कांग्रेस खोटाङका सभापति र सचिवलाई कारबाही गर्न सिफारिस
स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार हराउने गतिविधि गरेको आरोपमा नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई र सचिव ज्ञानेन्द्र जोशीलाई कारबाही गर्न सिफारिस गरिएको छ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन गतिविधि गरेको आरोपमा सभापति राई र सचिव जोशीलाई कारबाही गर्न कांग्रेसका पाँच गाउँपालिका सभापति र एक पालिका उपसभापतिले मंगलबार नरेश श्रेष्ठ संयोजकत्वको अनुशासन समितिमा सिफारिस गरेका हुन्।
राई र जोशीमाथि पार्टी अनुशासनबाहिर गएर टिकट वितरण गर्ने, सोही अनुसारको अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा लेख्ने, विपक्षी पार्टीलाई उक्साएर आफ्नो पार्टीको तेजोवध गर्ने, आर्थिक लेनदेन गर्ने, गठबन्धनका नाममा बैठक बसेर आफ्नो पार्टीको आन्तरिक मामिलामा छलफल नगर्ने, आफ्नो पार्टीले निर्वाचन एक्लै लड्नुपर्ने ठाँउमा ‘हार्ने र नयाँ शिराबाट संगठन निर्माण गर्ने’ जस्ता क्रियाकलाप गरेको आरोप छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, खोटेहाङ गाउँपालिका सभापति प्रेमकुमार थापा, बराहपोखरी गाउँपालिका सभापति खिलाराज राई, जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र बिष्ट, केपिलासगढी गाउँपालिका सभापति होमबहादुर राई र ऐसेलुखर्क गाउँपालिका उपसभापति धनकाजी राईले सभापति राई र सचिव जोशीलाई कारबाही गर्न अनुशासन समिति समक्ष सिफारिस गरेका हुन्।
कारबाही विरुद्ध कारबाही
स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवार हराउन क्रियाकलाप गरेको आरोप लगाउँदै सचिव जोशीले अनुशासन समिति संयोजकको हैसियतमा आइतबार प्रदेश १ का महामन्त्री भूपेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी सहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेपछि पाँच गाउँपालिका सभापति र एक पालिका उपसभापतिले सभापति र सचिवलाई नै कारबाहीका लागि सिफारिस गरेका हुन्।
सभापति राई र सचिव जोशीलाई कारबाहीका लागि सिफारिस आएको समितिका संयोजक श्रेष्ठले जानकारी दिए। यसबारे जिल्ला कार्यसमितिको बैठकमा छलफल हुने श्रेष्ठ बताउँछन्।
प्रदेश महामन्त्री राई र उनका समूहलाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न सिफारिस गरिएपछि त्यसको प्रत्युत्तरमा कारबाहीको सिफारिस गरेको पालिका सभापति र उपसभापतिहरूले बताएका छन्। कांग्रेसको आन्तरिक द्वन्द्वका क्रममा दुई वटा अनुशासन समिति देखिएको छ।