एसपीपीबारे पत्र लेख्न अझै आनाकानी, परराष्ट्र भन्छ- अध्ययन गरिरहेका छौं
मन्त्रिपरिषद् बैठकले निर्णय गरेको एक महीना बितिसक्दा पनि सरकारले अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र अमेरिकालाई पठाएको छैन।
नेपालले एसपीपी अन्तर्गत अमेरिकाको युटा न्याशनल गार्डसँग सहकार्य गरेको भन्दै चर्को विरोध भएपछि असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संयुक्त राज्य अमेरिकाको एसपीपी अघि नबढाउने’ निर्णय गरेको थियो।
असार १३ गते गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभा बैठकमा बोल्दै नेपालले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाइसकेको बताएका थिए। मन्त्रिपरिषद्को निर्णय र गृहमन्त्रीको जवाफसँगै एसपीपीको विरोध मत्थर हुँदै गएको थियो।
तर, सरकारले अझैसम्म पनि एसपीपीमा सहभागी नहुने पत्र पठाएको छैन। परराष्ट्र मन्त्रालयले अझै पनि अमेरिकालाई पत्र लेख्ने कि नलेख्ने भन्ने निधो गरिसकेको छैन।
आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, “यसअघि पनि सहयोग आइरहेको छ। विपद् सहयोग, पूर्वाधार लगायत विषय छन्। आइरहेका सहयोग नरोकिऊन भन्ने हाम्रो कन्सर्न हो, त्यही अनुसार अध्ययन र छलफलमा छौं।”
यसअघि असार २० गते पनि प्रवक्ता लम्सालले सबै कुरा राम्रोसँग अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकाले अध्ययन गर्ने क्रम जारी रहेको बताएकी थिइन्।
“मन्त्रिपरिषद्ले निर्णय गरिसकेको विषयमा परराष्ट्रले अध्ययन गरेर बस्ने होइन, उसको काम कार्यान्वयन गर्ने हो,” पूर्व परराष्ट्र मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा बैठकमा प्रश्न गरे, “एसपीपीमा अगाडि नबढाउने भनेर सरकारले अहिलेसम्म पत्र किन नलेखेको?”
एसपीपीबारे विस्तृत रिपोर्ट: