नेपालमा ओमिक्रोनका ६ भेरियन्ट, नयाँ झन् सङ्क्रामक
नेपालमा ओमिक्रोनका ६ वटा भेरियन्ट पुष्टि भएका छन् भने नयाँ पुष्टि भएको भेरियन्ट झन् सङ्क्रामक रहेको चिकित्सकले बताएका छन्।
कोभिड-१९ महामारी सेलाउँदै गएसँगै ढुक्कसँग हिंडडुल गर्न तथा भीडभाडमा मास्क विना सहभागिता बढ्न थालेको छ। तर, कोरोना सङ्क्रमणको दर भने पुनः उकालो लागेको छ। नयाँ पुष्टि भएको भेरियन्ट झन् सङ्क्रामक भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।
एक साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीए.५’ नेपालमा भेटिएको पुष्टि गरेसँगै नेपालमा कोरोनाको अर्को लहर शुरू हुने हो कि भन्ने आशङ्का पनि गर्न थालिएको छ।
सङ्क्रामक रोग विशेषज्ञ तथा विश्वभरका वैज्ञानिकहरूले सतर्क रहन आग्रह गर्नुको अर्को कारण हो, नयाँ-नयाँ भेरियन्टको उत्पन्न हुनु। धुलिखेल अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ तथा सिक्वेन्सिङ ल्याबका प्रमुख डा. राजीव श्रेष्ठले हालसम्म नेपालमा ६ किसिमका भेरियन्ट देखा परिसकेको बताए।
उनका अनुसार, ओमिक्रोन ‘बीए.२’, ‘बीए.५’, ‘बीए.२.३८’, ‘बीए.२.७३’, ‘बीए.२.७५’ र ‘बीएफ.१’ भेरियन्टका भाइरस नेपालमा भित्रिसकेका छन्। “हाम्रो प्रयोगशालामा भेटिएका यी भेरियन्टबारे नेपाल सरकारलाई केही दिनअघि नै जानकारी दिइसकेका छौं,” डा. श्रेष्ठले भने।
केही महीनाअघि एक प्रतिशतभन्दा कम रहेको कोरोना सङ्क्रमण हाल बढेर १२.१८ प्रतिशत पुगेको छ। सङ्क्रमित सङ्ख्या केलाउँदा यी भेरियन्टहरू धेरैमा फैलिन सक्ने देखिएको चिकित्सकहरू बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि ओमिक्रोनका यी सबै भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ।
अहिले देखिएको ‘बीए.५’ भेरियन्ट बढी सङ्क्रामक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। यो भेरियन्टबाट विश्वभर ५७ लाख मानिस सङ्क्रमित भइसकेका छन्। हालको ५० प्रतिशत कोरोना सङ्क्रमण यही भेरियन्टबाट भएको जिवाणु वैज्ञानिकहरूको भनाइ छ।
सबैभन्दा बढी फ्रान्स, अमेरिका, इटाली, जर्मनी र ब्राजिलमा यसको सङ्क्रमण देखिएको छ। त्यस्तै, जापान, अस्ट्रेलिया र चीनमा कोरोना सङ्क्रमण बढ्दै गएको छ भने पूर्वी क्षेत्रका इराक र ट्युनिसिया ‘हटस्पट’ का रूपमा देखिएका छन्। दक्षिणएशियामा इन्डोनेशिया र भारतमा पनि यो भेरियन्ट फैलिन थालेको छ। ‘बीए.५’ भेरियन्ट हाल ११० देशमा देखा परिसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।
यो भेरियन्टको सङ्क्रमण भारतमा पनि बढ्दै गएको छ। जसले गर्दा खुला सिमानाका कारण विगतमा जस्तै भारतबाट नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने विज्ञहरूले बताएका छन्। अझै पनि सतर्कता नअपनाए नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने डा. अधिकारीले बताए।
त्यस्तै, भारतमा पहिलो पटक देखा परेको ओमिक्रोन ‘बीए.२.७५’ भेरियन्ट पनि उत्तिकै सङ्क्रामक रहेको वैज्ञानिकहरूको भनाइ छ। भारतका १० प्रान्तमा यो भेरियन्ट देखा परिसकेको छ। त्यस्तै, जापान, जर्मनी, बेलायत, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायत १४ देशमा पनि देखिएको छ।
यो भेरियन्ट नेपालमा पनि पुष्टि भइसकेको डा. श्रेष्ठले बताए। “यी सबै भेरियन्टहरूले हामीले लगाएको कोरोना विरुद्धको खोपको प्रभावकारितालाई घटाउँछन्। तर, कति मात्रामा घटाउँछन् भन्नेबारे अझै पनि अनुसन्धान भइरहेको छ,” उनले भने, “केही महीनापछि मात्र यस विषयमा थाहा पाउन सकिन्छ।”
डब्लूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनका अनुसार, ‘बीए.२.७५’ रोगसँग लड्न सक्ने प्रतिरक्षाको क्षमतालाई हराउन सक्ने गरी उत्परिवर्तन भएको छ। अन्य भेरियन्टबाट नै यो भेरियन्ट उत्पन्न भएको बताउँदै उनले ‘बीए.२.७५’ भेरियन्टले मानिसमा गम्भीर सङ्क्रमण गर्न सक्ने बताएका छन्।
पछिल्लो पटक भने ‘बीए.२.७५’ भन्दा पनि ओमिक्रोन ‘बीएफ.१’ अझै बढी सङ्क्रामक देखिएको डा. श्रेष्ठले बताए। यसले खोप लगाएका मानिसलाई सिकिस्त नपार्ने उनको भनाइ छ। उनका अनुसार, कोरोना विरुद्धको खोप नलगाएका व्यक्तिलाई भने यसले गम्भीर असर पार्न सक्नेछ।
डेल्टा भेरियन्टले जसरी ओमिक्रोनका भेरियन्टहरूले अस्पतालमा पुर्याउने तथा अक्सिजनको मात्रा कम गराउने देखिएको छैन। तर, कोरोना खोप नलगाएका व्यक्तिमा भने गम्भीर सङ्क्रमण वा असर गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ।
नयाँ भेरियन्टको सङ्क्रमण भएका व्यक्तिमा विभिन्न लक्षण देखिन थालेका छन्। “बिरामीमा ज्वरो आउने, सिँगान बग्ने, गन्ध थाहा नहुने जस्ता लक्षण देखिएका छन्,” डा. श्रेष्ठले भने, “यी सङ्केतहरू देखिए कोरोना सङ्क्रमण भएको बुझ्नुपर्छ।” एक पटक कोरोना सङ्क्रमण भइसकेका वा ओमिक्रोन भाइरसबाट सङ्क्रमित भए पनि पुनः कोरोना सङ्क्रमण हुन सक्ने उनको भनाइ छ।
नयाँ भेरियन्टको सङ्क्रमणबाट बच्न मास्क लगाएर हिंड्ने, भीडभाडमा नजाने तथा सरकारले उपलब्ध गराएको बुस्टर डोज लगाउनुपर्ने डा. श्रेष्ठको सुझाव छ। यससँगै सार्वजनिक ठाउँ तथा यातायातमा भीड नगर्ने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने उनको भनाइ छ।