राजा महेन्द्रको निधनले रोकिएको संवैधानिक सुधार
‘पञ्चायत’ भन्ने शब्द राखिदेऊ अरू जे जस्तो संवैधानिक सुधार गर्नु पर्दछ गर भनी राजा महेन्द्रले सुवर्णशमशेरलाई भनेको तर सुवर्णशमशेर औषधोपचारका लागि विदेश जान परेकाले काम रोकिएको उल्लेख छ।
केही पुस्तकहरूमा तत्कालीन राजा महेन्द्रद्वारा २०२५ सालदेखि नै यस संविधानमा सुधार गर्न चाहेको कुरा उल्लेख भएको छ। आफ्नै अध्यक्षतामा पूर्णप्रसाद ब्राह्मण सदस्य र सुन्दरप्रसाद शाह सदस्य सचिव भएको समिति गठन भएको नवराज सुवेदीले आफ्ना पुस्तकमा लेखेका छन्।
अब प्रजातन्त्र दिने वेला भयो भनेर समिति गठन भए पनि बहुदल पक्षमा पूर्णप्रसाद ब्राह्मण नहुँदा सामूहिक छलफलमा राजाले ‘यो नासो जनतालाई फिर्ता गर्न ढिला भइसक्यो’ भन्दै मस्यौदा छिटो सक्न भनेको कुरा पुस्तकमा उल्लेख छ। (नवराज सुवेदी‚ इतिहासको एक कालखण्ड‚ जगदम्बा प्रकाशन-८)
अब प्रजातन्त्र दिने वेला भयो भनेर समिति गठन भए पनि बहुदल पक्षमा पूर्णप्रसाद ब्राह्मण नहुँदा सामूहिक छलफलमा राजाले ‘यो नासो जनतालाई फिर्ता गर्न ढिला भइसक्यो’ भन्दै मस्यौदा छिटो सक्न भनेको कुरा पुस्तकमा उल्लेख छ।
२०२८ सालमा कानून तथा न्यायमन्त्री रहेका शम्भुप्रसाद ज्ञवालीद्वारा पनि आफ्नो पुस्तकमा ‘बढी फराकिलो र प्रजातान्त्रिक बनाउँदै लगी जनताको नासो जनतालाई बुझाउन चाही संविधान मस्यौदा गर्न आफूलाई तत्कालीन राजा महेन्द्रले अह्राएको कुरा लेखिएको छ। २०४१ साल फागुन ७ गतेको साप्ताहिक राजधानीमा प्रकाशित लेख नै उनको पुस्तकमा समावेश छ।
आफूले पहिले गरेको मस्यौदामा, ‘अहिले नै यति खुकुलो गर्ने वेला भएको छैन’ भनिएको र दोस्रो मस्यौदामा, ‘अलि खुकुलो गर’ भनिएको पनि पुस्तकमा लेखिएको छ (शम्भुप्रसाद‚ ज्ञवाली व्यक्ति र विचार‚ जगदम्बा प्रकाशन-१६९)।
सूर्यप्रसाद उपाध्याय स्मरणार्थ प्रकाशित पुस्तकमा (सं. महामुनीश्वर आचार्य‚ प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक व्यक्तित्व सूर्यप्रसाद उपाध्याय) समाविष्ट ७७ लेखमध्ये कृष्णप्रसाद घिमिरे र मदन रेग्मीका लेखमा पनि बहुदलीय व्यवस्था दिन तत्कालीन राजा महेन्द्रले सूर्यप्रसाद उपाध्यायलाई ‘ड्राफ्ट’ दिन भनिएको उल्लेख छ। सूर्यप्रसाद उपाध्यायको आग्रहमा ‘सबै अटाउने खालको’ मस्यौदा (ड्राफ्ट) आफूले गरी उपाध्याय मार्फत राजामा पेश भएको कृष्णप्रसाद घिमिरेले लेखेका छन्।
आफूले मस्यौदा गर्नुपूर्व शम्भुप्रसाद ज्ञवालीको मस्यौदा रहेको पनि त्यही लेखमा उल्लेख छ (कृष्णप्रसाद घिमिरे‚ प्रजातान्त्रिक आन्दोलनका...-७२)। यसै गरी मदन रेग्मीले आफ्ना पिता डा. डिल्लीरमण रेग्मीसँग राजा महेन्द्रले ‘मलाई प्रजातन्त्रको हत्यारा भन्दछन्। त्यो पापबाट मुक्त हुन बहुदलीय व्यवस्था दिन्छु’ भनिएको प्रसङ्ग उल्लेख छ (मदन रेग्मी, प्रजातान्त्रिक आन्दोलनका...-२१३)।
त्यस वेलाका मन्त्री शम्भुप्रसाद ज्ञवालीले २०२८ साल माघ पहिलो वा दोस्रो हप्ता भरतपुर दियालो बंगलामा बसेको मन्त्रिमण्डलको बैठकमा प्रस्तावित मस्यौदामा छलफल भएको र सहमति कायम हुन नसक्दा ‘चाँडै (अर्को) बैठक बोलाई टुङ्गो लगाउने हुकुम भएको’ पनि लेखेका छन्।
सुवर्णशमशेरले आफूलाई भनेको भन्दै सुन्दरराज चालिसेले २०४१ सालको राष्ट्रिय पुनर्जागरण, पूर्णाङ्क १०, पृष्ठ १० को एउटा लेख उद्धृत गरिएको छ। यसमा ‘पञ्चायत’ भन्ने शब्द राखिदेऊ, अरू जे जस्तो संवैधानिक सुधार गर्नुपर्छ गर भनी राजा महेन्द्रले सुवर्णशमशेरलाई भनेको तर सुवर्णशमशेर औषधोपचारका लागि विदेश जान परेकाले काम रोकिएको उल्लेख छ (डा. सूर्यमणि अधिकारी‚ नेपाली कांग्रेसको इतिहास-२०९)।
तत्कालीन प्रधानमन्त्रीले आफूलाई भरतपुर बोलाइएको र त्यहाँ संवैधानिक सुधारबारे छलफल भएको पुष्टि गरेका छन्। उनले सूर्यप्रसाद उपाध्याय स्मृतिग्रन्थमा लेखेका छन्ः राजा महेन्द्रको निधन नभएको भए चितवनबाट फर्केर प्रजातान्त्रीकरणको प्रक्रिया शुरू भइहाल्नेवाला थियो। राजाको निधनले त्यो प्रक्रिया त्यहीं टुङ्गियो (कीर्तिनिधि विष्ट‚ प्रजातान्त्रिक आन्दोलनका...-५४)
२०२८ साल माघ १७ गते महेन्द्रको अकस्मात् निधन भएकाले संवैधानिक सुधार नभएको कुरामा सबै लेखकको मतैक्य छ। २०२५ सालदेखि सर्वशक्तिमान् राजाले ‘आँटेको’ संवैधानिक सुधार किन भएन, कतै खुल्दैन। र, मस्यौदाहरू पनि फेला पर्न सकेन। नवराज सुवेदी, शम्भुप्रसाद ज्ञवाली र कृष्णप्रसाद घिमिरेका तीन मस्यौदा हुँदाहुँदै पनि २०२५ देखि २०२८ सालसम्म त्यसै बित्यो।
राजा वीरेन्द्रले स्वविवेकले केवल एउटा निर्णय गरेको– त्यो हो जनमत सङ्ग्रहको घोषणा पनि भनी लेखिएको छ। जे होस्, संवैधानिक परिवर्तनका लागि २०४६ सालको आन्दोलन नै कुर्नुपर्यो।
२०२५ साल कात्तिक २४ गते बीपी कोइराला र गणेशमान सिंह, (डा. सूर्यमणि अधिकारी/नेपाली कांग्रेसको इतिहास/२१२) र २०२६ साल चैत १४ गते कृष्णप्रसाद भट्टराई (डा.राजेश गौतम‚ कर्मयोगी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई-७४) सुन्दरीजल कारागारबाट छुटे। स्वदेश र विदेशबाट प्रजातान्त्रीकरणका लागि दबाब बढ्यो।
महेन्द्रपछि राजा भएका वीरेन्द्रका विषयमा राजा महेन्द्रले ‘साह्रै सोझो छ, कसरी राजकाज गर्छ’ आफूलाई भनेको तत्कालीन मन्त्री नवराज सुवेदीले हङकङको एक होटलमा राति दुई बजेसम्म ‘ड्रिंक’ गरेर बस्दा भनेको लेखेका छन् (नवराज सुवेदी, इतिहासको एक कालखण्ड‚ जगदम्बा प्रकाशन‚ पृष्ठ-१९–२०)।
त्यहीं ‘ज्ञानेन्द्र चलाख र चतुर छ, दाजुसँग कति मिल्ला’ पनि भनिएको लेखिएको छ। उनले आफ्नो पुस्तकमा रानी साह्रै सक्रिय, राजाले रानीको कुरा काट्न नसक्ने, रानी, दरबारका सचिव र एडीसीहरूले शासन गर्थे पनि भनिएको छ (पृष्ठ ३९)। राजा वीरेन्द्रले स्वविवेकले केवल एउटा निर्णय गरेको– त्यो हो जनमत सङ्ग्रहको घोषणा पनि भनी लेखिएको छ। जे होस्, संवैधानिक परिवर्तनका लागि २०४६ सालको आन्दोलन नै कुर्नुपर्यो।
(सर्वाेच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीकाे साउन ८ गते सार्वजनिक हुने पुस्तक हाम्रो कानूनी इतिहासको नालीबेलीबाट)