फोटोग्राफर विनाको त्यो फोटो प्रदर्शनी
भिसा नपाएर शाहीदुल आलम उपस्थित हुन नपाए पनि कोलकाताको इमामी आर्ट ग्यालरीमा सजिएका तस्वीरमा उनको झझल्को आइरहन्छ।
सन् १९९७ मा मित्र राजभाइ सुवाल र म काँकरभिट्टा हुँदै भारतको सिलगुडीतिर लागेका थियौं। त्यहाँबाट च्यांघ्राबाँध हुँदै बाङ्लादेशको सिमानाको गाउँ बुरिमारीबाट रंगून भएर ढाका पुगेका थियौं।
त्यति वेला ब्रिटिश काउन्सिलको सहयोगमा द्रिक पिक्चर्सले फोटोग्राफीको ‘ट्रेनर्स ट्रेनिङ’ आयोजना गरेको थियो। जहाँ प्रोफेसर डनिअल मेदोजले फोटोग्राफीको तालीम कसरी दिने भनेर सिकाएका थिए।
त्यसका लागि निमन्त्रणा गरेका थिए, बाङ्लादेशका प्रख्यात फोटोग्राफर शाहिदुल आलमले।
त्यसको ठीक २५ वर्षपछि उनै फोटोग्राफरका फोटो पछ्याउन १८ जुनमा भारतको कोलकाता पुग्यौं। जहाँ कोलकाता सेन्टर फर आर्टस्थित इमामी आर्ट ग्यालरीमा आलमका तस्वीर सजाइएका थिए। उनी भने थिएनन्।
उनलाई भारत सरकारले भिसा दिएको थिएन। जसले गर्दा उनी आफ्नै फोटो प्रदर्शनीको उद्घाटन समारोहमा उपस्थित हुन पाएनन्।
पछिल्लो २५ वर्षमा उनको जीवनयात्रा नै फेरिएको छ। कैयौं आरोह-अवरोह झेल्नुपरेको छ।
सन् १९८४ मा बेलायतबाट रसायनशास्त्रमा विद्यावारिधि गरेपछि उनी बाङ्लादेश फर्किए। त्यस वेलाको बाङ्लादेशको सैनिक सरकार विरुद्ध जनताले शुरू गरेको प्रजातान्त्रिक आन्दोलनको उनले फोटोग्राफी गरेर सक्रिय फोटोग्राफर, लेखक र अभियन्ताका रूपमा आफूलाई स्थापित गरे।
उनी सरकारका गलत क्रियाकलापको विरोध गर्न थाले। जसले गर्दा सरकारको आलोचना गरेको आरोपमा सन् २०१८ मा पक्राउ परे। उनले १०७ दिन हिरासतमा बस्नुपरेको थियो।
उनको रिहाइका लागि नेपालबाट पनि आवाज उठेको थियो। उनका लागि संसारभर नै अन्तर्राष्ट्रिय अभियानकै रूपमा ठूलो आवाज उठेको थियो। उनै आलमको फोटो प्रदर्शनी हेर्न कोलकत्ता पुगेका थियौं। तर, उनको उपस्थिति नहुँदा खल्लो महसूस त हुने नै भयो।
प्रख्यात फोटोग्राफर, लेखक, टाइम्स म्यागजिनबाट सन् २०१८ मा ‘पर्सन अफ द इयर’ बाट विभूषित आलमले बाङ्लादेश सरकारबाट पनि राष्ट्रिय पुरस्कार शिल्पकला प्राप्त गरेका छन्। उनकै क्यामेरामा कैद भएका तस्वीरहरूको प्रदर्शनी ‘साइन्ड बट नोट बर्न्ट’ कोलकातामा चलिरहेको छ।
भारतीय क्युरेटर इना पुरीद्वारा छानिएका बाङ्लादेशका विभिन्न आयामहरूको शक्तिशाली तस्वीरको प्रदर्शनी इमामी आर्ट ग्यालरीमा २० अगस्टसम्म चल्नेछ। यो प्रदर्शनी र फोटोग्राफर आलमलाई काठमाडौंमा स्वागत गर्न सके नेपालको फोटोग्राफी र कलाप्रेमीका लागि उपहार हुन सक्छ।