकाल, लिच्छविकाल र मल्लकालका कानूनी व्यवस्था
– न्यायविकासिनीको परिचय र यसमा समाविष्ट विषय
– शाहकाल र राणाकालका कानूनी प्रबन्ध
– प्राचीन दण्ड व्यवस्था, कानूनी शब्दहरू, राणाकालीन अदालत, अड्डा र छापहरू
– विसं १९१० सालको मुलुकी ऐन
– सती प्रथा, करिया (दास) प्रथा, मृत्युदण्ड र जार काट्न पाउने व्यवस्थाको क्रमिक नियन्त्रण र अन्त्य
– सात जना विदेशी विद्वान्हरूले आफ्नो पुस्तकमा लेखेका नेपालका कानूनी व्यवस्थाको विवरण
– प्रधान न्यायालय, हरिप्रसाद प्रधान अदालत, न्याय परिषद्, सरकारी वकील, सर्वोच्च अदालत र २०७८ सालसम्मका विकास तथा घटनाक्रम
– नेपाल बार एशोसिएशन, नेपाल कानून व्यवसायी परिषद्, नोटरी काउन्सिल, विधायन कानून शिक्षा, कानूनी भाषा र साहित्य
– न्यायपालिका सुधारका लागि गठित आयोग, समिति र कार्यदल तथा तिनका सिफारिश
– पुराना नाप तौलका मापदण्डहरू
– सातवटै संविधान निर्माणको पृष्ठभूमि
– नागरिकता समस्या अध्ययन आयोगहरू
– पशुपतिनाथ सम्बन्धी सनद सवालहरू
– पच्चीस मिथकहरू
– सत्तरी वटा ऐतिहासिक अभिलेखहरू