‘खुलापन नेपालको सम्पत्ति हो, बाङ्लादेशमा त बोल्दा पनि गायब पारिन्छ’
‘यूरोपमा खुला सीमा छ, एउटा देशको नागरिक अर्को देशमा विना रोकतोक जान–आउन सक्छ। दक्षिणएशिया पनि सीमारहित बनाउनुपर्छ।’
फोटोपत्रकार, प्राध्यापक र सामाजिक अभियन्ता हुन्, शाहीदुल आलम। अभिव्यक्ति स्वतन्त्रताका लागि आवाज उठाउँदा तीन महीना जेल समेत हालिएका उनी अहिले पनि आफ्नो अभियानमा निरन्तर छन्। बाङ्लादेशका आलमका नेचर्स फिउरी (२००७), माई जर्नी इज अ विटनेस (२०११) जस्ता पुस्तक प्रकाशित छन्।
सन् २०१८ मा टाइम् म्यागजिनको ‘वर्षव्यक्ति’ मा छनौट भएका उनी पूरै दक्षिणएशियालाई यूरोप जस्तै खुला सीमायुक्त बनाउनुपर्ने वकालत गर्छन्। गत महीना फिल्म साउथएशिया-२०२२ मा सहभागी हुन आउँदा उनीसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानी:
दक्षिणएशियाको नागरिक हुनुमा तपाईं कस्तो महसूस गर्नुहुन्छ?
मलाई आफू दक्षिणएशियाको कृत्रिम सिमानामा रहेको महसूस हुन्छ। आजको समयमा झनै जुट्नुपर्नेमा हामी विभाजित छौं। पूरै यूरोपमा खुला सीमा छ। एउटा यूरोपियन नागरिक अर्को देशमा विना रोकतोक जान-आउन सक्छ। संस्कार र संस्कृति पनि आदानप्रदान हुन्छ। कम्तीमा नेपालमा ‘अनअराइभल’ भिसा मिल्छ। दक्षिणएशियाका बाँकी देश, खास गरी भारतमा हामीलाई भिसा नै दिइँदैन।
पहिलो कुरा त, हामीमा दक्षिणएशियाली मानसिकता हुनुपर्यो, सामूहिक उद्देश्य हुनुपर्यो। नत्र दक्षिणएशियाका नागरिकलाई झनै ठूलो समस्या पर्छ। हालै नेपालमा फिल्म साउथएशियाका कारण श्रीलंका, अफगानिस्तान, पाकिस्तान, भारतका मानिसले एकसाथ छलफल गरे। त्यहाँ उठेका कुरा सुन्दा हामी सबैको चासो उस्तै छ।
हाम्रो मुलुकका नेताहरूले त आम जनतालाई पछाडि धकेल्ने र स्वार्थ पूरा गर्ने काम मात्र गरिरहेछन्। हामी सबैले आआफ्ना नेताहरूलाई सोध्नु छ- ‘सीमा हटाउन सक्दैनौ भने तिमीहरू हट, हामीलाई जान देओ।’
राष्ट्रिय पहिचान विश्वमै महत्त्वपूर्ण मुद्दा बनिरहँदा सीमारहित दक्षिणएशिया सम्भव होला त?
कुनै समय हामी एकै थियौं। यो सीमा लागू भएको धेरै भएको छैन। हजारौं हजार वर्ष हामी एकै संस्कृतिमा रम्यौं। देवनागरी संस्कृतिबाट आएको भाषा छ। धार्मिक विविधताबीच पनि हामीमा समानता छ। अहिलेको विभाजन त राजनीतिक फाइदा लिनेहरूले गरेका हुन्।
त्यसैले त हामी दक्षिणएशियाका नागरिक पछि पर्यौं। म देशको मौलिक पहिचानको कुरालाई अस्वीकार गर्दिनँ। तर, हाम्रा पहिचान, संस्कृति, साहित्य या अन्य जेजस्ता विविधता छन्, तिनलाई आपसमा उत्सव सरह मनाउन सक्छौं। राष्ट्रिय पहिचान भन्दैमा लडाइँ गर्नु पर्दैन।
केही वर्षअघि यहाँले पूरै दक्षिणएशिया एकै छिमलमा भ्रमण गर्नुमा पनि यस्तै कुनै सन्देश थियो कि?
झण्डै १५ वर्षअघिको कुरा हो। मलाई भुटान जानु थियो। तर, भारतको सोझो टिकट नपाएपछि सोचें, नेपालबाटै जान्छु। पहिला काठमाडौंबाट भद्रपुर पुगें। त्यहाँबाट सीमापारि गई भारतको बस चढें। त्यहाँबाट भुटानसम्मको अर्को टिकट काटें। भुटानमा बाङ्लादेशी भएर केही समय बसें। त्यहाँबाट उसै गरी फर्किएँ। बाङ्लादेशी भएर दक्षिणएशिया घुम्ने छूट नभएकैले मैले यति घुमाउरो यात्रा गर्नुपरेको थियो।
अहिले जस्तो सीमा हुँदैनथ्यो त मैले लुकी-लुकी, डराई-डराई घुम्नुपर्दैनथ्यो। यो सम्पूर्ण क्षेत्र घुमफिर र अध्ययनको केन्द्र बन्ने थियो। तर, नेताहरूले देशहरूको आफ्नै भाषा, रहनसहन, धर्म-संस्कृति रहेको कुरालाई ठूलो बनाएर विभाजन गरिदिएका छन्। यही अवस्था तोड्न मैले हिंड्ने निर्णय गरें। हामी पहिल्यैदेखि एक थियौं, अब पनि एक हुन किन गाह्रो? सीमारहित दक्षिणएशिया बने नेपाल अध्ययनको मुख्य केन्द्र हुन सक्छ।
तपाईंले देखेको नेपालको विशेषता चाहिं के के हुन् त?
मुख्य कुरा, नेपाल कहिल्यै औपनिवेशिक राष्ट्र भएन। जुन पहिचानका दृष्टिले जरुरी कुरा हो। नेपाल सुन्दर छ, पर्यटकलाई आकृष्ट गर्छ। अन्य देशका नागरिकका लागि पनि खुला छ। बाङ्लादेशमा विदेशी आउँदा किन आयो, के गरिरहेको छ भनेर निगरानी बढी हुन्छ। दक्षिणएशियाका अन्य देशमा पनि यस्तै हो। तर, नेपालमा को बाङ्लादेशी, को भुटानी भन्ने कुराले फरक पार्दैन। यो एउटा खुला समाज हो।
अर्को कुरा, अन्य देशमा जस्तो दमन नेपालमा छैन। मलाई नेपालको अभिव्यक्ति स्वतन्त्रताको अभ्यास ठीक लाग्छ। पाकिस्तान, बाङ्लादेश, श्रीलंका होस् वा भारत, मैले सरकार विरुद्धको कुरा गरे जेल जानुपर्छ। अहिले यति कुरा पनि नेपालमै भएकाले बोल्न पाएको छु। बाङ्लादेशमा त यस्तो बोल्दा मान्छे गायब पारिन्छ। खुलापन नेपालको सम्पत्ति हो।
यसलाई प्रयोग गरेर नेपालले सार्कको नेतृत्व लिन सक्छ। सार्कले गर्नुपर्ने काम गरिरहेको छैन। नेपालले यसमा अगुवाइ लिए बाँकी देशका लागि उदाहरण हुन सक्छ। नेपालको आप्रवासन नीति दक्षिणएशियाका बाँकी देशले पनि पालना गरे विकास आफैं हुन्थ्यो।
सरकारको विरोध गरेकामा तपाईंलाई केही वर्षअघि बाङ्लादेशमा जेल पनि हालियो, होइन?
बाङ्लादेशमा ‘रोड सेफ्टी मुभमेन्ट’ चलेको थियो। न्याय नपाएको भन्दै विद्यार्थी रिसाएका थिए। खासमा यो भ्रष्टाचार र हिंसा विरुद्ध थियो। यो अभियानले सरकारलाई खबरदारी गर्न थाल्यो। विद्यार्थीले सवारी साधन जाँच्दा सबैभन्दा बढी सरकारी गाडीको कागजात नभएको पाइयो।
उनीहरूले विना लाइसेन्स, कर नतिरेको अनि बिग्रिएको गाडी चलाइरहेका थिए। त्यसलाई ढाकछोप गर्न सरकारले विद्यार्थी र अभियन्तालाई कारबाही गर्न थाल्यो। म रिपोर्टिङमा थिएँ। त्यही रात आँखामा पट्टी र हातमा डोरीले बाँधेर प्रहरीले मलाई लग्यो। यातना दियो, मैले सहें। त्यसपछि आइन्दा सरकारको विरोधमा नबोल्ने कबुल गराउन खोजे, मानिनँ। त्यसपछि मलाई जेल लगे। पाँच पटकसम्म ‘वेल’ भएन। हत्यारालाई ‘राष्ट्रपतिको छूट’ भनी उन्मुक्ति दिइँदा पनि म एउटा प्रोफेसर, पत्रकार वा अभियन्ता जेलभित्रै रहें।
अहिले पनि ‘अनवेल’ मा छु। स्वतन्त्रता, जनताको पक्षमा बोल्नुको सजाय पाइरहेछु। अदालतले दोषी ठहर गरे मलाई १४ वर्ष जेल पठाउनेछन्। आजको बाङ्लादेश सुध्रने पक्षमा पनि छैन। अवस्था हिजोभन्दा झन् झन् खराब हुँदै छ।
बाहिरी विश्वमा चाहिं मिडिया स्वतन्त्रता र भष्टाचारको अवस्था कस्तो देख्नुहुन्छ?
जुलियन असान्ज जसले पत्रकारिताकै लागि काम गर्दा जेल बस्नुपर्यो। खासमा अवार्ड दिनुपर्ने मान्छे हुन् उनी। सरकारका गलत कामहरू देखाउँदा हत्या प्रयास भयो। बाहिरबाट नदेखिएका यस्ता घटना धेरै छन्। जातीयताका नाममा झनै दमन छ। यस्ता घटना धनी देशमा पनि भइरहेका हुन्छन्, तर यही कारण त्यहाँका जनताले भोकै मर्नु पर्दैन। तर, हाम्रो देशमा एउटाले भ्रष्टाचार गर्छ, अर्को व्यक्ति भोकै मर्नुपर्छ। एउटा सरकारले गलत गर्छ, जनताले दमन सहनुपर्छ। अविकसित मुलुकहरूमा भ्रष्टाचार बढी छ।
हाम्रो देशमा गरीबीका कारण मानिसले आत्महत्या गरेका छन्। क्षेत्रीय रूपमै रहेको यो समस्या समाधान गर्न मिडिया स्वतन्त्रता आवश्यक छ। नेपालले चाहे अभिव्यक्ति स्वतन्त्रतामा टेकेर भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्न सक्छ। जुन हाम्रो जस्ता धेरै देशमा अहिले असम्भव जस्तै देखिन्छ।
तैपनि तपाईं किन जोखिम उठाइरहनुभएको छ त?
कसैले त प्रयास गर्नैपर्छ। बाङ्लादेशमा पहिलो पटक विरोध गरेको इतिहास बनेको छ। एउटा मान्छे निडर भए अरूलाई पनि आत्मबल मिल्छ। त्यसैका लागि पनि मैले आवाज उठाएँ। अहिले म एक्लो छैन। गाउँमा किसान, सहरमा विद्यार्थी सहितका आम मानिस लडिरहेछन्। मलाई लाग्छ, हाम्रो आवाजले देशलाई धेरै गलत हुनबाट जोगाएको पनि छ। सरकार जतिसुकै दमनकारी भए पनि हजारौं नागरिक सडकमा आए सबै कुरा बदल्न सक्छन्।
बाङ्लादेशमा तपाईंले चाहे जस्तो स्वतन्त्रता आउन अब कति समय लाग्ला?
हाम्रो आवाजले अहिले प्रेसर कुकरको काम गरिरहेको छ। त्यसमा हावा भरिंदै छ, पड्किएपछि बल्ल प्रतिक्रिया देखिन्छ। अन्यायले भित्रभित्रै आगो दन्काउँदै छ। यो भनेको नागरिकका अधिकार सरकारले नदिनुको परिणाम हो। विश्वमा नागरिक आन्दोलनले यस्तो अवस्थामा परिवर्तन ल्याएका उदाहरण पनि नभएका होइनन्। यस्तै आन्दोलन बाङ्लादेशमा पनि आवश्यक छ।
नेपालमा अहिले स्थानीय चुनावको माहोल छ। बाङ्लादेशको चुनाव चाहिं कस्तो हुन्छ?
एकदमै हिंसात्मक। अहिले पनि हत्या भइरहेको छ। सबै ठाउँमा पैसाको खेल चल्छ। बाङ्लादेशको चुनाव अहिलेसम्म तटस्थ छैन। सरकारका प्रतिनिधि आफैं हस्तक्षेप गर्छन्। त्यो ‘इलेक्सन’ नभएर ‘सेलेक्सन’ हो। यस्तो अवस्थाले मान्छे कुनै समयमा पुगेर निराश हुन्छ। तब अराजकताले देशमा आगो लगाउन सक्छ। यसबाट कसैको हित हुँदैन। त्यसैले नेताहरूले देशको भलाइका लागि विकास र प्रजातन्त्र स्थायी बनाउनेहरूलाई बाटो छाडिदिनुपर्छ। यसमा जति ढिला गरिन्छ, उति रक्तपात बढ्छ।
यूरोप जस्तै दक्षिणएशियालार्ई पनि विकास, स्वतन्त्रता र शान्ति-समृद्धिमा अघि ल्याउन हाम्रा देशहरूको प्राथमिकता के हुनुपर्ला?
पहिलो कुरा त, सरकार उत्तरदायी र पारदर्शी बन्नुपर्छ। कम्तीमा गरेको कामको जवाफ दिनुपर्यो। अहिले पद र शक्तिमा बसेपछि कुनै पनि कामको जवाफ दिन आवश्यक ठानिंदैन। अर्को कुरा, सूचनाको अधिकार हरेक नागरिकमा हुनुपर्छ। देशका हरेक काम नागरिककै पैसाबाट हुने तर उनीहरूलाई नै देशमा के भइरहेछ भन्ने थाहा नदिंदा समृद्धि सम्भव छैन। सरकारसँग कति पैसा छ, कति खर्च भयो, नागरिकलाई जानकारी दिइनुपर्छ। तर, हाम्रा सरकारले अहिले यो सबै लुकाएका छन्।
शान्ति र समृद्धि तब सम्भव छ जब राज्यले देशका ‘हिरो’ हरूको पहिचान गर्छ। हाम्रो देशका हिरो किसान हुन्। त्यसपछि मजदूर अनि आप्रवासी हुन्। नेपालको हिरो पनि यिनै हुन्। यिनकै पिठ्यूँमा चढेर हामी यहाँ आइपुगेका हौं भन्ने नेताले बिर्सन हुँदैन। तर, यहाँ सबैभन्दा धेरै दमन तिनैलाई भइरहेको देखिन्छ। आफूहरू किसानको पसिनाले सिर्जेको संसद् र कार्यालयमा बसिरहेको कुरा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले भुलिदिए। किसान र श्रमिकलाई गरिखाने वातावरण बनाइदिने काम भएन। राज्यले जनतालाई प्राथमिकतामा नराखेसम्म विकास र समृद्धि आउँदैन।
अल्पविकसित देशहरूमा खुला समाज र समृद्धि स्थापना गर्न विकसित देशहरूको पनि कुनै भूमिका हुन सक्छ कि?
हरेक शक्तिशाली देश आफ्नै फाइदाका लागि मरिमेटेका छन्। धनीलाई अझै धनी हुनु छ। उनीहरू संसारभरका समस्या समाधान गर्न अगुवा बन्नुपर्नेमा ठीक उल्टो छ। शक्तिशालीले नै धेरै दोहन गरेको छ। विश्व नै साझा घर भएपछि त्यसै अनुसार मानवीयता पनि राख्नुपर्ने हो। त्यसको अभावमा भोलि विश्वलाई असर पर्छ नै।
विकसित देशले आफ्नो विकास सार्थक बन्न अन्य देश पनि विकास-उन्मुख हुनुपर्ने तथ्य भुल्नु हुँदैन। विकसित देशहरूले अल्पविकसितहरूका मुद्दा हल गर्न चासो देखाउँदा विश्व अझ सुन्दर र सुरक्षित बन्नेछ। भोलि विश्वभर भ्रमण गर्दा पनि हरेक व्यक्ति निर्धक्क हुनेछ।